इरु पौडेल
सायद कसैलाई सान्दर्भिक नलाग्ला तर सरकारले लागू गरेको लकडाउनको बेला मैले मन थाम्न भने सकिनँ। करिब वर्ष दिन नै भयो होला, हाम्रो समुदाय वा हामी आम नागरिकले पटकपटक स्वास्थ्यकर्मीलाई विभिन्न तौर तरिकाबाट आक्रमण गरिराखेका छौँ।
विश्वका धेरै देशमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। आज सारा संसारलाई एउटा महामारीले तर्साएको बेला हामी सबै घरमा बसेका छौं। आफू जोगिन र आफ्नालाई जोगाउन 'सोसल डिस्टान्सिङ' तरिका अपनाइरहेका छौं। तर, स्वास्थ्यकर्मीहरु भने अहोरात्र आफ्नो पहिलो जिम्मेवारीमा खटिइरहेका छन्। आफ्ना निम्ति होइन, हाम्रा निम्ति।
सामाजिक सञ्जालमा कतिपय स्वास्थ्यकर्मीहरूका पीडा हामीले हेर्न पाएका होलाऊँ।
नेपालमा पनि कोरोना संक्रमणको जोखिम दिनप्रति दिन बढ्दै गएको छ। तर यस्तो परिस्थितिमा सरकार यिनको सुरक्षाप्रति गम्भीर भएको देखिँदैन। जसका कारण, उनीहरू डर अनि त्रासमा सेवा गर्न बाध्य छन्। खटिन बाध्य छन्।
सरकारी अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि स्वास्थ्यकर्मीको जोश र कर्तव्य पालना गर्ने अठोट कम भएको छैन। तर, कहिलेसम्म यसरी खटिइरहने भन्ने कुराले उनीहरूको मनमस्तिष्कमा अवश्य पनि खैलाबैलाचाहिँ मच्चाएकै होला।
आखिर हामी जस्तै ज्यानको माया त स्वास्थ्यकर्मीहरुलाई पनि छ। यिनको पनि त परिवार छन्, भावना छन्, केही गर्ने सपनाहरू पनि छन्। आमाले ‘बाबु/नानी घर कतिबेला आउँछस्‘ भनेर हरेक घन्टा घन्टामा फोन गर्छिन् होला। साना नानीबाबुले ‘मामु तिमीलाई हग गरेर नसुतेको कत्ति दिन भइसक्यो’ भन्छन् होला।
यदी स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमण भयो भने समुदायमा झन् जोखिम बढेर जान्छ। व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई), जसले स्वास्थ्यकर्मीलाई विभिन्न संभावित संक्रमणबाट बचाउँछ र त्यो कति आवश्यक छ भनेर विश्व स्वास्थ्य संगठनले पनि भनिसकेको छ। त्यसैले सरकारले जसरी हुन्छ, गुणस्तरीय पिपिई उपलब्ध गराउनैपर्छ। भोलि 'नो पिपिई, नो वर्क'को दिन आउला भनेर केही चिकित्सकहरुले चेतावनी दिइसक्नुभएको छ। त्यसलाई बेलैमा सुन्न जरुरी छ।
तर, मलाई भने जनमानसमा स्वास्थ्यकर्मी प्रतिको हाम्रो सोच र दृष्टिकोणमा कतिको परिवर्तन आयो भन्ने कुरामा नै बढी जिज्ञासा छ ।
पशुपतिनाथको आरतीमा भने जति मान्छेको प्रवेशमा रोक लगाइएको छ, त्यही देशमा स्वास्थ्यकर्मी अझै हाम्रै सेवामा निरन्तर लागिरहेका छन्। साथै, पिपिईको व्यवस्थापन राम्रो भएमा एक जुट भई सामना गर्नेछौं भन्ने आत्मबल पनि देखाएका छन्।
आज जहाँ सारा मानिस घरमा हाई काडेर समय बिताउन बाध्य भएका छन्, त्यहीँ केही सेतो कोटधारीहरु हामीलाई जोगाउन दिनरात खटिएका छन्।
नेपालमा अन्य देशमा जस्तो भयावह अवस्था त आइसकेको छैन तर नआउला भन्न सकिँदैन।
डाक्टर, नर्स तथा अन्य प्यारामेडिक्सका हौसल्ला बढाउन जरुरी छ। अस्पताल प्रशासनका कर्मचारीको पनि हौसल्ला बढाउन जरुरी छ। यिनको मनोबल आज मात्र होइन, सधैं बढाउनुपर्छ।
महामारीले कसैलाई छाड्दैन। तर, सबै पक्ष मिलेर अघि बढ्ने हो भने स्वास्थ्य क्षेत्रका जस्तोसुकै चुनौतीको सामना पनि गर्न सकिन्छ।
यसकारण हामी सबैले स्वास्थ्यकर्मीलाई सधैंभरी इज्जत दिऔं। यिनले हामीलाई सधैभरी सेवा दिन्छन्।