अरूण सेढाईँ
हिउँद् बर्खा नभनी रात बिहान नगनी
पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका
सुख अनि दु:खमा संगी बनी गाँसिएका
मेरा जीउका पौष्टिक पदार्थ खाएर
अलि अलि भएको बोसो आफैंतिर लाएर
सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि
तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका
ए मेरा तील चामले दारीका रौंहरू!
तिम्रो र मेरो यो नटुँगिने नाता त बाँकी नै छ नि
तैपनि अहिलेको यो यात्राबाट विश्राम लिने बेला भएको छ।
विदाइका हात हल्लाउँदै
अब आफ्नो भविष्यको रेखा आफैले कोर्दै
अनन्त यात्रामा जाऊ ल!
दिन पछि रात आउने, रातपछि दिन
तिम्रो मिठो यादले छोड्ने छैन एक छिन
बिहान काटे बेलुकी नै तीखा ठोसा पलाउने
भोलिपल्ट नकाटे त रुपरंग नै गलाउने
यस्तो बैगुन बोकेर पनि तिम्रा आफ्नै गुन पनि त थिए नि!
तिम्रा आफ्नै पीडा दबाएर गालाभरि टाँसिइरह्यौ
कसैलाई दार्शनिक त कसैलाई वैरागी बनायौ
कसैलाई लेखक बनायौ त कसैलाई कवि बनायौ
मस्त भोगीलाई समेत घरबार छोडी हिँड्ने जोगी बनायौ।
वाध्यता त तिम्रा पनि थिए होलान् नि बग्रेल्ति-
जुवाको खालमा हारे पनि, अकालमै प्रेम मारे पनि,
धेरै जाँड खाए पनि, खाने माड नभए पनि,
कसैको जीउमा सन्चो नभए पनि,
काट्न अल्छी लागे पनि
आत्मीयता साँचेर हलक्क बढिदिनुपर्ने
मित्रता गाँसेर खिसिक्क हाँसिदिनुपर्ने
मान्छेले पनि कम्ता मायाँ गर्ने होइनन् नि तिमीलाई
“फ्रेन्च कट” मा सजाएनन् कि?
“लेनिन कट” मा कटाएनन् कि?
हुँदा हुँदा दारी ग्याँग नै खोलेर
सामाजिक अभियानमै पो लगाएनन् कि?
हुनत तिमी अलि बैगुनी नै हौ के!
माया गर्न खोज्दा मायालुकै गाला च्वास्स घोचिदियौ अरे
गाला मुसार्न खोज्दा हातमा बिझाइदियौ अरे।
कमसेकम त्यति सम्म त नगरिदिया भे’नि हुन्थ्यो कि?
अनि फेरि,
फूले पनि एकैचोटि काँस झैं फूले नि हुने नि
बढे पनि मंसीरको धान झैं झुले नि हुने नि।
तील चामल मिसाएझैं छिर्केमिर्के बनिदिन्छौ
मेलामा नमिलेका गोरूजस्ता,
पाखामा उम्रेका बाँसका ठोसाजस्ता
कोही यता फर्काउँछौ,
कोही उता मर्काउँछौ।
अलि अलि भएको रूप पनि
२ वर्षकी मेरी छोरीले कलम भेट्ने बित्तिकै
सादा कागतमा जथाभावी कोरेजस्तै
क्यार्र क्यार्र केरिदिन्छौ,
यो ज्यानलाई जवानीमै बुढौलीले घेरिदिन्छौ।
जसो भए पनि ए मेरा दारी!
आफूसँगै मेरो बुढौलीलाई लिएर जाऊ
महामारी कोरोनाको दोहोलो काढेर जाऊ।
सबैलाई जवानीको रुप दिएर जाऊ।