मिनराज पन्थी
अहिले सारा विश्व कोभिड-१९ सँग युद्ध लडिरहेको छ। कतिपय मुलुकहरू यो भाइरससँग लड्ने तयारीमा जुटिरहेका छन्। हाम्रो देशमा कोरोनासँग लड्न राज्यका महत्वपूर्ण अंग लगायत सबैले आअफ्नो ठाउँबाट तयारी गरिरहेका छन्।
विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरिसकेका छन्। सरकारले लकडाउनको अवधि बढाएर यसको कार्यान्वयनका साथै क्वारेन्टाइन, कन्ट्रयाक ट्रेसिङ र परीक्षणको दायरा बढाउँदै लगेको छ। यस प्रक्रियाले संक्रमितको संख्या तीव्र रूपमा पत्ता लगाउन र थप संक्रमण रोक्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
अर्कोतर्फ अहिले जसरी प्रयोगशाला परीक्षणमा जनशक्ति लागिपरेको छ, नमुना संकलनदेखि परीक्षणसम्म कुन तहको जनशक्ति कुन ठाउँमा परिचालन गर्ने भन्ने कुरा ध्यानमा राखेर काम गर्दा अझ बढी प्रभावकारी हुन्छ। ल्याबोरेटरी परीक्षणमा हुने चरणहरू छन्, (प्रिएनालाइटिकल) जुन नमुना सङ्कलनदेखि ल्याबसम्म पुर्याउने र परीक्षण गर्नुभन्दा अगाडिको समयमा राम्रोसँग स्टोर गरेर राख्ने। त्यस्तै नमुना संकलन गरी परीक्षणको लागि टाढासम्म पुर्याउने। यो विषयमा ध्यान दिनुपर्ने र सावधानी अपनाउन जरुरी छ।
अर्को चरण (एनालाइटिकल) त्यसको परीक्षण गरेर रिजल्ट पत्ता लगाउने र अर्को चरण (पोस्ट एनालाइटिकल) रिपोर्ट पठाउने अनि त्यसको रेकर्ड राख्ने। यसमा पनि कताकता नमिलेको छ। किनभने रिजल्ट तयार हुने बित्तिकै पहिले स्वास्थ्यकर्मीलाई थाहा दिनुको साटो नीतिनिर्माताबाट र पत्रपत्रिका पढेर थाहा पाउनु स्वास्थ्यकर्मीको लागि दुःखको कुरा हो। यसले संक्रमण फैलने अवस्था सिर्जना गर्दछ भने स्वास्थ्यकर्मीहरुबीच विश्वासको खाडल बढाउँदै लग्नेछ।महामारीको समयमा एकजुट भै एकअर्कामा विश्वास गर्ने वातावरण सिर्जना गर्नुको कुनै विकल्प छैन।
अहिलेको समय सरसर्ती हेर्दा हामीलाई चाहिने र पुग्ने तहको जनशक्ति बजारमा पर्याप्त मात्रामा छन्। त्यसैले जुन पायो त्यही जनशक्तिले काम गर्नुभन्दा उसको दक्षता अनुसारको काम लगाए महामारीसँग लड्न प्रभावकारी भूमिका रहने छ। जसरी अहिले नमुना सङ्कलन (प्रिएनालाइटिकल) चरणमा अझ बढी ध्यान पुर्याएर काम गर्ने दक्ष जनशक्तिको परिचालन भयो भने अझै बढी रिजल्ट सही अउन मद्दत पुग्छ।
परीक्षणको कुरामा अहिलेसम्म प्रयोग गरेको प्रविधि रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटिपिसिआर) विश्वमै सर्वोत्कृष्ट मानिने प्रविधि हो। यो प्रविधिले सबैभन्दा बढी विश्वस्त हुने नतिजा दिने भएकोले कहिलेकाहीं नमुना सङ्कलनमा त्रुटि भएमा वा ढुवानीमा सही तरिका नअपनाएमा रिजल्टमा फरक आउनसक्छ। त्यसैले अहिले हामीले गरेको प्रिएनालाइटिकल विधि शतप्रतिशत ठिक छ कि छैन भनेर पुनरावलोकन गर्नु जरूरी छ।
अर्कोतर्फ र्यापिड डायग्नोस्टिक टेस्ट (किट) बाट गरेको परीक्षणलाई विश्व स्वास्थ्य संगठनले परीक्षणको लागि उपयुक्त छ भनेर सिफारिस नगरेको अनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि उक्त सिफारिस नगरेको किटबाट परीक्षण गर्नु उपयुक्त छैन भन्दै गर्दा उक्त किटबाट परीक्षण सुरू गर्नुले आम जनमानसमा यसको विश्वसनियता घट्दै गएको छ। त्यसैले अहिलेसम्म महामारी नफैलिएको समयमा हाम्रो मुलुकमा पर्याप्त दक्ष जनशक्ति हुँदाहुँदै अन्य बाटो नअपनाई सही काम गर्ने अवसर छ।
इटाली जस्तो समृद्ध मुलुकमा पर्याप्त स्रोत र साधन हुँदाहुँदै पनि समय नभएर जनशक्तिको अभावमा अन्तिम वर्षमा अध्यनरत मेडिकल विद्यार्थीहरूलाई समेत परिचालन गर्नु परेको थियो। त्यसैले अहिले नै उपयुक्त कदम चालेर दक्ष जनशक्तिको उपयोग गरियो भने हामीलाई सजिलो हुनेछ। तर यस्तै सुस्त गतिमा सबै काम भयो र कुन तहको जनशक्ति कहाँ छ र त्यसलाई कुन काम लगाउने भन्ने कुराको निक्र्योल गर्न सकेनौं भने यसरी आउने महामारी सामना गर्न हम्मेहम्मे पर्नेछ।
साथै काम गर्ने दक्ष जनशक्तिको मनोबल उच्च बनाएर तयारी गर्नु जरुरी छ। तर अहिले त्यस्तो तयारी गरेको पाइँदैन किनभने हरेक ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीको काम उत्तिकै महत्वपूर्ण हुन्छ।
स्वास्थ्यकर्मीहरूलाई हरेक ठाउँमा काम गर्न उत्तिकै जोखिम हुन्छ। चाहे त्यो प्रयोगशाला, नमुना सङ्कलन, इमरजेन्सी, अइसोलेसन, ओपिडी, हेल्थ डेक्स, निजी अस्पताल वा क्लिनिक सम्पूर्ण ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीहरू उत्तिकै जोखिम मोलेर काम गरेका हुन्छन्। त्यसैले यो वा त्यो संस्था नभनी सम्पूर्ण स्वास्थ्यकर्मीको लागि शतप्रतिशत प्रोत्साहन भत्ता, बिमा सहित सम्पूर्ण सुविधा राज्यले उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो र स्वास्थ्यकर्मीहरूले आफ्नो का इमान्दारीका साथ काम गर्नु उनीहरूको कर्तव्य हो।
(पन्थी नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव हुन्)