दिनेश कोइराला
प्रत्येक वर्ष २५ अप्रिलका दिन विश्व औलो दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले विगत वर्षहरुझैं यस वर्ष पनि 'आफैँबाट सुरु गरौं, औलोलाई शून्यमा पुर्याऔं' भन्ने नाराका साथ विश्व औलो दिवस मनाउन भनेको छ।
सन् २००८ देखि नेपाल लगायत संसारका औलो प्रभावित थुप्रै मुलुकमा औलोलाई स्थानीय स्तरसम्म एक प्रमुख मुद्दाको रुपमा स्थापित गरी थप स्रोत परिचालन गरिँदै आएको छ। समुदायको क्षमता अभिवृद्धिमार्फत औलो रोकथाम तथा निवारण अभियानलाई सार्थक बनाउने उद्देश्य विश्व स्वास्थ्य संगठनको रहेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ को महामारीले गर्दा यस वर्ष यो दिवस विगतका वर्षहरुमा भन्दा फरक तरिकाले मनाउनुपर्ने देखिएको छ।
परजीवीका कारण लाग्ने औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। सन् २०१८ मा मात्रै विश्वभरि झण्डै २२ करोड ८० लाख व्यक्तिहरुमा यो रोग देखिएको र झण्डै चार लाख पाँच हजार व्यक्तिको मृत्यु भएको अनुमान छ।
अफ्रिका क्षेत्र यस रोगबाट सबैभन्दा बढी प्रभावित मानिन्छ। जहाँ ९३ प्रतिशत बिरामी रहेका छन् भने ३.४ प्रतिशत बिरामी दक्षिणपूर्वी एसिया र बाँकी मध्य मेडिटेरिएन क्षेत्रमा रहेका छन्। पाँच वर्षमुनिका बालबालिका यस रोगको बढी जोखिममा रहेका हुन्छन्।
सन् २०१८ मा मुत्यु भएका बिरामीमध्ये ६७ प्रतिशत पाँच वर्ष मुनिका रहेका छन्। यसै सम्बन्धमा औलो रोगको रोकथाम र नियन्त्रणमा भएका प्रयासहरुलाई व्यवस्थित र सुदृढीकरण गर्दै औलो निवारण अभियानलाई विश्वव्यापी स्तरमै अझ सशक्त र सफल बनाउन विश्व स्वास्थ्य संगठनले एक विश्वव्यापी रणनीति तयार पारेको छ ।
नेपालको राष्ट्रिय औलो रणनीतिक योजना (२०१४—२०२५) ले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ सम्म औलोको स्थानीय बिरामीको संख्या शून्यमा पुर्याउने र त्यसलाई लगातार तीन वर्षसम्म निरन्तरता दिने रहेको छ। यस लक्ष्यलाई पूरा गर्न सरकारले केन्द्र, प्रदेश तथा स्थानीय स्तरमा विभिन्न साझेदार र सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।
गत आर्थिक वर्ष २०७५/७६ मा जम्मा १,०६५ औलोका नयाँ बिरामीहरु भेटिएका थिए। जसमध्ये झण्डै ६० प्रतिशत कामको शिलशिलमा देश बाहिर अन्य मुलुक गएर स्वदेश फर्किएका आयातित केसहरु थिए। पछिल्ला वर्षहरुमा स्थानीय बिरामीको प्रतिशत घट्दै गए पनि आयतित बिरामीहरुबाट स्थानीय संक्रमण हुन नदिन सुरु कै अवस्थामा शंकास्पद बिरामीलाई परीक्षणको दायरामा ल्याई राष्ट्रिय उपचार पद्धति अनुसार उपचार गर्नुपर्ने कुरा एउटा चुनौतीको रुपमा देखा परेको छ।
सरकारले औलो निवारणका लागि आवश्यक रणनीतिक सूचना संकलन र व्यवस्थापनलाई सुदृढीकरण गर्ने, बिरामी खोजपड्ताल र रोग निदान कार्यलाई अझ चुस्त पार्दै रोगको सर्ने दरलाई घटाउने, निदान तथा उपचारमा विभिन्न क्षेत्र र तप्काका मानिसहरुको पहुँच बढाउने, राजनीतिक नेतृत्व र समुदायको सहभागिता बढाउने र प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने लगायतका कार्यहरु सञ्चालन गर्दै रोगको निगरानीलाई एक महत्वपूर्ण र प्रमुख कार्यको रुपमा अघि बढाइएको छ।
औलो निगरानी का लागि १, ३ र ७ विधि
