राघवेन्द्र मिश्र/विरेन्द्र कुमार चौधरी
कोभिड -१९ ले विश्वलाई चुनौती दिइरहेको छ। विश्वका अधिकतम देशको स्वास्थ्य संयन्त्रका लागि नयाँ कोरोना भाइरससँग लड्नु मुख्य एजेन्डा बनेको छ। यसैकारण अन्य स्वास्थ्य सेवाहरु छायाँमा परेको देख्न सकिन्छ।
नेपालका लागि यो आवस्थाको उदाहरण दिने सेवाहरुमध्ये एक हो खोप सेवा। नेपालको अधिकांश स्थानमा चैत्र महिनाको नियमित खोप सेवा संचालन हुन सकेन। देशभर चलिरहेको दादुरा रुबेला खोप अभियान पनि स्थगित भयो। केही स्थानमा वैशाखमा पनि नियमित समयमा खोप क्लिनिक संचालन भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप सेवा संचालन गर्न परिपत्र गरिसकेको अवस्थामा आगामी दिनहरुमा खोप सेवा नियमित संचालन गर्नैपर्ने हुन्छ।
तर स्वास्थ्यकर्मीहरुमा एक दुई महिना खोप क्लिनिक नचल्दा पर्ने असरको अनुमान नरहेको र भिडभाडमा कोभिड-१९ को त्रास रहेको अवस्थामा खोप क्लिनिक कसरी संचालन गर्ने भनी अन्यौल रहेको बुझ्न गाह्रो छैन।
पुर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (दोश्रो संस्करण २०७३) मा पुर्ण खोप सुनिश्चितताको लागि चैत्र महिनाभरी घरदैलोमा गई आफ्नो क्षेत्रमा रहेका बालबालिकाले पुर्ण खोप लगाएको/नलगाएको प्रतिवेदन संकलन गर्ने र छुटेका बालबालिकाहरुलाई छुटेको खोप लगाउन बैशाख महिनालाई "खोप महिना" को रुपमा मनाउने भनेर उल्लेख गरिएको छ। सो अनुरुपको कुनै पनि कार्य यस आर्थिक बर्षमा हुन सकेन।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०१६ का अनुसार नेपालमा २२% बालबालिकाले पुर्ण खोप पाएका छैनन्। हालको अवस्थाले यो तथ्यांकलाई झनै बढाउनेछ। वैशाखमा दुई बर्ष पुग्ने बालबालिकाको लागि चैत महिनाको खोप सेसन पुर्ण खोप पाउने अन्तिम मौका थियो। जे.इ. (जापनिज इन्सेफलाइटिस) बिरुद्धको खोप लगाउने अन्तिम म्याद चैत्र महिना रहेको खोप नपाएका बालबालिकाले अब सो खोप लगाउन पाउने छैनन।
नेपालमा हरेक ३-५ बर्षमा दादुरा र रुबेलाको बिरामी संख्या बढेको देखिन्छ जसलाई नियन्त्रण गर्न हरेक ३-४ बर्षमा दादुरा-रुबेला खोप अभियान संचालन गर्ने गरिन्छ। बिश्व स्वास्थ्य संगठनको बिश्व दादुरा रुबेला रणनैतिक योजना (२०१२-२०२०) मा दादुरा रुबेला खोपको पहिलो मात्राको कभरेज उच्च भएपनी यसले महामारी रोक्न नसक्ने स्पष्ट उल्लेख गरिएको छ। नेपालमा हालसम्म दादुरा संक्रमितको संख्या १२५ नाघिसकेको छ। दादुरा-रुबेला बिरुद्धको खोपको पहिलो मात्राको कभरेज कम र दोश्रो मात्राको कभरेज अत्यन्तै कम रहेको र खोप अभियान संचालन हुन नसकेको अवस्थामा यसले महामारीको रुप लिने सम्भावना धेरै छ। बर्षायाम आउदै गर्दा जे.इ. विरुद्धको खोपको कम कभरेजले जे.इ. को बिरामीको संख्या पनि वृद्धि हुने संभावना छ भने भारतबाट परिवारसहित नेपाल फर्किएका कामदारहरुसङ्गै पोलियो रोग आयातित हुने सम्भावना पनि छ। चैत्र महिनामा संचालन हुन नसकेको खोप क्लिनिक ले यी सबै संभावनालाई धेरै हदसम्म न्यूनीकरण गर्नेथियो।
