किरण चन्द्र पुन
विश्व अहिले कोरोना महामारीले थिलोथिलो भएको छ। कोरोना विरुद्धको लडाईंमा विश्वका शक्तिशाली भनिएका देशहरुदेखि गरिबीको छायाँमा रहेका देशहरु सबै एक ठाउँमा उभिएका छन्। तैपनि कोरोनासँगको महासंग्राम जित्न निकै कठिन अनि जटिल भइरहेको छ।
कोरोना नियन्त्रणका लागि विश्वका सबै देशमा लकडाउन प्रभावकारी देखिएको छ। विश्व अहिले सबै कुरा थाती राखेर वैश्य युगको मानव कोठाभित्र बन्द हुन पुगेको छ। कोरोना विरुद्धको लडाईं कहिले निर्णायक हुन पुग्ला भनेर अनुमान गर्न निकै मुस्किल छ। कोरोना महामारीको लगभग ४ महिना हुन थालिसक्दा पनि नियन्त्रणको गुन्जाइस नदेखिएकाले विश्व चिकित्सा अनुसन्धान विज्ञानलाई नै चुनौती थपिदिएको छ।
विभिन्न समयमा उत्पत्ति हुने विश्वव्यापी संक्रामक रोगहरुको महामारीको इतिहास के हो? के अहिले मात्रै कोरोनाले विश्वलाई आतंकित बनाएको हो कि इतिहासमा कोरोनाभन्दा शक्तिशाली संक्रामक रोगका महामारी पनि थिए? के समयसमयमा क्षेत्रीय र विश्वव्यापी रुपमा उत्पति भइरहने रोगका प्रकोपहरु मानव इतिहासको विकासक्रम, पर्यावरण अनि भूमण्डलीकरणसँग अन्तरसम्बन्धित छन्?
यी र यस्ता प्रश्नहरुको उत्तर खोज्न एक पटक इतिहासमा घटित घटनाक्रमका पानाहरु पल्टाउनुपर्ने हुन्छ र मन्थन गर्दै अनेक अन्तरसम्बन्ध नियाल्दै विगतदेखि अहिलेसम्मका प्रकोपको प्रकृति नियालेर नयाँ निचोडमा पुग्नुपर्ने देखिन्छ।
आधुनिक मानवको उत्पत्ति भएको लगभग १० हजार वर्ष जति भएको छ। त्यो भन्दा पहिला पनि मानव सभ्यताको विकासक्रमसँगै अनेक रोगका प्रकोपहरु देखा परे, जसले उतिबेलाको जनसंख्याको अनुपातलाई हेर्ने हो भने धेरै मान्छेहरु हताहत भएको देखिन्छ। भलै त्यतिबेला अहिले जस्तो बाक्ला बस्तीहरु थिएनन्। विश्व जोडिसकेको थिएन। न चेतनाको विकास भइइसकेको थियो, न त उपचार पद्धतिको नै।
यसरी आधुनिक मानवको उत्पत्तिपूर्व अनि त्यसपछि झनै मानवको विकासक्रम सँगसँगै नयाँनयाँ प्रकृतिका महामारी रोगहरुले बेलाबेलामा मानव सभ्यतामा चुनौती थपेको पाइन्छ। संक्रामक रोगहरुको मानव विकाससँग अन्तरसम्बन्ध नियाल्दा उहिलेको मानिस अहिले यहाँसम्म आइपुग्दा जनसंख्या बढ्दै गयो। मान्छेहरु व्यापारको लागि विभिन्न क्षेत्र यात्रा गर्न थाले। मानव चेतनाको पनि विकास हुँदै गयो। प्रकृतिको दोहन गर्दै मानव अघि बढ्यो अनि कृषि क्रान्ति, औद्योगिक क्रान्ति अनि वैज्ञानिक क्रान्तिका रुपमा छलाङ्ग मार्दै यहाँसम्मको यात्रा गरेको मानिसमा निकै भयंकर महामारी पनि देखा परे। मानिसले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म नियन्त्रण गर्न खोज्यो।
