डा अच्युतशाली घिमिरे
चैत २३ गते आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ केहीबेर सबै जनतालाई घरघरमा बत्ती बाल्न आह्वान गरे। नेपालमा पनि साँझ ७ बजेर ७ मिनेटको समय उत्तम भएको भन्दै विभिन्न समाजले मोदीकै आह्वानलाई सिरोपर गर्न सुझाव दिए।
त्यस्तै केही दिनअघि स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि विभिन्न एन्टिभाइरल जडिबुटीहरुको सेवनले कोरोना भाइरसलाई टाढै राख्न सकिने मिठो सुझाव दियो।
मानिसले यी दुवै घटनालाई अफवाह बनाएर व्यंग्य मात्र गरिरहे तर कहिल्यै सोचेनन्, पूर्वीय सभ्यता, संस्कार र चिकित्सा प्रणालीका कारण हामी हाम्रा बाजेबराजु र पूर्खाहरुको गर्व गरिरेहका छौं। कहिल्यै सोचेनौं कि, यी गहन कुराहरु कति वैज्ञानिक हुन सक्छन् र यो संकटको घडीमा अँध्यारोबाट उज्यालातर्फ जान दिनानुदिन जीवनमा कति उपोयगी हुन सक्छन्। कागले कान लग्यो भनेपछि उही कागको पछि दौडिँदैमा हामीलाई फुर्सद छैन।
सुरुवाती चरणमा चीनमा देखापरेको कोरोना भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा समेत तीव्र गतिमा फैलिरहेको अवस्था छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ। अहिलेको पछिल्लो समय यो भाइरस सबैभन्दा बढी अमेरिकामा फैलिरहेको छ भने युरोपका अन्य देशमा पनि यसको संक्रमण बढिरहेको छ। नेपालमा भने दोस्रो चरणमा हामी गुज्रिरहेका छौं।
कोरोना एवं अन्य संक्रमण जन्य रोगबाट टाढै रहन सक्ने धेरै संस्कारहरु हाम्रा पूर्खामा थिए जो हामीले अनुसरण गर्न सकिरहेका छैनौं। पूर्खाद्वारा धेरै संस्कारहरु पालन गर्नुपर्ने अपरिहार्यतालाई महसुस गर्दै धर्मसँग पनि जोडिएका छन्। स्वर्ग र नर्कसँग पनि जोडिएका छन्। कतिपय हाम्रा चाडपर्व, रीतिरिवाज, आनीबानीसँग जोडिएका छन्।
अहिले तिनै संस्कारहरु पश्चिमा समाजले आफ्नै भाषा र व्याख्यामा संसारमा विकसित गरेपछि बल्ल हाम्रो चेत खुल्दै छ। सेल्फ क्वारेन्टाईन र आइसोलेसनहरु भाषाका रुपमा मात्र फरक हुन् तर पहिल्यै हाम्रा पूर्खाले अनुसरण गरिसकेका पद्धति हुन्। जस्तैः संस्कारहरुमा साँझमा सधैं आरती गर्ने, पारिजातको फूल सुकाएर धूप बाल्ने, संख फुक्ने, विश्व बन्धुत्वको प्रार्थना गर्ने, बिहान उठेपछि नुहाइधुवाई गर्ने पूजापाठ गर्ने, ब्रतबन्ध गरेकाले तुलसीको मोठमा जप गर्ने, खाना खानुअघि चर्पीमा प्रयोग भएका लुगा फेर्ने कृष्ण अर्पण गरी पानी घुमाएर चरेसको थालमा खाना खाने।
विवाह, पूजाआजा जे गर्दा पनि जज्ञमा जौतिलको होम हाल्ने, कोही घरमा मर्दा १३ दिने काजक्रिया बार्ने, गाईदान गर्ने, गोमूत्रले शुद्धीकरण गर्ने। पौष्टिक गाईको दूध खाने, बिहानै उठेपछि गाईको गोबरले दैलो लिप्ने, माटो र ढुंगाका घर बनाउने, तामाका भाडा प्रयोग गर्ने, पलेंटी कसेर खाने, नमस्कार गर्ने, गोठालो गएर घर आउँदा हातखुट्टा नधोई भित्र नपस्ने, पानीको मुहानमा देवीको थान बनाउने अनि त्यहाँ फोहोरमैला गर्न र रुख काट्न मनाही गर्ने, साझा चौतारी बनाउन बरपिपल रोप्ने आदि।
हामीले कहिल्यै सोचेनौं, यी पूर्खादेखि चल्दै आएका संस्कारहरु किटाणुबाट बचाउन शुद्धीकरणका उपायहरु थिए, जसका कारण रोग लाग्ने सम्भावना न्यून रहन्थ्यो र अरुमा रोग सर्ने सम्भावना नि न्यून। अझ चञ्चल मनलाई एकत्रित पार्न योग, ध्यान, प्राणायाम र वेद पाठ गर्ने जस्ता पूर्खाका क्रिया त यो क्वारेन्टाइनका दिनहरुमा निकै उपयोगी देखिन्छन्।
