ई. सम्बर्धन दवाडी र ई. सौगात आचार्य
कोभिड महामारीको वर्तमान अवस्थामा झट्ट हेर्दाको दृश्यमा डाक्टर, नर्स र ल्याब टेक्निसियन अग्रगामी योद्धा हुन्। तर त्यहाँ केही स्वास्थ्यकर्मी छन्, जसले पर्दा पछाडिबाट काम गरिरहेका छन्। तिनैमध्ये एउटा यस्तो वर्ग छ, जसले अस्पतालका उपकरणहरू अप-टु-डेट र प्रयोगयोग्य अवस्थामा राख्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ।
हो, सदाझैँ अहिलेको जटिल समयमा पनि बायोमेडिकल इन्जिनियरहरू आवश्यक उपकरणहरू ठिकसँग चले-नचलेको पत्ता लगाई चलिरहेको वा चल्नेवाला छ भन्ने सुनिश्चित गर्न काम गरिरहेका छन्। मिनेट/मिनेटको महत्व हुने यस्तो स्थितिमा बायोमेडिकल इन्जिनियर वा टेक्निसियन बिना अग्रमोर्चाका स्वास्थ्य-योद्धाहरुलाई आच्छु-आच्छु पर्ने हुन्छ। यस विधाको आत्मसन्तुष्टि र आत्मसम्मान पनि मेसिन सूचारु राखेर सबै काम सूचारु रहेको हेर्न पाउनुमा नै हुन्छ।
हालको पृथक स्थितिमा बायोमेडिकल इन्जिनियरहरूले पनि नेपालमा आफ्नो नियमित कामका अलावा केही फरक काम पनि गरिरहेका छन्। पहिले चिकित्सा उपकरण स्थापित गर्ने र मर्मत गर्ने भूमिकामा मात्र संलग्न थिए भने पाण्डेमिकको माग बुझेर यतिखेर उनीहरु देशमै उपलब्ध पदार्थबाट उपकरणहरू निर्माण र डिजाइन गर्ने काममा संलग्न भएका छन्। बायोमेडिकल इन्जिनियरहरूले धेरै उपयोगी उपकरण बनाउँदै छन्, जुन कोभिडको उपचार र व्यवस्थापनमा प्रयोग हुन्छ।
लकडाउन भएदेखि विदेशबाट हुने उपकरणको आयातमा बाधा पुगेको छ। फलतः धेरै प्रकारका आवश्यक उपकरणहरूको अभाव खड्किएको छ। जसलाई सम्बोधन गर्ने क्रममा बायोमेडिकल इन्जिनियरहरु यथासक्दो गरिरहेछन्। स्वास्थ्यकर्मीलाई बिरामीको संक्रमणबाट बचाउनका लागि उपयोगी उपकरण बनाइरहेका छन्। इन्जिनियरहरूद्वारा हाल बनाइएका उपकरण फेस सिल्ड, पिपिई सेट, आइसोलेसन स्क्रिनिंग बुथ आदि हुन्।
राष्ट्रिय आविष्कार केन्द्र र बायोमेडिकल इन्जिनिरिङ एसोसिएसनजस्ता संस्थाहरूले सरकारीमात्र नभई निजी अस्पतालहरूलाई समेत निःशुल्क उपकरणको मर्मत गर्न मद्दत गरिरहेका छन्।
व्यक्तिगत सुरक्षा किट, फेस सिल्ड, आइसोलेटेड नमुना संकलन र स्क्रिनिंग बुथले संक्रमित बिरामीबाट स्वास्थ्यकर्मीमा भाइरस सर्न रोक्नको लागि छेकबारको काम गर्दैछन्। विशेष प्लास्टिकको प्रयोग गरेर सरल तर प्रभावकारी आइसोलेसन बाकस अन्नपूर्णा न्युरोलोजिकल इन्स्टिच्युट र एलाइड साइन्सेजमा डिजाइन गरिएको छ, जसले संक्रमित बिरामीहरूलाई श्वासनलीमा भेन्टिलेटर जोड्ने पाइप छिराउँदा अर्थात् इन्ट्युबेसन गर्दा बिरामीको मुखबाट निस्किने भाइरस मिश्रित थोपाबाट डाक्टरहरूलाई जोगाउँछ।
