दिनेश कोइराला
डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान सहरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड-१९) ले अहिले विश्वव्यापी महामारीको रुप लिएको छ। प्रकृतिलाई चुनौती दिने विकसित राष्ट्रहरु नै आज यस रोगबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
यो भाइरसले दिनानुदिन विकराल रुप लिँदै गएको छ। यो समस्या कहिलेसम्म रहने हो, कसैलाई थाहा छैन। विश्वका धेरै देशले यसको रोकथाम र नियन्त्रणका लागि आ–आफ्नै तरिका अपनाए तापनि लकडाउन तथा शंकास्पद व्यक्तिहरुको परीक्षणलाई नै मुख्य रणनीतिको रुपमा अपनाएका छन्।
छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि भारसँग खुला सीमा नेपालमा विगत तीन हप्तादेखि लकडाउन कायम छ । संसारभरि फैलिएको महामारी तथा लकडाउनका कारण देशविदेशमा रहेका थुप्रै नेपाली घर फर्किएका छन्। सरकारको आधिकारिक तथ्याङ्क अनुसार ५० हजारको हाराहारीमा नेपालीहरु अन्य मुलुकबाट घर फर्किएको भन्ने छ। तर सरकारी आँकडा जे भए पनि यो संख्या लाखौं हुनसक्ने अनुमान गरिएको छ।
नेपाल फर्किने अधिकांश भारतमा मजदूरी गर्न गएका देखिन्छन्। त्यसमा पनि भारतका औलो प्रभावित क्षेत्रहरुबाट फर्किएका बढी छन्।
विदेशबाट फर्किएकाहरुको तथ्याङ्क लिने, जनचेतना अभिवृद्धि गर्ने, घर लगायत अन्य सुरक्षित स्थानमा राख्ने कार्य अहिले नेपालभरि भइरहेको छ। यसमा स्वास्थ्यकर्मीहरुका साथै सेना, प्रहरी र निजामती कर्मचारीहरु परिचालित भइरहेका छन्। यस अवस्थामा अस्पताल र स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको सेवा उल्लेखनीय छ। यहाँ बिरामीहरुको स्वाब परीक्षणले उच्च प्राथमिकता पाएको छ।
संयोग नै मान्नुपर्छ, कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला गर्मी मौसम सुरु भएको छ। गर्मी मौसम लामुखुट्टेको बिगबिगी हुने मौसम हो। लामखुट्टेबाट औलो रोग सर्दछ। कोभिड-१९ र औलो रोगका चरित्रहरु फरकफरक भए तापनि यिनीहरुको मुख्य लक्षण ज्वरो हो।
त्यसैले यस अवस्थामा ज्वरो आएका बिरामीहरुमा पूर्ववत रुपमा औलोको परीक्षण सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले यससम्बन्धी एक कार्य सञ्चालन निर्देशिका बनाई सबै प्रदेशहरुमा पठाइसकेको छ।
यसका साथै सबै प्रदेश तथा स्थानीय निकायहरुमा ज्वरो आएका सबै बिरामीलाई औलो परीक्षण गर्न/गराउन समेत परिपत्र जारी गरिसकिएको निर्देशक डा वासुदेव पाण्डेले बताउनुभएको छ। तथापि यसतिर हालसम्म धेरैको यथेष्ट ध्यान जान सकेको छैन।
गत आर्थिक पवर्ष २०७५/७६ मा नेपालमा १,०६५ औलोका बिरामी थिए। जसमध्ये झन्डै ६० प्रतिशत बिरामी विभिन्न कामको सिलसिलमा देशबाहिर गएका व्यक्तिहरुमा देखिएको थियो। यसमा पनि झन्डै ९० प्रतिशत बिरामी भारतमा मजदूरी गरी फर्किएका थिए।
गत वर्ष चैत महिनामा ३७ जना औलोका बिरामी भेटिए पनि यस वर्षको सोही महिनामा १२ जना मात्रै पत्ता लागेका छन्। औलोको समय सुरु भइसकेको अवस्थामा र भारतको औलो प्रभावित क्षेत्र लगायत अन्य देशहरुबाट नेपाल फर्किएकाहरुको संख्या उल्लेखनीय रहेको छ। तर अहिलेसम्म पनि अघिल्ला वर्षहरुमा जस्तै बिरामी पत्ता नलाग्नुमा कतै यसको परीक्षणलाई नजरअन्दाज गरिएको हो कि भन्ने देखिन्छ।
विश्व स्वास्थ्य संगठनले सन् २०१४—२०१६ मा दक्षिण अफ्रिकाका केही देशहरुमा इबोलाको महामारीपछि औलोको महामारी फैलिएको तथ्यलाई आत्मसाथ गर्दै औलोको जोखिममा रहेका देशहरुमा कोभिड-१९ सँगै औलोको रोकथाम, जाँच तथा उपचारलाई उच्च महत्व दिनुपर्ने बताएको छ।
त्यसैले भारत लगायत औलोका अन्य जोखिम क्षेत्रबाट फर्किएका र क्वारेन्टाइनमा बसेका जो कोहीलाई पनि ज्वरो आएमा औलोका परीक्षण पूर्ववत रुपमा नियमित गर्न लगाउनुपर्ने देखिन्छ। अन्यथा कोभिड-१९ सँगै ओझेलमा परेको औलोकै महामारी व्यहोर्नु पर्ने हुनसक्छ।