यमपी भुसाल
जब जीवन(मरणको अवस्था आउँछ, बाठो चेतनशील मान्छे जसरी पनि बाँच्न चाहन्छ।
मृत्युदण्ड दिनुअघि अन्तिम इच्छा सोध्ने गरिन्छ। दण्डित हुँदै गरेको व्यक्तिले आफ्नो गल्ती स्वीकार गरी अन्तिमपल्ट जीवनदान दिन माग गर्छन्। भर्खरै भारतमा निर्भया बलात्कारका दोषीहरु रुँदै अन्तिम मौकाको माग गर्दै थिए। तर, पाएनन्।
कोरोना महामारी यतिखेर विश्वव्यापी तेस्रो विश्वयुद्धका रुपमा चित्रित भइरहेको छ। आरोप-प्रत्यारोप पनि चलिरहेको छ। 'मानव सिर्जित जैविक हतियार हो’ भन्ने हरुको धारणालाई घटनाक्रम र सामान्य तथ्यले पुष्टि दिएझैं देखिन्छ। प्रमाणित भयो भने गम्भीर मानवता विरोधी अपराधका रुपमा दर्ज हुने निश्चित छ।
कोरोना भाइरसको महामारीले मानवजीवनमा पैसाको महत्वहीनता पनि दर्शाइरहेको छ। इटालीका सडकहरुले यसलाई सदृश्य प्रमाणित गरिदिएको स्थिति छ।
नेपालमा लकडाउनको १०औं दिनसम्मका घटनाक्रमले सबैलाई आश्चर्य र थप सशंकित बनाएको छ। पाँच जना नागरिकले उपचार नपाएर मृत्युवरण गरे। तर कोरोनाको डरले स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न भएनन्।
निजी अस्पतालहरुले सामान्य ज्वरोका बिरामीलाई समेत भर्ना लिँदैनन्। सरकारी अस्पतालमा मान्छे मरेपछि मात्रै रिपोर्ट आउँछ।
नेपालमा पुस २४ मा पहिलो संक्रमण देखिएको हो। करिब ७८ दिनपछि चैतको दोस्रो साता स्वास्थ्य मन्त्रालयले ल्याएको कोरोना परीक्षण र बन्दोबस्तीका सामग्री काठमाडौं ल्याइए, गुणस्तरहीन र सम्भवत नक्कली!
यो पटक अनेक काण्ड र अनियमितताको आरोप खेपिरहेको ओली सरकारलाई प्रतिपक्ष र आम नागरिकका तर्फबाट चैत ६ पछि सबै विमति र आलोचना स्थगित गर्दै अभूतपूर्व समर्थन प्राप्त भयो।
सरकारी अधिकारी (मन्त्री र स्वास्थ्य सेवा विभागका महानिर्देशक)हरु यतिबेला पनि कमिसन र कमाउन लालयित मात्रै होइन, युद्ध स्तरमा खटिएको सार्वजनिक भएपछि सबै सबैलाई स्तब्ध बनाएको छ।
यहि बीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफ्नो 'सालिन' परिचय विपरीत आशंका गर्ने र प्रश्न उठाउनेहरु विरुद्ध छुद्रतापूर्वक प्रस्तुत भए।
पर्यटनमन्त्री योगेश भट्टराईले स्वास्थ्य मन्त्री र कोरोना परीक्षण सामग्री खरिद प्रकृयालाई बचाउ गर्ने प्रयास गरे। यही शैली (यसलाई 'अरिगांल शैली’ पनि भनिन्छ आजकल) मा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि उभिए।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले 'पाहुना’ आएकोले मिडियामा बोल्न नचाहेको भिडियो भाइरल भयो। अहिले ती पाहुना 'ओम्नीका एजेन्ट नै थिए’ भन्ने आशंका प्रवल सत्यतिर उन्मुख देखिन्छ।
स्वास्थ्य मन्त्रालयको नेतृत्व र कार्यशैलीबारे धेरै टिप्पणी भइरहेको थियो। 'घाँसी दरिद्र घरको तर बुद्धि कस्तो। मो भानुभक्त धनी भैकन पनि आज यस्तो', सामाजिक सञ्जालभरि छरिएको छ।
सदाझैं (निर्मला प्रकरण, वाइड बडी काण्ड, ललिता निवास जग्गा प्रकरण, गोकुल प्रकरण...) प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रीको बचाउमा क्लिन चिट दिन खोजे।
संकटमा सबैले एकताबद्ध प्रयत्न गर्नु पर्छ। सबै लागेकै देखिन्छ, तर मन्त्रीहरुको यो चर्तिकला सार्वजनिक भएपछि ुआफ्नो ज्यान आफैं जोगाऔं’ बाहेक आम नागरिकसँग अर्को भरपर्दो सुरक्षित उपाय नरहेको दुखद निष्कर्ष आउँछ।
प्रबल बहुमतको सरकार यस रुपमा प्रस्तुत हुँदा समर्थन गर्ने र मत दिनेहरुमा पनि एक प्रकारको अपराध बोधयुक्त मौनता देखिन्छ।
सदाबहार अप्रिल फुल दिइरहने नेताहरुले यो पटक चाहिँ महँगो र गम्भीर मुर्खता देखाएर सबैलाई चकित बनाइदिए।
अप्ठ्यारोमा नेतृत्व परख हुन्छ, भयो।
संकटमा अप्रमाणित नेतृत्वले नैतिकता देखाउन सक्नुपर्छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग अहिलेलाई यो बाहेक अरु सुविधा उपलब्ध छैन। अख्तियारमा मुद्दा दर्ता भइसकेको अवस्थाले पनि यही निष्कर्ष दिन्छ। बाँकी मेरा प्रधानमन्त्रीले जानून्।
आफ्नो ज्यान आफैं जोगाऔं, घरमै बसौं, सुरक्षित रहौं।
(भुसाल नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष हुन्)