प्राडा बालमुकुन्द रेग्मी
अहिले देश कोभिड १९ बाट बच्नको लागि सम्पूर्ण शक्ति परिचालन गर्दैछ। कुन बस्ती सुरक्षित छ र कुन असुरक्षित, यकिन भन्न सकिने अवस्था छैन। रोग लागिसकेका व्यक्तिलाई अरुबाट छुट्ट्याएर अस्पतालमा उपचार गर्नुपर्ने हुन्छ, जसतर्फ सरोकारवालाहरूको ध्यान केन्द्रित भइसकेको देखिन्छ। यहाँ महामारी नियन्त्रणमा अहं भूमिका खेल्ने सरसफाइबारे केही चर्चा गरिन्छ।
कोभिड १९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थापन गर्ने र ढल निकास कसरी गर्ने भन्ने सवालमा प्रष्ट नीति अपनाउन आवश्यक छ। बिरामीले प्रयोग गरेका वा तिनका सम्पर्कमा आएका व्यक्तिले उपचार र अन्य सेवाका क्रममा प्रयोग गरेका, उनीहरूले उत्सर्जन गरेका फोहोर र ती फोहोरसित मिसिएका अन्य फोहोरका साथै फोहोर सङ्कलन, वर्गीकरण, ढुवानी, प्रशोधन, व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यक्तिमार्फत् रोग फैलिन सक्ने भएकोले यसतर्फ ध्यान जान आवश्यक छ।
द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको एक रिपोर्टअनुसार संक्रमितको संसर्गमा आएपछि तामाको सतहमा चार घण्टा, कागजको बोर्डमा २४ घण्टा, प्लास्टिक र स्टिलको हकमा ७२ घण्टासम्म भाइरस जिउँदै रहेको भेटियो। यसर्थ संसर्गमा आएका विभिन्न वस्तु नियमित सफा गरिनुपर्ने देखिन्छ।
अहिलेको विशेष परिस्थितिमा घरायसी फोहोरलाई पनि अस्पतालबाट निस्किने फोहोरसरह खतरनाक सम्झी गुणका आधारमा विभिन्न समूहमा विभाजन गर्न सकिन्छ। जुठो मिसिएका कागत, थुक र सिंगान पुछिएका कपास जस्ता फोहोरलाई विशेष झोलामा हाली मुख बन्द गरेर राख्न सखिन्छ,।
तयारी खाना किनिएका टिनका बट्टा, घिउ, मह जस्ता खाद्य किन्दा आएका सिसीका बिर्काको भित्रपट्टि हावा नछिर्ने गरी लगाइएको सिलाबर (एलुमुनियमको) पातलो पत्र, सुई, दाह्री काट्ने पत्ती जस्ता धारिला वस्तुलाई विशेष बाकसमा राखिन्छ। यस्ता विशेष फोहोरलाई सङ्कलकले बुझ्ने गरी तोकिएको स्थानमा राखिदिने गर्नुपर्छ।
अस्पतालका फोहोरलाई जस्तै इन्सिनेरेटरमा ११०० डिग्री सेल्सियसमा जलाउन सके अरू जीवाणु जस्तै कोभिड १९ पनि नाश हुन्छ। त्यस्तो सेवा नभएको स्थानमा सुरक्षित खाल्टामा पोलेर पनि यी फोहर व्यवस्थापन गर्न सकिन्छ। यस्ता फोहरसितको लामो सम्पर्कबाट जनस्वास्थ्यमा पर्नसक्ने सम्भावित प्रदूषणबाट बच्न तत्काल सफाइ, तत्काल ढुवानी र तत्काल भस्म गर्ने नीति आवश्यक छ।
जोखिममा सफाइ कर्मचारी
फोहोर व्यवस्थापनमा खटिने कर्मचारी आफैँ संक्रमणको ठूलो जोखिममा हुन्छन्।