अहिलेको अवस्थामा खोपको आपूर्ति
खोप कार्यक्रम अत्यन्तै आवश्यक एवं महत्त्वपूर्ण कार्यक्रम हो। यस कार्यक्रममा सबै तहका स्वास्थ्य संरचनाहरुको भुमिका महत्वपुर्ण रहन्छ। प्रादेशिक स्वास्थ्य संरचनाले हरेक स्वास्थ्य कार्यालयमा खोपको नियमित आपुर्ती सुनिश्चित गर्नुपर्ने हुन्छ। हाल लकडाउनको परिस्थितिमा आवतजावत कम गर्न प्रत्येक स्वास्थ्य कार्यालयले खोप उप-केन्द्र (VACCINE SUB-CENTRE) सम्म खोप पुर्याउने व्यवस्था गर्नुपर्छ भने आफू मातहतको स्वास्थ्य चौकिहरुमा आवश्यक खोप माग गरि उप-केन्द्रबाट ल्याउने, हरेक स्वास्थ्य चौकिमा पुर्याउने र बाकी रहेको खोप उप-केन्द्रमा फिर्ता पठाउने व्यवस्था स्थानिय तहले गर्नुपर्ने देखिन्छ। यसो गर्दा आवागमन कम हुने र आपूर्ति सहज हुने देखिन्छ। पालिकाभित्रै दुई चरणमा खोप कार्यक्रम संचालन हुने पालिकाहरुले खोपको माग तथा ढुवानी पनि दुई चरणमा गर्नुपर्ने हुन्छ। भावी समयको लागी सोच्ने हो भने हरेक स्थानीय तहमा पुर्वाधारको व्यवस्था सहित खोप उप-केन्द्र बनाए उपयोगी हुने देखिन्छ। तत्कालै यो व्यवस्था सम्भव नहोला।
खोप सङ्गसङ्गै व्यक्तिगत सुरक्षाका सामग्रीहरु जस्तै सर्जिकल मास्क, पन्जा, एप्रोन इत्यादि र अन्य आवश्यक सामग्रीहरु जस्तै सेनिटाइजर, साबुन इत्यादिलाई पनि स्थानीय तहले उत्तिकै महत्व दिई व्यवस्थापन गर्नुपर्ने हुन्छ। साथै सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन, जोखिम न्यूनीकरण गरिएको/नगरिएको यकिन गर्न र नगरिएको भए जोखिम न्यूनीकरणका लागि सहयोग गर्न स्थानीय तह तथा स्वास्थ्य कार्यालयद्वारा खोप क्लिनिक अनुगमन गर्नु पनि आवश्यक छ। हाल माहामारीको अवस्थामा खोप सेवामा खटिएका स्वास्थ्यकर्मीलार्इ पनि प्रोत्साहनको लागि कोभिड १९ को जोखिममा रहेको स्वास्थ्यकर्मी झै सुविधा दिन आवश्यक छ ।
खोप केन्द्रको व्यवस्थापन
हाल कोभिड १९ को महामारीको अवस्थामा खोप केन्द्र व्यवस्थापन एक जटिल मुद्दा बनेको छ। नियमित खोप संचालन गर्नुपर्ने परिपत्रसङ्गै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यका लागि मार्गदर्शन पनि संलग्न गरेको छ। उक्त मार्गदर्शनमा अस्पष्टता भान भएमा निम्नानुसार खोप केन्द्र व्यवस्थापन तथा खोप कार्यक्रम संचालन गर्दा कोरोनाको संक्रमण फैलिने संभावनालाई कम गर्न सक्ने देखिन्छ। प्रस्तुत क्रियाकलापहरु विश्व स्वास्थ्य संगठनद्वारा कोभिड -१९ सर्ने माध्यमबारे प्रेषित जानाकारीहरु माथी आधारित रहि तयार पारिएका छन ।
