विशाल सुवेदी
चीनको वुहान सहरबाट सुरु भई विश्वव्यापी महामारीको रुप प लिएको नोबेल कोरोना भाइरस संक्रमण २०१९ (कोभिड १९) हाल नेपालमा पनि उच्च जोखिममा रहेको छ। विश्व स्वास्थ्य संगठनले उच्च जोखिम भन्दै आवश्यक सुझाव समेत दिएको छ।
सोही सम्बन्धमा नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरी नियन्त्रण तथा पूर्वतयारी र व्यवस्थापनका लागि निरन्तर कार्यहरु गर्दै आएको छ। साथै तीनै तहका सरकार अन्य काम तथा प्राथमिकताहरु थाती राख्दै एकजुट भई कोभिड १९ नियन्त्रण तथा प्रतिकार्यमा जुटिरहेकै छन्।
ठूला सिमाना तथा बाह्य मुलुकमा रहने नेपालीहरु विभिन्न बाटो हुँदै नेपाल प्रवेश गरिरहेका छन्। यो दर पछिल्ला दिनहरुमा उच्च रहेको छ। नेपाल सरकारले लगडाउन घोषणा गर्नुपूर्व वा पश्चात पनि अनेकौं नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको घुइँचो देख्न सकिन्छ। उच्च संक्रमण रोग नियन्त्रण गर्न नेपाल सरकारले वा स्वास्थ्य अधिकारीले दिएको निर्देशन पालना गर्नुपर्ने आम जनताको दायित्व हुन आउँछ। र, संक्रामक रोग ऐन २०२० पनि विशेष सजाय र दण्डको समेत व्यवस्था गरेको छ।
कोराना उच्च संक्रामक रोग भएकाले आफू र आफ्नो परिवार तथा समग्र जनताकै स्वास्थ्य स्थितिमा उच्च सर्तकता अपनाउनु आम नागरिकको दायित्व हो। सिद्धान्त अनुरुप घरमै बसी स्वास्थ्यकर आनीबानीको विकास सबल मानसिक स्वास्थ्य तथा सन्तुलित आहार लिई पारिवारिक वातावरणमा रहनु नै अहिलेको बुद्धिमता हुन आउँछ। अस्वास्थ्य अधिकारीहरुले पनि सोही बमोजिम नै सुझाउने गरेका छन्।
हिजोआज अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको चाप उल्लेखनीय नभए तापनि सामान्य श्वासप्रश्वास, ज्वरो, खोकी सम्बन्धी समस्याहरु, जुन आम नागरिकका लागि कोरोना भाइरस संक्रमण जस्तै लाग्न सक्छन्। ती रोगको सजगता र सचेतना बढ्दै गएको सन्दर्भमा जिल्लाभर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग परामर्श लिने दर ह्वास्तै बढेको छ।
खासगरी यसरी सचेत भई आफ्नो परिवारको र स्वास्थ्यका विषयमा परामर्श र सुझाव लिनु अत्यन्तै सराहनीय कार्य हो। यसले भोलिका दिनमा आम रुपमा जनस्वास्थ्यप्रति चासोको रुपमा रहेका मूलतः सर्ने तथा नसर्ने रोगको प्रतिकार्य व्यवस्थापन र नियन्त्रणमा अघि बढ्न र निरन्तर लागि पर्न तीनै तहको सरकारलाई पृष्ठपोषण समेत दिई योजना तर्जुमा र नीति निर्माणका लागि थप मद्दत पुग्नेछ।
साथै आम नागरिकको तहबाट समेत यसैगरी सचेत रही सजकता पूर्वक स्वास्थ्यको विषयमा सदैव जागरुक हुन आवश्यक छ।
सामान्य रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वास सम्बन्धी समस्या (खासगरी मौसमी रुघाखोकी तथा फ्लुका लक्षणहरु हुन्) हाल कोरोनाको संक्रमण मूलतः आयातित संक्रमण भएकाले स्थानीय रुपमा देखिएका र देखिन आएका यस्ता लक्षणहरु कोरोना संक्रमण नै हुन् भन्न सकिने अवस्था नरहेको र सामान्य लक्षणहरु देखिएमा डराउनुपर्ने, चिन्ता लिनुपर्ने, मानसिक रुपमा विचलन हुनुपर्ने अवस्था हुँदैन। बरु सजक र सचेत रही चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझाव अवलम्बन गरी घरमै बस्नु उपयुक्त विधि हो।
