वीरेन्द्रकुमार चौधरी
चैत १५ गते बागलुङकी एक युवतीमा कोरोनाको संक्रमण देखियो। त्यसको भोलिपल्ट नै स्वास्थ्य कार्यालय बागलुङको तर्फबाट स्वास्थ्य कार्यालय प्रमुख र म बिरामीसँग सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांक लिन तथा स्वास्थ्य स्थिति बुझ्न पुग्यौं। सम्पर्कमा आएका व्यक्तिहरुमध्ये केहीसँग प्रत्यक्ष भेटघाट भयो भने केहीसँग फोन सम्पर्क मात्र हुनसक्यो। हामी निरन्तर सबैसँग सम्पर्कमा छौं। हालसम्म उहाँहरुमध्ये कसैमा लक्षण देखिएको छैन।
कन्ट्याक्ट ट्रेसिङ्गको सिलसिलामा हामी पुगेको घरमा एक महिला र उहाँका दुई बच्चा सहितको सानो परिवार रहेछ। वार्तालाप सामान्य रुपमै सुरु भयो। तर वर्तालाप सुरु भएको केही समयपछि घरमूली महिलाको आखाभरि आँसु आयो। उहाँले रुदै आफू या आफ्नो बच्चालाई केही भइहाल्ने पो हो कि? भनी डर व्यक्त गर्नुभयो। हामीले उचित समय दिएर सक्दो परामर्श गर्यौं। उहाँले आफूहरुलाई सान्त्वना दिएको भन्दै हामीलाई धन्यवाद दिँदै बिदा गर्नुभयो।
दोस्रो परिवार संक्रमित युवतीको एकदमै मिल्ने साथीको रहेछ। आफ्नो साथीलाई संक्रमण देखिएपछि चिन्ताले उनको पनि टाउको दुख्दो रहेछ। हामी पुगेको अन्य परिवारमा पनि अवस्था खासै फरक थिएन। कोरोनाले ग्रसित नभए पनि कोरोनाको डरले ग्रसित थिए सबै।
हामी जहाँ पुग्यौं, सामाजिक सञ्जालमा जस्तो गाली नभई धन्यवाद पायौं। अचम्म त तब लाग्यो जब मैले संक्रमित युवतीको घर अगाडि नै रहेको विद्यालयको नाम पढें -कोरोना एकेडेमी।
कोरोनाकै कारण विदेशको कार्यक्रम छोडेर फर्किनुभएका एक सज्जनले आफू संक्रमित भइयो कि? भन्ने आशंकामा हामीलाई सम्पर्क गर्नुभयो। हामी परीक्षणको लागि नमुना लिन उहाँको घरमा पुग्यौं। ती सज्जन घरमा एक्लै हुनुहुँदोरहेछ। परिवारका अन्य सदस्यहरु सोही घरअगाडिको अर्को घरमा बस्नुहुँदोरहेछ। परिवारको कोही पनि सदस्य उहाँको नजिक नआउने गरेको जानकारी पाइयो।
रोगको हिसाबले यो निर्णय एकदमै सही हो। तर यसले ती सज्जनमा पर्ने मानसिक असर त उहाँको मनोबलमा भर पर्छ। ती सज्जनको परीक्षणको नतिजामा संक्रमण नरहेको देखिएको छ।
एउटा अर्को प्रसङ्ग पनि छ। नमुना संकलनकै क्रममा एक ठाउँमा हामीले पहिले सो ठाउँको स्वास्थ्यचौकी प्रमुख र वडा अध्यक्षसँग भेट्यौं र उहाँहरुको सहयोगमा नमुना संकलन गर्ने स्थानमा जाने निधो भयो। उहाँहरुलाई हामीले गाडीमा बस्न अनुरोध गर्यौं। स्वास्थ्यकर्मी साथी हामिसँगै गाडीमा बस्नुभयो भने वडा अध्यक्ष हामसँग बस्न डराउनु भयो। उहाँ भ्यानको पछाडिको सामान बोक्ने ठाउँ (ट्रली) मा उभिनुभयो।
अन्तिम प्रसङ्ग। छैटौं संक्रमित पुष्टि भइसकेपछि उहाँलाई अस्पतालमा स्थानान्तरण गर्न प्रशासन, सुरक्षा निकाय, अस्पताल र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको बैठक बस्यो। कोरोना संक्रमित बिरामीलाई बोक्ने भनेर तयार गरिएको एम्बुलेन्स बोलाइयो। तर आएको दुईरतीन मिनेटमै एम्बुलेन्सको साँचो त्यहीँ छोडेर चालक गायब भए।
