हेमराज पाण्डे
चीनबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण हाल विश्वका अधिकांश देशहरुमा फैलिइसकेको छ। नेपालमा पनि हालसम्म ९ जना संक्रमित फेला परेका छन्। जसमध्ये १ जनामा यो निको भइसकेका छन्। नेपाल सरकारले करिब २ हप्तादेखि देश नै लकडाउन गरेर संक्रमणलाई रोक्न पहल गरिरहेको छ।
भाइरस र महामारीको अवस्था
कोरोना भाइरस नयाँ भाइरस नभए तापनि हाल देखिएको भाइरस नयाँ प्रकृतिको भएको कारण र कुनै व्यक्तिमा यस भाइरस विरुद्ध लड्ने प्रतिरक्षा शक्ति नभएको कारण यो संक्रमण जसलाई पनि हुन सक्ने हुन्छ।
यो भाइरस एक संक्रमित व्यक्तिले सरदर २ देखि ५ जना व्यक्तिमा सार्न सक्ने देखिएको छ, जसलाई आर नट भनेर पनि बुझिन्छ। जस अनुसार करिब ५० देखि ८० प्रतिशत व्यक्तिमा यसको संक्रमण भएर प्रतिरक्षा शक्तिको विकास भएको खण्डमा अरु व्यक्तिहरु सामूहिक प्रतिरक्षा शक्ति (को कारण सुरक्षित रहन सक्ने र भाइरसको महामारी अन्त हुन सक्छ।
त्रास किन?
संक्रमितमध्ये करिब ८० प्रतिशतमा यसका लक्षण सामान्य हुने, करिब १५ प्रतिशतमा अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने र ५ प्रतिशतमा आइसियु सेवा आवश्यक पर्ने हुन्छ र करिब ३-४ प्रतिशत संक्रमित बिरामीको मृत्यु पनि हुने हुनाले आम रुपमा यो भाइरसको त्रास रहेको पाइन्छ।
हाम्रो क्षमता र लकडाउन
भाइरस थुकका छिटामार्फत एकदमै छिटो सर्ने भएकोले र संक्रमित भएको २-१४ दिनमा यसको लक्षण देखिने भएकोले एकै पटक संक्रमितको संख्या ह्वात्त बढ्न सक्ने हुन्छ। तर हामी लगायत विश्व नै यस किसिमको भाइरल संक्रमण विरूद्ध तयारीमा नरहेको कारण विश्वभर नै स्वास्थ्य संस्थाहरुले थेग्ने भन्दा बढी बिरामी आइरहेको कारण पर्याप्त उपचारको अभावमा बाँच्न सक्ने बिरामी पनि मरिरहेको विद्यमान अवस्था हो।
नेपाल सरकारले करिब २ हप्तादेखि गरिरहेको लकडाउनको मुख्य कारण पनि स्वास्थ्य संस्था तयारी अवस्था नरहनु हो। एकै पटक बिरामीको संख्या बढेको खण्डमा भयावह स्थिति आउन सक्ने कारण लकडाउन गरिएको हो। हालसम्म विदेशबाट भित्रिएका केसहरु (एकजना बाहेक) अन्य केसहरु नदेखिएका कारण लकडाउन सफल भएको मान्नु पर्छ।
लकडाउनपछि के गर्ने?
करिब १४ दिनको लकडाउनपश्चात् विदेशबाट आयातित केसहरु बाँकी रहेको भए देखिसकिनुपर्ने थियो। लकडाउनपश्चात् भारतबाट आएर क्वारेन्टिनमा रहेका बाहेक अरुमा भाइरस छैन भन्ने अनुमान गर्न सकिन्छ (केही अप्रत्यासित केसहरु बाहेक)। तर हाम्रो टेस्ट गर्ने क्षमता पर्याप्त नरहेको र समाजमा संक्रमितप्रतिको दृष्टिकोण राम्रो नभएको कारण पनि केसहरु अझै पनि हुन सक्छन्। त्यसैले थप एक हप्ता लकडाउन आवश्यक पर्छ तर जनमानसमा परेको प्रभाव कम गर्नको निमित्त लकडाउनलाई खुकुलो बनाउन सकिन्छ।
जस्तोः निजी सवारी साधनहरु चल्न दिने, मालबाहक सवारी साधनहरु चल्न दिने, भीडभाड नहुने पसलहरु खोल्ने (भीडभाड नहुने पसलहरु जस्तै किराना, फेन्सी आदि) तर २ जना भन्दा बढी सँगै हिँड्न तथा भेला हुन नदिने, कृषि क्षेत्रका कर्महरु सुचारु गर्ने लगायत।
लामो तथा छोटो दूरीका सवारी साधनहरु र आन्तरिक उडानहरु कम्तीमा थप १ हप्ताको लागि रोक्नु बान्छनीय देखिन्छ। तर अन्तर्राष्ट्रिय उडान तथा नाकाबाट आवतजावत अन्तर्राष्ट्रिय परिस्थिति अनुरुप गर्नुपर्ने हुनाले हाललाई प्रतिबन्ध लगाउनु अत्यावश्यक छ।
यस २ हप्ताको लकडाउनमा पनि सरकारी स्वास्थ्य संस्थाको तयारी (पिपिई लगायत अन्य सामग्री) पर्याप्त नभएको कारण पनि कम्तीमा १ हप्ता लकडाउन लम्ब्याउनु पर्ने देखिन्छ। यस बीचमा यस भाइरसको बारेमा जनतालाई पर्याप्त रुपमा सही सूचना विषेशगरी भौतिक दूरी कायम राख्ने र हात र अनुहारको सरसफाइबारे सही संप्रेषण गर्नु जरुरी देखिन्छ।
त्यसपछि के?
अन्य देशमा जस्तै नेपालमा समुदाय स्तरमा संक्रमण फैलिने सम्भावना कायमै छ। त्यसको लागि सरकारले कम्तीमा ७ प्रदेशहरुमा भेन्टिलेटर सहितको उपचार सेवा प्रदान गर्न तयारी गर्नुपर्छ। हरेक केसको ल्याब टेस्ट हुन नसकेको खण्डमा बिरामीको परिभाषाको आधारमा सम्भावित कोरोना संक्रमित बिरामी ठानेर उपचारको व्यवस्था गर्नुपर्छ। र, हरेक जिल्लामा छुट्टै उपचार गर्ने व्यवस्था गर्नुपर्छ।
समुदाय स्तरमा संक्रमण फैलिएको अवस्थामा हाम्रो लक्ष्य संक्रमणलाई रोक्ने भन्दा पनि संक्रमितको संख्या विस्तारै मात्र बढोस् भन्ने हुनुपर्छ, जसलाई हाम्रो स्वास्थ्य प्रणालीले सजिलै थेग्न सकोस्।
यस बीचमा खोपको विकासको लागि पनि प्रयासहरु भइरहेका छन्। तर खोप बन्नको लागि कम्तीमा १ वर्ष लाग्ने वैज्ञानिकहरुले जनाइरहेका छन्। खोप जति ढिलो आउँछ त्यति नै धेरै मात्रामा संक्रमितको संख्या बढ्न सक्ने सम्भावना रहन्छ। र, करिब ५०-८० प्रतिशत जनसंख्या संक्रमित भई यस विरुद्ध प्राकृतिक प्रतिरक्षा शक्ति तथा समूहगत प्रतिरक्षा शक्तिको विकास भई यस महामारीको अन्त्य हुनसक्छ।
(वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डे हाल मेलबर्न विश्वविद्यालय, मेलबर्न अष्ट्रेलियामा एमएससी इपिडिमियोलोजी अध्ययनरत छन्।)