खुश्बु यादव
मानिस स्वतन्त्र भएर जन्मे पनि व्यावहारिक रुपमा बन्धन नै बन्धनले बाँधिएको हुन्छ। तर मानिसको व्यवहार अनुरुप एक अर्काबीच दूरी बनाइराख्नु सजिलो कार्य भने होइन।
अहिलेको अवस्थामा भने कोरोना भाइरसका कारण २०७६ चैत ११ गते देखि सबै नेपालीले सामाजिक दूरी बनाउने प्रयास गरेका छन्। आजभन्दा साढे तीन महिनाअघि चीनको वुहान सहरबाट सुरु भएको संक्रमण अहिले विश्वका विभिन्न देशहरु लगायत नेपालमा पनि फैलिसकेको छ।
‘कोरोना’ लेटिनको शब्द 'क्राउन'बाट आएको हो। जसको अर्थ श्रीपेच हुन्छ र यो विषाणुले अहिले विश्वलाई नै हैरान बनाएको छ। नयाँ कोरोना भाइरसको संक्रमणले हुने रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नाम दिएको हो।
विषाणु विज्ञहरुले यो कोरोना भाइरसलाई सार्स कोभ-२ भनेर नामांकन गरेका छन्। कोरोना भाइरस संक्रमित व्यक्तिसित नजिकिँदा, रुघाखोकी आउँदा निस्केका ससाना ड्रोपलेट्स र हावा द्वारा सर्ने गर्छ। यस भाइरसले कुनै व्यक्तिको शरीरमा प्रवेश गरेपछि रोगको लक्षण देखिने अवधि ३ देखि १४ दिनसम्म मानिएको र यसको विरुद्धमा एन्टिबडी बन्न ९ दिनको समय लाग्ने गर्दछ।
कुनै कुनै मानिसमा अपवादको रुपमा यो समय अवधि २८ दिनको पनि हुने गर्दछ। यसमा निमोनिया रोग जस्तै लक्षणहरु ज्वरो, सुक्खा खोकी र श्वास फेर्न गाह्रो हुनु जस्ता 'क्लासिक सिम्टम्स'हरु सबैभन्दा बढी देखिने लक्षणहरु हुन्।
नोवेल कोरोना संक्रमित व्यक्तिले छोएको वा थुकेको जमिनमा २-३ दिन, स्टिल वा प्लास्टिकको भाँडा वा वस्तुमा २-३ दिन, कार्डबोर्डमा २४ घण्टा, कपडामा १० घण्टा, तामाको भाडामा ४ घण्टा र हातमा १० मिनेटसम्म जीवित रहन सक्ने सम्भावना धेरै नै हुन्छ।
वास्तवमा, कोरोना संक्रमणको गति धेरै नै तीब्र भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने गर्दछ। तर, मृत्युदर चाहिं अरु रोगहरु भन्दा कम हुने गर्दछ। कोरोना पोजिटिभ बिरामीहरुमा प्रतिरोधात्मक क्षमता सबल छ भने ८० देखि ८२ प्रतिशत जति आफैं ठिक हुन्छन्, उनीहरु बिना उपचार वा सामान्य हेरचाहबाट निको हुन सक्छन्। १५-२० प्रतिशत जति उपचारले ठिक हुन्छन् भने ५-७ प्रतिशत जति जटिल निमोनियाबाट ग्रसित भई रेस्पिरेटोरी सपोर्टमा निर्भर हुन्छन्। विस्तारै शरीरको अरु महत्वपूर्ण अंगहरु मुटु, कलेजो, मिर्गौला, मस्तिष्कहरु क्रमशः काम गर्न छोड्दै जान्छा् र बिरामीको मुत्यु हुनसक्छ।
खासगरी ७० वर्ष माथिका व्यक्ति जो मधुमेह, उच्च रक्तचाप, सिओपिडी, क्यान्सर लगायतका दीर्घरोग भएका बिरामीहरुमा कोरोना विषाणुको संक्रमणको जोखिम बढी नै रहन्छ। किनकि शरीरको प्रतिरोधात्मक क्षमता कमजोर र विभिन्न रोगहरुसित पहिलेदेखि ग्रसित रहँदा शरीरभित्र रहेका नेचुरल कम्प्लिमेन्ट सिस्टमले राम्रो काम गर्न सकिरहेको हुँदैन र स्थिति गम्भीर हुनुको साथै बिरामी मृत्युको मुखमा पनि जान सक्छ।
