भद्रबहादुर सिंह ठकुरी
चीनको हुवेई प्रान्तबाट डिसेम्बरदेखि सुरु भएको कोरोना भाइरस (कोभिड-१९) ले विश्व महामारीको रुप लिई संसारलाई नै आक्रान्त बनाएको छ। रोकथाम तथा नियन्त्रणको अथक प्रयासका बाबजुद पनि इपिडिमियोलोजिकल क्राइसिसका सूचकहरु जस्तैः संक्रमण दर, मृत्युदर र नयाँ केसहरु केही देश बाहेक प्रायः सबैमा बढ्दो क्रममा रहेका छन्। यसको अर्थ हालसम्म पनि अधिकांश प्रभावित मुलुकहरुमा कोभिड-१९ नियन्त्रणभन्दा बाहिर छ।
यस महामारीले विश्व इतिहासमै अपुरणीय मानवीय एवं भौतिक क्षति भइरहेको छ। रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपायहरु अबलम्वन नगरिए क्षति अझ धेरै नै बढ्ने निश्चित छ। झनै तेस्रो विश्वका विपन्न र कमजोर देशहरुमा त यो महामारी फैलिए परिणाम भयावह र अकल्पनीय हुन्छ।
नेपालमा कोरोना
वर्तमान विश्व परिवेशमा बढ्दो 'इन्टरडिपेन्डेन्स, इन्टरकनेक्सन र पिपुल्स फ्लो' ले कोभिड १९ लाई वृहत भूगोलमा फैलिन सघायो। यसबाट नेपाल समेत अछुतो रहन सकेन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा हालसम्म ९ जनालाई कोरोना भाइरस देखिएकोमा ८ जना प्रभावित बाह्य मुलुकबाट स्वदेश फर्किएका र १ जना स्थानीय (ट्राभल हिस्ट्री नभएको) मा संक्रमण देखिए लगत्तै नेपाल कोराना संक्रमणको दोस्रो चरणमा पुगेको छ।
कोरोना संक्रमणका चरण
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणदेखि महामारीसम्मको अवधिलाई निम्न ४ चरणमा विभाजन गरेको छः
(१) कोरोना प्रभावित देशहरुबाट संक्रमित व्यक्तिको आगमनः यति बेलासम्म देशभित्र कसैलाई पनि संक्रमण भएको हुँदैन। अनियन्त्रित आवागमनको कारण प्रभावित देशहरुबाट संक्रमित व्यक्तिको आगमन भएपछि संक्रमण फैलिने सम्भावना रहन्छ।
(२) स्थानियमा सर्नुः यस चरणमा संक्रमित व्यक्तिसँगको असावधानीपूर्ण र असुरक्षित सम्पर्कबाट परिवारका सदस्यहरु र साथीभाइमा संक्रमण हुन्छ।
(३) समुदायमा सर्नुः संक्रमण समुदायमा फैलिसकेको हुन्छ। यस अवस्थामा संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गर्न नसक्ने भइसकेको हुन्छ।
(४) महामारीः यस अन्तिम चरणमा भाइरसको ठूलो क्षेत्रमा व्यापक रुपमा फैलावट भइसकेको हुन्छ। संक्रमणले महामारीको रुप लिई स्थानीय तथा राष्ट्रिय क्षमताको नियन्त्रण बाहिर पुग्छ।
हाम्रो अवस्थालाई दृष्टिगत गर्दा हामी कुन चरणमा छौं? र, रोकथाम तथा नियन्त्रणमा चुके परिणाम के हुन्छ? भनेर समयमा सोच्न अत्यन्त जरुरी छ। विकसित र क्षमतावान देशहरुको अवस्थाबाट हामीले सिक्न आवश्यक छ। संकट व्यस्थापनमा हामीले अरुको असफलताबाट सिक्ने हो, असफल हुन सिक्ने होइन।
रोकथाम तथा नियन्त्रणका प्रयास
हाम्रो अवस्थामा कोरोना रोकथाम र नियन्त्रणको रणनीति अपनाउँदा रोगरमहामारीले कसरी स्थान लिन्छ भन्नेबारे बुझेर थ्रिपी स्ट्याटेजी- प्रमोट, प्रिभेन्ट र प्रोजेक्ट अबलम्वन भएमा प्रयासहरु परिणाममुखी हुन्छन्।