अलि विकसित चिकित्सा विज्ञानको सुरुवात पनि १८औं शताब्दीदेखि सुरु भएकाले मानिसले आफूले थाहा नै नपाई उतिबेला मृत्युवरण गर्नुपर्यो। तर मानव मानव विकाससँगसँगै यात्रा गरिआएको संक्रामक रोगका प्रकोपमा पुराना प्रकोपलाई भलै मानिस परास्त गर्न सफल भयो तर समयानुसार नयाँनयाँ किसिमका महामारी मानव सभ्यतामा भारी पर्न आइपुगे।
हरेक वर्ष विश्वका कुन न कुनै भूभागमा कुनै न कुनै किसिमको संक्रमणको महामारी उत्पत्ति भइनै रहेको पाइन्छ। यो लेखमा इतिहासका मुख्यमुख्य रोगका महामारीलाई केलाउने प्रयास गरिएको छ।
१. एन्टोनिन प्लेग (इसं १६५)
एन्टोनिन प्लेगले इसं १६५ तिर एसियाको केही भाग, इजिप्ट र ग्रिसजस्ता देशहरुमा महामारी फैलाएको देखिन्छ। यो रोग उक्त समयमा कुन जिवाणुको संक्रमणका कारण भएको हो भनेर उल्लेख कतै भएको पाइन्न। इतिहासकारका अनुसार कतिले दादुराको जिवाणु हुनसक्ने उल्लेख गरेका छन भने कतिले स्मल पक्सको जिवाणुका कारण महामारी फैलिएको अनुमान गरेका थिए। यो रोगको संक्रमण फैलाउनमा उतिबेला प्रख्यात मेसोपोटामियाबाट रोममा फर्किएका सैनिकले रोगका जिवाणुहरु सारेको अनुमान गरिन्छ। उतिबेलाको समयमा यो रोगको महामारीका कारण करिब ५० लाखको मृत्यु भएको अनुमान गरिन्छ। यो जनसंख्याको भनेको उतिबेलाको जनसंख्याको अनुपातमा निकै नै ठूलो हिस्सा हुन आउँछ।
२. जस्टिनियनको प्लेग (इसं ५४१-५४२)
छैटौं शताब्दीको इसं ५४१ देखि ५४२ बीचमा फैलिएको जस्टिनियनको प्लेग बुबोनिक प्लेग नाम जिवाणु अन्तर्गत को येर्सेनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण महामारी फैलिएको देखिन्छ। उक्त महामारी पूर्वी रोमन राज्य, पूर्वी एसियाको केही भाग, ग्रिस लगायत बेज्यान्टिन राज्यमा मुख्य रुपमा फैलिएको पाइन्छ। उक्त महामारीको संक्रमण बेज्यान्टिन राज्यका शासक जस्टिनियन प्रथमलाई पनि भएको तर उतिबेलाको उपचारपछि उनलाई निको भएको पाइन्छ। बेज्यान्टिन राज्यको उतिबेलाको राजधानी कन्स्टान्टिनोपल (हालको टर्कीको इस्तानाबुल) सामरिक व्यापारिकको रुपमा निकै परिचित थियो। उक्त बन्दरगाहबाट त्यस राज्यमा सामानहरु आयात गरिन्थ्यो भने उत्पादित सामान निर्यातको रुपमा निकै प्रख्यात थियो। उक्त व्यापारिक केन्द्रको त्यतिबेला महामारी फैलिनुमा मुख्य योगदान रहेको पाइन्छ।
