विश्व जनस्वास्थ्य संकटकालको यो अवस्थालाई कतिपयले विश्वयुद्ध जस्तो भयावह अवस्थासँग तुलना गरेका छन् भने कतिपयले अभूतपूर्व संकट भनेका छन्। यस सन्दर्भमा सारा संसार कोभिड १९ को संक्रमणबाट उत्पन्न संकटको समाधानमा एकोहोरिएको छ।
एकातिर जनस्वास्थ्यमा गम्भीर खतरा र चुनौती आइपरेको छ भने अर्कोतिर विश्वमै आर्थिक मन्दी हुने संकेतहरु देखिन थालिसकेका छन्। खासगरी कोभिड १९ को महामारी र यसको रोकथामका लागि मानिसहरूले स्वभाविक रुपमा अपनाउनैपर्ने महत्वपूर्ण उपाय नै ‘नजिक नहुनु’ (सोसल डिस्टान्सिंङ्) भएकोले मानिसका आर्थिक कारोबार र गतिविधिलाई थला पार्न पर्याप्त देखिएको छ। यसको दूरगामी र बहुआयामिक असर हाम्रो जस्तो न्यून तथा मध्यम आय भएका देशहरूमा समेत पर्नेछ।
यस सन्दर्भमा स्वास्थ्यमा उत्तरदायित्व र सामाजिक कार्यका निम्ति अभ्यासकर्ताहरूको समुदाय (कोपासा) को एक्यबद्धता सन्देशले जनस्वास्थ्यका गहन सवालहरुमा ध्यानाकर्षण गराउने पहल गरेको छ। जसका मुख्य बुँदाहरुको भावानुवाद यहाँ प्रस्तुत छः
कोभिड १९ को विश्वव्यापी महामारीले हाम्रा विद्यमान कमजोर स्वस्थ्य पद्धतिलाई चुनौती दिएको छ। अब भने हाम्रा देशका नेतृत्वकर्ताहरुलाई जनस्वास्थ्यका स्रोतको अभिवृद्धि गर्न, उचित आपतकालीन बजेटको बिनियोजन गर्दा स्वास्थ्यकर्मीले पाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्रीको सुनिश्चितता गर्नुका साथसाथै स्वास्थ्य संस्थाहरुमा स्वच्छ पानी र साबुनले हात धुने लगायतका संक्रमणको जोखिम रोक्ने प्रबन्ध गर्न झक्झकाउने र पैरवी गर्ने बेला भएको छ।
यस सन्दर्भमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसले कोभिड १९ को महामारीको अवस्थामा यसबाट जोगिनका निम्ति सबैलाई हात धुन आव्हान गरेको स्मरणीय छ।
हालै १३ मार्च २०२० मा जारी हातधुने सम्बन्धी युनिसेफको तथ्यपृष्ठ फ्याक्ट सिट) ले समेत उजागर गरेको छ, उपयुक्त तरिकाले साबुन पानीले हात धुनु कोभिड १९ सँग लड्ने महत्वपूर्ण उपाय भए पनि दसौं लाख मानिसको पहुँचमा हात धुने सुविधा छैन, अहिलेको तथ्यांक अनुसार जम्माजम्मी विश्वका प्रत्येक ५ जनामध्ये ३ जनाले मात्र सामान्य हात धुने सुविधा उपभोग गरिरहेका छन्।
उक्त तथ्यपृष्ठले निम्नलिखित कुराहरुलाई समेत विशेष जोड दिएको छः
- विश्वको ४० प्रतिशत जनसंख्या अथवा करिब ३ अर्ब मानिसहरू घरमा साबुनपानीले हात धुनबाट बन्चित छन्। अतिकम विकसित देशहरुमा भने घरमा हात धुने सुविधाबाट करिब तीन चौथाई मानिस बन्चित छन्।
- करिब ४७ प्रतिशत विद्यालयले साबुनपानीले हात घुने सुविधा दिन सकिरहेका छैनन्। जसका कारण उक्त असुविधाले करिब ९० करोड विद्यार्थीलाई प्रत्यक्ष रुपमा असर गरिरहेको छ। विश्वका एक तिहाई विद्यालयहरु र अतिकम विकसित देशका आधा विद्यालयहरुमा बालबालिकाहरुका निम्ति हात धुने ठाउँको व्यवस्था नै गरिएको छैन।
- १६ प्रतिशत स्वास्थ्य संस्था अथवा करिब ६ मध्ये १ संस्थामा हात धुने उचित व्यवस्था छैन, जसमा शौचालयमा समेत साबुनपानीले हातधुने सुविधा उपलब्ध छैन।