डा महावीर पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले बिग्रिएका र काम नदिने भेन्टिलेटरहरूको मर्मत कार्य आरम्भ गरिसकेको छ र मर्मत गरेर चल्न थाल्यो भन्ने सुनिश्चित गरेर मात्र सम्बन्धित अस्पतालमा फिर्ता पठाइरहेको छ। उपकरणहरूको मर्मतको अलावा उनीहरू आइसोलेसनमा बसेका बिरामीका लागि खाना र औषधि पुर्याउन सक्ने मेडिकल रोबोटको डिजाइनमा संलग्न छन्। यस रोबोटका कारण स्वास्थ्यकर्मीहरूको बिरामीसँगको सोझो सम्पर्क र अन्तक्र्रिया कम गर्छ। संक्रमित बिरामीबाट स्वास्थ्यकर्मीमा हुनसक्ने संक्रमणको सम्भावना कम गर्छ।
भेन्टिलेटरहरूको उपलब्धता सुनिश्चित गर्न केही कम लागतका भेन्टिलेटरहरू जस्तै उपकरणहरू विभिन्न संस्थानहरूले डिजाइन र परीक्षण गरिरहेका छन्। सजिलै उपलब्ध हुने तर हातैले थिचेर चलाउनुपर्ने अम्बु ब्यागलाई स्वचालित रूपमा पम्पिङ गर्ने प्रणालीको विकास भइरहेको छ, ताकि आपतकालीन अवस्थामा अम्बु ब्यागलाई पनि भेन्टिलेटरकै रूपमा प्रयोग गर्न सकियोस्।
एउटा भेन्टिलेटरको प्रयोग गरी फरक बिरामीहरूलाई श्वास फेराउने अन्य प्रणालीहरू पनि विभिन्न अस्पतालमा डिजाइन र अनुसन्धान गरिएका छन्। हालसालै गरिएको सर्वेक्षणका अनुसार नेपालमा करिब पाँच सय वटा भेन्टिलेटर छन्, जुन कोरोनाको प्रकोप बढेर देखापरिदिएको अवस्थामा पर्याप्त नहुन सक्छ। यस्तो अवस्थामा माथि उल्लिखित प्रणालीहरू उपयोगी हुन सक्छन्।
बायोमेडिकल इन्जिनियर र टेक्निसियनहरू बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउनु नपर्ने वर्गका भए तापनि डाक्टर र स्वास्थ्यकर्मीसँग नजिक रहेर कार्य सम्पादन गर्नुपर्ने र अस्पतालमा बिरामीले प्रयोग हुने मेसिनसँग सिधा चल्नुपर्ने भएकाले यी पनि कोरोनाको जोखिममा रहेका समूहहरूमध्ये एक हुन्।
अर्को कुरा, उपकरण मर्मत र क्यालिब्रेसनको लागि आइसोलेसन वार्डमा गइरहनुपर्छ, जसले उनीहरूमा संक्रमण हुने सम्भावना बढाउँछ। न्युयोर्क टाइम्सले बायोमेडिकल इन्जिनियरहरूमध्ये बत्तीस प्रतिशतसम्ममा कोरोना संक्रमणको सम्भावना हुने भविष्यवाणी गरेको छ। आधिकारिक डाटा उपलब्ध नभए पनि विश्वमा अहिलेसम्म सयौं बायोमेडिकल इन्जिनियरहरू यस रोगबाट प्रभावित भएको अनुमान गरिएको छ।
यस्तो संकटको अवस्थामा, बायोमेडिकल इन्जिनियरहरू पनि हौसिएर अघि सरेका छन्। मेडिकल मेसिनमार्फत डाक्टर, स्वास्थ्यकर्मी, अस्पताल र बिरामीलाई पर्दा पछाडिका कलाकारको भूमिकामा रहेर जिम्मेवारी बहन गर्दै आइरहेका छन्।
यस रोग लागेकामध्ये पाँच प्रतिशतमात्रै उच्च कडापनमा जाने भन्ने बुझेकाले हामीलाई माथिको प्रोजेक्सनले खासै छोएको पनि छैन। यस विधामा लाग्नुमा पहिलेदेखि नै गर्वबोध थियो नै, बरु अहिले त्यसको मात्रा झन् झन् चुलिएको छ।