विभिन्न सञ्चारमाध्यमले प्रशासन, सुरक्षा निकाय र अस्पताल पन्छिन खोजेको भन्दै समाचार पनि छापेका छन्। ती निकायहरु पन्छिन खोजेको वा नखोजेको तिनैले जानून्। पिपिई हुदाँहँुदै पनि चालक उपलब्ध नभएपछि आफूसँग सवारी चालक अनुमतिपत्र र सीप दुवै भएकोले आफैं जान्छु भनी म पनि तम्सिएँ। अन्त्यमा पिपिई प्रयोग गरी स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख र चालक गएर बिरामी लिएर आउनुभयो।
सोही घटनालाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय बाग्लुङले जिल्लाका केही एम्बुलेन्स चालकहरुलाई अभिमुखीकरण सहित पिपिई उपलब्ध गराएको छ। आशा गरौं, आगामी दिनमा यो घटना दोहोरिँदैन।
यी घटना मैले बिना अर्थ प्रस्तुत गरेको होइन। यी घटना समाजमा कोरोनासम्बन्धी रहेको भ्रम र कोरोनाको कारणले फैलिएको त्रासको उपज हो। आज सुरुकै चरणमा देखिएका यी घटनाहरुले दुर्भाग्यवश महामारी फैलिएपछि कस्तो रुप देखाउने हो, कल्पना गर्न सकिँदैन।
आँखाभरि आँसु बोकेकी ती महिलाले महामारीको समयमा आफूलाई कसरी सम्हाल्छिन्? नमुना लिने स्वास्थ्यकर्मीसँग डराएका वडा अध्यक्षले महामारीको समयमा कसरी कार्यसम्पादन गर्नुहोला? आज बिरामी बोक्न डराएको एम्बुलेन्स चालक महामारीको अवस्थामा लुकेर बसे के होला? एक पटक सोचौं त।
अब कुरा गरौं कारणको। जहाँ पनि तथ्यभन्दा अफवाह छिटो फैलिन्छ। सामाजिक सञ्जालले सबैलाई जोडेको छ। विद्युतीय समाचारपत्रको दौड जित्नका लागि सबैले भड्किलो शीर्षक राखेर समाचार लेख्छन। र, यहाँका प्रयोगकर्ताले शीर्षककै भरमा समाचारको अनुमान लगाउँछन्। पूरा पढ्ने अधिकांशले न स्रोतको खोजी गर्छन् न आधिकारिकताको।
ग्रामीण क्षेत्रमा स्वास्थ्यको जिम्मेवारी आफ्नै काँधमा बोकेको कैयौं स्वास्थ्यकर्मीले समेत यस्तै भ्रामक जानकारीहरु सेयर गरेको देख्न सकिन्छ। कैयौं स्वास्थ्यकर्मीले नै हालको अवस्थाको गम्भीरता बुझ्न सकेका छैनन्। केही दिनपश्चात् आउनसक्ने भयावह परिस्थितिको चित्रण गर्न सकेका छैनन्।
हाल अभावकै स्थितिमा रहेको पिपिई लगाएर समाजिक सञ्जालमा छ्याप्छ्याप्ती राखिएका तस्बिरहरु यसैका उदाहरण हुन्। यो समस्यालाई न्यूनीकरण वा समाधान गर्न जनता, सरकार र मिडिया, तीनै पक्ष उत्तरदायी हुनु अत्यन्त जरुरी छ।
हाल स्थानीय तहमा पर्याप्त स्वास्थ्य जनशक्ति उपलब्ध रहेको हुँदा जनमानसमा रहेको भ्रम र त्रास न्यूनीकरण गर्न धेरै गाह्रो छैन। स्वास्थ्य शाखाले योजना बनाई सानो समूहमा सर्वप्रथम स्वास्थ्यकर्मीसँग र तत्पश्चात जनप्रतिनिधिसँष् सचेतनामूलक अन्तक्र्रिया गर्नु अझै पनि आवश्यक देखिन्छ। तर, यसो गर्दैगर्दा उच्च सावधानी अपनाउनुपर्ने हुन्छ र प्रवाह हुने सूचनाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनद्वारा प्रेषित भएको हुनुपर्छ।
