महेन्द्र गिरी
मास्क लगाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने वास्तविक तथ्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन। तथापि, मानव जातिले मास्कको प्रयोग प्राचीन युगदेखि नै हुँदै आएको भेटिन्छ।
प्राचीन समयमा विश्वका सबै क्षेत्रका मानिसहरु धार्मिक तथा सांस्कृतिक प्रयोजन, सिकार खेल्ने प्रयोजन, खेलकुद तथा युद्ध जस्ता गतिविधिहरुमा मास्क लगाउने गर्दथे। पोलिस सर्जन, जन मिकुलिक्ज रेडेक्कीले सन् १८९७ मा गरेको व्याख्या अनुसार, मानव स्वास्थ्यलाई मध्यनजर गरेर मास्क लगाउने चलनको सुरुवात सन् १८९० को दशकतिरबाट सुरु भएको देखिन्छ।
अहिले आएर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण मास्क, यसको प्रकार अनि प्रयोगका बरेमा आम मानिसमा चासो अझ बढेको छ। यहाँ आममानिसका यस्ता जिज्ञासा मेटाउने प्रयास गरिएको छ।
सर्जिकल मास्क
चिकित्सा विज्ञानमा मास्क लगाउने चलन को विकास सन् १८९० को दशकतिरबाटै भएको थियो। तत्कालीन समयमा स्वास्थ्यकर्मीहरुले मास्क शल्यक्रिया गर्ने क्रममा तथा नर्सिङ सेवा प्रदान गर्ने क्रममा सूक्ष्म जिवाणु तथा मसिना थुकका छिटा मास्क लगाउने व्यक्तिको नाक–मुखबाट बाहिर जान छेक्ने उद्देश्यका साथ लगाउने गर्दथे। सोही कारण यस्तो मास्कलाई सर्जिकल मास्क भनेर नामकरण गरिएको हो। यसलार्ई कतैकतै फेस मास्क पनि भन्ने गरिन्छ।
उक्त समयमा कपडाबाट बनेको एक तहको पत्र भएको मास्क नै चिकित्सा क्षेत्रमा प्रयोग हुने गर्दथ्यो तर हाल पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी पोलिमरबाट निर्मित तीन तहको पत्र भएको मास्क प्रयोगमा रहेको पाइन्छ। तथापि, अल्प विकसित देशहरुमा कपडाबाट बनेको मास्क को प्रयोग अझै पनि उच्च रहेको छ। सर्जिकल मास्कहरु लगाउने व्यक्तिलाई श्वास फेर्दा हावामा भएका ब्याक्टेरिया, भाइरस जस्ता सूक्ष्म जिवाणुबाट हुने संक्रमणबाट रोक्न तयार पारिएको होइन।
पूर्वी एसियाका देशहरु चाइना, ताइवान, जापान तथा दक्षिण कोरियामा सर्वसाधारणले समेत वर्षभरि नै सामान्य अवस्थामा पनि सर्जिकल मास्क लगाउने गर्छन् र पछिल्लो समयमा उक्त देशहरुमा मास्क लगाउने एक फेसन नै बनेको छ। जसको प्रभाव युवाहरुमा अझ व्यापक रुपमा रहेको छ र अन्य देशहरुमा पनि यो फेसनको रुपमा विस्तार हुँदै गएको पाइन्छ।
यस प्रकारको मास्क खुकुलो प्रबृत्तिको हुने हुँदा मास्क लगाउने व्यक्तिलाई बाहिर हावामा भएको ब्याक्टेयिा, भाइरस जस्ता सूक्ष्म जिवाणुहरुबाट रोक्न सक्दैन तर लगाउने व्यक्तिको नाक, मुखबाट आउने थुकका छिटा सोही मास्कमा टाँसिने हुँदा हावामा फैलिन पाउँदैन। जसले गर्दा अन्य व्यक्तीमा ब्याक्टेरिया, भाइरस सर्नबाट बचाउँछ।
फिल्टेरिङ फेसपिस रेस्पिरेटर्स (एफएफआर)
सुरुवाती समयमा सर्जिकल मास्क एक पत्रको गज कपडा बाट बनाउने प्रचलन थियो। यस्तो मास्क खुकुलो हुने कारण श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग, वातावरण प्रदूषणका कारण हावामा भएका सूक्ष्म तथा जैविक विषाक्त कण जस्ता चिजबाट बचावट गर्न सक्दैनथ्यो।
पछिल्ला समयहरुमा मानव स्वास्थ्यमा श्वासप्रश्वासजन्य रोगको महामारी फैलिने, वातावरणमा प्रदूषण बढ्ने जस्ता समस्याका कारण फरक प्रकारका मास्कहरु बनाउने र लगाउने प्रचलनको विकास सन् १९६० को दशकतिरबाट भयो। यस्तो प्रकारको बाहिरी वातावरणमा रहेको सूक्ष्म जैविक कणबाट मास्क लगाउने व्यक्तिलाई सुरक्षा प्रदान गर्ने मास्कलाई फिल्टेरिङ फेसपिस रेस्पिरेटर्स (एफएफआर) भनिन्छ।
