हेमराज पाण्डे
विश्वमा कोभिड-१९ का संक्रमितको संख्या २४ लाख भन्दा बढी र मृत्यु हुने को संख्या १ लाख ७० नाघिसकेको छ। विश्वका धेरैजसो देशहरु लामो समयदेखि लकडाउनको अवस्थामा छन्। यससँगै यस महाव्याधीको आगामी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बहस हुन थालेको छ।
चीनले महामारीको सुरु व्यवस्थापनमा नौलो प्रयोग गर्यो, लकडाउन। जसको कारण भाइरसको केन्द्रविन्दु मानिएको वुहान वरिपरि नै भाइरसको महामारी सीमित रहेको समाचारहरु आए। यद्यपि चीनले गरेको रिपोर्टिङमाथि केही पश्चिमा देशहरुले प्रश्न उठाइरहेका छन्। हालसम्म प्राप्त तथ्यहरु हेर्दा चीनको लकडाउन प्रभावकारी देखियो जसको अनुशरण विश्वका अधिकांश देशहरुले गरिरहेका छन्।
के लकडाउन नै एक मात्र उपाय हो त?
चीनको परिप्रेक्ष्यमा हेर्ने हो भने पहिलो पटक देखिएको भाइरसबारे कसैलाई पनि पर्याप्त जानकारी थिएन। यो भाइरस थुकका छिटाबाट सर्ने भन्ने थाहा पाइसकेको अवस्थामा तत्कालीन रुपमा चिनियाँ नेतृत्वले वुहान लगायत केही सहरहरुलाई लकडाउन गर्यो, जसबाट संक्रमितको संख्यामा पनि कमी आयो। यसका साथै कोरोना अस्पताल निर्माण गरी तत्कालीन रुपमा संक्रमितको उपचारबाट मृत्युदरमा पनि कमी आयो।
तर, पनि संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदै वुहान सहर लगायत अन्य सहरहरु पनि आंशिक रुपमै भए पनि खुलेका छन्। कोभिड-१९ का केसहरु पनि देखिइरहेका छन् र उपचार पनि भइरहेको छ। जति पनि केसहरु देखिएका छन्, सबै त्यहाँको स्वास्थ्य प्रणालीले सजिलै धानिरहेको छ।
कोभिड-१९ देखिएको करिब ४ महिना पूरा हुनै लाग्दा यस भाइरसको बारेमा विभिन्न तथ्यहरु सार्वजनिक भएका छन्। भाइरसको सर्ने तरिका तथा बच्ने उपायहरुका बारेमा विश्वको अधिकांश जनसंख्या सुसूचित भइसकेको छ। भाइरसले बढी असर गर्ने जनसंख्या कुन हो भन्ने तथ्य प्रमाणित भइसकेको छ।
यससँगै भाइरस विरूद्ध कुनै पनि भ्याक्सिन नबनेको अवस्थामा र सबैजसो जनसंख्या संक्रमणको जोखिममा रहेको अवस्थामा लकडाउन, आइसोलेसन, क्वारेन्टिन लगायतका उपायहरुबाट मात्र यसको संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउने सम्भावना निकै न्यून छ। खोप नभएको अवस्थामा संक्रमण नियन्त्रणमा आउने अर्को तरिका भनेको करिब ७० देखि ८० प्रतिशत जनसंख्या संक्रमित भई हर्ड इम्युनिटीको विकासपश्चात् भाइरस नियन्त्रणमा आउने हो।
त्यसो भए के गर्ने त?