त्यसकारण हामी पनि नेपालमा लकडाउनमा छौं। नेपाल सरकारको यो निर्णय स्वागतयोग्य पाइला हो। नेपाल मात्र होइन, विश्वभरि नै लगभग लकडाउनको अवस्था छ। अर्थात्, मानिस-मानिस बीचको सम्पर्क टुटाई कम्तीमा १-२ मिटर (३-६ फिट) सम्मको दूरी बनाई रोगलाई फैलिनबाट रोक्ने विधि लकडाउन अहिले नेपाल सरकारको आदेश बमोजिम सबै नेपाली नागरिकलाई सुरक्षित रहनलाई र कोरोनाको संक्रमण नफैलियोस भनेर एकान्तबासको पालना गराइएको छ। सँगसँगै क्वारेन्टाइन, आइसोलेसन, सोसल र फिजिकल डिस्टान्सिङ जस्ता लकडाउनका पर्यायवाची शब्दहरु कै रुपमा पनि प्रयोग भएको सुनिन्छ र देखिन्छ।
झट्ट सुन्दा क्वारेन्टाइन र आइसोलेसन उस्तै लागे पनि पोजिटिभ हुने सम्भावना भएकालाई क्वारेन्टाइनमा राखिन्छ भने पोजिटिभ भइसकेकालाई आइसोलेसनमा राखी उपचार थालिन्छ।
विश्वव्यापी कोरोना महामारीले देशमा प्रतिकूल अवस्था र विषम परिस्थिति रहेकाले नेपालमा लकडाउनको अवधि २०७७, वैशाख ३ गतेसम्म बढाइएको हो।
कोरोनाको एकबाट अर्कोमा सर्ने क्षमता अति नै तीब्र भएकोले सरकारले कोरोनाको ुचेन अफ ट्रान्समिसनु तोड्नलाई यो निर्णय गरेको हो। कोरोना संक्रमण रोक्न लकडाउन नेपालमा प्रभावकारी र सार्थक देखिँदै छ। प्रकृति बाहेक अहिले सबै लकडाउन छन्।
यो समय अनौठो तर सुनौलो अवसर हो, जसमा परिवारसँगै बस्ने, रमाउने, सुख(दुःख बाँड्न र कोरोना संक्रमण रोक्नलाई टेवा पुर्याएको छ। कोरोनाको ट्रान्समिसन चेन तोड्न सफल भए मात्र हामी सुरक्षित रहन्छौं। अनि देश बाँच्ला, हामी बाँचौला र हाम्रो परिवार बाँच्ला।
तर, अर्को पक्ष हेर्दा लकडाउनले जनतालाई धेरै सास्ती उठाउनु परेको छ। खानेकुरा लगायत अन्य सामग्रीहरुको कमी र कालो बाजारीले जनता परेसान छन्। बिहानदेखि बेलुकासम्मका लकडाउन अनि अचानक सार्वजनिक ठाउँमा भीडभाड चिन्तनीय देखिन्छ।
उता दसगजामा नेपालीहरु अलपत्र र व्यथामा छन्। खान, बस्न गार्हो भएको छ। नाकाहरुबाट लुकिछिपी मान्छे देशभित्र छिरेकै छन्। देशभित्र लकडाउनलाई जनताले सकारात्मक लिएर एउटा सजग नागरिकको परिचय दिँदै छन् भने सरकारले पनि यसलाई व्यवस्थित गरी जनताप्रतिको कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नुपर्दछ।
अहिलेसम्मको तथ्यांक अनुसार कोरोनाका १ जना संक्रमित व्यक्तिले २ देखि ३ जनालाई संक्रमित बनाउन सक्छ। संक्रमित १०० मध्ये ३ देखि ४ जनाको मृत्यु हुन सक्छ। हुनत, नेपालमा ९ वटा मात्र कोरोना पोजिटिभ भेटिए पनि हामी दोस्रो चरणको समुदाय संक्रमणमा प्रवेश गरिसकेका छौं। संक्रमणको क्रम यदि दिनानुदिन बढ्दै गयो भने व्यक्तिबाट परिवार, परिवारबाट समुदाय, समुदायबाट समाज, समाजबाट प्रदेश, प्रदेश हुँदै देशभरि फैलिन बेर लाग्दैन। त्यसैले, लकडाउनलाई कडाइका साथ नेपाली जनताले पालना गर्नु र नेपाल सरकारले गर्न लगाउनुको कुनै विकल्प छैन। यदि नियमपूर्वक पालना गरिएन भने अमेरिका, इटाली, स्पेन र चीन जस्ता अन्य देशहरु भन्दा पनि स्थिति बढी भयाभह र दर्दनाक हुनसक्छ।