उक्त महामारीको कारण २ करोड ५० लाख मानिसको ज्यान गएको उल्लेख पाइन्छ। एक जना प्रख्यात इतिहासकार प्रोकोपियसका अनुसार उन्को पुस्तक 'सेक्रेट हिस्ट्री'मा उक्त समयका शासक जस्टिनियनलाई 'राज्यको राक्षस'को रुपमा चित्रण गरेका थिए, जहाँ जस्टिनियनले कि आफैं प्लेग बनाएको हुनसक्ने अथवा उनले गरेको पापको सजायको रुपमा प्लेग ईश्वरले फैलाएको हुनसक्ने भनेर उल्लेख गरिएको इतिहासका दस्तावेजहरुमा पाइन्छन्।
३. ब्ल्याक डेथ (इसं १३४६-१३५३)
१४औं शताब्दीको इसं १३४६ देखि १३५३ को बीचमा बुबोनिक प्लेग जिवाणुले महामारी फैलाएको देखिन्छ। यतिबेलाको महामारीको निमित्त पनि येर्सिनिया पेस्टिस नामक ब्याक्टेरिया नै कारक तत्व रहेको थियो भने यो महामारी विश्वव्यापी रुपमा भयानक रुपमा फैलिएको थियो। युरोप, एसिया अनि अफ्रिका महादेश गरी यो महामारी यसरी पहिलो पटक तिनै महादेशमा फैलिएको थियो। उक्त महामारीको जिवाणु एसिया महादेशमा भएको थियो भने युरोपमा इटालीदेखि फैलिएको पाइन्छ।
उक्त समयमा सामरिक बन्दरगाह व्यापारको रुपमा निकै प्रख्यात थिए, जसको कारण महामारी एक महादेशदेखि अर्को महादेशसम्म फैलिन पुग्यो। उक्त ब्याक्टेरियाको होस्ट जिवाणु उपियाँ जुन मुसामा पाइन्थ्यो, मुसा र उपियाँको प्रजनन्को निमित्त व्यापारिक पानीजहाजहरु निकै उपर्युक्त स्थान थिए, जसले ब्याक्टेरियाको प्रजनन्मा निकै महत्वपूर्ण भुमिका खेले र तिनै महादेशमा महामारी फैलिन पुग्यो।
उक्त महामारीका कारण विश्वव्यापी रुपमा करिब ७ करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ। त्यतिबेला युरोपमा एकतिहाइ मानिसहरुको महामारीका कारण ज्यान गएको थियो भने। इतिहासकारका अनुसार विश्वको जनसंख्या ४७ करोड ५० लाखदेखि ३५ करोड - ३७ करोड ५० लाखमा झरेको अनुमान गरिन्छ। केही चिनियाँ इतिहासकारहरुको अभिलेख अनुसार इसं १३३० मा मङ्गोलियामा ब्लाक डेथ जस्तै महामारी फैलिएको थियो। तसर्थ उक्त रोगको जिवाणुहरु व्यापारिक रुपमा एसियादेखि शिल्क रोड हुँदै इसं १३४३ मा क्रिमियामा पुगेको देखिन्छ।
४. हैजा महामारी (७ पटकसम्मको महामारी)
विगत २०० वर्ष (१९औ र २० शताब्दी) को इतिहासलाई मात्र केलाउने हो भने सात पटकसम्म हैजा महामारीका कारण विश्वव्यापी रुपमा १ करोड मानिसको ज्यान गएको थियो। यो धेरै टाढाको महामारीको रुप पनि होइन। यस महामारीलाई नियाल्दा नै थाहा पाउन सकिन्छ, विगतमा कस्तो सामान्य महामारीले पनि कतिको ज्यान हताहत भएको थियो। मुख्यतः हैजा महामारी भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण लाग्ने रोग हो। पहिलो र दोस्रो हैजा महामारीको उत्पत्ति भारतमा भएको थियो भने भारतको गंगा नदीको पानीमार्फत विश्वव्यापी रुपमा फैलिएको थियो।
