अशोक छत्कुली
दुई महिना यदि कसैले 'सम्पूर्ण विश्व आँखाले पनि नदेखिने तत्वले गर्दा एउटा लामो निद्रामा सुत्ने छ' भनेको भए यो एउटा मजाक हुने थियो। 'अबको दुई महिनामा संसारको सबैभन्दा सबल स्वास्थ्य प्रणाली भएका देशमध्येको एक अमेरिकामा घातक कोरोना भाइरसको सिकार भई संसारकै सबैभन्दा बढी मानिसले ज्यान गुमाउने छन्' भनेको भए त्यो अझ ठूलो मजाक हुने थियो।
दुर्भाग्यवस, यस्ता मजाकहरु आज यथार्थमा परिणत भएका छन्। सहरहरू शून्य छन्, गल्लीहरू खाली छन्। पहिला जागिरदेखि दिक्दारहरू अब अफिस खुल्ने दिन कुर्दै छन्। अनवरत पढाइदेखि वाक्क हुनेहरु कहिले पठनपाठन सुरु हुने हो भनी क्यालेन्डर हेर्दै छन्।
सरकारले लकडाउन वैशाख १५ सम्म लम्ब्याएपछि जनमानसमा बीसौँ दिनसम्म भरिएको धैर्य छचल्कदै पोखिने क्रममा छ। मानवताको इतिहासमा बेलाबखत यस्तो मौका आउँछ, जब हामी सबैको काँधमा 'हामीले बोक्न सक्छौं’ भन्ने ठानेकोभन्दा बढी बोझिलो भार पर्छ। हाम्रो खुट्टा काँप्छ। आत्मविश्वास ढलमलाउन खोज्छ, तर भित्रको जीवन जिउने भोकले हामीलाई हिम्मत दिलाउँछ।
आज यस्तै हिम्मतको जरुरी छ हामीलाई। स्पष्ट छ, यदि यो महामारीले विकराल रुप धारण गरेमा हामीसँग न त पर्याप्त स्वास्थ्य व्यवस्था छ, न त प्रत्येक व्यक्तिलाई निगरानी राख्ने सरकारी निकाय छ। यस अर्थमा समयले हामीलाई घरभित्रै सुरक्षित रहेर आफ्नो मात्र होइन, अरुको पनि जीवन बचाउने मौका दिएको छ। जीवन बचाउने व्यक्तिलाई नै डाक्टर भन्ने हो भने, अर्को शब्दमा यो समयले हामी सबैलाई डाक्टर बन्ने मौका प्रदत्त गरेको छ। लकडाउन र सामाजिक दूरीको पालना गरेर हामीले यो मौका सदुपयोग गर्नुपर्ने छ।
विभिन्न देशमा क्रमशः लम्बिरहेको लकडाउन र मानिसमा व्याप्त त्रासको वातावरणलाई नियाल्ने हो भने एउटा कुरा प्रष्ट छ, जबसम्म यस भाइरसको भ्याक्सिन वा पूर्णतया रोग निर्मूल हुने ओखती आउँदैन तबसम्म लकडाउन खोल्ने उचित समय यकिन गर्न असम्भवप्रायः छ। नयाँ केसहरु घट्दै जाने र त्यही तथ्यांकलाई टेकेर लकडाउन खोल्ने र लकडाउन खोलेको कारणले फेरि नयाँ केसहरू बढ्दै जाने र फेरि लकडाउन गर्नुपर्ने र यो साइकल चलिरहने सम्भावना अहिलेको परिवेशले देखाएको छ।
यसो नगरी लकडाउन रोग निर्मूल नहुन्जेलसम्म जारी राख्ने हो भने लकडाउनको कारण पर्ने आर्थिक मन्दीको प्रभाव कोरोनाको कहरभन्दा बढी दुष्परिणामी भएर बाध्यात्मक रुपमा लकडाउन खोल्नुपर्ने परिस्थिति नआउला भन्न सकिँदैन। र, त्यसपश्चात् फैलने कोरोना भाइरस डार्बिनको जीवविकासको सिद्धान्त 'सर्भाइभल अफ द फिटटेस्ट'को एउटा दृष्टान्त नहोला भन्न सकिँदैन।
तसर्थ, चाहे केस घटेर लकडाउन खुले पनि वा महामारी पूर्णतयाः निर्मूल नभएसम्मै लकडाउन जारी रहे पनि यस समस्याको एकमात्र दूरगामी हल भनेको छिटोभन्दा छिटो भ्याक्सिन वा रोग निर्मूलीकरणको उपचार पद्धति पत्ता लगाउनु नै हो। त्यसैले अब सम्पूर्ण विश्वको ध्यान बिरामीको उपचार, क्वारेन्टाइन, आइसोलेसनको क्षमता अभिवृद्धि, लकडाउनको व्यवस्थापन मात्र नभई रोगको पूर्ण निदानतर्फ पनि जान जरुरी छ। यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्रास्ट्रिय स्वास्थ्य संगठनको भूमिका प्रबल हुनुपर्नेमा गौण देखिँदै आएको छ, जुन चिन्ताजनक छ।
भारत वर्षको सर्वाधिक पढिएको ग्रन्थ गीतामा भनिएको छ, 'कर्म गर, फलको आश नगर।’ फलको आश नगर भन्नुको तात्पर्य भोलिको बारेमा नसोच्नु हो र 'कर्म गर’ भनेको बस् आजमै पूर्ण रूपमा जिउनु हो। त्यसैले हामी भोलि के हुने हो भन्ने सन्त्रासमा बाँच्दै डिप्रेसनको खाल्टोमा पर्नुभन्दा आज आफूलाई सुरक्षित गर्न र आफ्नो वरिपरिका मानिस, समाज, राष्ट्र, र सम्पूर्ण मानवकै हितका लागि के गर्न सकिन्छ भन्ने दिशाप्रति अघि बढ्यौं भने एक न एक दिन यस कष्टप्रद घडीबाट अवश्य मुक्त हुनेछौं। कम्तीमा हामीले हाम्रो छिमेकीको चुल्हो बलेको छ कि छैन, त्यति ख्याल राखे पनि त्यो एउटा महत्वपूर्ण योगदान हुनेछ।
- (छत्कुली युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा एमबिबिएस अध्ययनरत छन्।)