सरोज खनाल
भनिन्छ, 'डर के आगे जित है।' हो, जसले डरलाई जित्न सक्छ, उसले संसार नै जित्न सक्छ। अहिले, कोरोना भाइरसले संसारलाई हराइरहेको बेलामा यो भाइरसलाई जित्नु नै संसार जित्नु सरह हो। कोरोनालाई जित्न यसको डरलाई जित्नु जरुरी छ।
अहिले पूरा संसार नै कोरोनाको डरमा बाँचिरहेको छ। अहिलेसम्म यसको न त कुनै भ्याक्सिन बनेको छ न त औषधि उपचार नै प्रमाणित भएको छ। तर पनि कोरोना संक्रमितमध्ये जतिको मृत्युु भएको छ, त्यसको चार गुणा मानिस निको भएका छन्। आखिर कसरी त? सबैलाई सपोर्टिभ उपचार त दिइएको थियो नै।
यसको सरल कारण हो, जो कोरोनासँग लडेर बाँचेका छन्, उनीहरु शरीर भित्रै, अन्तरमनदेखि नै बलिया छन्। कोरोनासँग लड्न सक्ने साहस छ, कोरोनाको डरलाई मार्नसक्ने आत्मविश्वास छ। अर्थात् उनीहरुको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति बलियो छ।
धेरैलाई आफू मर्छु कि भन्ने डर लाग्छ। त्यो भन्दा ठूलो डर आमाबुबा, घरपरिवारलाई केही हुन्छ कि भन्ने डर लाग्छ। अनि पढाइ के होला भन्ने डर लाग्छ। साँच्चै भन्ने हो भने हामी डरैडरको पोखरीमा उभिरहेका छौँ। न त डरको मात्रा कम हुन्छ, न त हामी पौडिएर उत्रिन नै सकेका छौँ। हाम्रो जित त तब सुरु हुन्छ जब डरलाई हराउन थाल्छौँ।
तपाईं आफूलाई असाध्यै माया गर्नुहुन्छ। त्यो भन्दा बढी आफ्नो बुबाआमा अनि आफ्नो प्रियजनलाई माया गर्नुहुन्छ। तर पनि किन हेरचाह गर्नुहुन्न? किन यो विषम परिस्थितिको ख्याल राख्नुहुन्न? तपाईं कतिपटक आफ्नो घरबाट बाहिर निस्कनु भयो? कति जना घरबाहिरको मान्छेसँग भेट्नु भयो? कुनै हेक्का छ तपाईंलाई? कि कोरोना झ्याली पिटेर आउछ? थाहा छैन, भोलि के हुन्छ। तपाईंको सानो लापरबाहीले पूरा समाज ध्वस्त हुन सक्छ।
यथार्थलाई बुझ्ने गरौँ। कोरोना एक महामारी हो। यसको कुनै उपचार छैन। रोग लाग्नै नदिनु नै यसको एकमात्र उपाय हो।
नेपालमा कोरोना भाइरस बल्ल सुरु भएको छ। भोलिको दिन कति भयावह पनि हुनसक्छ, कसैलाई थाहा छैन। मानौँ, हजार प्लस संक्रमित भए भने त्यसको लागि आइसियु कक्ष कति वटा छन् नेपालमा? भेन्टिलेटर कति छन् नेपालमा? के धान्न सक्छन् त? खै! तर भगवानसग कामना गरौं कि नयाँ संक्रमित नै फेला नपरुन्।
कोरोनाको रोग र त्यसको असर त आफ्नो ठाउँमा छँदै छ। साथै कोरोना भाइरसको त्रासले मनोवैज्ञानिक असर गर्छ। इन्जाइटी डिस्अर्डर जस्ता समस्या निम्त्याउन सक्छ।
यो महामारी अनि त्रासको बीचमा आफूलाई कसरी बचाउने त? आफूलाई मनोवैज्ञानिक रुपमा कसरी बलियो बनाउने त? केही तरिकाहरु यस प्रकार छन्ः
१) सर्वप्रथम कोरोना भाइरस सर्न नदिने विधिहरु अबलम्वन गर्ने।
- साबुनपानीले मज्जाले हात धुने/सेनिटाइजर प्रयोग गर्ने
