कोष बगाले
स्वास्थ्य शिक्षा भनेको केवल स्वास्थ्य सम्बन्धी सूचनाहरुको सञ्चार गर्ने कार्य मात्र नभएर व्यक्ति तथा समुदायको स्वास्थ्य सम्बन्धी व्यवहार परिवर्तनका लागि ज्ञान, सिप प्रदान गरी उत्प्रेरणा तथा विश्वास समेत दिलाउनु हो। स्वास्थ्यको मूल सन्देश नै रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय (प्रिभेन्स इज बेटर द्यान क्योर) भन्ने हो र त्यसका लागि निश्चय पनि हाम्रो प्रयत्न रहेको छ र रहनु पर्छ।
तर, स्थिति सधैं हाम्रो नियन्त्रणमा वा हामीले सोचे, सम्झे जस्तो मात्रै हुँदैन। मानव इतिहासमा उसले नचाहेका, नसोचेका तर विवश र निरीह भई रोग तथा महामारीको सामना गर्नुपरेका थुप्रै घटनाहरु सुन्न र पढ्न पाइन्छ। नेपालको सन्दर्भमा पनि देशमा समयसमयमा यस्ता महामारीका कारणले ठूलो जनधनको क्षति भएको पाइन्छ। तर, औषधि विज्ञान, जनस्वास्थ्य तथा स्वास्थ्य शिक्षाकै माध्यमबाट त्यस्ता रोगहरुको समूल अन्त्य समेत सम्भव हुने गर्दछ।
निश्चय पनि कोरोना महामारी र यसले देशमा पारिरहेको र पार्नसक्ने प्रभावका सन्दर्भमा नेपाल सरकारका प्रयत्नहरु सन्तोष जनक रुपमा नै अघि बढेको पाइन्छ। यद्यपि, रोगलाई प्रभावकारी नियन्त्रणका लागि अझ धेरै गर्न जरुरी छ। रोग लागि सकेपछिको पहिलो जिम्मेवारी अवश्य पनि डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुकै हो। किनकी त्यस समयमा गर्नुपर्ने पहिलो काम भनेको बिरामीको उपचार नै हो।
हाल नेपालमा कोरोनाका बिरामी त्यति धैरै देखिएका छैनन् जसले गर्दा सरकारलाई यस विरुद्धको तयारीका लागि केही समय अवश्य पनि प्राप्त भएको छ। सुरुवाती दिनहरुमा देशमा केही अन्योल देखा परे पनि संक्रमित दर न्यून देखिएसँगै बिरामीले गुणस्तरीय उपचार प्राप्त गर्नेछन् र अन्य तयारीका लागि यसलाई अवसरका रुपमा लिई अझ सशक्त तयारीमा जुट्नुका अलावा हामीबीच अर्को कुनै विकल्प पनि छैन।
अहिले नेपाल मात्रै नभएर सारा बिश्व नै कोरोनाको रापबाट पिल्सिरहेको छ। दिनानु दिन नयाँ बिरामीको संख्यामा वृद्धि हुनु तथा उच्च मृत्युदरलाई यसले सिर्जना गरेको आतंकको रुपमा लिनुपर्ने हुन्छ। त्यसैगरी आतंकित हुनुपर्ने अर्को कारण भनेको नयाँ व्यतिm तथा समुदायमा रोग फैलन्छ कि, जोखिममा परेकाहरुलाई जाँचको दायरामा ल्याउन सकिँदैन कि, क्वारेन्टाइनमा वा आइसोलेसनको महत्वको बारेमा बुझाउन नसकेर उल्झन सृजना हुने हो कि, जस्ता प्रश्नहरुले सारा विश्व तथा सरकारहरु डराइरहेको पाइन्छ। र, नेपालको पनि स्थिति त्यही हो।
