बाबु काजी कार्की
यतिबेला संसारले नै कोरोना भाइरस (कोभिड १९) को विपत्ति भोगिरहेको छ। हामीले मात्र होइन, सारा संसारले नै यस्तो खालको विपत्ति सायद व्यहोर्नु परेको थिएन होला। हाम्रो जस्तो स्रोत र साधनको कमी भएको मुलुकमा त यसको प्रभाव बढी नै पर्छ।
यस्तो विषम परिस्थितिमा निजी होस वा सरकारी सबै पक्ष एकजुट भएर कोरोनासँग लड्न आवश्यक छ। सबैको सहकार्यमा कोरोनालाई परास्त गर्नुपर्ने समयमा केही मिडिया र सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचार तथा अभिव्यक्ति हेर्दा यस्तो लाग्छ, नेपालमा कोरोना संक्रमण भयावह भयो भने स्वास्थ्यकर्मीले नभएर तिनै मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले संक्रमितको उपचार गर्नेछन्।
यस्तो विषम परिस्थितिमा स्वास्थ्यकर्मीको मनोबल कसरी उच्च राख्ने र भोलिको विषम परिस्थितिको सामना कसरी गर्ने भन्ने विषयमा सबैको चासो र चिन्ता हुनुपर्ने हो । तर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई कसरी गाली गर्ने र समाजिक सञ्जालमा सस्तो लोकप्रियता सहित भाइरल हुने होडबाजी चलेजस्तो देखिन्छ।
लकडाउनको यो बेला एकै स्वरमा घर बसेर सामाजिक सञ्जाल चलाउँदा केही सञ्चार माध्यममा आवाज सुनिन्छ, निजी अस्पतालले केही गरेनन्, यी नाफाखोर मात्र हुन्। कतिपय सामाजिक सञ्जालमा त सुन्न र भन्न समेत नसकिने शब्दहरु प्रयोग हुन थालेको छ।
स्वास्थ्यकर्मीले सबैखालका बिरामीको उपचार गर्नुपर्छ। तर साथमा बिरामीको उपचार गर्न वातावरण बनाउने दायित्व हाम्रो पनि हो भन्ने कुरालाई कसैले पनि बिर्सनु हुँदैन। साथै यहाँ बिर्सन नहुने अर्को कुरा के पनि छ भने स्वास्थ्यकर्मीको पनि अरु सबैको जस्तै परिवार आफन्त र इष्टमित्र हुन्छन्।
त्यस कारण स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था मिलाएर मात्र बिरामी जाँच्ने वातावरण बनाउनुपर्छ। र, त्यसको केही हदसम्म राज्यलेपनि साथ दिनुपर्छ। नकि मात्र यो निजी अस्पतालको र यहाँ कार्यरत स्वास्थ्यकर्मीको समस्या हो। यसका साथै यदि स्वास्थ्यकर्मीबाट कुनै लापरबाही भएमा भोलि त्यही स्वास्थ्यकर्मीले धेरैजना सामान्य मानिसलाई समेत संक्रमण गराउनसक्ने सम्भावना हुन्छ। जुन कुरा संसारका अरु देशबाट पनि सिक्न सकिन्छ।
आम मानिसले यो कुरा पनि बुझ्न जरुरी छ कि कोरोनाको बिरामीलाई एक जना स्वास्थ्यकर्मीले मात्र हेरेर जाँच पड्ताल सकिँदैन। यसरी जाँच पड्ताल गर्ने क्रममा धेरै जना स्वास्थ्यकर्मी र अन्य व्यक्ति पनि बिरामीको सम्पर्कमा आउनुपर्ने हुन्छ र यस अवस्थालाई मध्यनजर गरी कम्तीमा पनि एक जना डाक्टर, एक जना नर्स र एकजना सरसफाइ सम्बन्धी काम गर्ने व्यक्ति त अविछिन्न रुपमा रहनै पर्छ।
यसका साथसाथै अरु सेवाजस्तै रगतको जाँच, एक्सरे, सिटी स्क्यान लगायतका विभिन्न परीक्षणहरु गर्नुपर्ने हुन्छ। त्यसका लागि फरक फरक डिपार्टमेन्ट र टिम हुन्छ। त्यसका साथै त्यो बिरामीको अरु बिरामीसँग संक्रमण नहुनेगरी विशेष व्यवस्था मिलाउनुपर्ने हुन्छ। जुन कुरामा अस्पतालको सामथ्र्य मात्र भएर पुग्दैन। यसको लेआउट लगायतका विषयमा आइसोलेसन गर्न मिल्ने अलग्गै व्यवस्था सहितको पूर्वाधारमा भर पर्छ।
यी कुराहरुको साथमा बिरामीको स्वास्थ्य अवस्थाको आधारमा अन्य विभिन्न विषयका चिकित्सकहरु उपचारमा संलग्न हुनुपर्ने समेत हुन्छ। यी सम्पूर्ण कुराहरुको व्यवस्थापन गरिसक्नुका साथै उपचारमा संलग्न समूहको पहिचान गरी पूर्ण रुपमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको तयारीका साथै उनीहरुको मनोबललाई उच्च बनाइराख्नुपर्ने हुन्छ। यो सबै एक वा दुई दिनमा मात्र गर्न सकिने अवस्था हुँदैन।
यति हुँदाहुँदै पनि निजी संस्थाहरुले सीमित साधन र स्रोतमा उच्च मनोबलका साथ कोरोनाका बिरामीहरुलाई उपचार गर्न जुन तदारुकता देखाएका छन्, सायद समयले भोलिका दिनमा यस अवस्थालाई उच्च मूल्यांकन गर्नेछ।
अन्त्यमा, यो समय भनेको निजी र सरकारी भनेर विभाजनको रेखा कोर्ने भन्दा पनि यो विशेष परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा सबै समस्याहरु पब्लिक हुनेछन्। जस्तो २०७२ सालमा आएको महाभूकम्पको बेला निजी अस्पतालहरुले पनि निर्वाध उपचार सेवा प्रदान गरेका थिए। त्यस्तो आपतका बेला कुनै पनि बिरामीलाई सरकारीमा मात्र उपचारका लागि लैजाने भनेर कुर्नसक्ने अवस्था पनि रहने छैन।
त्यसकारण राज्यले समपूर्ण निजी संस्थालाई पनि बेड संख्याको आधारमा पिपिईका साथै कोरोनाको शंकास्पद बिरामीको उपचारका लागि अन्य आवश्यक सामग्री उपलब्ध गराएको खण्डमा भोलि हुनसक्ने कोरोनाको महामारीलाई न्यूनीकरण गर्न सकिन्छ।
(कार्की ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रबन्ध सञ्चालक हुन्)