धीरज मैनाली
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विश्वका दुई सयभन्दा बढी देशमा फैलिएको छ। चीनको वुहानबाट सुरुव भई विश्वका कैयन् देशमा फैलिएको यो मानव जातिकै सबैभन्दा ठूलो समस्याले हाल इटाली, स्पेन, बेलायत हुँदै विश्वको शक्तिशाली मुलुक अमेरिका समेतलाई आक्रान्त पारेको छ।
नेपालमा अहिलेसम्म ९ जना संक्रमित पुष्टि भएको छ। कतिपयलाई संक्रमण भए तापनि लक्षण देखिएको छैन। विना कुनै लक्षण कतार एयरबाट आएका दुई जनामा कोरोना पोजेजिभ देखिएको छ। यसले गर्दा उनीहरुसँग सम्पर्कमा अएका सबैको टेस्ट हुनु अति आवश्यक देखिन्छ।
सम्बन्धित पोजेटिभ आएका व्यक्तिहरु नेपाल फर्कंदाकोे दिनमा सरकारले सामन्य रुपमा अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरो नाप्ने डेस्क मात्र राखेको अवस्था थियो। जनस्तरमा त्यति सचेतनाका कार्यक्रम गरिएको थिएन। कोरोनालाई हल्का रुपमा लिइँदै थियो।
त्यो समयमा जनस्तरमा नेपालमा पशुपतिनाथको अशिर्वादले हतपत रोग आउँदैन। इबोला, सारस, स्वाइन फ्लु जस्तो रोगले कही गर्न सकेन। हामी दैनिक ताजा खानाखाजा खान्छौं, फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन। सुखदुःख सहन अभ्यस्त छौं। हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर, ज्वानो आदि रोग प्रतिरोधी घरेलु औषधि दैनिक खान्छौं। हाम्रो दैनिक व्यायाम गर्ने बानी छ। एन्टी अक्सिडेन्ट खाने कुरा खान्छौं। हाम्रो खाना खाने समय अति नै वैज्ञानिक छ। मोटोपनाको समस्या छैन। व्रत बसेर पाचनप्रणाली स्वस्थ राखेका छौं यसले गर्दा नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भन्ने जस्ता तर्क वितर्क हुन्थे।
प्रदूषणले गर्दा नेपालीले अनेक भाइरस पचाइसकेका छन्। कोरोना भाइरस गर्मीमा नटिक्ने भाइरस हो, नेपालमा गर्मी आँउदै छ, त्यस कारण केही हुँदैन भन्ने आत्मविश्वास, भ्रमले गर्दा सामान्य अवस्थाबाट समाजको गतिविधि भइरहेका थिए।
संक्रमितको सम्पर्कमा भएको पाँचौ दिन भित्रमा कोरोना टेस्ट हुनुपर्ने विज्ञ सुझाउँछन्। पाँच दिन अगावै टेस्ट गरिएमा फल्स नेगेटिभ आउने विज्ञको सल्लाह छ। चीनको उपचारको अनुभवबाट नेसल स्वाबभन्दा स्पुटम टेस्ट माध्यमबाट टेस्ट गर्दा परिणाम रिलायबल आउने विज्ञको सुझाव छ।
नेपाल सरकारले चैत १० गतेबाट कोरोना नियन्त्रणका लागि देशमा लकडाउन घोषणा गरेको छ। फ्रान्सबाट फर्किएकी १९ वर्षीया नेपालीमा कोरोना पोजेटिभ आएपश्चात् सबै मनोवैज्ञानिक प्रक्षेपणहरु असफल सिद्ध भएर देशमा विदेशबाट आएका नागरिकबाट कोरोना भित्रिएको प्रमाणित भएको थियो।