नेपालको सिमाना भारत र चीनसँग जोडिएको छ। नेपाल र भारतबीच खुला सिमाना र विदेशबाट पनि आउने क्रम समयमा नरोकिएकोले कोरोना संक्रमणको खतरा नेपाललाई व्यापक छ भनेर विश्व स्वास्थ्य संगठनले दावी गर्दै आएको हो। यदि कोरोना पोजिटिभ हुने सम्भावना, सम्भावित कोरोना संक्रमित व्यक्ति नेपाल भित्रेका छन् वा नेपालमै भेटिएका छन् भने त्यस्तालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले सबै प्रदेशहरुमा गराएको छ।
सरकारको निर्णय स्वागतयोग्य रहँदारहँदै पनि केही प्रश्नहरु भने उठेका छन्। विगत तीन महिनादेखि कोरोनाको हल्ला हुँदाहुँदै पनि सरकारको तयारी किन सुस्त होला? के बनाइएका क्वारेन्टाइनहरु निश्चित मापदण्ड अनुसार छन् त? के क्वारेन्टाइनका लागि चुनिएका ठाउँहरु उपयुक्त छन् त? के क्वारेन्टाइनभित्र संक्रमण हुने सम्भावना छैन त? त्यहाँभित्र बिरामी राख्ने तरिका राम्रो छ त? के क्वारेन्टाइनहरु सरकार अथवा सुरक्षाकर्मीहरुको निगरानीमा छन् त? चिन्ताको यो समयमा हरेक नेपालीले चिन्तनशील भई यस्ता प्रश्नहरुको जवाफ सरकारसित खोज्नु पर्छ।
अवस्था गम्भीर छ। ढिला भए पनि बनाइएका क्वारेन्टाइनहरुको न त ठाउँ नै उपयुक्त देखिएको छ, न त व्यवस्था। हालत यस्तो छ कि बिरामीहरु क्वारेन्टाइन छाडेर भाग्न थालेका छन्। खुला सिमानाबाट लुकिछिपी मानिसहरु दिनहुँ नेपाल भित्रिँदै छन्। उनीहरुलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन। क्वारेन्टाइनमा कमिलाको ताँती र स्कुलमा जन्ती जस्तै सुताइएका बिरामीलाई देख्दा नेपालीको मन खिन्न हुन्छ।
किन सरकार यसबेला पनि सम्वेदनशील भएन। अवस्था यस्तै रह्यो भने त कोरोना संक्रमणको रोकथाम गर्न गाह्रो होला। जनताकै स्वास्थ्य र देश हितका लागि गरिएको लकडाउनको कुनै अर्थ नरहने स्पस्ट हुन्छ।
अर्कोतिर आइसोलेसन र अस्पतालहरु सँगै स्वास्थ्यकर्मीहरुको अवस्था पनि अति नै दयनीय छ। हालैमा फिभर क्लिनिकहरु पनि सञ्चालनमा आएका छन्। सँगै आइसोलेसन वार्डहरु पनि व्यवस्थित गरिँदैछन्। लकडाउनको यति समय बित्दा पनि अहिलेसम्म चिकित्सक, नर्स र अन्य स्वास्थ्य पेसाकर्मीहरुलाई पिपिई, मास्क, ग्लोब्स जस्ता अति आवश्यक सामग्रीहरु सरकारले उपलब्ध गराउन नसक्नु दुखद संकेत हो। असल देवदूत त यिनै हुन्, जो अगाडि बसेर कोरोना बिरामी र यो महामारीसित लडिरहेका छन्। यिनलाई स्वास्थ्य सामग्री नदिए कसलाई दिने हो?