साथै उपलब्ध जनशक्तिलाई परिचालन गरी नियमित रुपले प्रवाह हुने स्वास्थ्य सेवालाई असर नपर्ने गरी सावधानीका साथ उचित समय र आवश्यक जानकारी दिँदै घरदैलो कर्यक्रम गर्दा समाजमा रहेको भ्रम र त्रासलाई सजिलै न्यूनीकरण गर्न सकिन्छ। यसो गर्दा समाजको त्रास घट्ने छ भने धन्यवादको पात्र भई स्वास्थ्यकर्मीको मनोबल पनि बढ्ने छ। अन्यथा कोरोनाले गर्ने क्षतिलाई कोरोनाको त्रासले गुणात्मक बढावा दिनेछ।
मास्क र पिपिई
अफवाहहरुमध्ये ओझेलमा परेको एउटा अफवाह हो मास्कको प्रयोग। काठमाडौं बसोबास गरिरहेको र बिरामीको उपचारमा संलग्न नरहेको एक स्वास्थ्यकर्मी साथी आवश्यक कामले बाहिर निस्किँदा मास्क नलगाएको भनेर आफू एन ९५ मास्क लगाएको एक जनाले थर्कमान बनाउनुभएछ। साथीले सम्झाउन खोज्दा ुमास्क लगाएर सभ्यताको परिचय दिनुस् भनी जवाफ फर्काउनुभएछ।
म आफैंलाई पनि एक प्रहरी साथीले मास्क नलगाएको देखेर अपशब्द प्रयोग गर्नुभएको धेरै दिन भएको छैन। नमुना संकलन र कन्ट्याक्ट ट्रेसिङ्गको क्रममा पनि मैले मास्क नलगाएको अनुहार भेट्टाउन मुश्किल पर्यो। कैयौं व्यक्तिले त कपडाको फोहोर मास्क पनि लगाएका थिए।
विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कुनै पनि सचेतनामूलक सन्देशमा आमजनतालाई मास्कको प्रयोग गर्न सुझाएको देखिँदैन। विश्व स्वास्थ्य संगठनले मास्कको प्रयोग गर्ने तरिकासम्बन्धी भिडियोमा स्वस्थ व्यक्तिलाई मास्कले संक्रमणबाट जोगाउने प्रमाण नभएको भनी स्पष्ट रुपमा भनिएको छ।
व्यावहारिक रुपमा हेर्ने हो भने पनि मास्क प्रयोग गर्दा हामी कैयौं पटक मास्क लगाउने फुकाल्ने गरिरहन्छौं। यसो गर्दा हामीले नाकमुख र अनुहार छुने सम्भावना सामान्य अवस्थाभन्दा धेरै हुन्छ। यसरी संक्रमणबाट जोगिने भन्दा पनि संक्रमण हुने सम्भावना धेरै हुन्छ भने बजारमा मास्कको अभाव भई आवश्यकता भएका व्यक्तिले प्रयोग गर्न पाउँदैनन।
सोही रुपमा अहिले नै सामान्य बिरामीलाई जाँच्न पनि पिपिईको प्रयोग गर्ने हो भने आवश्यक परेको बखत पिपिईको अभाव हुनेछ जसले ठूलो सङ्कट निम्त्याउने छ।
खोप र लकडाउन
लगभग सोह्र हजार खोप केन्द्रबाट देशभरिमा करिब साढे पाँच लाख बालबालिका र बाग्लुङ जिल्लामा मात्रै करिब पाँच सय पचास बालबालिकाले खोप सेवा हरेक महिना लिने गर्छन्। द्वन्द्वकाल तथा अन्य जुनसुकै परिस्थितिमा पनि निरन्तर सञ्चालित यी खोपकेन्द्रहरु यस पटक लकडाउनका कारण सञ्चालन हुनसकेका छैनन्।
लकडाउन लम्बिँदै जाने र खोप सेवा प्रभावित भइरहने हो भने यसले नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने निश्चितप्रायः छ। तसर्थ लकडाउनको अवस्थासम्म खोप कार्यक्रममा फरक रणनीति अपनाउन अनिवार्य देखिन्छ।
(चौधरी स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट हुन्)