कोरोना भाइरसले जनस्वास्थ्यको आधारभूत विधिका रुपमा रहेका स्वच्छ पिउने पानी र हातको सरसफाइ जस्ता आधारभूत सुविधामा समेत जोखिममा बाँचेका समुदायको पहुँच छैन भन्ने उजागर गरिदिएको छ। अहिलेनै पनि धेरैजसो देशहरुमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरु नै पनि साधारण मास्क र ग्लोब्स जस्ता सुरक्षाका साधनहरुको अपर्याप्तताले आफैंलाई कोभिड १९ जस्ता संक्रमणको जोखिमबाट बचाउन र अरुलाइ संक्रमण सर्न नदिन संघर्ष गर्दैछन्।
जनताको स्वास्थ्यको रक्षक र स्वास्थ्यकर्मीहरुको समूहको रुपमा यो विषम परिस्थितिमा हामी निम्नलिखित कुरामा ध्यानाकर्षण गराउन चाहन्छौंः
- स्वास्थ्यकर्मीको सुरक्षाका सामग्रीहरुसम्मको पहुँचमा कठिनाइ
- मास्क, ग्लोब्स, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीहरुमा जनता र विशेषगरी जोखिममा रहेका समुदायको पहुँचमा कठिनाइ।
- परीक्षणमा पहुँचका वाधा व्यवधानः धेरै देशहरु, परीक्षणको उपलब्धतामा कमी महसुस गर्दैछन् र उनीहरु अल्गोरिदमका आधारमा परीक्षणका निम्ति निःशुल्क रुपमा सरकारी अस्पतालमा रिफर गर्नुपर्ने हो कि होइन छुट्याइरहेका छन्। अर्कातिर निजी स्वास्थ्य संस्थाहरुमा हुने परीक्षणमा अनियमित तथा अत्यधिक महँगो सेवासुविधा छ, जसलाई प्रभावकारी ढंगले नियमन गर्न आवश्यक छ।
- धेरै व्यक्तिले सामना गरेको आर्थिक कठिनाइबाट रक्षा गर्न अपर्याप्त संयन्त्रहरू छन्। केही सरकारहरूले औपचारिक क्षेत्रमा काम गरिरहेका मानिसलाई अपर्याप्त भए पनि क्षतिपूर्ति दिनका लागि केही प्रयास गरेका छन्। तर जोखिममा रहेका समुदाय तथा अनौपचारिक क्षेत्रमा काम गर्ने अधिकांश सीमान्तकृत समूहका लागि उपायहरू छँदै छैनन् वा न्यून छन्।
- कतिपय क्षेत्रमा आधिकारिक ब्यक्तिहरुबाट नै कोभिड १९ का बिरामीको र क्वारेन्टाइनमा रहेका ब्यक्तिको गोपनियताको ख्याल नगरी नाम र ठेगाना खुला रुपमै सार्वजनिक गरिदिनाले र यसरी सार्वजनिक हुँदा मानिसको स्वास्थ्यकर्मीप्रतिको विश्वास हराउन सक्ने सम्भावना हुन्छ।
- केही क्षेत्रमा स्वास्थ्यकर्मीहरुको अधिकारको सुरक्षाको पनि कुरा उठेका छन्। उदाहरणका लागि गर्भवती, प्राणघातक रोगका बिरामी, अपाङ्ग बालबालिकाका अभिभावक। तर धेरै क्षेत्रमा भने यस्ता कुराले खासै अर्थ पाएको देखिँदैन। र, कयौं व्यक्ति प्रतिकूल परिस्थितिमा काम गर्न बाध्य पारिएका छन् भने कयौंले आफ्नो जागिर समेत छोड्नु परेका घटना छन्।
हामी सबै सरकारलाई यस कठिन घडीमा सामाजिक स्वास्थ्य संयन्त्र बलियो बनाउन र जोखिमपूर्ण अनि अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई स्वास्थ्यको प्रत्याभूति दिलाउन आव्हान गर्दछौं। यस महामारीको वर्तमान अवस्थामा, आवश्यकता अनुरुप स्वास्थ्य क्षेत्रका निजी स्रोतसाधनलाई पनि नियमन गरी सार्वजनिक स्वास्थ्य संयन्त्रभित्र समेटेर प्रभावित मानिसहरुलाई उपयुक्त सेवासुविधा दिन आवश्यक भइसकेको छ।
हामी सम्पूर्ण स्वास्थ्यकर्मी र स्वस्थ्य सम्बद्ध अधिकारकर्मीहरुलाई यस कोभिड १९ को महामारीको सामना गर्नका निम्ति जनचेतना जगाउनका साथै सरकार र स्वास्थ्य सम्बद्ध संयन्त्रहरुलाई अत्यावश्यक कार्य गराउनका निम्ति पहल गर्न आव्हान गर्दछौं।
यस कठिन घडीमा प्रत्यक्ष रुपमा प्रभावित समुदाय, भेदभावमा परेका, सीमान्तकृत एवं पिछडिएका समुदायहरुका साथसाथै महामारी विरुद्ध अग्रपंक्तिमा डटिरहेका स्वास्थ्यकर्मीहरु सबैमा हामी एक्यबद्धता जनाउन चाहन्छौं। कोपासाका सञ्चालक परिषद् र सचिवालयका तर्फबाट एक्यबद्धता।
भावानुवाद : डा. एलबि बस्नेत, अमृतराज जैसी