प्रतिक्षालय
• स्थानिय सरोकारवालाहरुको सहयोगमा प्रतिक्षालयको लागि पर्याप्त ठाउँ भएको स्थानमा खोप केन्द्र संचालन गर्ने व्यवस्था मिलाउने।
• होम क्वारेन्टाइनमा रहन भनिएका व्यक्ती, बिदेशबाट आएका व्यक्ती, सो ब्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु, दीर्घ रोगिहरु, अन्य बिरामीहरु तथा कोभिड-१९ सङ्ग मिल्दोजुल्दो लक्षणहरु भएको जस्तै ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएको ब्यक्तिलाई खोपकेन्द्रमा नआउन सुचित गर्ने।
• हाल ज्वरो आएको, सुक्खा खोकि लागेको (कोभिडको शंकास्पद चिन्हहरु) भएको बालबालिकालाई खोप दिन नमिल्ने हुँदा खोप केन्द्रमा नआउन सुचित गर्ने। सो लक्षणहरु देखिएको स्वास्थ्यकर्मीहरु पनि खोपकार्यक्रममा सहभागी नहुने।
• प्रती बालबालिका एक जना मात्र अभिभावक खोप केन्द्रमा रहन पाउने व्यवस्था मिलाउने। यसले भिड्भाड नियन्त्रणमा सहयोग गर्दछ।
• खोप सेवाका लागि आएका व्यक्तिहरुबिच अगाडि, पछाडि, दायाँ र बायाँ कम्तिमा एक- एक मिटरको दुरि कायम रहने गरि व्यवस्थापन गर्ने। सो को लागि एक एक मिटरको फरकमा घेरा बनाइ प्रत्येक घेरा एकमात्र सेवाग्रही रहने गरि व्यवस्थापन गर्ने।
• संक्रमीत बस्ने बेन्च, कुर्सी इत्यादी पनि रोग सर्ने माध्यम हुन सक्छन। तसर्थ यसप्रकारका सुविधा बिना खोप क्लिनिक संचालन गर्ने प्रयास गर्ने। सेवाग्राही बस्नको लागि कुर्सी, बेन्च इत्यादिको व्यवस्था गर्नु परेमा सो गर्दा पनि प्रत्येक सेवाग्राही बिच अगाडि, पछाडि, दायाँ र बायाँ एक एक मिटर दुरि रह्ने र दुई सेवाग्राही आमने सामने (Face to face) नरहने गरि व्यवस्थापन गर्ने।
• सकेसम्म फरक परिवारका दुई बालबालिका बिच सम्पर्क हुन नदिन अभिभावकलाई अनुरोध गर्ने।
खोप लगाउने स्थान
• खोप लगाउने स्थान र प्रतिक्षालय बिचमा कम्तिमा दुई-तीन मिटरको दुरि राख्ने।
• खोप लगाउने स्थान र प्रतिक्षालयको बिचमा हात धुनका लागि साबुन पानीको व्यवस्था गर्ने।
• खोप लगाउने स्थानमा दुई स्वास्थ्यकर्मी बिचपनि एक मिटर दुरि कायम गर्ने।
• खोप लगाउने स्वास्थ्यकर्मी र सेवाग्राही एक अर्काको आमने सामने नपर्ने गरि "L" आकारमा कुर्सि राख्ने।
खोप क्लिनिक सन्चालन
• खोप लगाउने स्थानमा जानुभन्दा पहिले र खोप लगाइसकेपछी सेवाग्राहीलाई राम्रोसङ्ग साबुन पानीले हात धुन लगाउने। यसका लागि म. स्वा. स्व. से. को सहयोग लिने।
