छवि बस्नेत
विश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) रोक्न सरकारले लकडाउन घोषणा गर्यो। यो बुद्धिमतापूर्ण निर्णयका लागि सरकारप्रति हामी आभारी हुनुपर्छ। सरकारले लिएको यो नीतिले कोरोना विरुद्धको लडाइँमा सहज भएको छ।
विश्वलाई नै चुनौती दिइरहेको कोरोना भाइरसका बारेमा धेरै बताइरहनु पर्दैन। यसले विश्वलाई नै आक्रान्त पारेको छ। स्वास्थ्य प्रणाली बलियो भएका देशहरु पनि त्राहीमाम छन्। प्रशस्त स्वास्थ्य सामाग्री उत्पादन हुने र खरिद गर्न सक्ने देशको हालत पनि दयनीय बन्दै गइरहेको छ।
नेपालमा पनि कोरोनाका पाँच केस देखिएका छन्। संयोगले हालसम्म नेपाल अन्य देश जस्तो आक्रान्त बनिसकेको छैन। तर, कुन बेला कसरी कोरोनाको संक्रमणले आतंकित पार्छ ? पूर्वअनुमान गर्न सकिने अवस्था छैन। छिमेकी देश चिनबाट फैलिएपनि त्यहाँ नियन्त्रणमा आइसक्यो। तर, खुला सिमाना रहेको भारतमा दिनप्रतिदिन कोरोना संक्रमतिको संख्या बढ्दैछ। त्यसले हामीमाथिको सम्भावित जोखिम आंकलन गर्न सकिन्छ।
भारतले देशमा लकडाउन गरेपछि त्यहाँ कार्यरत नेपालीहरु देश फर्किने क्रम बढ्दोछ। गाउँगाउँ पुगिरहृका छन्। यसले पनि कोरोनाको सम्भावित जोखिममा नेपाल भएको तथ्यलाई इन्कार गर्न सकिदैन। यस्तो अवस्थामा सवैभन्दा तयार अवस्थामा रहनुपर्ने स्वास्थ्यकर्मीलाई हो। किनभने स्वास्थ्यकर्मी कोरोना विरुद्धको युद्धका सिपाही हुन्। जुन सवैभन्दा अग्रपंतिमा रहनुपर्छ।
कोरोनासँग युद्ध गर्न तम्तयार पनि छौं हामी। तर, त्यसका लागि हामीसँग हतियारको भने अभाव छ । त्यो गुनासो जताततै सुनिन्छ। हामी मैदानमा उत्रिन डराएको छैनौं। हामीसँग यो विरुद्ध संघर्ष गर्नसक्ने उच्च मनोबल पनि छ । तर, हाम्रो एउटा मात्रै आग्रह के भने त्इसका लागि चाहिने हतियार अर्थात् व्यक्तिगत सुरक्षा कवच (पिपिई) उपलब्ध होस्। उक्त माग सरकारले पूरा गर्यो भने कोरोनो संक्रमणलाई ब्रेकडाउन गरी महामारीले भयाबह रुप लिनबाट जोगाउन सकिन्छ।
हरेक कुरामा सम्पन्न र विश्वका शक्तिशाली देश मामनिएका इटाली, स्पेन र अमेरिकाले कोरोना विरुद्धको लडाइँमा हार स्वीकार्नुपर्ने अवस्था बनेको छ। त्यसबाट सरकारले जति चाँडो शिक्षा लियो, त्यति नै हामी कोरोना विरुद्ध प्रभावकारी योजना बनाउन सक्छौं र नेपालमा फैलिन रोक्न सक्छौं।
स्वास्थ्यकर्मीलाई यसविरुद्ध लड्न तैनाथ गरिएको छ र आदेश पनि दिइएको छ। सुरक्षा कवच बिना भाइरसँग लड्न खटाउनु भनेको पौडी खेल्न नजान्नेलाई सुरक्षा ज्याकेट समेत नदिएर नदीमा धकेल्नु जस्तै हो। यो त सके उत्रिनु, नत्र मर्नु भनेजस्तै भएन र?
स्वास्थ्यकर्मी कुनैपनि रोग विरुद्ध लड्ने सिपाही हुन्। यो भाइरससँगको युद्धका लागि उनीहरुको आवश्कयता झन् टड्कारो बनेको छ। त्यसैले सुरक्षा सामाग्रीहरु प्रशस्त उपलब्ध गराउनुपर्छ। आम स्वास्थ्यकर्मीको मनोबल गिर्न नदिन आजैदेखि सोच्नुपर्छ। त्युसो गर्न सकिएन भने असुरक्षित महसुस गर्ने मात्रै होइन, डिप्रेसनको सिकार समेत बन्न सक्ने हुन सक्छ। सिपाहीहरुले नै खुट्टा कमाउने अवस्था बन्यो भने कसरी लडाइँ जितिएला?
अवस्था यस्तो भयाबह छ। स्वास्थ्यकर्मीले यस्तो बेला जागिरका लागि होइन, सेवाका लागि आफूलाई तम्तयार बनाएका छन्। यस्तो अवस्थामा पनि २४ सै घण्टा बिरामीको सेवामा रहने, नर्सहरु, डाक्टर र स्वास्थ्यकर्मीलाई ह्दयदेखि नै सलाम गर्न चाहान्छु र यो लडाइँ जित्नका लागि शुभकामना दिन्छौं। नेतृत्व वर्ग र आमजनलाई एउटै आग्रह छ, उनीहरुलाई साथ दिउँ, हौसला दिउँ र सहयोग गरौं। यसले जोगाउने तपाईंहरुलाई नै हो। जोगिने देश नै हो।
(बस्नेत जिल्ला अस्पताल, रुकुम पूर्वकी स्टाफ नर्स हुन्)