गंगाराज अर्याल
कोरोना भाइरसले जनावर र मानिसलाई संक्रमण गर्नसक्छ। ठूलो परिवारमा भएका धेरै कोरोना भाइरसले मानवजातिमा सामान्य रुघाखोकीदेखि मध्यपूर्वमा देखिएको श्वास–प्रश्वास सम्बन्धित लक्षणजस्ता गम्भीर स्वास्थ्य समस्या उत्पन्न गर्छन्।
नोबेल कोरोना भाइरसबाट लाग्ने सरुवा रोग (कोभिड(१९) गत डिसेम्बरमा पत्ता लागेको हो। जंगली वा पाल्तु जनावरमा यो भाइरस पाइन सक्ने भएकाले कतै घरमा पालिएका जनावरबाट चीनका नागरिक संक्रमित भएको यकिन गर्न नसकिए तापनि (सार्स(कोभ(२) को महामारी फैलिएको हो।
यसबाट संक्रमित अधिकांश व्यक्तिहरु सामान्य र अलि कडाखालको श्वास–प्रश्वास रोगबाट पीडित हुन्छन् भने मुटु सम्बन्धी, मधुमेह र दीर्घ श्वास–प्रश्वास समस्या भएका वृद्धहरु गम्भीर रुपमा संक्रमित हुन सक्छन्। रोगसँग लड्न सक्ने क्षता कमजोर भएका र सावधानी नअपनाउने सबै उमेरकालाई यो रोगले संक्रमण गर्न सक्छ।
कोरोना भाइरस संक्रमणको वर्तमान अवस्था
सर्वप्रथम गत डिसेम्बरमा चीनको वुहान सहरका मानिसमा पहिचान भएको यो रोग विश्वभरि अधिकांश मुलुकमा महामारीका रुपमा फैलिइसकेको छ। विश्वभरि फैलिएको यस रोगबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्यलगायतका मुलुकमा अत्यधिक संक्रमित भएका छन्। सुरुमा चीनबाट संक्रमण फैलिए पनि हाल चीनमा भने प्रभावकारी नियन्त्रण भएको छ।
संक्रमण अवधि
कोभिड–१९ को संक्रमण १ दिनदेखि १४ दिनसम्म हुन्छ।
सर्ने तरिका
कोरोना भाइरसबाट संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा नाक र मुखबाट निस्केका सिंगान, ¥याल, थुकका छिटा भुईं वा कुनै वस्तुमा टाँसिएका हुन्छन्। ती वस्तु वा भुईंमा हातले छोएमा हात प्रदूषित हुन्छ। त्यस्ता प्रदूषित हात नाक, मुखमा लैजाँदा भाइरस शरीरमा प्रवेश गर्न सक्छ र कोरोना भाइरस सर्न सक्छ। यस्तै संक्रमित बिरामीले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्केका सिंगान, थुक, ¥यालका छिटाहरु नजिकै (१ मिटर÷३ फिट) रहेका स्वस्थ व्यक्तिको शरीरभित्र प्रवेश गरेमा कोरोना भाइरस सर्न सक्छ। साथै सामान्य चिह्न र लक्षण देखिएका संक्रमित व्यक्तिले पनि स्वस्थ व्यक्तिमा रोग सार्न सक्छन्।
लक्षण
- रुघाखोकी लाग्ने÷नाक बन्द हुने जस्ता सामान्य लक्षण देखिनु।
- ज्वरो (१००.४ डिग्री फरेनहाइट भन्दा बढी) आउनु।
- सुख्खा खोकी लाग्नु र घाँटी दुख्नु।
- फोक्सो तथा मिर्गौलामा गम्भीर असर गर्नु।
- थकाई लागेको महसुस हुनु।
- झाडापखाला लाग्नु।
- कसैकसैको शरीर पनि दुख्नु।
- झन्डै ८० प्रतिशत संक्रमित बिरामी विशेष उपचार नगरिकनै निको हुन्छन् भने संक्रमित झन्डै हरेक ६ जनामध्ये १ जना सिकिस्त श्वास–प्रश्वास सम्बन्धी बिरामी हुन्छन्। साथै उच्च रक्तचाप, मधुमेह, मुटु सम्बन्धी रोग भएका वृद्धहरु गम्भीर बिरामी पर्छन्।
रोकथामका उपाय
आजसम्म कोरोना भाइरस संक्रमणविरुद्ध कुनै खोप वा खास उपचार छैन। त्यसैले केवल संक्रमित बिरामीलाई अस्पतालमा भर्ना गरी देखिएका चिह्न र लक्षण अनुसार व्यवस्थापन गरिनुपर्छ । त्यसैलेः
- कसैसँग हात मिलाउनुको सट्टा नमस्कार गर्ने।
- नआत्तिने, धैर्य रहने तर चनाखो भई रोगबारे पूरा जानकारी लिने।
- अत्यावश्यक नपरेसम्म बाहिर ननिस्कने। लकडाउनको पालना गरी घरमै बस्ने।
