दीपकराज भट्ट
विश्व नै यतिबेला कोरोना भाइरस (कोभिड-१९) को महामारीसँग लडिरहेको छ। स्वास्थ्यकर्मीहरु यतिबेला अदृश्य शक्तिसँग लडिरहेका छन्।
यो समय सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मीहरु कोरोना भाररसबाट संक्रमित बिरामीको उपचारमा खटिएका छन्। नेपालमा पनि संक्रमित देखिन थालेको यो अवस्थामा सबै चिकित्सक, स्वास्थ्यकर्मीहरु सर्तक हुनुपर्ने समय आएको छ।
विश्वमा अभाव भएको व्यक्तिगत सुरक्षा कवच (पिपिई) को अभाव त छँदैछ, स्वास्थ्यकर्मीले कर्तव्य निर्वाह गर्नुको विकल्प पनि छैन। यतिबेला सरकारसँगको लडाईं थाती राखेर सबै चिकित्सक, स्वास्थ्यकर्मीहरु एकजुट भएर कोभिड-१९ को लडाईंमा होमिनुपर्ने अवस्था छ।
स्वास्थ्य क्षेत्रका विभिन्न टे«ड युनियनहरु जो हिजो महामारी आउँदा मिलेर लडेका थिए, आज फेरि सोही जिम्मेवारी निभाउने समय आएको छ। नेपालका स्वास्थ्यकर्मीहरुले हरेक दिन नै जोखिममा रहेर काम गर्नुपरिरहेको अवस्था छ।
पछिल्ला वर्षहरु स्वास्थ्य मन्त्रालयसँग समायोजनको विषयमा लड्नु पर्ने, देशका विभिन्न स्थानमा रहेर सेवा निर्वाहका क्रममा भौतिक आक्रमणले हरेक दिन जोखिम निम्त्याइरहेको छ। दूरदराजका स्वास्थ्य संस्थामा खटाइँदा सेवा प्रवाहका लागि आवश्यक औषधि, उपकरण नहुँदाको जनताको रोष तिनै स्वास्थ्यकर्मीले भोग्नु परिरहकै छ। तर, यी सबै विषयमा बहस गरेर हामी बस्ने बेला छैन।
हामी सबै स्वास्थ्यकर्मी जे-जस्तो विचारधारा र आस्थामा छौँं, ती सबै एकातिर राखेर मात्र सेवा भावले कोरोना भाइरसलाई परास्त गर्ने अभियान एकै भावनामा काम गर्नुपर्ने समय आएका हो। नेपालका स्वास्थ्यकर्मीले यसअघिका विभिन्न महामारीको पनि मिलेरै सामना गरेका हुन्।
देशमा जबजब जनस्वास्थ्य संकट आउँछ, हामीले आफ्ना सबै अभाव र समस्या बिर्सेर जनताको स्वास्थ्य जोगाउन लागि परेको विगतको उदाहरण छ। जाजरकोटमा झाडापखाला महामारी फैलिँदा होस वा महाभूकम्पको समयमा नेपालका स्वास्थ्यकर्मी सधैं खटिए। भूकम्पको समयमा पनि महामारी फैलन्छ भन्ने अनुमान गरिएको थियो तर स्वास्थ्यकर्मीको सर्तकताले कुनै समस्या हुन पाएन।
हामीले सरकारसँग अधिकार र सेवा-सुविधाका लागि झगडा गर्ने मात्र होइन, परिआउँदा सरकारको साथमै रहेर महामारी रोक्न पनि सँगै छौँ भन्ने महसुुस गराउने समय आएको छ। राजनीतिक आस्थामा भन्दा माथि उठेर सीमित स्रोत/साधनमै काम गर्ने समय हो यो।
अहिले स्वास्थ्यकर्मीलाई दोहोरो चुनौती थपिएको छ। एकातिर कोभिड-१९ को लडाईं छ भने अर्कोतिर गर्मी बढेसँगै भेक्टर वर्न डिजिज फैलने समय। कोभिड-१९ सँगै भेक्टर वर्न डिजिजको नियन्त्रणमा ध्यान दिनुपर्ने छ।
यही समय हो मलेरिया, डेंगुलगायतका महामारी देखिने। तसर्थ प्रत्येक तहका सरकारबीच आवश्यक समन्वय गरी महामारी विरुद्ध लड्नुको विकल्प छैन।
(भट्ट नेपाल स्वास्थ्यकर्मी संघका महासचिव हुन्।)