- आँखा, मुख, नाक हात सफा नगरी नछुने
- घरमै बस्ने, भीडभाडमा नजाने
- माक्स लगाउने
- निन्द्रा पुग्नेगरी सुत्ने
_ स्वस्थ खानेकुरा खाने
- कोरोनाको कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरुन्तै नजिकैको अस्पतालमा खबर गर्ने।
२) विश्वसनीय स्रोतको मात्रै कोरोनाबारे जानकारी एवं अपडेट हेर्ने
- डब्लुएचओ, वोल्डोमिटर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आदि
- आजकल अनलाइन मिडियामा लाइक, सेयर बढाउनको लागि समाचार बंग्याएर जनमानसको मन तान्ने होडबाजी चलेको छ, जसले गर्दा त्यस्ता समाचारबाट जनमानसमा डर पैदा हुने गरेको देखिएको छ।
३) सकेसम्म सामाजिक सञ्जालबाट टाढा रहने अनि बारम्बार कोरोनाको अपडेट नहेर्ने
- सामाजिक सञ्जालमा विश्वसनीय पेज, एकाउन्टहरुलाई मात्रै फलो गर्ने, आफ्नो चिनजानको मान्छेसँग मात्रै जोडिने गर्नुपर्छ।
४) सकेसम्म दैनिक केही समय योगा एवं मेडिटेसन गर्ने जसले मानसिक स्वास्थ्यमा धेरै सकारात्मक भूमिका निर्वाह गर्दछ।
५) आफूलाई मन लाग्ने कामहरुमा ध्यान दिने
आफ्नो मनले रुचाएको कामहरु गर्ने एवं गेमहरु खेल्ने र परिवारमा घुलमिल हुने ताकि यो लकडाउनको समयमा खुसीका साथ सजिलै समय कटाउन सकियोस्। अझ चित्र बनाउने, कथा, कविता लेख्ने जस्ता सिर्जनात्मक काम गरेर यस समयको आनन्द एवं फाइदा लिन सकिन्छ।
६) भएसम्म शीतल, छहारी, एकान्त, स्वच्छ ठाउँ एवं होहल्ला, भीडभाडदेखि टाढा बस्ने। यसले कोरोना सर्नबाट त बचाउँछ नै, साथै मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न सहयोग पुर्याउँछ।
७) अरुलाई सहयोग गर्ने।
यस्तो दुःखको घडीमा कसैलाई सहयोग गर्दा मनमा आनन्द मिल्छ।
कोरोना मात्रै होइन, अरु जुनसुकै रोगलाई जित्न पनि तपाईं शारीरिक मात्रै होइन मनोवैज्ञानिक रुपमा पनि उत्तिकै बलियो हुनु जरुरी छ। तसर्थ झैझगडा भन्दा मेलमिलापको बानीको विकास गर्नुपर्छ। सकारात्मक कुराहरु मात्रै सोच्नुपर्छ। अनि आशावादी एवं म जित्न सक्छु भन्ने अन्तर मनदेखि नै दृढ हुनुपर्छ। त्यसैले अहिलै सोच्नुस् कि, मैले कोरोनाबाट बच्न धेरै प्रयास गरेको छु, अझ सक्दो प्रयास गर्ने छु। मलाई कोरोना लाग्ने छैन र यदि लागिहाले पनि मलाई केही हुने छैन। ममा कोरोनालाई जित्नसक्ने पर्याप्त हिम्मत छ।
अन्ततः कोरोनाबारे थाहा छ भने सबैलाई सेयर गरौँ। थाहा छैन, चुप बसौँ। भ्रामक कुरा फैलाएर तपाईं कदापि ठूलो हुनुहुन्न। अनि नजिकै डाक्टर, नर्स वा मेडिकल व्यक्ति छन् भने उनीहरुसँग सोधौँ, जानकारी लिऔं। पक्कै पनि तपाईंहरु भन्दा अलि बढी उनीहरुलाई थाहा हुन्छ।
यो लड्ने-जुध्ने बेला होइन। हामी सबै मिल्नुपर्छ। हामी सबै घरै बसौँ, सब मिली कोरोनालाई जितौँ, कोरोनाको डरलाई जितौँ।