रन्जना बाँस्तोला
आजभोलि एउटा यस्तो भाइरसको नाम सुनिन्छ, जसले बच्चादेखि वृद्धवृद्धासम्म सबैको दैनिकीमा हलचल मच्चाइरहेको छ। पूरा विश्वलाई नै तरंगित बनाइदिएको भाइरस हो, कोरोना भाइरस। यो भाइरससँगको लडाईं जित्न हरेक प्रयास अपनाउँदै छन् विश्वभरका राष्ट्रहरु।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वभरि नै महामारीको रुप लिएको छ। कोरोना भाइरसको संक्रमणले हुने रोगलाई कोभिड १९ को नाम दिइएको छ। यो भाइरसले नेपालसँगै शक्तिशाली राष्ट्रलाई समेत चुनौती दिँदै छ। कोरोना फैलिएसँगै अहिले हरेक देशको स्वास्थ्य क्षेत्र प्रभावित छ।
हाल नेपालभरि दरबन्दी अनुसारका पर्याप्त स्वास्थ्यकर्मी नभएको अवस्था छ। दरबन्दी अनुसारका डाक्टर र नर्सको अभाव रहेकोले पनि कोरोना संक्रमण नियन्त्रणमा सोचेअनुसार काम हुन सकिरहेको छैन भन्ने कुरा सरोकारवालाहरुले स्वीकार गर्दै आएका छन्।
सरकारले भर्खरै गरेको एउटा तयारीबाट पनि कोरोना नियन्त्रणमा उल्लेख्य काम हुन नसकेको थाहा पाउन सकिन्छ। त्यो हो, छात्रवृत्तिमा अध्ययन गरेकालाई कोंरोना नियन्त्रणको लडाईंमा समावेश गराउने।
छात्रवृत्तिमा अध्ययन गरेकालाई सरकारले उचित व्यवस्था सहित कुनै काममा खटाउन पाउने नियम पहिले थियो कि थिएन? यदि थियो भने कोरोना संक्रमणले महामारी रुप लिएको यत्रो महिना हुँदा पनि बल्ल यो विषयमा तयारी गर्ने हो भने नेपाली समाजको प्रख्यात उखान ुजब पर्यो राति तब बुढी तातीु सत्य साबित भयो। तर अझै केही बिग्रेको छैन, आशा गरौं, ढिलै भए पनि सोको उचित कार्यान्वयन होस्।
सामाजिक सञ्जाल अनि समाचार माध्यमबाट फुकिने समाचारमा पनि डाक्टर र नर्सलाई निकै महत्वका साथ हेरेको महसुस गर्न सकिन्छ। आजको यो अवस्थासम्म आइपुग्दा सरकारले पनि आफैं सरकारी स्वास्थ्य संयन्त्रले मात्र कोरोना आतंकसँग लड्न नसकिने भन्दै निजी क्षेत्रका स्वास्थ्यका संयन्त्रलाई पनि समन्वय गर्न बारम्बार आह्वान गरेकै सुनिन्छ।
स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकार र प्रदेश सरकारले उपलब्ध गराएका व्यक्तिगत सुरक्षा उपकरणहरु पर्याप्त छैनन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका उपकरणहरुको अति नै अभाव रहेको छ। सामान्य मास्कबाट उपचार गर्नुपर्ने परिस्थिति रहेकोले स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणको उच्च जोखिममा छन्।
हरेक स्वास्थ्य सेवा प्रणालीको एक महत्वपूर्ण अंगको रूपमा फर्मासिस्ट पनि पर्ने गर्छन्। फर्मासिस्टहरूले औषधि, उपचार, खोप र जनतालाई गम्भीर स्वास्थ्य सेवाहरू प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जुन धेरैले महसुस गरेका हुन्छन्। तर उनीहरुले प्रदान गरेको सेवा पर्दा पछाडिको पात्रले खेल्ने भूमिका जस्तै हुन्छ।