भेन्टिलेटरहरुको संख्या पनि न्यून रहेको छ। स्वास्थ्यकर्मीहरु आफ्ना सबै दुःख र परिवारलाई भुलेर अहिले बिरामीको सेवामा लागिपरेका छन्। झन् यस्तो बेलामा प्रोत्साहन दिनुपर्ने तर, चिकित्सकहरुप्रति उटपट्यांग वक्तव्यहरु निकाल्नु सम्पूर्ण स्वास्थ्य पेसा र पेसाकर्मीहरुलाई जिस्क्याउनु मात्र हो।
वर्तमान अवस्थामा स्वास्थ्य मन्त्रालयको हेलचेक्र्याईं र सरकारको रवैया हेर्दा स्वास्थ्य पेसाकर्मीहरुलाई नजरअन्दाज गरिएको सजिलै बुझ्न र देख्न सकिन्छ। सायद त्यसैले अचेल चिकित्सकहरु अस्पतालमा ड्युटी आउन छोडेका छन् कि? चिकित्सकहरुलाई चाहिने सुरक्षा कवच नदिए कसरी उपचार गर्लान्? सबै डराएको अवस्था छ, ज्यान सबैको लागि प्यारो हुन्छ। यदि स्वास्थ्यकर्मी नै संक्रमित भए भने कोरोना संक्रमणको जोखिम झनै बढ्ने छ।
एकातिर संक्रमणको घडीमा अति आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुले नपाउनु र अर्कोतिर यस्तो समयमा पनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको दुर्गन्ध आउनु दुई तिहाइ सरकारको अनुशासनहीन कार्यशैलीलाई प्रष्ट औल्याएको छ। विषम परिस्थितिबाट देश गुज्रिरहँदा नीतिगत बेइमानी अपराध हो र आफ्नो नागरिकहरुको सुरक्षा राज्यको मूल दायित्व पनि हो।
मिठा(मिठा भाषण र नैतिकताको पाठ मात्र सिकाएर केही हुँदैन। काम गर्ने वातावरण मिलाउने सम्बन्धित निकायहरुले अआफ्नो विश्वासिलो जिम्मेवारी निर्वाह गर्नु पर्दछ। त्यसैले सरकारले यस्ता क्रियाकलाप गर्नेहरु माथि कडा निगरानी राख्दै कार्यबाही गरी गुणस्तरीय स्वास्थ्य सामग्रीहरु ल्याएर ज्यानको बाजी लगाएका राष्ट्रसेवक स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरोस्।
कुनै पनि कोरोना संक्रमित बिरामीलाई पहिले ट्रेसिंग, अनि टेस्टिंग र ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। तर तुलनात्मक दृष्टिले हेर्ने हो भने अरु देशहरुको अपेक्षा नेपालको परिवेशमा कोरोना संक्रमण टेस्ट गर्ने अस्पताल, राम्रो प्रयोगशाला, दक्ष जनशक्ति, मेडिकल साधन र स्रोतमा धेरै कमी छ। अहिले त झन् महामारीको बेलामा सीमित साधन र स्रोतले कोरोना संक्रमणको टेस्ट र मूल्यांकन गर्नु अलिकति चुनौतीपूर्ण नै देखिन्छ।
विश्वले ३५ वर्षदेखि प्रयोग गर्दै आएको पिसिआर सेवा अझै नेपालको लागि नौलो रहेको छ। मेसिन र राम्रो ल्याबहरु प्रदेशहरुमा नभएर दुःख त छँदै थियो र अर्कोतर्फ दक्ष जनशक्तिको अभाव।
देशभरिका ल्याबको लाइसेन्सिंग र मोनिटरिंगको जिम्मा लिएको मुख्य रुपमा टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (एनपिएचएल) नेपाल सरकारको केन्द्रीय प्रयोगशाला हो। हालसम्म स्वीकृत पाएका निजी ल्याबमध्ये मोलिकुलर लेभलका टेस्टहरु गर्ने “ए” लेभलका ९ वटा भने “बी” लेभलका ४५ वटा ल्याब मात्र रहेका छन्।
महामारीको बेलामा एउटा एनपिएचएलले मात्र कोरोनाको टेस्ट गरेर यो अवस्था सामान्य होला र यसले मात्र भार थेग्न सकिएला जस्तो देखिन्न। तसर्थ सरकारले यथाशीघ्र विज्ञहरुको उपस्थितिमा हरेक प्रदेशमा प्रयोगशाला स्थापित गरी कोभिड १९ को टेस्ट गर्नसक्ने वातावरण तुरुन्तै मिलाउनु पर्दछ।
बिडम्वना नै भनौं, त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीव विज्ञान, केन्द्रीय विभाग, कीर्तिपुरले पनि अहिलेसम्म कोभीड १९ को टेस्ट सुरु गर्न सकेको छैन। माइक्रोबाओलोजी विषयमा स्नातकोत्तर पढाइने र पिएचडीको शोध हुने तर कोरोनाको जाँच नहुने हुँदा त्रिवि केन्द्रीय विभाग, कीर्तिपुर पनि जागरुक र तत्पर हुनुपर्ने आवश्यकता देखिन्छ।
