अमृता बराल
कोरोना संक्रमणबाट जोगिन पूरै देश जुटिरहेको छ। अग्रमोर्चामा खटिनुपर्ने चिकित्सकहरु नै काममा नआइ कर्तव्यबाट भाग्न खोजेको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत ५ जना चिकित्सकलाई बर्खास्त गरेको समाचार यही बीचमा सार्वजनिक भयो। मुलुकले असामान्य परिस्थितिको सामाना गर्नु परिरहेको बेला यो विषयमा धेरै चर्चा भयो।
यस विषयमा एकाथरिले सरकारद्वारा सुरक्षित काम गर्ने वातावरण नबनाइ दिएको कारण चिकित्सकहरु काममा नगएका हुन् भने त कतिपयले संकटको बेला सरकारलाई असफल तुल्याउन र दायित्व निर्वाहबाट भाग्न खोजेको भन्दै आलोचना गरे। कतिपयले त पेशागत मर्यादाको सामान्य धर्म पनि पूरा गर्न चुकेको समेत भन्न भ्याए।
यस विषयमा जो जसले जे जस्तो धारणा राखेपनि वा मत जाहेर गरेपनि अहिलेको यस्तो कठिन,गम्भीर र नागरिकहरुको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुले सेवाबाट हात झिक्नु र कर्तव्य बिमुख हुनु सकारात्मक कुरा भने होइन । यो पेशागत मूल्य मान्यता र मर्यादा समेत बाहिरको कुरा हो। यस्ता विषयहरुलाइ पेसागत अधिकारको मुद्दा बनाएर गलत क्रियाकलापहरु लाई कदापि प्रश्रय दिनु पनि हुँदैन।
स्वास्थ्य सेवा प्रदान गर्ने कुरा आफैंमा २४ सै घन्टा बिरामीहरुको सेवामा समर्पित हुनुपर्ने जटिल र अन्य पेशा वा क्षेत्र भन्दा पृथक, संवेदनशील र सामान्य ढंगले बुझ्न नहुने विशेष प्रकृतिको सेवा हो। अरु क्षेत्रमा जस्तो ब्यक्तिको निजि अनुकुलता र रुचिको तालिकाअनुसार काम गर्छु भन्ने सुबिधा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई हुँदैन । बिरामीहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने क्षेत्र भएकोले यस क्षेत्रमा आउने जोसुकैले पनि यसको गम्भीरताका बारेमा पूर्व ज्ञान र अनुमान गरेकै हुन्छ।
संक्रामक रोगहरुको उपचार गर्नुपर्ने, बिहान, दिनरात केही नभनी काम गर्नुपर्ने, घर परिवार र निजी जीवन भन्दा पनि बिरामीहरुको उपचार र स्वास्थ्यको प्रमुख प्राथमिकता दिनुपर्ने हुन्छ। यस्तो क्षेत्र भएकाले कोरोना भाइरसको यो संकटपूर्ण प्रकोपको मुकाबिला गर्न सक्ने पेशागत इच्छाशक्ति र सामर्थ्य स्वास्थ्यकर्मीहरुले गुमाउनु हुँदैन।
आज कोरोनाभाइरसको डरलाग्दो प्रकोपबाट सिङ्गो पृथ्वी भय, त्रास र आतंकको चपेटाबाट गुज्रिरहेको छ। समग्र मानव सम्प्रदायको स्वास्थ्य सुरक्षामाथि कोरोनाभाइरसले गम्भीर र डरलाग्दो चुनौती दिइरहेको छ। ३१ डिसेम्बर २०१९ मा चीनको वुहान शहरबाट फैलिन सुरु गरेको कोरोन भाइरसको संक्रमण आज विश्वका प्रायः सबै देशमा फैलिसकेको छ। यस मितिसम्म विश्वभर १७, ८१, ७६२ ब्यक्ति भाइरस संक्रमणको चपेटामा परिसकेका छन् भने १० लाख ८ हजार ८ सय ३५ जनाले ज्यान गुमाइसकेको अवस्था छ। ४ लाख ४ हजार २९ जना ब्यक्तिहरु उपचारपश्चात् सन्चो भइ घर फर्केका छन् ।