संसारका सबै देशहरु वा त्यहाँका समाजले मात्र नभई जंगलमा बस्ने आदिवासी, फिरन्तेहरुले समेत कुनै समस्या समाधान गर्न वा समाजलाई सहज रुपमा अघि बढाउन निश्चित नीति, नियम, कानुन तथा जिम्मेवारीको बाँडफाँड गरेर अघि बढेको पाइन्छ। यो रोग नियन्त्रणमा पनि रोगको प्रकृति अनुसार सम्बन्धित सबै क्षेत्रका विशेषज्ञ व्यक्ति वा समूहलाई उनीहरुको विशेषज्ञताका आधारमा जिम्मेवारी तोकी आदेश, नियन्त्रण तथा उत्प्रेरणाका साथ अघि बढ्न सकेमा कोरोना मात्र के अरु थुप्रै चुनौतीहरुलाई पनि सामना गरी समाज, राष्ट तथा विश्वलाई नै सुरक्षित राख्न सकिने छ।
कोरोना नियन्त्रणमा अवश्य पनि बहुपक्षीय सहयोग र सहकार्य अनिवार्य हुन्छ। जसमा खासगरी स्वास्थ्य, गृह प्रशासन, सेना÷सुरक्षा, आपूर्ति, वाणिज्य, सञ्चार जस्ता थुप्रै पक्षहरुबीच सहकार्य हुनुपर्ने हुन्छ, जुन केही हदसम्म भएको पनि पाइन्छ। जसको नतिजा समेत सकारात्मकतर्फ उन्मुख छ। जस्तैः चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सम्पादन गरेको कार्यसम्पादनको चौतर्फी सराहना भएको पाइन्छ भने सेना, प्रहरीको भूमिका पनि सराहनीय छ।
साथै स्वास्थ्यकै अर्को विधा जन स्वास्थ्यको क्षेत्रमा पनि नेपालमा प्रभावकारी कार्यसम्पादन भई कोरोना विरुद्धको युद्धमा सफलता उन्मुख देखिन्छ। सबै प्रदेशसम्म ल्याब सेवा स्थापना, विस्तार तथा सञ्चालन हुनु, परीक्षणको दायरा र संख्या बढाउनु, रोगको प्रकृति हेरी उपयुक्त रणनीति तर्जुमा गर्नु र विज्ञका हैसियतमा सरकारलाई राय पेस गर्नु उनीहरुको जिम्मेवारीभित्र पर्दछ र त्यसै अनुरुप अघि बढेको आभाष समेत भएको छ। सञ्चार क्षेत्रले कोरोना सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न खेलेको भूमिका पनि प्रभावकारी मान्नुपर्छ।
यस समस्याको मुख्य कारक तत्व भनेको एक भाइरस नै हो। जसको विरुद्धमा काम गर्ने न कुनै भ्याक्सिन वा प्रभावकारी औषधि नै छ। मानिसमा भएको प्रतिरोधात्मक क्षमता र असल खानपान नै रोगबाट बचाउने अचुक उपाय हो भने रोग सर्नबाट बच्ने र बचाउने उपायहरु अबलम्वन गर्नु त छँदैछ। तर यसका कारण समाजका विभन्न क्षेत्रहरुमा पर्न सक्ने प्रभावहरु जस्तैः शान्ति सुरक्षा, अमन चयन, कालो बजारी, कृत्रिम अभाव, खाद्य संकट, आपूर्ति व्यवस्थापन, हिंसा, आतंक जस्ता समस्या उत्पन्न भई मुख्य समस्यालाई अझै मलजल नपुग्ला भन्नसक्ने स्थिति पनि छैन। त्यसैले यस्तो समयमा राष्टले सबैको सुझबुझ र सहयोग लिएर अघि बढ्नुपर्ने हुन्छ। त्यसो गरेमा कोरोना विरुद्धको लडाईं जित्न त्यति गाह्रो नपर्ला।