संकटासन्न व्यक्ति, संक्रमण सम्भाव्य वातावरण, संक्रमणको कारक तत्व
रोगको कारक तत्व, रोग फैलिनसक्ने वातावरण र त्यसप्रति संकटासन्न व्यक्तिको संयोजनबाट रोग वा महामारीले रुप लिने हो। तसर्थ, हाम्रा प्रयासहरु सम्भावित महामारीको त्रिकोणलाई तोड्नेतर्फ लक्षित हुनुपर्छ, जुन संक्रमित र स्वस्थ व्यक्तिबीचको दूरी कायम गर्ने नै हो।
हरेक संकटको कुशल व्यवस्थापनमा सम्भावनाको संकेत पहिचान, समयमा उचित निर्णय, कार्यान्वयन र प्रभावकारी सञ्चार जस्ता पक्षहरु महत्वपूर्ण रहन्छन्। हामीकहाँ अलिक ढिलो अबलम्वन गरिएका कोराना रोकथाम तथा नियन्त्रणका पहलहरु जस्तैः अन्तर्राष्ट्रिय हवाई आवागमनको नियमन, सार्वजनिक सचेतना कार्यक्रमहरु, स्क्रिनिंग या प्रवेश, देशव्यापी लक डाउन, क्वारेन्टिनको व्यवस्था, प्रदेश स्तरमा प्रयोगशाला सेवा विस्तार, कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको सञ्चालन, औषधि लगायत स्वास्थ्य सामग्रीको प्राप्ति तथा वितरण, स्वास्थ्य तथा उद्धारकर्मीलाई प्रोत्साहन स्वरुप जोखिम भत्ता र जीवन बिमाको व्यवस्था आदि सकारात्मक र प्रशंसनीय छन्।
ग्याप तथा चुनौती
कोभिड-१९ ले विश्व महामारीको रुप लिँदै गर्दा केही ढिला गरिएको अन्तर्राष्ट्रिय हवाई आवागमनको नियमनले देशभित्र संक्रमित व्यक्तिहरुको प्रवेश भयो र थप संक्रमण रोक्न उनीहरुको व्यवस्थापन हुन सकेन। अझ ठूलो चुनौती भनेको खुला सिमाना भएको छिमेकी देशबाट हुने आगमन हो।
बाह्य मुलुकहरुबाट देशभित्र आउनेहरुको दुरुस्त अभिलेख, उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको पहिचान गरी क्वारेन्टिनमा राख्ने र स्वाब परीक्षण एवं संक्रमितको उपचारमा सफलताले हाम्रो कोरोना डेस्टिनी निर्धारण गर्नेछ ।
निकास र जिम्मेवारी
संकटको समयमा एक पक्षले अर्को पक्षलाई दोषापरोण गर्ने, विभिन्न अफवाह फैलाउने र भ्रष्टाचार हुने सम्भावना रहन्छ, जसलाई कुशल संकट व्यवस्थापनमा उपयुक्त रणनीति, असरदार कार्यान्वयन र प्रभावकारी एवं पारदर्शी सञ्चारद्वारा सामना गर्न सकिन्छ। राष्ट्रिय विपत्तिको सामना सबैको साझा जिम्मेवारी रहन्छ।
आज सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया र नागरिक समाज अदृश्य सत्रु कोरोना विरुद्ध एकजुट भई आआफ्नो स्थानबाट रोकथाम र नियन्त्रणको लागि सहयोग र सहकार्य गर्नुको विकल्प छैन। अधिकार जिम्मेवारी सहित आउँछ भन्ने तथ्यलाई मनन गर्दै यस अभियानमा स्थानीय निकायहरु र सभ्य नागरिकको रुपमा हामी सबैको महत्वपूर्ण जिम्मेवारी रहन्छ।
कम्तीमा घरभित्र सुरक्षित रुपमा बसेर र सामाजिक दूरी कायम गरेर मात्र भए पनि यस कार्यमा सहयोग पुर्याउन सकिन्छ। हरेक संकट अवसर र चुनौती दुवै हो, जसको नतिजा व्यवस्थापन क्षमतामा निर्भर रहन्छ।
(ठकुरी संकट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन्)