सम्माननीय प्रधानमन्त्रीज्यू,
ग्रामीण तहको स्वास्थ्यकर्मी र एउटा सजग नागरिकको हैसियतले तपाईंलाई अनुरोध र प्रश्न सहितको पत्र लेख्दै छु।
विश्वव्यापी कोरोना संक्रमणको भयावह अवस्था, देशभित्रै बढ्दो संक्रमण अनि उच्चस्तरीय समितिको सफल र असफल प्रयासहरुबीच तपाईंबाट राष्ट्रको नाममा सम्बोधन भएको छ। यस सम्बोधनमा सफल कदमको सप्रसंग व्याख्या, हालसम्मको रिपोर्ट सार्वजनिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको अथक प्रयासको सराहना गर्दै केही आर्थिक प्याकेजको पुनः जानकारी गराउनु भएकोमा धन्यवाद।
तपाईं यो देशको अनि ३ करोड नेपालीको अभिभावक समेत भएको हैसियतले कम्तीमा यो सम्बोधनमा जनताले गरेका प्रश्न र आशंकाका उपर जवाफ, असफल भएका रणनीतिहरुको जवाफ, राजनीतिक खिचातानी, सरकार माथिका आरोपहरु उपर जवाफ र सम्बोधन हुनसक्ने कुराहरुको परिपूर्ती हुन्छ भन्ने अपेक्षा थियो।
प्रधानमन्त्रीज्यू,
१. आजको आवश्यकता हिजोसम्म कतिवटा स्वाब परीक्षण गरियो? कति पोजिटिभ, नेगेटिभ भयो भनेर रिपोर्टिङ गर्ने हो त? अब एक हप्ताभित्र ५० हजार जनाको परीक्षणका लागि के हुँदै छ, पहिलो केस देखिएको ७० दिन हुदासम्म अझै हामी किन अपुरो तयारीकै अवस्थामै छौं भन्ने प्रष्ट हुन पाए हुन्थ्यो झैं लागेको छ।
२. प्रधानमन्त्रीज्यूको महत्वपूर्ण समय केवल हिजोसम्मका रिपोर्ट, पत्रपरिपत्र वाचन गर्नमा खर्च नगर्नु भएको भए हुन्थ्यो। नेपाली अर्थतन्त्रमा परेको प्रभाव, कृषक, पशुपालक, व्यवसायी, र हरेक क्षेत्रलाई आज नै यो दिन्छु भनेर नभने पनि यो महामारीपछि सक्दो समस्याको सम्बोधन गर्ने कोसिस गरिनेछ र सकेसम्म थप राहतको कोसिस हुनेछ भनिदिनुभएको भए मात्र पनि थोरै सन्तोष मिल्थ्यो होला।
३. देशको सहज स्थानका स्वास्थ्य संस्थाहरुमा समेत इन्फ्रारेड थर्मोमिटरसम्म छैन। पिपिईको अभाव उस्तै छ। भएका पिपिईमा एन ९५ मास्क छैन। म लगायतका स्वास्थ्यकर्मी ज्वरोका बिरामी जाँचौं कि नजाँचौं अलमलमा छांै।
१० वटा ल्याब स्थापना हुनु उपलब्धि हुनसक्छ तर यो पर्याप्त हैन। मास लेभलको टेस्ट र स्क्रिनिंगको व्यवस्था कहिलेसम्म हुन्छ भनेर सुन्न पाइएन।
टेकु अस्पतालमै पिपिई बचाउन कर्मचारी २४ घन्टा ड्युटी गर्दै छन् भन्ने सुनिन्छ, किनकी यो एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन। म पुन प्रयोग गर्न नमिल्ने सर्जिकल मास्क ४ चोटी धोएर लगाउँदै छु। खटाइने महिला स्वास्थ्य सेयंसेविकाले पनि यही पिपिई लाउने हो। ती स्वास्थ्य स्वयंसेविकाले घरघर गएर ज्वरो केले नाप्छन्? त्यही पुरानो डिजिटल थर्मोमिटरले? यसरी त कोही बिरामी रहेछ भने झन् धेरैलाई सर्ने सम्भावना रहन्छ।
४. स्वास्थ सामग्रीमा घोटालाको कुरा छताछुल्ल भयो। अख्तियारको छानबिन र सर्वोच्चमा मुद्दा विचाराधीन छ। अहिले नै कसैलाई कारबाही गर्ने बेला हैन, भएको पनि भताभुङ्ग हुने डर छ। यो मन्त्री, कर्मचारी परिवर्तन गर्ने बेला पनि हैन, भएकालाई उपयुक्त ढंगले तह लगाएर काम लगाउने बेला हो। कमसेकम जोजो यसमा संलग्न छन्, उनीहरूलाई आवश्यक कारबाही गरिने छ, छोडिने छैनसम्म भन्न सक्नुपथ्र्यो तपाईंले। हामी पनि छाती फुलाएर अरु जे जस्तो भए पनि प्रमज्यू त ठिक हुनुहुन्छ, विस्तारै पद्धति पनि ठिक हुन्छ भन्न सक्ने थियौं नि। यो सम्बोधनमा आर्थिक अपारदर्शीतामाथि हजुरले कसरी आँखा चिम्लिन सक्नुभयो। हरेक कुरामा सेनाको प्रवेश किन हुँदै छ भन्ने प्रश्न हुँदै छ। धेरैले सेनाबाट पारदर्शी काम हुन्छ भनेका छन्। तर कतिपय त सेनालाई अख्तियार लाग्दैन त्यसैले जसरी मिलाए पनि हुन्छ, त्यही भएर यस्तो गरिँदै छ भन्ने पनि छन् नि। यसको जवाफ कहिलेसम्म पाउँछौं प्रमज्यू?