• दुई स्वास्थ्यकर्मीमध्ये एकले दर्ता गर्ने र अर्कोले खोप लगाउने।
• दुबै स्वास्थ्यकर्मीले अनिवार्यरुपमा एप्रोन (साधारण), सर्जिकल मास्क र पन्जाको प्रयोग गर्ने। सेवाग्रहिलाइ पनि साधारण मास्क प्रयोग गरेर खोप केन्द्रमा आउन सुचित गर्ने।
• दर्ता गर्ने स्वास्थ्यकर्मीले दर्ता गरि सेवाग्राहीलाई खोप कार्ड फिर्ता गरिसकेपछि सेनिटाइजर( sanitizer) ले हात सफा गर्ने।
• खोप लगाउने स्वास्थ्यकर्मीले खोप लगाउनुभन्दा पहिले र खोप लगाइसके पछि सेनिटाइजर (sanitizer) ले हात सफा गर्ने। सो को लागि दर्ता गर्ने स्वास्थ्यकर्मीले सहयोग गर्ने।
• खोप लगाइसकेपछी सेवाग्राहीलाई आधा घण्टा खोप केन्द्रमा राख्दा पनि एक मिटरको दुरि कायम गर्ने। सो अवधिलाई खोप महत्व बारे परमर्श र कोभिड-१९ बारे जनचेतना फैलाउन प्रयोग गर्ने।
अन्य
• कोभिड-१९ को संक्रमण फैलिने सम्भाव्यता रहेको अन्य क्रियाकलापलाई स्वास्थ्यकर्मीले अवस्थाअनुसारको व्यवस्थापन गर्ने।
• खोप क्लिनिकमा फोहोरमैलाको उचित व्यवस्थापन गर्ने।
• प्रत्येक महिना २० जनाभन्दा बढी सेवाग्राही रहेने स्थानमा जोखिम नियन्त्रण गर्न स्थानिय तहको समन्वयमा आवश्यकताअनुरुप खोप सेसन थप गरि खोप कार्यक्रम संचालन गर्ने।
जुकाको औषधि र भिटामिन "ए" कार्यक्रम
अर्धबार्षिक रुपमा कार्तिक र बैशाखमा संचालित जुकाको औषधि तथा भिटामिन "ए" खुवाउने कार्यक्रम यसपटक स्थगित गरियो। यो उच्च कभरेज भएको एक सफल कार्यक्रम हो। बाल रुग्णता तथा मृत्यु दर घटाउन यसले अहम भुमिका खेलेको छ। दुई दिन संचालन हुने यस कार्यक्रमलाई पनि सामान्य व्यक्तिगत सुरक्षाका सामग्रीहरु जस्तै मास्क, पन्जा, एप्रोन र सेनिटाइजर प्रयोग गरि दुबैदिन घरदैलोमा पुगि संचालन गर्न सकिन्छ। यस कार्यक्रमका सेवाग्राही खोप कार्यक्रम भन्दा धेरै हुने हुँदा केन्द्र राखेर संचालन गर्दा भिडभाड नियन्त्रण गर्न सजिलो हुँदैन। हरेक बालबालिकालाई भिटामिन "ए" खुवाउन अगाडि र खुवाएपछी सेनिटाइजरले हात सफा गरि जोखिम घटाउन सकिन्छ। यद्यपि कोरोना जस्तै लक्षण देखिएका बालबालिका वा सो किसिमको बिरामीको सम्पर्कमा आएका बालबालिकालाई सेवाबाट बन्चित गर्ने पर्याप्त कारण नरहेको र स्वयंसेविकाको हात हरेक बालबालिकाको नाकमुख नजिक नै पुग्ने हुँदा यस कार्यक्रममा खोप सेवा भन्दा उच्च जोखिम रहन्छ।
-(चौधरी स्वास्थ्य कार्यालय बागलुङम कोल्ड चेन असिस्टेन्टका रुपमा कार्यरत छन् भने हेल्थ असिस्टेन्ट मिश्र हाल चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत जनस्वास्थ्य केन्द्रिय विभागमा स्नातक तेश्रो वर्षमा अध्ययनरत छन्।)