मानिसहरुले रोगको प्रकृति बुझ्न नसक्नु, लकडाउनलाई हिजो द्वन्द्वको समयमा हुने नेपाल बन्दकै रुपमा लिनु, सामाजिक दूरी कायम को अर्थ नबुझ्नु, पिपिई, माक्स तथा पन्जाको उपयुक्त प्रयोग गर्न नसक्नु जस्ता कारण नेपालमा कारोनाले भयावह स्थितिको सृजना नगर्ला भन्न सकिँदैन। त्यसैले अब हामीले जनतामा राहत, तथा तथ्याङ्क संकलनका कार्यक्रमसँगै माथि उल्लेखित समस्याकेन्द्रित चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी स्वास्थ्य सम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन गराउन सक्नुपर्छ। जसले गर्दा उनीहरुले कोरोना सम्बन्धी आफ्नो जोखिमको आफैं मूल्याङ्कन गर्न सक्नेछन् र क्वारेन्टाइनमा बस्न, परीक्षण गराउन, सामाजिक दूरी कायम गर्न स्वयं अग्रसर भई रोग नियन्त्रणमा सहयोग प्राप्त हुनेछ। तर अहिले वास्तविकताभन्दा हौवाको भरमा मानिसहरु बढी आक्रान्त भएको पनि पाइन्छ।
त्यसैले माथि उल्लेख गरिए अनुसारका समस्या तथा घटनामा घटनाको प्रकृति हेरेर सम्बन्धित क्षेत्रमा अनुभव र विशेषज्ञता हासिल गरेका विशेषज्ञहरुलाई जिम्मेवार बनाउन सकेमा अहिले देखिएका जस्ता समस्याहरु (नयँं व्यक्ति तथा समुदायमा रोग फैलिन सक्ने, जोखिममा परेकाहरु जाँचको दायरामा नआउने, क्वारेन्टाइनमा वा आइसोलेसनमा बस्न नमान्ने आदि ) नियन्त्रण तथा निराकरण गर्न सहज हुन जाने छ।
व्यक्ति तथा समुदायको स्वास्थ्य सम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तनको लागि मुख्य जिम्मेवारी भनेको निश्चय पनि चिकित्सक, नर्स, जन स्वास्थ्यकर्मी र स्वास्थ्य शिक्षाकर्मीहरु कै हुने गर्दछ। नेपालको अहिलेको परिप्रेक्ष्यमा नेपाल सरकारले चिकित्सक, नर्स, तथा जनस्वास्थ्यकर्मीसँग आवश्यक समन्वय गरी काम गरेको र उनीहरुले आफ्नो व्यावसायिक कार्यदक्षता सफलताकापूर्वक प्रदर्शन गरेको पाइन्छ। तर उनीहरुको व्यावसायिक कार्यक्षेत्र मुख्यगरी अस्पताल र प्रयोगशालाको कोठाहरु हुने गर्दछन्।
हाम्रा सामु अहिलेको पछिल्लो समस्या भनेको दूरदराजमा रहेका बस्तीहरु त्था सहरका घना बस्तीहरु हु्न्, जहाँ मानिसहरु विभिन्न कारणले गर्दा कोरोना सृजित समस्याबाट ग्रसित भइरहेका छन्। ती समुदायमा गएर मानिसको मनोभावको अध्ययन गरी रोगको प्रकृति, कारण, सर्ने तथा बच्ने उपाय, क्वारेन्टाइनको महत्व, कोरोना परीक्षणका फाइदा जस्ता विषयमा उपयुक्त विधिद्वारा व्यक्ति तथा समाजको सोच तथा व्यवहारमा सकारात्मक परिवर्तन गराउनसक्ने प्रकारको शिक्षा प्रदान गर्नु आजको आवश्यकता। त्यसका लागि तयार पारिएका व्यावसायिक समूह भनेको शिक्षाशास्त्र संकायबाट उत्पादन भएका स्वास्थ्य शिक्षाका विद्यार्थीहरु नै हुन्।
उनीहरुले स्वास्थ्य, रोग, रोगको प्रकृति, चरण, इतिहासदेखि तथ्याङ्क विश्लेषणको आधारमा रोगबाट हुनसक्ने सम्भावित परिणाम मात्र होइन, कुन व्यक्ति वा समाजका मानिसको व्यवहारमा कसरी सकारात्मक परिवर्तन गर्न सकिन्छ, व्यवहार परिवर्तनको कुन सिद्धान्त अबलम्वन गर्दा प्रभावकारी हुन्छ भन्ने जस्ता विषयमा ल्याकत राख्छन्।