- कुनै वस्तु तथा फोहर छोएपछि, बाहिरबाट घरभित्र पसेपछि साबुनपानीले कम्तीमा ३० सेकेन्डसम्म मिचिमिची हात धुने वा अल्कोहल मिसाई बनाइएको गुणस्तरीय प्रतिजैविक झोल (स्यानिटाइजर) ले हात धुने।
- हाच्छिउँ आउँदा वा खोक्दा कुइनो खुम्च्याई नाक, मुख छोप्ने वा टिस्यु पेपरले छोप्ने।
- एकदेखि अर्को व्यक्तिबीच कम्तीमा १ मिटर वा ३ फिटसम्मको सामाजिक दूरी कायम गर्ने।
- जुनसुकै वस्तु वा भुईं हातले नछुने । वैयक्तिक वा घर वरिपरिको सफाइमा ख्याल गर्ने।
- घरभित्रै÷वरिपरि शारीरिक व्यायाम गर्ने र सकारात्मक सोच राख्ने।
- नाक, मुख राम्ररी छोपिने गरी एन–९५ मास्क प्रयोग गर्ने। डिस्पोजेबल मास्क प्रयोग गरेमा बेलुका फोहोरसँगै विसर्जन गर्ने र अन्य साधारण मास्क भने दिनहुँ धोएर घाममा सुकाउने।
- घरमै तयार गरेका दाल, गेडागुडीको रस, भात, रोटी, हरियो तरकारी, सागपात जस्ता पोषिला खानेकुरा खाने। माछा, मासु राम्ररी पकाएर मात्र खाने। तर बजारका खानेकुरा नखाने।
- ज्वरो (१००.४ डि. फरेन्हाइट भन्दा बढी), सुख्खा खोकी र श्वास–प्रश्वासमा कठिनाइ हुनासाथ स्वयं क्वारेन्टाइनमा रहने र तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिने।
खोज-पड्ताल
कोरोना भाइरस महामारीमा खोज(पड्तालको ठूलो भूमिका रहन्छः
१. छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमण फैलिएपछि मुलुकभरि क्रियाशील तीन तहका सरकार र संघीय सरकारबीच समन्वय गरी रणनीति तयार गर्नुपर्ने थियो, तर हुन सकेन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चनाखो भई योजना तर्जुमा गर्नुपर्नेमा चीनबाट अन्य मुलुकतिर सरेपछि पनि यसको रोकथामबारे सजग भएन। कोरोना महामारी रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरिए तापनि केन्द्रस्तरमा मात्र गठन गरियो। तर सो समितिमा आवश्यक स्वास्थ्य विशेषज्ञ चिकित्सक र जनस्वास्थ्य÷स्वास्थ्य प्रवर्धनविद्लाई समावेश गरिनु अत्यन्त जरुरी थियो। तर यतातर्फ नजरअन्दाज गरियो।
२. शंकास्पद संक्रमित व्यक्तिको पहिचान तथा निदान गर्न सातै प्रदेशमा समयमै स्वास्थ्यकर्मीलाई आवश्यक अभिमुखीकरण तालिम प्रदान गरी मुलुकभरि तैनाथ गर्ने र रोकथाम÷व्यवस्थापन गर्न आवश्यक औषधि÷उपकरणको आपूर्ति गर्नुपर्नेमा अत्यन्त ढिलासुस्ती गरियो। तर ढिलै भए पनि चीनबाट औषधि÷उपकरणको आपूर्ति गरिएको छ र ७ वटै प्रदेशमा प्रयोगशाला स्थापना गरिँदै छ।
३. कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न तीन वटै सरकारले स्थानीयस्तरमा समिति गठन गरी स्वास्थ्य विशेषज्ञ चिकित्सक र जनस्वास्थ्य÷स्वास्थ्य प्रवर्धनविद्लाई समावेश गरिनु पर्नेमा संघीय सरकारमा मात्र गठन गरियो। तथापि समितिमा मन्त्रीहरुलाई मात्र समावेश गरियो। समिति फेर्दै गए पनि प्रभावकारी रणनीति लिइएन। तर देशलाई लकडाउन भने समयमै गरियो, जसलाई सकारात्मक कदम मान्नु पर्छ। तर विदेशमा संक्रमित भएको तथ्य लुकाउने र भारतबाट प्रवेश गर्ने शंकास्पद नेपाली नागरिक जबर्जस्ती क्वारेन्टाइनबाट भागेर हिँड्नाले समस्या आएको छ। यसरी भाग्ने, क्वारेन्टाइनमा बस्न नमान्नेलाई स्थानीय सरकार र प्रहरी प्रशासनको समन्वयमा बल प्रयोग गरेरै भए पनि क्वारेन्टाइनमा बसाल्नै पर्छ भने भाग्ने व्यक्ति आफैं बस्नै पर्छ।