औलो निगरानीका लागि नेपालले १, ३ र ७ विधिलाई आत्मसात गरेको छ, जुन औलो निवारणमा असाध्यै प्रभावकारी देखिएको छ। यसमा सुरुको १ को अर्थ शंकास्पद औलो बिरामीको रक्त परीक्षण (गुणस्तर सुनिश्चित गरिएका आरडिटी वा माइक्रोस्कोपिक) पोजेटिभ आएकमा तुरुन्तै राष्ट्रिय औलो उपचार पद्धति अनुसार उपचार सुरु गर्ने तथा सम्बन्धित स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीद्वारा निदान पश्चात तुरुन्तै (१ दिनभित्र वा २४ घण्टाभित्र) मोबाइल एसएमएसमार्फत वा एमडिआइएस नेपाल नामक मोबाइल एपको प्रयोग गरी वेब बेस्ड मलेसिया डिजिज इनफर्मेसन सिस्टममा जानकारी गराउने भन्ने बुझिन्छ। यसरी प्राप्त जानकारी कहाँबाट कुन नम्बरमार्फत आयो भन्नेबारे अधिकार प्राप्त व्यक्तिले हेर्ने गर्छन् भने निगरानीको थप कार्यका लागि सचेत समेत गराउने गरिन्छ।
दोस्रो नम्बर अर्थात् ३ ले मोबाइल एसएमएस वा मोबाइल एप्समार्फत प्राप्त औलो बिरामी (स्थानीय वा आयातित) को जानकारी जति सक्यो चाँडो सुनिश्चित गरेर निश्चित भएको ३ दिनभित्र बासस्थानमा गई खोजपड्ताल गर्ने भन्ने बुझाउँछ। खोजपड्तालका क्रममा बिरामीलाई औलोको लक्षण कहिलेदेखि देखिएको हो, नोकरी गर्ने स्थान, यात्रा गरेको इतिहास, पहिला औलो भए/नभएको लयायतका जानकारी लिई रोगको वर्गीकरण स्थानीय (स्वदेशमै संक्रमण भएको) वा आयातित (विदेशमा संक्रमण भएको) भन्ने कुराको निक्र्योल गरिन्छ।
सामान्यतः एक महिनाभित्र औलो प्रभावित देशको यात्रा गरेको व्यक्तिमा औलो रोग देखिएमा त्यस्ता बिरामीको वर्गीकरण आयातित र बाँकीलाई स्थानीय भनी गरिन्छ। स्थानीय बिरामीको परिवारका सबै सदस्यहरु साथै उसको घरलाई केन्द्रविन्दु मानेर २ किमी वरपरका ५० घरधुरी (स्थानीय भौगोलिक परिवेशका आधारमा) का बासिन्दाहरुमा २ हप्ताभित्र ज्वरो आएको भएमा रगत परीक्षण गरिन्छ भने आयातित बिरामी भएमा बिरामीकोे परिवारका सबै सदस्यहरु तथा ऊसँगसँगै उक्त स्थानको यात्रा गरेका व्यक्तिहरुको रगत परीक्षण गरिन्छ ।
यसरी रोग पत्ता लागेको तीन दिनभित्रै बिरामीको सम्पर्कमा आएका र शंकास्पद व्यक्तिहरुको रगत परीक्षण गरिने यस कदमले बिरामीको पहिचान सुरुकै अवस्थामा हुन गई रोग फैलिनमा कमी आउनुको साथै रोगको नियन्त्रणमा सार्थक योगदान भएको पाइएको छ।
यसैगरी अन्तिम नम्बर अर्थात् ७ ले खोजपड्तालका क्रममा बिरामीको संक्रमण स्थानीय स्तरमा नै भएको रहेछ भने त्यस स्थानलाई सक्रिय फोकस मानी त्यस ठाँउबाट औलो रोग र परजीवीको बारेमा विस्तृत जानकारी संकलन गर्नुका साथै त्यस ठाँउमा आवश्यक प्रतिकारात्मक क्रियाकलाप सञ्चालन गर्ने अवधिलाई बुझाउँछ। यसरी तत्कालै उक्त स्थानको अध्ययन तथा प्रतिकारात्मक क्रियाकलाप सञ्चालन गरिने भएकोले संक्रणको चेन टुट्न गई उक्त स्थानमा रोग फैलिन पाउँदैन।
यसरी औलो निवारण कार्यक्रममा कोरोना रोग नियन्त्रणका सन्दर्भमा हाल चर्चामा रहेको ५टी (टेस्ट, ट्टि, ट्ेसिंग, टिम वर्क र ट्याकिंग) विगत चार वर्षदेखि नै प्रयोग हुँदै आइरहेको छ। यति हुँदाहुँदै पनि समयमै औलो परीक्षण नहुनु, निजी स्वास्थ्य संस्थाहरुमा प्रयोग भएका आरडिटीको गुणस्तर सुनिश्चित हुन नसक्नु, समयमै बिरामीको जानकारी एमडिआइएसमा नआउनुु, तालिम प्राप्त स्वास्थ्यकर्मीको छिटोछिटो सरुवा भइरहनु, विभिन्न निकायमा औलो रोगको दक्ष जनशक्तिको अभाव हुनु, कार्यक्रमका लागि पर्याप्त बजेट अभाव हुनु, जलवायु परिवर्तनको प्रभावले पहाडी तथा हिमाली क्षेत्रहरुमा बिरामीहरु देखिनु, स्थानीय स्तरमा औलो प्राथमिकतामा नपर्नु जस्ता विषयहरु औलो निवारणमा अझै पनि चुनौतीको रुपमा रहेका छन्।
यस पटकको विश्व औलो दिवस हालसम्म औलो निवारणमा कार्यक्रमले प्राप्त गरेका उपलब्धिलाई व्यवस्थित र सुदृढीकरण गर्दै माथि देखिएका यी चुनौतीहरु निरकारणतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ।