प्रेचन थपलिया
सरकारले डाक्टर नर्स र स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने धम्की दिएर महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने कम गरेको छ। यो समय स्वास्थ्यकर्मीलाई डराउन धम्काउने र तर्साउने होइन। यतिबेला त महामारीसँग सबैभन्दा अगाडि रहेर खटिएका स्वास्थ्यकर्मीलाई हौसला दिनुपर्छ।
यो समयमा लाइसेन्स खरेजको निर्णय गरेर सजाए दिने निर्णय लिनु भन्दा उपयुक्त सामाग्री र सुबिधा दिनु नै सरकारको जिम्मेवारीमा पर्छ। अहिले विश्वव्यापी रूपमा महामारीको रूप लिएको कोरोनाको कारण हजारौं मान्छे गम्भीर अवस्थामा छन्। विश्वभर ८८ हजारभन्दा बढीको ज्यान गइसकेको छ। उपचारमा खटिएका धेरै डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको समेत ज्यान गएको छ भने धेरै संक्रमित समेत भएका छन्।
यस्तो विषम परिस्थितीमा स्वास्थ्यकर्मीलाई सरकारले हौसला गर्नुपर्नेमा उल्टै धम्की दिइरहेको पाइन्छ। संक्रमण फैलिएका धेरै देशमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिरहेको देख्न पाइन्छ। तर हाम्रो देशमा भने त्यसको विपरित डर र धम्क्याउने काम भइरहेको छ। महामारीको सम्भावित जोखिमबाट नागरिकलाई बचाउन अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो। तर सरकारकै तर्फबाट बाधा पुर्याउने डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको पेशागत लाइसेन्स खारेज गर्ने जस्तो गलत निर्णय भएको छ। यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लज्जास्पद निर्णय हो।
स्वास्थ्यकर्मीहरूले बिरामी नहेरेको भन्ने गुनासो छ। तर स्वास्थ्यकर्मीले सुरक्षा कवज देउ भनेको र अन्य स्वास्थ्य सामग्रीको अभावप्रति किन उहाँहरूको ध्यानाकर्षण हुन सकेको छैन। स्वास्थ्यकर्मीलाई सुरक्षा कवज नदिने अनि कारबाहीको धम्की दिनु त गलत हो। स्वास्थ्यकर्मीबाट गुणस्तरीय सेवा लिनको लागि आवश्यक सुरक्षात्मक उपकरण छैन भने स्वास्थ्य सेवा नै ठप्प गर्नुपर्ने स्थिती नआउँला भन्न सकिन्न।
स्वास्थ्यकर्मी नै हुन् जो बिरामीको सिधा सम्पर्कमा आउँछन्। त्यसैले कोरोना भाइरसको उच्च जोखिम र खतरा स्वास्थ्यकर्मीलाई नै छ। लाइसेन्स खारेज गर्छु भनेर कमजोर निर्णय लिएर त्रास देखाउनुभन्दा अभावका सामाग्री वितरण गर्ने र उपयोग राम्रोसँग भएको छ कि छैन भन्ने कुरामा बिचार पुर्या उन जरूरी छ। कोही स्वास्थ्यकर्मीको मुखमा मास्क छैन भने कोही पिपिईका सामग्रीहरु धोएर लाउन पर्ने अवस्थामा छन्। यसमा सरकारले गहन रुपमा चासो देखाएको पाइँदैन।
पछिल्लो समयको गतिविधीलाई हेर्दा मेडिकल सामग्रीमा नै अनियमितता भइरहको देखिन्छ। सरकारी निकाय भ्रष्टाचारमा लागेको देखिन्छ। तर आफ्नो ज्यानको समेत परवाह नगरी बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मी माथि किन डर र धम्की दिन काम भइरहेको छ। सजाय दिनु मात्र राष्ट्रको नैतिकता होइन उपयुक्त सामाग्रीको अग्रिम तयारी गर्नु र सुविधा दिनु पनि सरकारको जिम्मेवारीमा पर्छ।
स्वास्थ्य सुरक्षा भन्दा पनि असुरक्षाको कारण भोली सहयोगी हात सेलाउन सक्छन्। त्यसैले जिम्मेवारी काँधमा बोकेर हिँडेका स्वास्थ्यकर्मीको लाइसेन्स खारेज होइन उनीहरूको काम र सहासलाई सम्मान गर्दै आत्माबल बलियो बनाउन प्रोत्साहन गर्नुपर्छ।