हाल नेपाल सरकारले चालेका कदमहरु एकदमै सही छन्। लकडाउन, सम्भावित संक्रमितको आइसोलेसन र उच्च जोखिममा रहेकालाई क्वारेन्टिन आदिले एकैपटक केसहरु देखिने र अस्पतालहरुमा चाप उच्च भई थाम्नै नसक्ने अवस्था आउनबाट रोकिरहेका छन्, जस अनुरुप नै फाट्टफुट्ट रुपमा केसहरु देखिएका छन्, जसलाई आइसोलेसनमा राखेर उपचार गर्न सहज भइराखेको छ।
तर, लकडाउन सधैंभरि राखिराख्न सकिँदैन। हालै पनि लकडाउन उल्लंघनका थुप्रै घटनाहरु देखिएका छन्। जसबाट लकडाउन जुन उद्देश्यका साथ गरिएको हो, सो उद्देश्य हासिल हुन सक्दैन। लकडाउन रहुन्जेल सरकारलाई पनि सजिलो देखिएको छ, किनकि स्वास्थ्य प्रणालीमा उच्च चापको अवस्था आएको छैन। तर सरकारलाई लकडाउन लम्ब्याइरहन सम्भव हुने छैन।
आर्थिक गतिविधि ठप्प हुँदा काम गरेर खाने वर्ग निकै मारमा परेको छ। यस्तो अवस्थामा पनि कतिपय स्थानीय तहले आफ्ना भोटरहरुलाई मात्र राहत बाँडेको पनि सुनिएको छ। जसले पीडितहरुलाई बाध्य भएर हिँड्नुपरेका समाचारहरु आइरहेका छन्, जसबाट सरकारलाई लकडाउन थाम्न गाह्रो हुने देखिन्छ। यस्तो अवस्थामा सरकारले निम्नानुसार गर्दा उपयुक्त हुने देखिन्छः
- हाल अपनाइरहेको नीति जस्तैः टेस्टको क्षमता बढाउने, उच्च जोखिममा रहेकालाई क्वारेन्टाइनमा राख्ने, सम्भावित संक्रमित र संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रियाकलापलाई निरन्तरता दिने।
- आरडिटीबाट गरिने स्क्रिनिंगको नतिजाको बारेमा जनतालाई स्पष्ट रुपमा सूचित गर्ने।
- भेन्टिलेटर सहितको आइसियु सेवालाई थप विस्तार गर्ने र भविष्यमा हुनसक्ने बिरामीको चापलाई थेग्न सक्नेगरी तयारी अवस्थामा रहने।
- संक्रमितहरु नदेखिएको ठाउँमा लकडाउनलाई खुकुलो पार्ने र निजी सवारी साधनहरु पनि चल्न दिने साथै स्थानीय रुपमा चल्ने सार्वजनिक यातायातलाई चल्न दिने र आर्थिक गतिविधिहरु सञ्चालन गर्ने।
- जनतालाई अत्यावश्यक नपरी बाहिर ननिस्कन आग्रह गर्ने र २/३ जनाभन्दा बढी समूहमा हिँड्न प्रतिबन्ध लगाउने।
- स्थानीय तहहरुले सम्भावित लक्षण देखिएकाहरुको निगरानी गर्ने र क्वारेन्टिनलाई पूर्ण रुपमा पालना गर्न लगाउने।
- भीडभाड हुने व्यवसायहरु जस्तैः क्लब, बार, रेस्टुरेन्ट आदिमा थप केही समय प्रतिबन्ध लगाउने तर तयारी खाना डेलिभरी मात्र गर्नेलाई नरोक्ने।
- भौतिक दूरीको महत्व र हातमुखको सरसफाइबारे बढीभन्दा बढी सचेतना अभियान चलाउने।
- सार्वजनिक स्थानहरुको सरसफाइमा बढीभन्दा बढी ध्यान दिने। यसका साथै स्वस्थ संक्रमित व्यक्ति (लक्षण नदेखिएको संक्रमित) ले पनि भाइरस सार्न सक्ने देखिएकोले घर बाहिर यात्रा गर्दा मास्कको प्रयोग गर्न सबैलाई आग्रह गर्ने।
- स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई लगायतका सम्पूर्ण सुरक्षा सामग्रीको व्यवस्था गर्ने। आदि
अन्त्यमा, सुन्दा नराम्रो र डरलाग्दो सुनिए पनि भ्याक्सिन नभएको अवस्थामा भाइरस नियन्त्रणमा आउन निकै कठिन छ र किरब ७० देखि ८० प्रतिशत जनसंख्या संक्रमित भइसकपछि मात्र यो भाइरस नियन्त्रणमा आउने सम्भावना छ। त्यसैले जोखिममा रहेको वृद्ध जनसंख्या र अन्य रोगीहरुको विषेश ख्याल गर्दै नियन्त्रित रुपमा भाइरस फैलिएको खण्डमा यो महामारीबाट छिटोभन्दा छिटो पार पाउन सकिन्छ।
त्यसैले सरकारका हालका गतिविधिहरुलाई थप प्रभावकारी बनाउँदै लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लगौं। जसले गर्दा सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भने जस्तै नेपालीहरु भोकले मर्ने अवस्था पनि नआउने र रोगबाट पनि विस्तारै पार पाउन सकिने अवस्था हुन सक्छ।
(वरिष्ठ जनस्वास्थ्य अधिकृत पाण्डे हाल मेलबर्न विश्वविद्यालय, मेलबर्न अष्ट्रेलियामा एमएससी इपिडिमियोलोजी अध्ययनरत छन्।)