रामकुमार धमला
अहिले कोरोना भाइरस (कोभिड १९) महामारीको युद्धभूमिमा संसारभरि चिकित्सक र स्वास्थ्यकर्मीहरु संघर्षरत छन्। नेपालमा पनि ज्यानको बाजी थापेर स्वास्थ्य सेवाको अग्रभागमा स्वास्थ्यकर्मीहरु रहेका छन्।
यसरी जोखिमको बाबजुद काम गरेवापत तीनै तहको सरकारले जीवन बिमादेखि मासिक तलब बराबरको शतप्रतिशत जोखिम भत्ता दिने लगायत निर्णय गरिरहेको पाइन्छ। तर सबै स्वास्थ्यकर्मीहरुको माग भने पिपिई सेट लगायत अत्यावश्यकीय सुरक्षा कवचको छ भने यस्तो विशेष परिस्थितिमा काम गर्नेलाई साँच्चै प्रोत्साहन गर्ने हो भने बरु सरकारले विगत दुई वर्षदेखि रोकिएको स्तरवृद्धि गरेर स्वास्थ्यकर्मीको मनोबल बढाउन आवश्यक देखिन्छ।
स्वास्थ्य पेशाकर्मीहरु केवल जागिर खान मात्र सेवा प्रवेश गरेका हुँदैन पढ्दादेखि नै मानवीय सेवामा जिन्दगी सर्मपण गर्नेछु भनेर वाचा गरेका हुन्छन्। यस्तो विषम अवस्थामा आर्थिक प्रोत्साहनभन्दा पनि स्वास्थ्यकर्मीहरुले पाइरहेको सेवासुविधा रोकिएकोप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी छ।
के हो स्वास्थ्यकर्मीको स्तरवृद्धि
नेपाल स्वास्थ्य सेवाका कर्मचारीहरु स्वास्थ्य सेवा ऐन २०५३ अन्र्तगत कार्यरत छन्। नेपाल स्वास्थ्य ऐन २०५३, परिच्छेद ३ को दफा ९ स्तरवृद्धि सम्बन्धी व्यवस्थामा स्वास्थ्य सेवाका पदहरुमध्ये तेस्रो तहबाट चौथो, चौथो तहबाट पाँचौं, अधिकृत छैठौं तहबाट सातौं, सातौंबाट आठौं र नवौंबाट दसौं तहको पदको पूर्ति स्तरवृद्धिको माध्यमबाट गरिनेछ भन्ने उल्लेख छ। त्यसैगरी तीन वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कम्तीमा उत्तम अङ्क प्राप्त गरेका कर्मचारीहरुमध्ये अति दुर्गममा १ वर्ष तथा दुर्गम क्षेत्रमा २ वर्ष सेवा गरेको कार्य अवधि पूरा गरेका साथै सो तहमा पाँच वर्ष सेवा अवधि पुगेको प्रत्येक आर्थिक वर्षको पुस मसान्त र असार मसान्त पछि स्तरवृद्धि गर्ने भन्ने प्रष्ट व्यवस्था छ।
स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि स्वास्थ्य सेवा विभागले गर्ने प्रावधान छ। यद्यपि देशभरिका करिब ५ हजार स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा विभागमा आवश्यक सबै कागजपत्र बुझाए पनि कर्मचारी समायोजन, डेंगु प्रकोप र अहिले कोभिड १९ संक्रमणको कारणहरु देखाउँदै विगत दुई वर्षदेखि स्वास्थ्य सेवाका सहायक तहका कर्मचारीहरुको स्तरवृद्धि भएको छैन।
अहिले सम्भव छ त स्वास्थ्यकर्मीको स्तरवृद्धि?
हुन त अहिले सबैको प्राथमिकता भनेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण नै हो। तर पनि यो महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई साँच्चिकै प्रोत्साहन गर्ने हो भने अहिले स्वास्थयकर्मीको स्तरवृद्धि सम्भव छ। स्तरवृद्धि हुन मापदण्ड पुगेका स्वास्थ्यकर्मीहरुले गएको पुस मसान्तमा नै रीतपूर्वक निवेदन दर्ता गराएका छन्। अहिले विशेषगरी प्रशासनिक कर्मचारीहरुलाई सरकारले बिदा दिएको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई तत्काल निर्देशन दिएर स्वास्थ्यकर्मीको स्तरवृद्धिको काम रातारात गराउन सक्छ। फेरि यो काम सबै प्रशासनिक काम पनि हो। हुन त स्वास्थ्य सेवा विभागको महानिर्देशकले नै मात्र इच्छाशक्ति देखाउने हो भने स्वास्थ्यकर्मीहरुको रोकिएको स्तरवृद्धि हुने कुरा पक्का हुने थियो। त्यस्तै आवश्यक भएमा संघीय तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुलाई केही दिनको लागि कामकाजमा खटाएर पनि स्वास्थ्यकर्मीको स्तरवृद्धि गराउने काममा प्रयोग गर्न सक्छ।
अतः यो प्रतिकूल अवस्थामा स्वास्थ्यकर्मीको सुरक्षा प्रमुख रहन्छ। त्यसैगरी कोभिड १९ को संक्रमणलाई परास्त गर्न खटिने स्वास्थ्यकर्मीलाई विभिन्न आर्थिक प्रोत्साहनको व्यवस्था गर्नु त आफ्नो ठाउँमा ठिकै छ तर पनि रोकिएको स्तरवृद्धिलाई तत्काल प्रकृया पूरा गरे सरकारको अभिभावकत्व प्रष्ट देखिनुको साथै स्वास्थ्यकर्मीको मनोबल पनि बढ्ने छ। यस विषयमा स्वास्थ्य मन्त्रालय र मातहतको स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण हुन जरुरी छ।
(धमला राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य हुन्)