५. लकडाउन यो महामारीमा प्रभावकारी भएकोले नै संक्रमण दर कम छ। तर लकडाउन पनि प्रभावकारी हुन सकेको छैन। यो भनेको ५ बजेपछि खुल्ने हड्ताल होइन। लकडाउन र बजार व्यवस्थापन प्रभावकारी गर्नुपर्ने छ। साथै सधैं यो लकडाउन लागू गरेर मात्र हामी सफल हुन सक्दनौं। जबसम्म धेरै परीक्षण र टेस्टका कुरा हुँदैनन्, कोरोना स्टेज ३ र स्टेज ४ को व्यवस्थापनको योजना तथा तयारी सही ढंगमा सञ्चालन हुँदैन, तपाईंलाई रिपोर्टिङ गर्ने र सल्लाह दिने सल्लाहकारहरुले जेजे भने पनि हामी कोरोनासँगको युद्धमा धेरै पछाडि हुनेछौं।
६. प्राइभेट क्षेत्रका अस्पतालहरुले हाल सामान्य बिरामी पनि लिइरहेका छैनन्। सरकारी अस्पताल बिरामीको चापले आफैं सिकिस्त हुँदै छ। आइसियु र भेन्टिलेटर पर्याप्त छैन। आउँछ रे, तर कहिलेसम्म? कि नेपाली उखान ुमरेपछि उपचारु हुने हो। यस्तो बेलामा पनि सहयोग नगर्ने निजी क्षेत्रलाई कारबाही हुन्छ कि हुँदैन? कि अझै पनि सरकार मेडिकल माफियाकै चंगुलमा छ प्रमज्यू?
७. सरकारद्वारा महिला स्वास्थ्य सेयंसेविका खटाउने कुरा राम्रो सुनिन्छ तर धेरै महिला स्वास्थ्य सेयंसेविका वृद्ध र जोखिमपूर्ण उमेर समूहका छन्। कोरोना सम्बन्धी ज्ञान कम भएका छन्। कोही कामखनै नगर्ने पनि छन् होला। अर्कोतर्फ शिक्षित धेरै स्वास्थ्यकर्मी बेरोजागर छन्। सुरक्षा र प्रोत्साहनको उचित व्यवस्थापन भएमा सेवा गर्न तत्पर छन्। उहाँहरुलाई खटाउँदा उचित हुन्छ जस्तो लाग्छ मलाई।
८. एकै अस्पतालबाट कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्नु आत्महत्या निम्त्याउनु जस्तै हो। कोरोना संक्रमितको उपचार गर्ने अस्पतालबाट हाललाई अन्य बिरामीको उपचार नगर्ने प्रबन्ध गर्नु जरुरी छ भने थप कोरोना अस्पताल बनाउनु पर्नेछ। इटालीले गरेको भुलबाट सिकेर अगाडि बढ्नुपर्छ। तुरुन्त यस्को प्रबन्ध गरौं प्रमज्यू।
यी बुँदाहरुमाथि प्रमज्यूले विचार गर्नुहुने अपेक्षा गरेको छु।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फ्रन्टलाइनमा खटिएका सबैको सामाजिक, आर्थिक, पारिवारिक सुरक्षाको प्रत्याभूति प्रदान र प्रशंसा गरिदिनुभएकोमा धन्यवाद छ। तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
नवीन अधिकारी
कठार स्वास्थ्य चौकी, खैरहनी चितवन
(अधिकारी हेल्थ असिस्टेन्ट हुन्)