स्वास्थ्य सेवा विभागको गत आव २०७५।०७६ को वार्षिक प्रतिवेदन विश्लेषण गर्दा नेपालमा बहिरंग तथा अन्तरंग विभागमा आउने बिरामी तथा सेवाग्राहीहरु अधिकांश यस्तै लक्षणका छन्। प्यूठान जिल्लामा गत तीन आर्थिक वर्षको तथ्यांक विश्लेषण गर्दा युआरटिआई सबैभन्दा बढी, त्यसैगरी एलआरटिआई, टाउको दुख्ने, पियुओ नै उच्च स्थानमा रहेको छ।
गत आर्थिक वर्ष चैत महिनाको प्युठान जिल्लाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी युआरटिईका बिरामी १६१८ जनाले सेवा लिएका थिए। त्यस्तै टाउको दुखाइका १२३२ जना एआरआई, एलआरटिईका बिरामी ७९५ जना एक्युट टन्सिलाइटिसका बिरामी ४०३ जना पियुओका बिरामी ३७१ जना फ्यारेन्जाइटिस सोर थ्रोटका बिरामी १४२ रहेको स्वास्थ्य कार्यालयको छ।
यसरी सरसर्ती हेर्दा कोरोना भाइरस संक्रमण नहुँदा र यसरी विश्वव्यापी रुपमा महामारी नहुँदा पनि यससँग मिल्ने र उस्तै प्रकृतिका लक्षणहरु देखाउने बिरामीहरु स्वास्थ्य संस्थामा आइरहेकै हुन्छन्। मौसम परिवर्तन हुने समयमा यो दर उल्लेख्य मात्रामा बढ्ने गर्छ।
आम नागरिक सचेत र सजग रहने भनेको हाललाई खासगरी बाह्य मुलुकबाट नेपाल र जिल्लामा प्रवेश गरेका नागरिकहरुसँग नै हो। र, उहाँहरु खास आफैंले सचेतना अपनाई घरमै बसी सावधानी हुनु नै उत्तम विकल्प हो। साधारण लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य केन्द्रमा परामर्श र राय लिनु नै उत्तम हुनेछ।
प्युठान जिल्लामा पनि करिब ३ हजारको हाराहारीमा भारत लगायतका अन्य मुलुकबाट आएका नागरिकहरु गाउँ प्रवेश गरेका छन्। सबै स्थानीय सरकारका नेतृत्वमा नामावली संकलन, चिन्ह तथा लक्षणहरुको स्क्रिनिंग तथा तोकिए बमोजिम परामर्श र होम क्वारेन्टाइनमा राख्ने कार्य गरिएको र करिव ४० जनालाई नगर तथा गाउँपालिकाले तयार गरेको क्वारेन्टाइन केन्द्रमा राखिएको छ।
हालसम्म जिल्लाभर कोभिड १९ संक्रमण गरिएका २ जनालाई आइसोलेसनमा राख्ने तथा प्रयोगशाला परीक्षणका लागि बुटवल पठाइएकोमा दुवैमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ।
सबै टोल, बस्ती र समुदायका नागरिक सचेत भई सिफारिस गरिएका नियमहरु पालना गरी आफू तथा परिवार र समुदाय हुँदै सिंगो जिल्ला र राष्ट्रमा संक्रमण हुन नदिन सबै जागरुक हौं। सचेत बनौं र सहयोग गरौं। अनावश्यक अफवाहको पछि नलागौं। आधिकारिक स्रोतको सूचना तथा सन्देश मात्र सुन्ने गरौं।
व्यक्ति, परिवार, संघसंस्था, निजी क्षेत्र तथा सर्वपक्षीय दायित्व सम्झी कोरोना संक्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनमा लागिपरौं। अनावश्यक टीकाटिप्पणी तथा विश्लेषण गर्नुभन्दा पनि आफूले निर्वाह गर्नुपर्ने दायित्वको विषयमा बढी गम्भीर सचेत बनौं। अबको एक साता संयमित बनौं र नेपाल सरकारलाई सहयोग गरौं।
(स्वास्थ्य कार्यालय प्युठानका कार्यालय प्रमुख सुवेदीसँग स्वास्थ्यखबरकर्मी दीपा पौडेलले गरेको कुराकानीमा आधारित)