१२ लाख ६७ हजार ४ सय ६२ संक्रमित बिरामीहरु अस्पतालमा उपचाररत छन्। संक्रमणको फैलावट र मृत्युको दर दिनप्रतिदिन बढ्दो दरमा बढिरहेकै छ। यो बिनाशकारी महाप्रकोपबाट आफ्ना नागरिकलाई सुरक्षा गर्न प्रत्येक देशका सरकार हरतरहले लागिपरिरहेको देखिन्छ। यस प्रकृतिको विषम परिस्थितिको सामाना गर्नुपर्ने अवस्था आइपर्ला भन्ने सायदै कसैले पनि कल्पना गरेको थिएन होला।
महामारीको रूपमा २००३ सालमा फैलिएको सार्स २६ देशहरूमा र २०१२ को मर्स २७ देशमा मात्रै फैलिएको थियो। तर डिसेम्बर २०१९ बाट शुरु भएको कोभिड- १९ विश्वका सबै देशहरूमा फैलिसकेको छ । प्रभाव र असरको दर देशैअनुसार फरक मात्रै हो तर यो महामारीबाट कुनै पनि देश मुक्त छैन। त्यसैले यसलाई सिङ्गो मानव समुदाय माथिकै भीषण धक्का को रुपमा बुझिएको छ।
अमेरिका, वेलायत, क्यानडा, जापान, फ्रान्स, जर्मनी, इटली लगायत विश्वका कयौं शक्तिसम्पन्न राष्ट्रहरु हायलकायल भैरहेको अवस्थामा नेपालमा भने संक्रमणको फैलावट डरलाग्दो अवस्थामा पुगिसकेको छैन। कोरोनाकै कारण कसैको मृत्यु भयो भन्ने दुःखद् खबर आजसम्म सुन्न परेको छैन। यो हाम्रो लागि अत्यन्तै सुखद पक्ष नै हो। यही सुखद् अवस्थाकै विद्यमानताका लागि सरकारि तथा गैरसरकारी शक्ति र सामर्थ्य परिचालित भएको छ। तर छिमेकी मुलुक भारतमा बढ्दो प्रभाव र खुल्ला सिमानाका कारण जटिलतातर्फ जान सक्ने खतराका संकेतहरु पनि आइरहेकै छ। त्यसैले केही भएको छैन र केही पनि हुँदैन होला भनेर ख्याल ख्याल गर्न हुँदै हुँदैन। होसियारी, सावधानी र सामाजिक दूरी अझै बढाउनु पर्ने जरुरी देखिन्छ।
यो संकट निदान र नागरिकहरुको जीवन रक्षाको लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरुको उपलब्धतामा सरकारी विशेष योजना, उपलब्ध साधन स्रोतको अधिकतम परिचालनमा सरकारले गरेको तयारी, सावधानी अपनाउन गरेको सबै प्रकारका प्रयत्न तथा नागरिकले परिस्थितिको गाम्भिर्यतालाई बुझेर सरकारी अपिललाई ग्रहण गरेका कारण नै आजसम्म संक्रमणको बिस्तार व्यापक हुन पाएको छैन।
बिरामीको उपचारमा कुनै सामाग्री, उपकरण आदिको अभाव नहोस् भनेर सरकारको पूरै शक्ति र ध्यान कोरोना विरुद्धको अभियानमा मसिनो ढंगले क्रियाशिल भइरहेको देखिन्छ। विश्वले नै अत्यन्तै कठिन समयको मुकाबिला गरिरहेको अबस्थामा नेपालले यस् प्रकोपसँगको लडाइँमा विजय हासिल गर्न सामाजिक दूरी पूर्ण रूपमा कायम राख्नैपर्दछ। प्रकोपको चरित्रका आधारमा यो उदारता र ख्यालठट्टा गर्ने समय हुँदै होइन। त्यसैले सिङ्गो मुलुक अकल्पनीय यस प्रकोपका विरुद्ध सचेत र सावधान रहँदै एकीकृत पहलकदमीबाट मुलुकलाई जोगाउनु पर्दछ।
यो एक प्रकारले भन्ने हो भने युद्ध नै हो। यो युद्धको अग्रपङ्तिका कमान्डर चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरु हुन्। अर्थात् यो कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि आधारभूत र आवश्यक स्वास्थ्य सामग्री, काम गर्ने सुरक्षित वातावरण इत्यादी निर्माण गर्ने काम सरकारको भएता पनि आफूलाई जोखिममा राखेर भएपनि बिरामीसँग प्रत्येक्ष रहेर उपचारको सम्पूर्ण जिम्मेवारी निर्वाह गर्नु स्वास्थ्यकर्मीहरुको प्रमुख दायित्व हो।
