रोशनी घिमिरे
कोभिड-१९ अर्थात् कोरोना भाइरसको प्रकोप फैलिएसँगै ल्याबको महत्व झन् बढेको छ। हरेक स्थानीय तहमा राम्रो प्याथालोजी ल्याब आवश्यक रहेछ भन्ने कुरा अहिले देखिएको छ।
ग्रामीण भेगको कुरा नगरौं, राजधानीमै पनि सरकारी स्तरको राम्रो ल्याब कहीं छैन। एउटा अस्पतालमा जति महत्व डक्टरको छ, त्यति नै महत्व एक ल्याब टेक्निसियनको हुन्छ। अस्पतालमा प्रत्यक्ष रुपमा डक्टरलाई देखिन्छ। ल्याब भनेको पर्दा पछाडिका नायक हुन्। जसले एउटा फिल्म हिट बनाउन रोल खेलेका हुन्छन्।
पछिल्लो समयमा कोरोनाको संक्रमण बढेसँगै हरेक जिल्लामा राम्रो ल्याब स्थापना गर्नुपर्छ भनेर सरकार लागेको छ। सरकारले आफ्नो ठाउँबाट गर्नसक्ने जति गरेको छ। हामी आफैं पनि सचेत बन्नुपर्छ। कोरोना भाइरस के हो? यसबाट बच्न के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सके यसबाट बच्न गाह्रो छैन।
सबभन्दा पहिला ल्याबको हिस्ट्री अनुसार कोरोना भनेको के हो, त्यो बुझौं। कोरोना भनेको एउटा भाइरस हो। यो भाइरसलाई खुला आँखाले देख्न सकिँदैन। यो भाइरस जब मान्छेको शरीरमा प्रवेश गर्छ। ४ दिनसम्म त यो भाइरस मान्छेको घाँटीमै बस्छ। त्यसपछि विस्तारै शरीरको अति संवेदनशील अंग कलेजो, मुटुमा संक्रमण बढ्न थाल्छ।
भाइरस संक्रमण भएको ४ दिनपछि मात्र लक्षणहरु अलि अलि देखिन थाल्छ। यो भाइरस फलाम, कागज, कपडा जे मा पनि लामो समयसम्म बाँच्न सक्छ।
एउटा कोरोना संक्रमित व्यक्तिबाट अर्कामा सजिलै सर्नसक्ने भएकाले यसबाट बच्न घरमै लकडाउनमा बस्न सरकारले आग्रह गरेको छ। घरबाट बाहिर जान परे पनि मुखमा मास्क, हातमा पन्जा लगाउनु पर्छ। यो कसैको लागि भन्दा पनि आफू र आफ्नो परिवार का लागि घरमै बस्न उपयुक्त हुन्छ।
कोरोना भाइरसले विश्व हल्लाएको छ। त्यसको असर नेपालमा पनि देखिएको छ। नेपालमा विदेशबाट आउनेले कोरोना भाइरस ल्याएका छन्। एक जना कोरोना भाइरस का बिरामीले ३ जना अरु संक्रमित पार्नसक्ने क्षमता भएकै कारण मान्छे यो भाइरससँग त्रसित बनेका छन्।
यो भाइरस जन्मँदा पनि जन्मदैन र मर्दा पनि मर्दैन भन्ने कुरा कतिपय विज्ञहरुले बताइसकेका छन्। पृथ्वीमा आएर पनि निकै लामो समयसम्म बाँच्न सक्ने भएर नै यो भाइरसले माहामारीको रुप लिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ९ जना कोरोना संक्रमित देखिएका छन्। जसमध्ये एक जना निको भएर घर गइसकेका र अरुको पनि अवस्था नर्मल छ।
बिरामीको उपचारमा ल्याबको महत्व
बिरामीको शरीरमा कुन रोग लागेको छ। बिरामी कस्तो अवस्थामा छ। बिरामीलाई के औषधि चलाउने भनेर गरिने परीक्षणलाई प्याथोलोजी ल्याब परीक्षण भनिन्छ। ल्याबको रिपोर्ट सही आउन सकेन भने डाक्टरले बिरामीको उपचार सही तरिकाले गर्न सक्दैन। बिरामीको हिस्ट्री हेर्ने नै ल्याबको रिपोर्टबाट हो।
अन्तर्राष्ट्रिय जगतमा हेर्ने हो भने बिरामीले आफैं मेडिकलमा गएर औषधि किनेर खान पाउँदैन। पहिला डक्टर तथा ल्याब परीक्षण गराएर मात्र औषधि खाने काम गरिन्छ।
प्रयोगशाला विधि कहिलेदेखि प्रारम्भ भयो भन्ने एकिन छैन। नेपालको इतिहास हेर्ने हो भने २०२१ सालबाट ल्याब सेवा सुरु गरिएको तथ्यांक छ। २०२१ सालमा पहिलो ल्याब सेवा नेपालकै सबभन्दा पुरानो अस्पताल वीर अस्पतालमा भएको थियो।
पहिलापहिला ल्याब भनेपछि अस्पतालको एउटा सानो कुनामा अँध्यारो कोठामा राखिने गरिन्थ्यो। मानौं यसको कामै छैन। पछिल्लो समयमा ल्याबलाई अस्पतालको मेरुदण्डको रुपमा बुझ्न थालिएको छ। अहिले हरेक डक्टरले ल्याबको रिपोर्ट हेरेर मात्र बिरामीलाई औषधि चलाउँछन्। त्यति मात्र होइन, अधिकांश मान्छे ल्याब टेस्ट गर्न आफैँ अस्पताल जाने गरेका छन्।
