नमस्कार, म सरोजा अर्याल। ग्लासगो रोयल इन्फर्मरी हस्पिटलमा काम गर्छु। अहिले यो अस्पतालमा कोरोना संक्रमितको संख्या निकै बढेको छ। अस्पतालमा मात्र होइन, ग्लासगोमै कोरोना संक्रमितको संख्या बढ्दो छ।
अस्पतालमा कोरोनाका बिरामी बढ्दै गएपछि अस्पतालको छुट्टै भवन छ, त्यही भवनलाई पनि हामीले अस्पतालमा परिणत गरी सेवा दिन सुरु गरेका छौं। यो भवनमा हामीले भेन्टिलेटर नचाहिने र सामान्य खालका कोरोनाका बिरामी राख्ने योजना बनाएका थियौं। तर अहिले आइसीयुको शय्या नै धेरै चाहिने भइसक्यो। त्यसैले त्यो भवनमा आइसियु राख्ने पनि तयारी हुँदैछ। हामी सबै नर्सहरु आइसियुमा सिफ्ट भएका छौं।
अस्पतालमा पहिले ३० आइसियु शय्या थिए। अहिले ८ वटा शय्या थपेर ३८ बनाइएको छ। अस्पतालको अहिले सबै कार्य तालिका नै परिवर्तन भएको छ। म पहिले १० घन्टा जति काम गर्थें भने अहिले १२ घन्टा पुगेको छ। यो अस्पतालले अहिले कोरोनाको बिरामीलाई मात्र केन्द्रित गरेको छ।
पिपिई पनि स्वास्थ्यकर्मी अनुसार तयार गरिएको छ। किनभने सबैलाई एकै किसिमको पिपिई नहुन सक्छ। पिपिईको विश्वभरमै अभाव छ। हामीले विभिन्न मापदण्ड अनुसार पिपिईको प्रयोग गरिहेका छौं। त्यसैले हामीले कुन अवस्थामा कस्तो पिपिई प्रयोग गर्ने भनेर बढी प्राथमिकता दिएका छौं।
थिएटरमा आउने सबै बिरामीलाई हामीले विशेष निगरानीमा राख्छौं। ३८ वटा आइसियुमै कोरोनाका बिरामी छन्। मैले काम गर्ने युनिटमा ८ वटा आइसियु छन्, त्यसमा पनि कोरोनाकै बिरामी छन्। सबै जनालाई भेन्टिलेटरमा राखिएको छ।
वृद्धवृद्धा र दीर्घरोग भएका मानिसहरुमा समस्या जटिल बनेको देखियो तर युवा अनि कुनै स्वास्थ्य समस्या नभएकाहरु छिटो निको भएर पनि गएका छन्। मलाई लाग्छ, यसमा मृत्युदर पनि धेरै छ।
मैले तीन थरीका बिरामी भेटें। जस्तैः विभिन्न अपरेसन गर्न आउने बिरामीमा पनि कोरोना देखियो। कुनैमा माइल्ड किसिमको लक्षण भएका बिरामीहरु भेटें। खोकी लाग्ने र ज्वरो आउने खालका लक्षण धेरैमा भेटें। तर १० दिनपछि एक्कासि श्वासप्रश्वासमा समस्या भएर आइसियुमा भर्ना गर्नुपर्ने खालको पनि भेटें। अर्कोमा विस्तारै लक्षण देखिन्छ तर पनि त्यस्तो जटिल समस्या नदेखिएको पनि पाइयो।
८० प्रतिशत मानिस अस्पताल नगएर पनि निको भएका छन्। शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले पनि यसलाई निर्धारण गर्छ। हाम्रो अस्पतालमा मात्र नभई युकेकै अस्पतालमा बिरामीको भिजिटर्स आवश्यक पर्दैन। अस्पतालले नै त्यसको सबै व्यवस्थापन गर्छ।
नेपालका अस्पतालमा अहिले बिरामी बाहेक अन्य व्यक्ति आउन नपाउने अवस्था छ। तर हाम्रो अस्पतालमा भिजिटर्सको आवश्यकता नै पर्दैन। यहींको कतिपय अस्पतालले बिरामी र उनका आफन्तलाई भिडियो कल गराउने, फोन गराउने पनि गरेका छन्। यद्यपि हाम्रो अस्पतालमा भने सुरु भइसकेको छैन।
अस्पतालमा काम गर्ने कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीमा एउटा डर छ, कतै मलाई कोरोना लाग्ने हो की? मबाट परिवारमा सर्छ की भन्ने डर हामी सबैमा छ। त्यो डरका साथ हामी काम गरिरहेका छौं।
अहिलेसम्म अस्पतालका कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन। यदि मलाई कोरोनाको लक्षण देखियो भने सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ। मलाई मात्र होइन, मेरो परिवारको एक जना सदस्यलाई पनि लक्षण देखियो भने म काममा जान पाउँदिन।
सुरुमा अस्पतालमा कोरोना उपचारको व्यवस्थापन गर्न हामीलाई निकै अप्ठ्यारो भएको थियो। हाम्रो अस्पतालमा एउटा सुविधा भनेको हामी अस्पतालबाटै नुहाएर, हात धोएर, पिपिई आफ्नै ठाउँमा राखेर आउँछौं। घरमा पनि मेरो छुट्टै बाथरुम छ, त्यो म बाहेक अरुले प्रयोग गर्दैन। मैले प्रयोग गर्ने हरेक सामान मेरो घरको चाबी, आइडी कार्ड सबैमा डिस् इन्फेक्टेन्ट स्प्रे गरेर मात्र प्रयोग गर्छौं।
अहिले हामीलाई सरकारले विशेष भत्ता या बिमाको व्यवस्था गरेको छैन। तर विशेष अवस्था भएका, जो विभिन्न स्वास्थ्य समस्या भएका स्वास्थ्यकर्मीलाई भने बिदा दिने या अन्य व्यवस्था गरिएको छ। तर अहिले सरकारले विशेष प्याकेज भने ल्याइसकेको छैन। काम गर्न नसक्ने स्वास्थ्यकर्मीका लागि सरकारले तलबको ८० प्रतिशत दिने भनेको छ।
हामीलाई अहिले धेरै पब्लिक सपोर्ट छ। यदि हामी सुपर मार्केट जानुप¥यो भने हामीलाई छुट्टै समय र दिन तोकिएको छ। सानासाना बालबालिकाले पनि विभिन्न चित्र बनाएर यु गाइज अ हिरो भनेर पोस्ट पठाउने गर्छन्। लकडाउनको यो समयमा हामीलाई विभिन्न कम्पनीले खाना र सामान उपलब्ध गराउने गरेको छ।
यो समयमा मैले नेपाललाई धेरै सम्झेको छु। नेपालमा अन्य देशमा जस्तो कोरोनाको महामारी फैलिसकेको छैन। यदि नेपालमा सबै मिलेर लाग्ने हो भने सायद नेपाल विश्वमा उदाहरण पनि बन्न सक्छ ।