यो दायित्व निर्वाहबाट कोही स्वास्थ्यकर्मीहरु पनि च्युत हुनुहुँदैन। तर दिनरात भोक तिर्खा नभनी आफ्ना परिवार बिर्सेर, दुधे र काखे बाल बच्चाहरुलाई समेत ध्यान नदिएर, हप्तौंसम्म घर परिवार त्यागेर, आफूलाई पूरै जोखिममा राखेर सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल कमजोर हुन नदिन उचित प्रोत्साहन गर्ने,गुणस्तरीय पीपीईलगायत अन्य आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने, सेवारत रहँदा कुनै दुःखद् घटना हुँदा निज र निजका परिवारका साथमा सरकार रहन्छ भन्ने कुराको पूर्ण प्रत्याभूति दिलाउने, सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुको परिवारमा पर्न सक्ने मनोबैज्ञानिक असरको अध्ययन गरी उनिहरुसँग सकारात्मक सामाजिक सम्पर्क बढाउने र बिरामीको उपचार तपाईंहरु गर्नुहोस्।
तपाईंको सुरक्षा सरकारले गर्छ भन्ने कुराको विश्वास र प्रत्याभूति स्वास्थ्यकर्मीहरुलाई दिलाउन सरकार कुनैपनि हालतमा चुक्नु हुँदैन। हुनत सेवामा खटिएका स्वास्थ्यकर्मीहरुका सम्बन्धमा सरकारले केही महत्त्वपूर्ण र सकारात्मक निर्णयहरु नगरेको भने होइन। तर संकट पूर्ण यस अवस्थामा स्वास्थ्यकर्मीहरुको सन्दर्भमा सरकारी यी निर्णयहरु अझै पर्याप्त भने छैनन्।
यसको लागी सरकारले आफ्नो हृदय अझ फराकिलो बनाउनु पर्ने देखिन्छ । यो माग नभइ सरकारलाई गम्भीर हुन गरिएको ध्यानाकर्षण मात्रै हो। स्वास्थ्य सेवामा करिअर बनाउँछु भनेर ध्येय बोकेर यस क्षेत्रमा समर्पित जोकोही स्वास्थ्यकर्मीले बिर्सन नहुने कुरा के हो भने यो संकटपूर्ण र कठिन समय स्वास्थ्यकर्मीका लागि महत्त्वपूर्ण अग्निपरीक्षा र अवसर पनि हो।
यो यस्तो अवसर र अग्नि परीक्षाको बेला हो कि यसबाट नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन सकिन्छ। स्वास्थ्य सेवा प्रति नागरिकहरुको दृष्टिकोण अत्यन्तै मर्यादित र उच्च सम्मानको रहने छ। स्वास्थ्यकर्मी प्रतिको सामाजिक मूल्य र गरिमाको दायरा व्यापक हुनेछ। नेपालको स्वास्थ्य सेवा प्रति जनविश्वास र भरोसा बढ्नेछ। सिङ्गो रास्ट्रले गर्व गर्न योय्य पेशाका रूपमा परिभाषित हुनेछ।
त्यति मात्रै होइन, विश्वसामु नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता, लगनशीलता, दृढता र मिहिनेतको जयजयकार हुनेछ। त्यसैले यो अग्निपरीक्षामा सम्पूर्ण स्वास्थ्यकर्मीहरु माथि कर्तव्य पूरा गर्न सकेनन् भनेर कसैले प्रश्न उठाउन नसकोस्। तर यसका लागि काम गर्ने सुरक्षित वातावरण भने सरकारले निसन्देह उपलब्ध गराउनै पर्छ।
-(बराल वीरगञ्ज नर्सिङ क्याम्पसकी पूर्व स्ववियु सभापति हुन्।)