जनतामा विभिन्न सञ्चार माध्ययमबाट कोरोनासम्बन्धी प्रसारित अन्तर्राष्ट्रिय समाचारले डरको छाप छोडेको थियो। सरकारले लकडाउन घोषणा गरेपश्चात सबै क्षेत्रका कलकारखाना, शिक्षण संस्था तथा अन्य सबै निकाय बन्द भए। आम जनमानसमा सन्त्रासको वातावरण छाएको थियो। दैनिक उपभोग्य सामाग्रीको अभाव हुनेदेखि लिएर दैनिक ज्यालादारी गरेर रोजीरोटी गर्नेलाई दुई छाक कसरी टार्ने भन्ने दुविधा मनमा छाएको छ।
लकडाउनको प्रारम्भमा जति कडाइका साथ प्रशासन उत्रिएको थियो दिन क्रमिक रुपमा बित्दै गएपछि त्यो केही फितलो हुँदै गएको आभाष गर्न सकिन्थ्यो। हाटबजारमा मान्छेको भीडभाड तथा भारतको नाकामा वैकल्पिक माध्ययमबाट आउने क्रम रोकिएको थिएन। नेपाल बन्द झैं पाँच बजेपश्चात् मानिसहरु घरबाट बाहिरिने संख्यामा कमी आएको थिएन। तथापि सरकारले अर्को हप्ता लकडाउन लम्ब्याउने निर्णय ग¥यो। उद्योगी व्यवसायीलाई बैंकको ऋणको ब्याज तथा चैत महिनाको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने पीडा छँदै थियो भने आम मानिसलाई पनि समान रुपमा मानसिक तनाव भएको पाइन्छ।
रोगको डरको पीडा एकातिर छ भने अर्कोतिर बैंकको ब्याज, महँगी तथा अभावको समस्या साथै घरको बसाइबाट आम्दानीमा हुन सक्ने ह्रासले मनमा चिन्ताले स्थान पाइरहेको देखिन्थ्यो। सरकारबाट गैरसांगठनिक क्षेत्रका कामदारको घरभाडा माफ गर्ने, चैत महिनाको स्कुलको फि मिनाहा गर्ने साथै चैत महिनामा बुझाउनुपर्ने ब्याज, कर आगामी असार मसान्तभित्र बुझाउने म्याद थप साथै बिलम्व जरिवाना मिनाह गर्ने निर्णय गरेको जानकारीमा आयो। हर्न बाँकी छ, यो निर्णय कतिको तामिल हुने हो।
निजी स्कुलका संगठनले अमान्य गरिसक्यो भने निजी बैंकले यसलाई कुन तवरले निर्णय लिन्छन्। तर समग्रमा आमजनमानस मानसिक दबाबमा रहेको देख्न अनि बुझ्न सकिन्छ। दैनिक ज्यालादारीका व्यक्ति काममा जान पाएका छैन, दैनिक कमाएर जीविकोपार्जन गर्ने यो समुदाय अर्काको मुख ताकेर बसेको छ। कोरोनाले भन्दा पनि भोकले पो मरिने होकी भन्ने सन्त्रास छाएको छ । यसतर्फ सबै निकायको ध्यान जानु अति आवश्यक छ।
सरकारको लकडाउनको निर्णयलाई सराहनीय मान्नुपर्छ किनभने यो भाइरसलाई फैलिन नदिन एक मात्र उपाय व्यक्तिगत दूरी मात्र रहेको छ। शक्तिसम्पन्न देशलाई समेत यो भाइरसले गलाइरहेको अवस्थामा हामी जस्तो अल्पविकसित मुलुकलाई यसले आफनो चंगुलमा लिन कति समय लगाउने छैन। त्यसकारण सरकारको लकडाउनको सबै पक्षबाट पूर्ण पालना हुनु अतिआवश्यक छ।
यस अवधिमा विकास निर्माणका कार्य असम्भवप्रायः रहेकाले जनताको सर्वोपरि हितलाई मध्यनजर गरी राहत कार्यक्रम ल्याउनु जरुरी छ। निजी क्षेत्रलाई हतोत्साहित नहुने गरी राहत कार्यक्रम ल्याउनु जरुरी छ। तथा गरिब निमुखाको दैनिक गाँसबासको प्रत्याभूति हुनु जरुरी छ।