अहिले कम्पुटर प्रविधि आएकाले ल्याबको रिपोर्ट भरपर्दाे र विश्वसनीय छ। हरेक व्यक्तिको हार्मन, क्यान्सरसँग सम्बन्धित जॉच, जेनेटिक टेस्ट, डिएनए टेस्ट, स—सना ब्याक्टेरिया, भाइरसको परीक्षण तथा रोग को निदानका लागि ल्याबबाट परीक्षण गरिन्छ। चिकित्सकले कुनै बिरामीको अप्रेसन गर्न पर्यो भने सबभन्दा पहिला ल्याबको रिपोर्ट नै हेर्ने गर्छ। उसको रिपोर्ट ठिक भएमात्र अप्रेसन गर्छ।
पहिलापहिला नारी छामेर उपचार गर्ने पद्धति थियो। त्यतीबेला ल्याबको सुविधा थिएन। अहिलो आधुनिक युगका मान्छेले राम्रो ल्याब खोजेर ल्याब टेस्ट गराउँछन्। अलि अघिसम्म पनि डक्टरले नभनी ल्याब टेस्ट गर्ने चलन थिएन। पहिले पहिले डक्टरले रगत, दिसा, पिसाब चेक गर्नुपर्छ भन्यो भने अस्पतालले पैसा कमाउन लाग्यो भन्नेहरुको कमी थिएन। अहिले त्यसको ठिक विपरीत डक्टरले नभने पनि पहिला ब्लड टेस्ट गर्न आग्रह बिरामीले नै गर्ने गरेका छन्। कतिपय मान्छे त वर्षको एक पटक होलबडी चेकजॉच गर्नुपर्छ भन्ने मानसिकतामा देखिन्छन्।
नेपालमा होलबडी चेकजॉच गर्न अस्पतालैपिच्छे फरकफरक पैसा तोकिएको हुन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याब टेस्टमा एकरुपता ल्याउन आवश्यक छ। निजी अस्पतालहरुले आफूखुसी ल्याब टेस्टको पैसा लिइरहेका छन्। यो कदापि ठिक होइन। एउटा नीतिनियम बनाएर सबैको पहुँचमा ल्याब बनाउन पर्ने देखिएको छ।
सरकारी स्तरबाट गरिने अनुगमन फितलो भएका कारण कतिपय ल्याबहरुले नमुना कलेक्सन गरेर अन्तै चेकजॉच गर्न लगेको पाइन्छ। सस्तोमा ल्याब सेवा दिइन्छ भनेर विभिन्न विज्ञापन गर्न अनि रगत संकलन गरेर अरु नै ल्याबमा टेस्ट गर्न लानुले यसको महत्व घटाएको छ।
विभिन्न समयमा ल्याबको रिपोर्टमा टीकाटिप्पणि नभएका होइनन्। यसलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउन के गर्नुपर्ला भनेर सम्बन्धित निकायले ध्यान दिन सके राम्रो होला। कतिपय डक्टरले कमिसन आउने लोभमा विभिन्न ल्याब सेन्टरमा ल्याब टेस्ट गर्न पठाउने गरेका छन्। यसले राम्रो सन्देश जाँदैन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको स्तरलाई ४ भागमा विभाजन गरेको छ।
- पहिलो चरणमा ९ वटा ल्याब छन्,
- दोस्रो चरणमा ४० वटा ल्याब छन्,
- तेस्रो चरणमा २०५ वटा ल्याब छन्,
- अन्तिम अथवा चौथो चरणमा १३४ वटा ल्याब छन्।
यी बाहेक पनि निजी मेडिकलहरुले पनि ल्याब सेवा दिइरहेका हुन्छन्। बिना दर्ता पनि ल्याबहरु सञ्चालन गरिएका छन्। कतिपय गाउँघरतिरका स्वाथ्य केन्द्रमा पनि ल्याब परीक्षण गरिरहेका हुन्छन्। ल्याब परीक्षण हुनु राम्रो हो। ल्याबमा गरिने परीक्षण कतिको विश्वसनीय छ। त्यो चाहिँ ख्याल राख्नुपर्ने देखिन्छ। कतिपय रोग ल्याबकै कारणबाट सरेको तथ्य बेलाबेलामा आएको छ। त्यसैले होसियार भएर प्रयोग गरौं।
ल्याब टेस्ट गर्दा निम्न कुरामा ध्यान दिन सके राम्रो
ल्याब टेस्ट भनेको सामान्य कुरा होइन। यसलाई हामी जति नर्मल रुपमा लिन्छौं, त्यति नर्मल छैन। सानोसानो गल्तीले रिपोर्ट नराम्रो आउन सक्छ। ल्याबमा रगत तथा अन्य चिज चेकजॉच गर्दा विषेश निगरानी राख्नुपर्छ। सकेसम्म रगत, दिसा, पिसाब, खकार संकलन गर्दा स्वयं आफैं ल्याबमा गएर दिनुपर्छ।
ल्याबमा अनावश्यक भीडभाड गरेर तनाव सिर्जना गराउँदा रिपोर्ट गलत आउन सक्छ। एउटाको रिपोर्ट अर्कालाई पर्न गयो बिरामीको मृत्युसम्म हुनसक्छ। त्यसैले ल्याबमा शान्त भएर बस्नुपर्छ।
अन्त्यमा
अहिले विश्व माहामारीको रुपमा कोरोना भाइरस फैलिएको छ। त्यसको असर नेपालमा पनि देखिएको छ। अब हरेक नगरपालिकाले गुणस्तरीय ल्याब सेवा सुरु गर्नुपर्छ। गोकर्णेश्वर नगरपालिकाले पनि प्याथोलोजी ल्याब चाँडो सुरु गर्न सकोस्। अहिलेको मानव जीवनमा सबभन्दा महत्व भनेकै ल्याबको हो। यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विज्ञहरुसँग सल्लाह गरेर अघि बढ्न सकोस्।