उक्त महामारी फैलिएको केही हप्तामा नै बेलायतका वैज्ञानिक जोन स्नोले आफूले काम गरिरहेको बेलायतको दुर्गम गाउँमा किन हैजा लाग्यो र कुन जिवाणुको कारणले लाग्यो भन्ने पत्ता लगाइसकेका थिए, जुन यो हैजाभन्दा पहिलाका महामारीमा छिट्टै जिवाणु पत्ता लगाउन सकिएको थिएन। पहिलोदेखि सातौं महामारीसम्म पुग्दा जिवाणुले नयाँ रुप पनि धारण गर्यो तर पनि विकसित चिकित्सा विज्ञान अनि मानवीय जनचेतनासँगै खानपिन, पिउने पानीमा आएको सुधार र जीवनशैलीसँगै सातौं महामारीसम्म पुग्दा मृत्यु हुनेको संख्यामा निकै गिरावट आइसकेको थियो। हैजा महामारीलाई यसरी क्रमबद्ध रुपमा उल्लेख गर्न सकिन्छ।
पहिलो हैजा महामारी (इसं १८१७-१८२४) : इन्डियाको बेङ्गालमा उत्पत्ति भएर एसिया र युरोप महादेशमा महामारी फैलिएको थियो।
दोस्रो हैजा महामारी (इसं १८२६-१८३७) : इन्डियामा महामारीको सुरुवात भई एसिया, युरोप हुँदै उत्तर अमेरिकासम्म फैलिएको पाइन्छ।
तेस्रो हैजा महामारी (इसं १८४६-१८६०) : तेस्रो हैजा महामारी एसिया, युरोपदेखि उत्तर र दक्षिण अमेरिकासम्म पहिलो पटक फैलिएको थियो।
चौथो हैजा महामारी (इसं १८६३-१८७५) : यस समयावधिको महामारी इन्डियादेखि अमेरिका अनि स्पेनसम्म फैलिएको थियो।
पाँचौं हैजा महामारी (इसं १८८१-१८९६) : यस समयावधिको हैजा महामारी इन्डियामा सुरु भएर युरोप, एसिया र दक्षिण अमेरिकासम्म फैलिएको थियो।
छैटौं हैजा महामारी (इसं १८९९-१९२३) : यस समयबीचको महामारी इजिप्ट, अरेबियन पेनिनसुला, पर्सिया, इन्डिया, फिलिपिन्समा फैलिएको थियो। मुख्यतः इसं १९१०-११ को बीचमा अमेरिका र जर्मनीमा महामारी तीव्र रुपमा फैलिएको थियो।
सातौं हैजा महामारी (इसं १९६१) : सातौं हैजा महामारी को उत्पत्ति इन्डोनेसियामा भएको थियो। यो महामारीमा विगतमा फैलिएका हैजा महामारीका जिवाणुभन्दा फरक नयाँ जिवाणु इआइटर नामक ब्याक्टेरिया थियो। जुन अझै पनि विकासोन्मुख मुलुकहरुमा हैजा महामारीको प्रमुख कारण बन्ने गरेको छ।
यसरी हैजा महामारी व्यापक रुपमा कहिले उग्र त कहिले सुषुप्त रुपमा रही निरन्तर दुई शताब्दीसम्म महामारीको रुप लिई करोडौंको ज्यान लिएको थियो।
५. फ्लु महामारी
फ्लूको महामारी १८औं शताब्दीको अन्त्यतिर आक्रामक रुपमा पहिलो पटक देखिएको थियो भने बेलाबेलामा महामारीको रुपमा १९औं शताब्दीमा उग्र रुपमा देखा पर्यो। फ्लुको मुख्य कारक जिवाणु इन्फ्लुएञ्जा भाइरस थियो।
महिलो महामारी इसं १६८० तिर रुसमा देखिएको विश्वास गरिन्छ, जुन पछि युरोपमा फैलिएको थियो।
दोस्रो महामारी (इसं १८८९-१८९०) रसियन फ्लु,