४. शंकास्पद धेरैभन्दा धेरै बिरामीको खोज(पड्ताल, निदान, उपचार, परामर्श गरिएमा चाँडै महामारी नियन्त्रण गर्न सकिन्छ। यसका लागि व्यापक जनचेतना फैलाई नागरिकलाई रोकथामका उपाय अपनाई सहज किसिमले जीवनयापन गर्न सिकाउने काममा मुलुकभरिका चिकित्सा विज्ञ, जनस्वास्थ्य÷स्वास्थ्य प्रवर्धनकर्मीलाई परिचालन गरिएको खण्डमा सजिलै र चाँडै महामारी नियन्त्रण गर्न सकिन्छ। तर स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय विपद् व्यवस्थापन तयारी तथा कार्यान्वयन धेरै अन्योलमा रहेको देखिन्छ।
उपचार
भाइरसबाट सर्ने कोरोना संक्रमित बिरामीका लागि कुनै खास उपचार आजसम्म पत्ता लागेको छैन। त्यसैले चिह्न र लक्षण अनुसारका औषधि र गहन हेरचाह गरिने हुनाले अस्पतालमा भर्ना गरिन्छ।
कोरोना रोकथाम/नियन्त्रणमा जनस्वास्थ्य क्षेत्रको भूमिका
- मुलुकभरि तीन तहका सरकार, समुदाय स्तरसम्म स्वास्थ्य सेवा प्रणाली, २४ हजारभन्दा बढी स्वास्थ्यकर्मी, सेवामा तथा सेवा निवृत्त जनस्वास्थ्य÷ स्वास्थ्य प्रवर्धनविद्, वडास्तरमा ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका क्रियाशील छन्। सरकारले यस्ता जनशक्तिलाई परिचालन, मुलुकभरि ६ हजार ५ सय ५४ वडा र ३ हजार २ सयभन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्य प्राविधिक टोली गठन गरी जनस्वास्थ्य÷स्वास्थ्य शिक्षा प्रवर्धनविद्को सुपरिवेक्षणमा समुदायस्तरबाट ज्वरो (१००.४ भन्दा बढी), खोकी र श्वास–प्रश्वासमा समस्या भएका र अन्यत्रबाट आएका व्यक्तिको टोल, गाउँबाट खोजी गरी शंकास्पदलाई नमुना परीक्षणका लागि प्रेषण गर्न सकिन्छ।
- सयौं जनस्वास्थ्य÷स्वास्थ्य शिक्षाविद्लाई सरकार एवं विश्व स्वास्थ्य संगठनद्वारा विपद् व्यवस्थापनमा सामुदायिक सहभागिता तथा जोखिमपूर्ण सूचना सञ्चार सम्बन्धी तालिम दिइएको छ। यस्ता तालिम प्राप्त स्वास्थ्य विज्ञहरुलाई सरकारद्वारा परिचालन गर्न सके आवश्यक स्वास्थ्य शिक्षा सञ्चार प्रवर्धन, अभिमुखीकरण÷तालिम, प्रदान तथा नियन्त्रणमा सघाउन सक्छन्।
- हरेक जिल्लामा चिकित्सक, जनस्वास्थ्य अधिकृत, प्रयोगशाला प्राविधिक सहितको शीघ्र विपद् व्यवस्थापन टोली गठन भई क्रियाशील छन्। यस्तो टोलीलाई स्थानीय सरकारद्वारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गर्न सकिन्छ। तर तीन वटै सरकारबाट यस्तो कदमप्रति नजरअन्दाज गरिएको छ।
- कोरोना संक्रमण जस्तो महामारीको बारेमा नागरिकलाई चेतना जगाउन वडास्तरबाटै स्वास्थ्य संयोजकसँगको समन्वयमा व्यापक रुपमा स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार गतिविधि÷सामग्री वितरण, स्थानीय पत्रपत्रिका, रेडियोमा सन्देश प्रसारण गरी शंकास्पद संक्रमितको पहिचान, निदान गर्न, सेल्फ क्वारकेन्टाइनमा बस्न, समयमै स्वास्थ्य संस्थामा परीक्षण गराई आवश्यक उपचार व्यवस्था गर्न सकिने हुँदा वार्डस्तरमा रहेका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संयोजकको टोली गठन गरी टोल/गाउँमा जनस्वास्थ्य÷स्वास्थ्य प्रवर्धन विज्ञहरुको सुपरिवेक्षण÷अनुगमनमा परिचालन गरी ज्वरो (१००.४ डिग्री फरेनहाइट भन्दा बढी) आएका, सुख्खा खोकी र श्वास–प्रश्वासमा कठिन भएका, घाँटी दुखेका र बाहिर कतै यात्रा गरेका शंकास्पद व्यक्तिको पहिचान गरी परीक्षणको दायरामा ल्याउन सकिन्छ।
(अर्याल जनस्वास्थ्य प्रवर्धनविद् हुन्)