स्वस्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा पोसाक आवश्यक मात्रमा उपलब्ध गराएर उनीहरुको मनोबल तथा आत्मबल उच्च बनाउनु आवश्यक छ। आजको यस लडाईंका सैनिक स्वस्थ्यकर्मी हुन भन्ने यथार्थलाई बिर्सनुहुन्न। साथै सानो हेलचेक्र्याईंले कुनै एक चिकित्सक तथा स्वस्थ्यकर्मीलाई कोरोना लाग्यो भने ती चिकित्सक तथा स्वस्थ्यकर्मी आफू सुरक्षित भएको भान सहित कैयन अन्य रोगका बिरामी तथा अन्य व्यक्तिलाई भेटने हुन्छन्। जसका मध्ययमबाट कैयन अरुलाई कोरोनाको संक्रमण फैलन सक्छ।
सुरक्षा पहिरनको अभावले आज हाम्रा चिकित्सक तथा स्वस्थ्यकर्मी बिरामीसंग डराइरहेको अवस्था छ। आफ्नो शरीरको माया जसलाई पनि हुन्छ। विना हतियार कुनै पनि सैनिक लडाईंको मैदानमा उत्रिन मान्दैन। स्वस्थ्यकर्मीको हकमा आज हाम्रो देशमा यही भएको छ। कैयन निजी अस्पतालमा सुरक्षा पहिरन छैन। बजारमा यसको चरम अभाव छ। देशको साठी प्रतिशत स्वास्थ्य मागको भार निजी क्षेत्रले थेगेको छ।
सुरक्षा पहिरनको अभावमा यहाँको प्रशासन निरीह भएको छ अनि चिकित्सक तथा स्वस्थ्यकर्मी डरले अन्य समस्या भएका बिरामीलाई समेत गेटबाटै रिफर गरिरहेका छन्। सामान्य ज्वरो आएका, निमोनिया भएका, मलेरिया भएका तथा अन्य स्वस्थ्यसँग सम्बन्धित समस्या भएका मानिस विभिन्न अस्पतालको ढोका ढक्ढक्याउँदैमा ज्यान गुमाइरहेका छन्। सरकारी होस या निजी क्षेत्रका स्वस्थ्यकर्मीको मनोबल कसरी बढाउने यसतर्फ कसैको ध्यान गएको वा प्रथमिकतामा लिइएको जस्तो भान हुँदैन।
सेवा नदिए लाइसेन्स खारेज गर्छु जस्ता भाषाले समस्याको समाधान होइन, झन् विकराल रुप लिन सक्छ। विश्वको यो कठिन घडीमा देशका नेतृत्वमा इमान्दारिताको खडेरी परेको देखिन्छ भने स्वस्थ्यकर्मी सुरक्षा पहिरन तथा आवश्यक औजार तथा उपकरणको अभावमा हतोत्साहित देखिन्छन्।
शंका लागेकाको परीक्षण अनि फेरि परीक्षण नै कोरोना खोजको साधन विश्व स्वस्थ्य संगठनले भनेको समयमा हाम्रो देशमा अहिलेसम्म लगभग एक हजारको टेस्ट भएको छ। कोरोनाको टेस्ट गर्ने स्थान केन्द्रीय प्रयोगशालाबाट भर्खरै सरकारले प्रदेशमा विकेन्द्रीकृत गरेको छ। यो प्रशंसनीय कदम हो। तर चैत ४ यता नेपाल भित्रिएका विदेशी तथा तीसँग सम्पर्कमा आएका सबैको सूक्ष्म निगरानी तथा टेस्ट हुनु जरुरी छ।
साथै लाखौंको संख्यामा भारतबाट आएका नागरिकको अभिलेख पत्ता लगाउने तथा तिनीहरुलाई सूक्ष्म निगरानी तथा टेस्ट हुनु आवश्यक छ। हाल पहिलो चरणमै रहेको करोना अति सावधानी नअपनाए दोस्रो तथा तेस्रो चरणमा पुग्न समय लाग्दैन।
नागरिक स्तरमा यसमा सहयोग तथा चनाखो हुनु आवश्यक छ। मन्दिरमा भगवान, अल्लाह, इशु, गुरु खोज्नेभन्दा घरमै आराधना गर्नु जरुरी छ। यस बेला कुनै किसिमको सामाजिक कार्यलाई स्थगन गरी व्यक्तिगत स्वस्थ्य, परिवारको स्वस्थ्य तथा पूरा समाज तथा राष्ट्रको स्वस्थ्यको बारेमा सोच्नु आवश्यक छ। यो लडाईं सरकार एक्लैले जित्न सक्दैन। यो लडार्इंका सेना स्वस्थ्यकर्मी तथा हामी नागरिक हौं।