पेसागत जोखिमकै कुरा गर्दा अन्य क्षेत्रको तुलनामा फोहोर व्यवस्थापनमा कार्यरत मजदूर बढी प्रभावित हुने गरेको पाइएको छ। अन्य पेसाको तुलनामा जैविक एरोसोल र हावामा उड्ने रसायनहरूले गर्ने श्वासप्रश्वास र छालासम्बन्धी रोगको बढी जोखिम त छँदैछ, यिनलाई कोभिड १९ को जोखिम समेत बढी हुन्छ।
महामारीको समयमा फोहर व्यवस्थापनमा संलग्न सबै कर्मचारीहरूलाई सुरक्षाका सबै उपायद्वारा सज्जित गर्नुपर्छ। उनीहरूलाई चिकित्सकलाई सरह एन ९५ मास्क, डबल सर्जिकल पन्जा, जुत्ता कभर, चश्मा आदि संरक्षणात्मक पोशाक (पिपिई) द्वारा सुरक्षित गर्नुपर्छ। फिल्डमा पठाउनुअघि पिपिईको सही प्रयोग गर्ने तरिका पनि सिकाउनु पर्छ।
फोहर निर्मलीकरण क्षेत्र निर्धारण गरी त्यस्तो क्षेत्रमा असम्बन्धित व्यक्तिलाई प्रवेश गर्न दिन हुँदैन। फोहर व्यवस्थापनमा संलग्न सबैको तापक्रम नियमित रूपमा नाप्ने गर्नुपर्छ। कर्मचारीको तापक्रम ३७.५ डिग्री सेल्सियस (९९.५ डिग्री फरेन्हाइट) भन्दा कम हुनुपर्छ। अन्यथा कोभिड १९ संक्रमण भएको शङ्का गर्नुपर्छ। फोहर ओसार्ने गाडीका पांग्रा र गाडीको सतहलाई नियमित रूपमा निर्मलीकरण गर्नुपर्छ। फोहर हावाको सम्पर्कमा नआउने गरी छोपेर ओसार्ने गर्नुपर्छ।
सरसफाइ कर्मचारीलाई राहत
विपद्का समयमा सरकारले आम नागरिकलाई विभिन्न राहत र तोकिएको उद्धार कार्यमा खट्ने जनशक्तिलाई विभिन्न आकर्षण सुविधा वा भत्ता व्यवस्था गर्छन्। यसो गर्नाले समाजमा अमनचयन कायम हुन्छ, राष्ट्रसेवकमा काम गर्ने जोश आउँछ। यसपालि पनि स्वास्थ्य मन्त्रालय र कतिपय निकायले आफ्ना मातहतका चिकित्सक, नर्स र महामारी व्यवस्थापनमा सहभागीलाई आकर्षण भत्ता दिने घोषणा गरेका छन्। उस्तै विषम स्थितिमा काम गर्दा जोखिमले पदीय सानोठूलो, एउटै सेवाका फरक उपविधालाई छुट्याएर नहेर्ने कुरालाई बिर्सिएर आकर्षणमा विभेद गरेको भए पनि यसलाई सकारात्मक कदम नै मान्न सकिन्छ।
राहत, भत्ता र पुरस्कारको यो लहरमा राज्यले प्राथमिकतामा राख्नैपर्ने समूह फोहोरमैला व्यवस्थापनमा संलग्न जनशक्ति पनि हुन्। अहिलेसम्मको स्थिति हेर्दा कोभिड १९ को सवालमा मृत्यभन्दा रोकथाम बेसु को सट्टा उपचारभन्दा रोकथाम जात्ति भन्नपर्ने अवस्था छ।
यस्तो गाम्भीर्यलाई ध्यानमा राखी व्यक्तिव्यक्ति बीचको भौतिक दूरी कायम गर्न सरकारले देशै लकडाउन गरेको वर्तमान अवस्थामा सरसफाइ कार्यमा संलग्न जनशक्तिलाई राज्यले जोखिम मोले बापत आकर्षण भत्ता दिनुको साथै काममा खटेको कारणले दीर्घरोगी बनेमा वा मरेमा आश्रित परिवारलाई अभिभावकको अभावमा आवश्यक पर्ने सन्ततिको स्याहारसुसार, रोजगारी, पढाइ आदिको व्यवस्था समेत गर्नपर्ने देखिन्छ। यसरी उपलब्ध गराइने भत्ता र पुरस्कार कत्ति पनि विभेदकारी नभई सबै सरसफाइकर्मीमा उत्साह जगाउने खालको हुनुपर्छ।
-(लेखक त्रिभुवन विश्वविद्यालयको फार्मेसी विषयका प्राध्यापक हुन्)