विजय पाण्डे
एउटा देशको एक स्थानबाट सुरु भएको कम शक्तिशाली तर फैलावट ज्यादा र छिटो भएको कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वलाई नै तर्साइरहेको छ। यो भाइरसको यात्रा कहाँ पुगेर अन्त्य हुने हो र अझै कति क्षति हुने हो यकिन छैन।
हरेक मानिसले जति पटक आँखा झिमिक्क गर्छन्, त्यो भन्दा धेरै पटक त कोरोना भाइरसको नाम उच्चारण गरेर बसेका छन्। हरेकले आआफ्नो हैसियत, स्थान, उमेर समूह, पेसाका आधारमा तयारी, पूर्वतयारी गरिरहेका पनि छन्। तर सबैले के कुरा बुझ्न जरुरी छ भने जतिसुकै उच्च सतर्कता र तयारी गरे तापनि यी र यस्ता रोग, समस्याबाट ढुक्क भएर बस्नसक्ने अवस्था भने कहिल्यै आँउदैन। किनकी तयारी कहिल्यै पूरा हुँदैन।
यसको मतलब तयारीको अर्थ छैन, यी सब गर्नु बेकार हो भन्न खोजेको भने होइन। यी र यस्ता रोग र समस्याको त झन् उपचार भनेकै राम्रो तयारी हो। तर तयारी जति गरे पनि कम हुन्छ भने झन् हामीले के तयारी गरेका छौं त? मुख्य कुरा त्यो हो। राज्यले आफ्नो हैसियत अनुसार गर्नुपर्ने धेरै काम गरेको छ, केही बाँकी पनि गर्नेछ।
तर, सरकारले भनेको मानिदिनु, घरैमा बस्नु भन्दा पनि किन अटेरी गर्छौं हामी? के यही हो त हाम्रो तयारी? तयारी गर्ने दायित्व राज्यको मात्रै हो? नगरिकको कर्तव्यको आवश्यक नपर्ने हो?
सरकारले गर्ने धेरै काममध्ये दुई मुख्य काम एक जनतालाई भयरहित सुरक्षित गराउने र अर्को सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई सुरक्षितको साथसाथै जनताकै सेवामा खटाउने।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गराउनै नसकी जनताको सेवामा खटाइएको भए तापनि विपदको अवस्थामा विगतमा पनि खटेकै हुन् अहिले खटिइरहेका छन् र खट्ने पनि छन्। र, यस्तो महामारी र संकटको समयमा को सरकारी सेवाका स्वास्थ्यकर्मी, को गैरसरकारी, को भूतपूर्व, को बहालवाला, को सेवा दिइरहेका, को स्वास्थ्यकर्मी दर्ता भएर सेवा बाहिर रहेका भन्ने नै हुँदैन। विपत्तिको बेलामा राज्यलाई आवश्यक परेमा सबैलाई सेवामा खटाउन सक्छ राज्यले भने नगरिकले पनि आफ्नो कर्तव्य बुझ्नु पर्छ।
तर, उनीहरुलाई नै असुरक्षित तरिकाले खटाइनुको नतिजा राम्रो आउने छैन। यसका लागि राज्यले केही अवश्य सोचेकै छ र एकपल पनि ढिला नगरी यथाशीघ्र आवश्यक श्रोत र साधनको व्यवस्थापन गर्नैपर्छ र गर्ला भन्ने विश्वास पनि छ। तर जनतालाई सुरक्षित गराउनुपर्ने विषयमा जनता सबैले साथ र सहयोग गर्नुपर्ने हुन्छ।
सरकारले लकडाउन गरिसकेको अवस्थामा सबै सचेत नागरिकहरुले आआफ्नो घरमै बसिदिनु पर्छ। सबैले सबैलाई सहयोग गर्नुपर्छ, हरेक व्यक्तिले म आफैं संक्रमित भइसकेको हुन पनि सक्छु अथवा मैले भेट्ने जो कोही पनि संक्रमित भएको हुन सक्छ भन्ने सोचेर घरमै बसिदिनु नै सबैभन्दा उत्तम उपाय हो। एक व्यक्ति, परिवार, समुदाय, क्षेत्र, राष्ट्र सबैको महत्व आपसमा अन्तरसम्बन्धित हुन्छ।
एउटा नेपाली उखान छ नि ुदशा बाजा बजाएर आउँदैनु तर यो कोरोना भाइरस बाजा बजाएरै यता उति डुलिरहेको छ। कहाँबाट आएको हो भन्ने सबैलाई थाहा भए तापनि कहाँकहाँ पुगेर केकेसम्म गर्ला सबै अनभिज्ञ छन्। बाजा बजाएर बसिरहेको छ तर कताकता कति बाजा बजाउन दिने हो त्यो सम्पूर्ण विश्वका मानिसको हातमा छ।
(पाण्डे जनस्वास्थ्यकर्मी हुन्)