भीडभाडमा जाँदा को व्यक्तिलाई कोरोना भएको हुन्छ थाहा हुँदैन। त्यस करण हाटबजार तथा अन्य स्थानमा यदि जानुपर्ने हुँदा स्वयं सावधानी अपनाउनु जरुरी छ।
कोरोना अनुमान गरिएका वा पुष्टि भएका व्यक्तिको उपचार गरिने अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन अतिआवश्यक तथा अति नै संवेदनशील छ। कोरोना संक्रमितको उपचारबाट निस्कने सबै कुरा अति नै हानिकारक हुन्छन्। स्वस्थ्यजन्य फोहोर व्यवस्थापनमा नेपाल सरकारको कुनै चासो तथा प्राथमिकता पाइँदैन। निजी अस्पताल झन् लाचार छन्। तर कोरोनाका बिरामीको उपचार हुने अस्पतालबाट निस्कने फोहोर मैलालाई हल्का रुपमा लिनुहँदैन। सो फोहोरको माध्ययमबाट कैयनलाई कोरोना संक्रमण हुन सक्ने यथार्थलाई सबैै पक्षले मनन गर्नु साथै सोही अनुसारको सावधानी अनिाउनु जरुरी छ।
कोरोना बिरामी उपचार हुने अस्पतालका सरसफाईमा काम गर्ने कर्मचारीले समेत सुरक्षा पहिरन पाउनुपर्छ। साथै त्यहाँबाट उत्पादन भएको फोहोरलाई सही तवरले पृथकीकरण गरेर मापदण्ड अनुसार निर्मलीकरण विधिबाट प्रशोधन हुनु जरुरी छ। बिरामीको टेस्टको लागि लिइएको स्वाबलाई १ प्रतिशत सोडियम हाइप्रोकोलोराइडमा डुबाएर मात्र बिसर्जन हुनु जरुरी छ।
सरकारले उपचारको लागि अस्थायी अस्पताल बनाउनुभन्दा साविकका अस्पताललाई विकसित गराउँदा राम्रो हुने देखिन्छ। करारमा लिएका कर्मचारी, औजार तथा उपकरणको अभावमा यदि करोना शंका गरिएका बिरामी वा कोरोना पोजेटिभ बिरामीको स्वस्थ्य अवस्था जटिल बन्दै गएमा सो बिरामीलाई अन्य सुविधायुक्त अस्पतालमा लैजाने समय हुँदैन। साथै यो अस्थायी अस्पतालमा जटिलतामा सम्हाल्नसक्ने दक्ष जनशक्ति नहुन समेत सक्छ।
अस्थायी अस्पतालभन्दा साविकका अस्पतालकै क्षेत्र छेउछेउमा अस्थिायी संरचना बनाउनु हितकर हुन्छ। कोरोना टेस्ट गर्ने तथा शंका लागेका वा पुष्टि भएका सबैको हेरचाह तथा उपचार गर्ने दक्ष जनशक्ति आवश्यक रहन्छ। यसलाई गम्भीरताका साथ लिनु जरुरी छ। नागरिकको स्वस्थ्य सेवा पाउने मौलिक हकलाई संविधानको धारामा मात्र सीमित राख्न हुँदैन।
आम जनमानसलाई सूचित गराउने तथा जगरुक गराउने कार्यमा सबै पक्ष अहोरात्र खटिनुपर्छ। हात धुने तरिका सिकाउने, धेरै भीडभाड हुन नदिन प्रशासन मात्र होइन,ि स्थानीय नेता, कार्यकर्ता सबै लागिपर्नु आवश्यक छ। यो लडाईं हाम्रो पक्षमा ल्याउन सबैको सामूहिक सहभागिता जरुरी छ। धनी, गरिब, कालो, गोरो, हिन्दु, मुस्लिम, विकसित, अविकसित केही नहेर्ने यो रोगबाट सबैले व्यक्तिगत दूरी कायम गरेर, समयसमयमा हात धोएर वा सेनिटाइजर लगाएर आफू, आफ्नो परिवार, समाज अनि राष्ट्र सबैलाई बचाऔं।