प्रयोगशालाहरुमा माइक्रोबाओलोजिस्टहरुको अभाव हुनु अस्वभाविक होइन। किनकि विगतमा एनएचपिसी र नेपाल सरकारले विवादास्पद निर्णय गरी लाइसेन्समा रोक लगाउनु नै मूल कारण हो। यो अवस्था को सृजना पदाधिकारीहरुको संकुचित विचारको उपज हो।
सूक्ष्म जीव रहुन्जेल माइक्रोबाओलोजी र माइक्रोबायोलोजिस्टहरु जीवन्त रहने छन्। आफ्नो निहित स्वार्थमा लिप्त भई केही पदाधिकारीहरुले माइक्रोबायोलोजिस्टहरुको डिग्री र क्षमतासँग गरेको विभेद र अन्यायलाई सजिलै देख्न सकिन्छ।
समय बलवान हुन्छ र अहिले ल्याबहरुमा माइक्रोबायोलोजिस्टहरुको खाँचोले नेपाल सरकार र एनएचपिसीको अदूरदर्शितालाई स्पष्ट पारेको छ। यद्यपि, त्रिवि सूक्ष्मजीव विज्ञान विभाग, एनएचपिसी, एनएचआरसी र स्वास्थ्य मन्त्रालयसित सल्लाह र सहकार्य गरी माइक्रोबायोलोजिस्टहरुलाई सदुपयोग गरी अबिलम्व कोभिड-१९ को टेस्ट केन्द्रीय विभागमा सुरु गर्नुपर्छ। यसले त्रिभुवन विश्वविद्यालयको सूक्ष्म जीव विज्ञान, केन्द्रीय विभागको प्रतिष्ठा समेत बढ्ने छ।
देशव्यापी लकडाउन हुँदा माइक्रोबायोलोजिस्टहरुलाई खुला रुपमा देशभरिका ल्याबहरुमा कोरोनासँग लड्ने सेनाको रुपमा प्रदेशहरुमा पठाइहाल्नु पर्छ। साथसाथै सबै प्रदेशहरुमा कोभिड १९ का टेस्टको दायरा बढाउनु पर्दछ। तर, स्वास्थ्य मन्त्रालयको कछुवा चाल र सरकारको उदासिन रवैयाले अहिलेसम्म पनि पूर्ण रुपमा यो कार्य सम्भव र सफल हुनसकेको छैन।
भगवानको सबैभन्दा सुन्दर संरचना मानिस हो। जीवन अनमोल हुन्छ र यसको रक्षाको दायित्व सधैं अरुको हुँदैन, धेरै जसो हाम्रो आफ्नै हुन्छ। प्रकृतिको नियम अदृश्य भए पनि पालना हुनुपर्छ। यदि पालना गरिएन भने महाप्रलय आउन सक्ने सम्भावना जहिले पनि हुन्छ।
कोरोनाको त्रासले पिरोलिरहँदा लकडाउनले कोरोना युद्धमा अनुशासित भई सबै नेपालीले लकडाउनको पालना गर्नुपने बाध्यता र अनुभव समेत नेपालीले ओगटेका छन्। छोटो समयमा सीमित स्रोत र साधनका साथ नेपाल सरकारले कोरोना कहरको चुनौतीलाई अवसरको रुपमा लिई लकडाउन सफल गराउने प्रयासहरु प्रशंसनीय छन् ।
प्रतिकारात्मक स्वास्थ्य सेवाका विधिहरुमा अहिलेको “लकडाउन” देशलाई बचाउने सबैभन्दा प्रभावशाली, अचुक र सर्वोत्तम उपाय हो। संवेदनशील अवस्थामा जारी लकडाउनलाई सफल बनाउनु र कोरोनाको प्रकोपबाट बच्नलाई एउटा सभ्य नागरिकको परिचय दिई इमान्दारीपूर्वक पालना गर्नु र गराउनु हरेक नेपालीको मूल कर्तव्य र नैतिक दायित्व हो। यसलाई व्यक्ति व्यक्तिले आत्मसात गरी सरकारको यो कदमलाई सफल बनाउन सहयोग र योगदान गर्नुपर्छ।
लकडाउनको बेलामा सरकारले पनि बुझ्नु पर्ने हुन्छ कि भोको पेट कोही पनि देशभक्त हुनसक्दैनन्। तसर्थ, सरकारले यस्तो लकडाउनको बेलामा हरेक नागरिकलाई समेटने गरी अति आवश्यक सामग्रीहरु परिपूर्ति गर्नुपर्छ। सार्थै सम्पूर्ण चिकित्सक, स्वास्थकर्मी, नर्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र आम नेपाली नागरिकको मनोबललाई बढाएर मात्र कोरोना युद्ध यथाशीघ्र जित्न सकिन्छ।
साथै लकडाउन खुलिसकेपछि पनि कोरोना संक्रमण नेपालमा नफैलियोस् भनेर सरकारले सम्बन्धित मन्त्रालय र निकायहरुसँग गृहकार्य गरी अहिलेदेखि नै भोलिका लागि पनि तयार बस्नुपर्छ।
(यादव माइक्रोबायोलोजिस्ट हुन्)