यो एक विशेष प्रकारको मास्क हो। यो मुख्य गरी तीन प्रकारको हुन्छ।
१) एनः चिल्लो पदार्थबाट बचाउन नसकिने, २) आरः चिल्लो पदार्थबाट केही मात्रामा बचाउन सकिने र ३) पीः पूर्ण रुपमा चिल्लो पदार्थबाट बचाउन सकिने।
एफएफआरलाई भिन्नाभिन्नै निकायहरुले भिन्न गुणस्तर कायम गरेका छन्। उदाहरणका लागि संयुक्त राज्य अमेरिकाले एन ९५, युरोपमा एएफपी २, चाइनाले केएन ९५, अस्ट्रेलिया/न्युजिल्याण्डले पिटु, कोरियाले कोरिया फस्ट क्लास र जापानले डिएस।
एफएफआरहरुको बनावट र प्रविधिहरु करिब उस्तै भएका कारण सबैलाई बराबर मन्यता दिइएको छ। यस्तो मास्क विशेषगरी रोगको महामारी तथा स्वास्थ्यको आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीहरुले लगाउन सिफारिस गरिन्छ।
एफएफआर आफ्नो अनुहारको आकारअनुसार राम्रोसँग कस्सिने गरी लगाउन सके रोगको महामारीमा खटिने स्वास्थ्यकर्मीहरु स्वास्थ्य आकस्मिकताको समयमा हावामा भएको ब्याक्टेरिया, भाइरस, विभिन्न जैविक तथा विषाक्त कणहरु छिर्नबाट ९४–९५ प्रतिशतभन्दा माथिसम्म बच्न सक्छन्।
सर्वसाधारणका लागि मास्क र प्रयोग गर्ने सही तरिका
सामान्यतयाः घर र समुदाय स्तरमा मास्क प्रगोग लाई भन्दा हातको सरसफाइलाई नै रोगबाट बच्ने उत्तम उपायको रुपमा सिफारिस गरिन्छ। विषेशगरी पूर्वी एसिया तिर सर्जिकल मास्क लगाउने चलन अत्यन्तै लोकप्रिय छ।
पछिल्ला समयमा नेपाल, भारत लगायत दक्षिण एसियाली राष्ट्रहरुमा पनि वायु प्रदूषणको प्रभावबाट बच्न मास्क लगाउने सर्वसाधारणको संख्या उल्लेख्य रुपमा वृद्वि भएको छ। यसै परिप्रेक्षलाई मध्यनजर गर्दै हालैका दिनहरुमा मास्क उत्पादकहरु पनि हावामा भएको प्रदूषणलाई छान्ने प्रविधियुक्त मास्क उत्पादन र वितरणमा तल्लिन रहेको पाइन्छ।
अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण मानिस यसबाट बच्न मास्क उपयुक्त हुने विश्वासका साथ मास्कको प्रयोग बढाइरहेका छन्। विश्व स्वास्थ्य संगठन (संयुक्त राष्ट्र संघको स्वास्थ्य नियामक निकाय) ले सर्वसाधारणका लागि मास्क प्रयोग गर्ने उपयुक्त अवस्था र उचित तरिका सुझाएको छ र यो अत्यन्तै व्यावहारिक तथा वैज्ञानिक छ, जुन निम्नानुसार छन्ः
- सर्जिकल मास्कले हावामा भएका कुनै पनि सूक्ष्म जिवाणुहरुलाई छेक्न सक्दैन। यस्तो मास्क केवल हातको सही सरसफाइसहित प्रयोग गरेमा मात्र प्रभावकारी हुनसक्छ। अतः साबुनपानीले मिचिमिची हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहल मिसिएको स्यानिटाइजरले हात धुनु नै उत्तम उपाय हो।
- तपाईं स्वस्थ्य हुनुहुन्छ भने मास्क लगाउन जरुरी छैन।
- तपाईं रुघाखोकी लागेको र कोरोनाको शंका लागेको व्यक्तिको नजिक जानु परेमा वा हेरचाह गर्नु परेमा मास्क लगाउन सक्नुहुन्छ।
- तपाईंलाई रुघाखोकी लागेको छ, हाच्छियुँ आएको छ भने मास्क लगाउनुहोस।
मास्क लगाउँदा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छः
१. मास्क लगाउनुपूर्व साबुनपानी वा अल्कोहल युक्त स्यानिटाइजरले हात धुने।
२. मास्क लगाउँदा नाकमुख पूर्ण रुपमा छोपिने गरी लगाउनुहोस र यसो गर्दा कतैबाट पनि चर नपर्ने गरी टम्म मिलाउनुहोस।
३. लगाएको मास्कलाई हातले नछुनुहोस। यदि छोइएमा तुरुन्त साबुनपानी वा अल्कोहल युक्त स्यानिटाइजरले हात धुनुहोस।
४. मास्क भिजेपछि (थुकका छिटाबाट) छिटो भन्दा छिटो नयाँ मास्क फेर्नुहोस, यसो गर्दा मास्कको डोरिमा समाएर खोल्नुहोस अनि सुरक्षित तरिकाले उचित स्थानमा विसर्जन गरी हात धुनुहोस।