त्यसैले सरकारले विश्वविद्यालयसँग तत्काल समन्वय गरी त्यस्ता जनशक्तिलाई समुदायमा परिचालन गर्न सकेमा विश्वविद्यालयको भूमिका तथा नेपालमा स्वास्थ्य शिक्षाको व्यावहारिक र प्रभावकारी प्रयोग समेत हुनेछ।
त्यसो त कोरोनाको प्रकोप लम्बिँदै जाँदा अब विस्तारै रेडियो, टेलिभिजनका सन्देशहरुको प्रभाव समेत घट्दै जान सक्छन्। यस्तो समयमा समाजमा प्रभावकारी सञ्चार र सकारात्मक व्यवहार परिवर्तनका लागि पनि सक्दो छिटो स्वास्थ्य शिक्षाकर्मीहरुलाई समुदायमा पठाउनु जरुरी देखिन्छ। जसका लागि अहिले नेपालका प्रत्येक स्थानीय तहमा स्नातकदेखि विद्यावारिधिसम्मका कम्तीमा ५ देखि ७ जना स्वास्थ्य शिक्षाका योग्य जनशक्ति उपलब्ध रहेको पाइन्छ।
यसै सन्दर्भमा नेपाल सरकारले कोरोना नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ११ (क÷ण) अनुसार विपद जोखिम न्यूनीकरण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, गराउने र (ध) मा विपतको समयमा खोज उद्धार र राहत कार्यका लागि गठन गरेको कोभिड १९ प्रिभेन्सन ग्रुप (जसमा प्रत्येक स्थानीय तहमा वडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस, प्रहरी सहितको टोली गठन गरी खटाउने नीति लिएको पाइन्छ) जसले हालको अवस्थामा सहजीकरण गर्न, विदेशबाट आउनेको तथ्याङ्क लिन तथा क्वारेन्टाइनमा बसाउन, कोरोना परीक्षण गराउन केही सहयोग त गर्ला नै तर त्यस्ता प्रत्येक टोलीमा कम्तीमा १÷१ जना स्वास्थ्य शिक्षाका जनशक्ति समावेश गरी परिचालन गर्न सकेमा नतिजा निकै परिणाममुखी हुने देखिन्छ।
वास्तवमा राज्यले यस्ता जनशक्तिलाई हालसम्म चिन्न सकेको छैन। यस विषम परिस्थितिमा आफूले मिहिनेत साथ आर्जन गरेका ज्ञान र सिपको सही प्रयोग गरी कोरोना माहामारी विरुद्धको अभियानमा सहभागी भई सफलता दिलाउन सकेमा समाजमा रहेका यी जनशक्ति भनेका केवल विद्यालय तथा विश्वविद्यालयमा अध्यापन गराउनका लागि मात्र तयार भएका हुन् भन्ने जस्तो सोचमा समेत सकारात्मक परिवर्तन आउनेछ। साथै र भविष्यमा देशमा आउनसक्ने स्वास्थ्य सम्बन्धी विपद व्यवस्थापनमा पनि प्रभावकारी स्वास्थ्य शिक्षाको माध्यमबाट सकारात्मक परिवर्तका लागि यी जनशक्तिमा नयाँ जोश र जाँगरको सृजना हुनेछ।
त्यसैले राज्यले समयमा नै उपयुक्त नीति अबलम्वन गरी स्वास्थ्य शिक्षाका यी जनशक्तिलाई कोरोना विरुद्धको युद्ध मोर्चामा सरिक गराई समुदायमा स्वास्थ्य सूचना सञ्चार र व्यवहार परिवर्तन गराउने जिम्मेवारी दिएमा स्थितिमा छिट्टै सकारात्मक परिवर्तन आउने छ।