इन्फ्लुएञ्जा भाइरस ए बाट करिब १० लाख मानिसले ज्यान गुमाएका थिए।
तेस्रो महामारी (इसं १९१८-१९१९) स्प्यानिस फ्लु ( इन्फ्लुएञ्जा भाइरस ए) बाट ५ देखि १० करोडको ज्यान गुमेको थियो। फ्लु महामारीमध्येकै सबैभन्दा बढी खतरनाक र निकै ज्यान लिएको महामारी यही थियो। यस महामारीको कारण ५ करोडदेखि १० करोडसम्मले ज्यान गुमाएको अनुमान गरिन्छ। ठ्याक्कै यति नै भन्ने यकिन तथ्यांक भने उल्लेख गरिएको छैन। यो महामारी निकै नै भयानक थियो, जसले २५ हप्तामा २ करोड ५० लाखको ज्यान लिएको थियो। यस भाइरसको कारण विश्वभरि करिब ५० करोड मानिस सङ्क्रमित थिए। यो भाइरसको सङ्क्रमण दर भने लगभग ५० प्रतिशत थियो। यस महामारीले विश्वको २.५ प्रतिशत देखि ५ प्रतिशतसम्म जनसंख्याको ज्यान लिएको थियो।
चौथो महामारी (इसं १९५७-१९५८) को एसियन फ्लुले करिब १०-१५ लाख मानिसको ज्यान लिएको थियो।
पाँचौ महामारी (इसं १९६८-१९६९) मा
हङकङ फ्लुबाट ७ लाख ५० हजारदेखि करिब १० लाखसम्म मानिसले ज्यान गुमाएका थिए।
छैटौं महामारी (इसं १९७७-१९७८) मा
कति मान्छेले ज्यान गुमाएका थिए, एकिन तथ्यांक छैन तर लाखौंले ज्यान गुमाएको अनुमान गरिन्छ।
सातौं महामारी (इसं २००९-२०१०) को इन्फ्लुएञ्जा महामारीका कारण करिब १,०५,७००-३,९५,६०० जनाले ज्यान गुमाएका थिए।
६. एचआइभी/एड्स महामारी (इसं २००५-२०१२ निकै उच्च मृत्युदर)
इसं १९८१ देखि २०१२ सम्म यस रोगको महामारीका कारण मृत्यु हुनेको संख्या ३ करोड ६० लाख पुगेको थियो।
जनचेतना, चिकित्सा विज्ञानको खोजका कारण इसं २००५ देखि २०१२ सम्ममा विश्वको मृत्युदर २२ लाख देखि १६ लाखमा झारिएको थियो।
यसरी मानव विकासक्रमसँगसँगै विभिन्न संक्रामक रोगका महामारी बेलाबेलामा कति हराए, कति नयाँ उत्पत्ति हुँदै आए। यकिन साथ न अन्दाज नै लगाउन सकिन्छ न भविष्यवाणी नै गर्न सकिन्छ। कुन बेला कुन किसिमको महामारी कहाँदेखि सुरु हुन्छ, यसले विश्वमा के कति विध्वंश मच्चाउँछ अनि कतिलाई हताहत बनाएर लान्छ थाहा हुँदैन।
विभिन्न रोगका महामारी फैलिने क्रम न हिजो रोकिएको थियो, न आज रोकिएको छ न भोलि नै रोकिने छ। झनै नेपाल जस्ता विकासोन्मुख राष्ट्रले छिट्टै सिक्न जरुरी छ। न हाम्रो अर्थतन्त्र बलियो छ, न हाम्रो स्वास्थ्य क्षेत्र नै बलियो छ। न हाम्रो राजनीतिक नेतृत्व नै इच्छाशक्ति भएको छ।
अब पनि हामीले भुल गर्यौं भने, अब पनि सच्चिएनौं भने र स्वास्थ्य क्षेत्रलाई सबलीकरण गरी उत्कृष्ट नबनाउने हो भने भोलि अर्को कुनै महामारीको कारण हामी एकै घान नहौंला भन्न सकिँदैन।