यस्तै पूर्वीय चिकित्सा अन्तर्गत रहेको हाम्रो माटो सुहाउँदो आयुर्वेद चिकित्सामा पनि विभिन्न दिनचर्या, ऋतुचर्या, आहार विहार, गुण र दोषका आधारमा खानेकुराहरु के कति कुन मात्रामा खाने नखाने सबै कुराको व्याख्या छ। आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता, संस्कृति एंव जीवनका परम साध्य धर्म, अर्थ, काम, मोक्षसँग सान्निध्य राख्ने पद्धति हो। मानव लगायत सम्पूर्ण प्राणीहरुको स्वास्थ्यको सम्वर्धन एवं रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने आफू पनि बाँच्ने अरुलाई पनि बचाउने प्रण आयुर्वेद चिकित्सामा रहेको हुन्छ।
यसै आयुर्वेद चिकित्सा पद्धति अनुुुुसार प्राचीनकालदेखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त चिकित्सकहरु स्थापित छन्। मंगलदायी प्रेरणाको मूलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ।
यस कोरोना भाइरसलाई प्रत्यक्ष वा अप्रत्यक्ष कारणहरुबाट जीवाणुहरुद्वारा वा वायु, जल आदिमा विष फैलनाले एवं शारीरिक व्याधि क्षमताको ह्रासले मानव शरीरको धारण गर्ने वात, पित्त, कफ प्रकुपित भएर सामूहिक रुपले मनुष्यहरुलाई रोगाक्रान्त गर्ने जनपदोद्ध्वंससँग तुलना गर्न सकिन्छ। अधर्म, प्रज्ञापराध, सद्वृत्त र स्वस्थवृत्तको अपालनहरुलाई जनपदोद्ध्वंसका पारिभाषिक कारणका रुपमा आयुर्वेदमा वर्णन गरिएको छ।
आयुर्वेदको चरक संहिता अनुसार अहिले रोगहरुबाट बच्न वसन्त ऋतुचर्या अपनाउनुपर्ने आवश्यकता देखिन्छ। यस ऋतुमा सूर्य किरणद्वारा पहिलेको सञ्चित कफ पग्लने र फैलने र जठराग्निलाई बाधा पुर्याएर अनेक रोगहरु उत्पन्न हुनसक्ने भनिएको छ। त्यसैले रोगहरुबाट बच्न हितकर आहार जस्तै यव र गोधूम अनि हितकर विहार जस्तै उद्वर्तन, कवलग्रह, अञ्जन, सुखाम्बु, शौच, चन्दनागुरुलेप गर्नुपर्ने कुरा चरक संहितामा उल्लेख छ।
आयुर्वेदमा जडिबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा जनाइएको छ। घरायसी रुपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसार लगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ।
घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसार मिसाएर घरमै उमालेर बिहान बेलुका एक एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ र त्यसले दिने शक्तिले शरीरको क्षमतामा समेत वृद्धि ल्याउँछ। त्यस्तै घरघरमा पाइने तुलसी र मरिचको चिया खादा समेत प्रतिश्याय, ज्वर, शीरमा भारीपन हुने लगायतका प्रतिरोधात्मक क्षमतामा ह्रास आउने पूर्वरुपलाई निषेध गर्छ। चव्य, पिप्पलीमूल, शुण्ठी, तालिसपत्र, नागकेशर, सुकमेल, दालचिनी, अदुवा, जिरा समेतले यस क्षणमा कोरोनालाई टाढै राख्न नियमित सेवन गर्न सकिन्छ।
जसरी कोरोना रोगबाट बच्न विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले निर्दशित गरेका उपायहरु छन्, उसैगरी शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले केही एन्टिभाइरल गुण भएका जडीबुटीहरु नियमित प्रयोग गरौं, योग र प्राणायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहौं भन्ने शुभ आग्रहलाई अफवाह बनाइनु आपत्तिजनक छ।
यस कुराले अझै पनि हामी स्वास्थ्य जस्तो संवेदनशील कुरामा समेत पश्चिमा पद्धतिसँग हावी भएर रहन्छौं भन्ने कुरा प्रमाणित हुन्छ। र, एकान्तमा बस्ने अनि संक्रमणबाट बच्ने उपायका रुपमा पूर्खाले परापूर्वकालदेखि चलाउँदै आएको संस्कारलाई अन्धविश्वासको पगरी पहिराइरह्यौं भने हामी स्वयं पछि पश्चिमा जगतबाट अपहेलित हुँदै जानेछौं। आफ्नोपन स्वीकार गर्नु र अनुसरण गर्दै भावी पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो।