मिलन दाहाल
कोरोना भाइरस (कोभिड(१९) को महामारीले विश्वलाई नै च्यापेको छ। चीनको वुहान प्रान्तबाट सुरु भएको यो भाइरस हाल विश्वका सबै देशमा फैलिइसकेको छ। इटाली, स्पेन, जर्मनी, इरान लगायतका देशमा हजारौंको संख्यामा मानिसहरु मरिरहेका छन्।
विकासशील देशहरुको त कुरा छोडौं, विश्वको सर्वशक्तिमान अमेरिका, बेलायत लगायतका देशहरुको समेत यो भाइरसका सामु केही चल्न सकेको छैन। एक किसिमले यो सामान्य रोग हो, तर केही पुराना रोग भएकाहरुका लागि यसले ज्यानै समेत लिइरहेको छ ।यो रोगले सबै उमेर समूहका मानिसहरुलाई उत्तिकै च्यापिरहेछ।
यो संकटको घडीमा धेरै मानिसको तनाव बढेको छ। कोरोना भाइरसको खोप पत्ता लगाउनका लागि विश्वभरका करिब ४ दर्जन वैज्ञानिक लगातार रुपमा काम गरिरहेका छन्। खोप पत्ता लाग्नासाथ कोरोना भाइरस नियन्त्रणमा आउने छ। तर कोरोना भाइरसका कारण उब्जिएको तनावका कारण मानसिक स्वास्थ्यमा पर्ने असर कहिल्यै ठिक नहुन पनि सक्छ। तसर्थ यो विपतको घडीमा सबैले आफ्नो मानसिक स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ।
यो महामारीको बीचमा मानसिक स्वास्थ्यको ख्याल राख्न सहयोग गरोस् भन्ने उद्देश्यले यो सामाग्री तयार पारिएको छ।
विश्वमा हजारौं मानिस मरिरहेको र रोगको औषधि समेत पत्ता नलागेको यस घडीमा चिन्ता लाग्नु, तनाव बढ्नु स्वभाविक हो। तर तनावले हामीलाई सहयोग भने गर्दैन। बरु मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न गई थप समस्याहरु बढ्न जान्छ।
कोभिड-१९ ले बढाएको तनावलाई कसरी कम गर्ने?
धेरै तनाव भएका बेला मांसपेसीलाई खुकुलो बनाउने खालका व्यायामहरु फाइदाजनक हुन्छ। यसका लागि शान्त र सजिलो स्थानमा बस्नुहोस्। नाकबाट श्वास लिँदै मुखबाट फाल्नुहोस। हत्केलाको मुठ्ठी बनाउनु होस र मुठ्ठीलाई केही सेकेन्ड कडा बनाइराख्नुहोस। यसो गर्दा तपाईको ध्यान पूर्ण रुपमा मुठ्ठीमा केन्द्रित होस।
त्यसपछि मुठ्ठी विस्तारै खोल्नुहोस र आफूले कस्तो अनुभव गर्दै हुनुहुन्छ ख्याल गर्नुहोस। यसो गर्दा तनाव विस्तारै तपार्इंको हातबाट बाहिर गएको र हात हल्का हुँदै गएको महसुस गर्नुहुन्छ। यसैगरी खुट्टा, आङ्ग लगायतका अन्य अंगहरुमा पनि यही कसरत गर्नुहोस। घाउचोट लागेका अंगमा भने यो कसरत नगर्नुहोस।
दिमागलाई आफू वरपरका कुरामा व्यस्त राख्दा समेत सहयोग हुनसक्छ। दिमागलाई विश्वमा हाल के भइरहेको छ?, मलाई कोरोना भाइरस लाग्यो भने के होला? भन्ने खालका प्रश्नहरु खेलाइरहनुभन्दा हाल के गरिरहनु भएको छ, त्यसमा पूर्णतया आफूलाई समर्पित गर्नुहोस।
ध्यान गर्दा समेत तनाव निकै कम हुन जान्छ। हामीलाई हुने धेरैजसो तनावको कारण कहिल्यै नभएको र भविष्यमा समेत हुने सम्भावना एकदम थोरै भएका कुराहरुबारे सोचेर हुने गर्छ। यस्ताखाले कुरामा भन्दा दिमागलाई अन्य आवश्यक कुरामा एकत्रित गर्दा फाइदा हुन्छ। विभिन्न प्रकारका योगहरु समेत तनाव कम गर्नका लागि निकै फाइदाजनक हुन्छन्।
कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ। सामाजिक दूरीको अर्थ भौतिक दूरी हो। तनाव कम गर्नका लागि आफ्ना परिवारजन, साथीहरुसँग भावनात्मक रुपमा नजिक रहनुपर्छ।
आफ्ना परिवारजन, साथीभाइसँग फोन, भिडियो च्याटबाट निरन्तर सम्पर्कमा रहनुहोस। उचित सल्लाह दिने साथीभाइ र परिवारजनको सुझाव लिनुहोस। कतिपय सदस्यहरु भएरनभएका कुरा गरेर तनाव बढाउने खालका हुन्छन्। उनीहरुको पहिचान गरी टाढा रहनुहोस।
साथीभाइबाट पाएको स्वास्थ्य सम्बन्धी परामर्श सुन्नुहोस तर विश्वास नगर्नुहोस। तालिमप्राप्त स्वास्थकर्मी (डाक्टर, नर्स) बाट पाएको सल्लाहको मात्र विश्वास गर्नुहोस। लिनुपर्ने अवस्थामा उनीहरुको सहयोग लिनुहोस।
सामाजिक दूरी भनेको समाजबाट आफूलाई अलग्याउने होइन, अरु मान्छेसँग भौतिक रुपमा नजिक नजानेमात्र हो, यो कुरा ख्याल गर्नुहोस।
कोभिड(१९ को वर्तमान अवस्था आवश्य पनि निकै अनिश्चितताको अवस्था हो। तनावले यसलाई नियन्त्रण गर्न सहयोग गर्दैन भन्ने बुझाइलाई आत्मसात गर्दै हुने चिन्तालाई बेवास्ता गर्दा पनि फाइदै हुन्छ।
(लेखक मेन्टल हेल्थ फस्ट एड अस्ट्रेलियाबाट तालिमप्राप्त प्राथमिक मानसिक स्वास्थकर्मी हुन्।)