करुणा भट्टराई
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा प्रतिकार्यका लागि संघ, प्रदेश र स्थनीय तहको संरचना अनुसार हरेकको एकदमै महत्वपूर्ण भुमिका छ। अहिलेको यस्तो आपतकालिन अवस्थामा एकले अर्कालाई दोष लगाउने भन्दा पनि आफ्नो ठाउँबाट कसरी यो महामारी विरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरामा जोड दिन उपयुक्त हुन्छ। अरुलाई अर्ति उपदेश दिन सजिलो छ तर जब त्यही काम आफूले गर्नुपर्छ, तब सकसपूर्ण लाग्छ।अनि त्यहाँ बहाना गरिन थालिन्छन्। त्यस्ता उपदेशकर्ताहरुको पनि असलीयत देखिन्छ। आफूले पनि केही नगर्ने अनि ढिलै भएपनि केही गर्न खोज्नेहरुको खुट्टा तान्ने प्रवृत्ति त्यागेर देशको संरचना अनुसार आफ्नो भूमिका ब बोध गरी सोही अनुसार कार्य गर्नु नै अहिलेको परिस्थितिमा उपयुक्त हुन्छ।
संघीय सरकारको भूमिका
संरचना अनुसार महत्वपूर्ण एवं अभिभावकत्वको जिम्मेवारी बोकेको संघीय सरकारको भूमिका पक्कै पनि सवैभन्दा बढी हुन्छ। धेरैको आशाको केन्द्र रहेको संघीय सरकारले उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सक्नु पनि एउटा महत्वपूर्ण जिम्मेवारी हो। अहिलेको यस आपतकालीन परिस्थितिमा संघीय सकारले धेरै राम्रो कामहरु गरेर प्रशंसा पनि पाएको छ भने कति कामहरु समयमै गर्न नसक्दा आलोचित पनि हुनुपरेको छ।
संघीय संरचनाका खर्च गर्न नसकिने विभिन्न शिर्षकका बजेट रकमान्तर गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरीएको कोष मार्फत् खर्च गर्ने व्यवस्था मिलाउनुपर्छ। लकडाउन सँगसँगै भारत लगायत अन्य देशहरुबाट हाम्रो देशमा प्रवेश गर्ने नाकामा नै क्वारेन्टाइमा राख्ने व्यवस्थाका साथै सो स्थानमा कोरोना परिक्षण गर्ने व्यवस्था मिलाउने, दु:खमा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा लकडाउनका कारण अप्ठ्यारोमा परेका नागरिकका लागि उचित व्यवस्था मिलाउने, स्वास्थ्यकर्मीको सुरक्षालाई पहिलो प्रथामिकतामा राखी सुरक्षाका उपकरणहरु तथा औषधीहरु अन्य देशहरुसँग समन्वय गरी उपलब्ध गराउने लगायतका मुख्य कार्यहरुमा संघीय सरकारले विषेश ध्यान दिनु जरुरी छ।
प्रदेश सरकारको भूमिका
अहिलेको यस विषेश परिस्थितिमा सम्पूर्ण प्रदेश सरकारहरुले आफ्नो दायित्व बहन गर्न महत्वपूर्ण भूमिका रहेको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न लागिपर्नुका साथै आफूले पनि प्रदेश सरकारको तर्फबाट सम्वन्धित प्रदेशका लागि स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर आवश्य निर्णयहरु लिने, महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशस्तरीय कार्ययोजना बनाउन, आवश्यक निर्देशिका बनाउन र एउटै साझा उद्देश्य लिएर अगाडी बढ्न जरुरी हुन्छ।
आवश्यक पूर्व तयारी औषधि तथा उपकरणको खरिद तथा उपलब्धताको सुनिश्चितता, प्रदेशका मुख्य-मुख्य नाकाहरुमा क्वारेन्टाइनको व्यवस्था, कोरोना भाइरस परीक्षणको व्यवस्था, प्रदेशका विभिन्न मन्त्रालयहरु, विभिन्न संघसंस्थाहरु, जनप्रतिनिधिका बीचमा समन्वय, कोभिड-१९ रोकथामका लागि जिल्लास्तरीय विभिन्न जनचेतनामूलक क्रियाकलापहरु गर्ने, नागरिकको उपचार पाउने अधिकारको सुनिश्चतता, विपद व्यवस्थापन समिति लगायत विभिन्न समितिको परिचालन लगायतका कार्यहरुमा प्रदेश सकारको महत्वपूर्ण भूमिका रहन्छ।
स्थानीय सरकारको भूमिका
गाउँ-गाउँमा सिंहदरबार भन्ने कुरालाई सत्य बनाउनैका लागि भएपनि स्थानिय सरकारले आफ्नो जिम्मेवारी वहन गर्न जरुरी छ र गर्दै आएको पनि छ भन्नु पर्दछ। आतिआवश्यक पूर्वाधारहरु विना नै नाम कमाउनका लागि भएपनि हतार हतारमा घोषणा गरिएका नगरपालिका तथा उपमहानगर पालिकाहरुबाट धेरै अपेक्षा राख्नु पनि हाम्रो कमजोरी हुनसक्छ। नगरेको पनि होइन, जान्नेबुझ्ने भएका र उपकरण तथा पूर्वाधारहरु भएका ठाउँमा राम्रो कामहरु भइरहेका कति उदाहरणहरु देख्न अनि समाचारहरु पढ्न पाइरहेका छौं। केही नभएकाहरु पनि अरुको सिको गर्न खोज्दैछन्।
कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणको सन्दर्भमा जनचेतनामूलक क्रियाक्लापहरुमा नै बढी महत्व दिँदा राम्रो हुन्छ स्थानीय सरकारले। किनकी कोभिड-१९ को महामारी फैलिन नदिनका लागि एउटा उत्तम उपाय मानिएको छ क्वारेन्टाइनलाई। यसको बारेमा जनसमुदायलाई राम्रोसँग बुझाउन नसक्दा विभिन्न मानसिक समस्या आएको पाइन्छ। त्यसैले स्थानीयस्तरमा यसको महत्व बुझाउन जरुरी छ। साथमा अरु विभिन्न रोकथाम तथा नियन्त्रण उपायहरुको जानकारी प्रदान गर्ने त छँदैछ।
अन्त्यमा, संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर विदेशबाट नेपल भित्रिने विभिन्न नाकामानै हेल्थ डेक्स, क्वारेनटाइन तथा कोरोना परीक्षण गरेर संक्रमित व्यक्तिहरुलाई निग्रानीमा राखेपछि यसको जोखिम पक्कै कम हुन्थ्यो। उसो त यो कोभिड-१९ को महामारी पनि पहिलोपटक नै आएको हो। त्यसैले पनि यो हाम्रो लागि गर्दै सिक्ने अवसर भएको छ। आशा छ यो सिकाई अर्थपूर्ण होस्।
(भट्टराई सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशकी जनस्वास्थ्य अधिकृत हुन्)