कोभिड-१९ को महामारीको बखत फर्मासिस्टहरूले लगातार कार्य सुनिश्चित गर्नु एकदम महत्वपूर्ण छ। अहिलेको महामारीको बखत, फर्मासिस्टले सामाजिक दूरीको सिद्धान्तको मात्र प्रयोग गरेर सर्वसाधारण तथा ग्राहकहरूको लागि आफूले जोखिम मोल्दै काम गर्न बाध्य छन्, किनकी डाक्टर र नर्सलाई नै व्यक्तिगत सुरक्षा उपकरणहरु पुगेको छैन भने फर्मासिस्टले पाउने त कुरै भएन।
फर्मासिस्टले पसलमा औषधि बेच्ने र डाक्टरले प्रेस्क्राइब गरेको औषधि बिरामीलाई दिने काम मात्र होइन, अझ बढी यो महामारीको समयमा उनीहरुको पहुँचमा धेरै बिरामी र सर्वसाधारण आउने गर्छन्, अनि कोरोनाको बारेमा विभिन्न प्रश्न गर्छन्। सरकारले सामुदायिक फार्मेसी पसल निरन्तर सञ्चालन गरी सेवा दिन अनुरोध गर्दै आएको छ।
आजको यो परिस्थितिमा सामान्य बिरामी पनि आफूलाई कोरोना लागेको हो कि भन्दै त्रसित हुने बेलामा उनीहरुको पहिलो पहुँच भनेकै सामुदायिक फार्मेसी हो। त्यसैले अरु बेला भन्दा यो समयमा सर्वसाधारणहरु सामुदायिक फार्मेसीमा जाने क्रम झन्झन् बढ्दो छ। सो अवस्थामा फर्मासिस्टको भूमिका क? आफू पनि कोरोनाको बारेमा राम्रो अध्ययन गरी आफूलाई आएका प्रश्नको सही उत्तर अरुलाई दिने पनि फर्मासिस्टको भूमिका हो र त्यो गर्दै पनि आएका छन्।
भाइरसको फैलावट कसरी रोक्न सकिन्छ भन्ने जानकारीको प्रचारप्रसारमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउँदै आएका छन् फर्मासिस्टले। यति भनिरहँदा फेरि कुरा आउँछ पिपिईको। जुन उनीहरुको लागि व्यवस्था गरिएको छैन। तर आफ्नो पेसा अनि मानव सेवाको धर्मलाई मनन् गर्दै यस महामारीको परिस्थितिमा बिरामीका आवश्यकता पूरा गर्न र सेवाहरूको निरन्तरता कायम राख्न अस्पतालमा होस या सामुदायिक फार्मेसीमा, आफ्नो अभ्यासको अधिकतम उपयोग गर्नु महत्वपूर्ण कार्य हो।
फर्मासिस्टहरू बिरामी र स्वास्थ्य सेवा प्रणालीबीचको सम्पर्कको पहिलो बिन्दु हुन् र उनीहरूले कोरोना को सम्भावित अवस्थाहरूको पहिचान र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छन्। सबै अन्य अग्रणी स्वास्थ्य सेवा प्रदायक जस्तै तिनीहरूलाई पनि भाइरसको उच्च जोखिमबाट बचाउनु अहिलेको आवश्यकता हो भने भुल्न हुदैन।
अन्तमा अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको उच्च मनोबल नै कोरोनासँग लड्न सक्ने एउटा महत्वपूर्ण पाटो हो। सबै स्वास्थ्यकर्मीको आफ्नोआफ्नो क्षेत्रमा छुट्टै महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न बोलेर मात्र केही हुँदैन तर परेको बेला सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने कुरा अहिलेको अवस्थामा आफैं छर्लंग भएको छ।
त्यसैले हरेक फर्मासिस्टहरूलाई पनि दोस्रो दर्जाको स्वास्थ्यकर्मी जस्तो व्यवहार नगरी अस्पतालमा होस वा सामुदायिक फार्मेसी, आवश्यक सबै उपकरण उपलब्ध गराइयोस्। हामी जस्तोसुकै महामारीमा पनि सेवा प्रदान गर्न तयार छौं। तर विभिन्न बहानामा पेसागत लाइसेन्स रद्द गर्ने चेतावनी भने नदिइयोस्।
-(फर्मासिस्ट बाँस्तोला हाल क्लिनिकल फार्मेसी विषयमा स्नातकोत्तर गर्दैछिन्।)