अनुप लुइँटेल
नेपालसहित विश्वका विभिन्न देशहरु अहिले कोभिड-१९ को महामारी विरुद्ध लडाईंमा छन्। यो लडाईंको अग्रिम मोर्चामा स्वस्थ्यकर्मीसँगै फार्मेसिस्ट र फार्मेसिस्ट सहायकहरु पनि उत्तिकै सक्रिय छन्।
विशेषगरी फार्मेसिस्ट र फार्मेसिस्ट सहायकहरु सामुदायिक फार्मेसी र अस्पतालमा रहेका फार्मेसीमा कार्यरत छन्। औषधि व्यवस्था विभागका अनुसार नेपालमा २१ हजार ६ सय ५१ फार्मेसी सञ्चालनमा छन्।
इन्टरनेसनल फर्मास्युटिकल्स फेडेरेसनका अनुसार हालसम्म विश्वभर १८ फार्मेसिस्ट र फार्मेसिस्ट सहायकहरुले कोभिड-१९ को संक्रमणका कारण ज्यान गुमाएका छन्। जसमध्ये १० इटाली, ४ टर्की, २ बेलायत, १ स्पेनको र १ चीनको फार्मेसी पेसाकर्मीहरु छन्।
नेपालमा पनि कोभिड-१९ को महामारीको यो घडीमा फार्मेसीहरुले औषधिको बिक्री/वितरण र परामर्श आदि सेवा प्रदान गरिरहेका छन्। त्यसैले पनि नेपालका फार्मेसिस्ट र फार्मेसिस्ट सहायकहरु कोभिड-१९ को संक्रमणको उच्च जोखिममा छन्।
तसर्थ, यस महामारीमा संक्रमणबाट उनीहरुलाई बचाउनको लागि इन्टरनेसनल फर्मास्युटिकल्स फेडेरेसन लगायत विश्वका विभिन्न फार्मेसी पेसागत संघ संगठनहरुले १० निम्न लिखित नियमको पालन गर्न आग्रह गरेका छन्ः
१. कोभिड-१९ को कुनै पनि लक्षण देखिएका बिमारीलाई सामुदायिक फार्मेसी र अस्पतालको फार्मेसी भित्र प्रवेशमा रोक लगाउने। रोक लगाएको जानकारी उल्लेख गरेको साइन बोर्डर पोस्ट फार्मेसी अगाडि राख्ने। साथै बोर्डर पोस्टमा यस्तो बिमारीहरुले 'कोभिड-१९ को हेल्पलाइन नम्बर र नजिकैको कोभिड-१९ को अस्पतालको सम्पर्क गर्ने' अनुरोध सहितको जानकारी पनि उल्लेख गर्ने।
२. फार्मेसीमा कार्यरत कर्मचारीहरुले नियमित साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुने अथवा अल्कोहल मिश्रित ह्याण्ड सेनिटाइजरको प्रयोग गर्ने। हात धुँदा विश्व स्वास्थ्य सगंठनको निर्देशिकाको पालना गर्ने। फार्मेसीको काउन्टरमा जनतालाई पनि ह्याण्ड सेनिटाइजरकोे सहज प्रयोगको व्यवस्था गर्ने।
३. ज्वरो, सुख्खा खोकी र श्वास फेर्न गाह्रो भएका लक्षणहरु देखिएका फार्मेसीमा कार्यरत कर्मचारीलाई कम्तीमा १४ दिन सेल्फ आइसोलेसन र यो अवधि भर बिदाको व्यवस्था गर्ने।
४. फार्मेसी परिसरमा बिमारीसँग औषधिको बिक्री/वितरण र परामर्श आदि कार्य गर्दा, न्यूनतम १/२ मिटरको सुरक्षित सामाजिक दूरी कायम गर्ने। फार्मेसी परिसरमा एक पटकमा एक जना बिमारी मात्रै प्रवेशको व्यवस्था गर्ने।
५. फार्मेसीमा कार्यरत कर्मचारीहरुले अनिवार्य एन-९५ अथवा सर्जिकल मास्कको प्रयोग गर्ने। प्रयोग भएको मास्कको उचित तरिकाले नष्ट गर्ने।
६. फार्मेसीमा बिमारीहरुसँग औषधिको पुर्जा लिँदा र बिक्री/वितरण गर्दा डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने। हरेक नयाँ पुर्जा लिँदा वा औषधि बिक्री/वितरण नयाँ पञ्जाको प्रयोग गर्ने।
७. सकभर बिमारीहरुसँग औषधिको पुर्जा लिँदा र बिक्री/वितरण गर्न मोबाइल फोनको प्रयोग गर्ने। यस्तो मोबाइल फोनको प्रयोग गर्दा अल्कोहल स्वाइपले सेनिटाइज गर्ने।
८. फार्मेसीमा नगदको कारोबार वा कम्प्युटर आदिको प्रयोग गर्दा अनिवार्य डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने र हरेक एक घन्टामा पञ्जा बदल्ने। नगदको कारोबार, औषधिको पुर्जा, बिक्री/वितरण र कम्प्युटर प्रयोग फरक कर्मचारीले गर्ने।
९. फार्मेसी परिसरमा रहेका दराज, औषधि वितरणको लागि प्रयोग हुने सामान, कम्प्युटर, काउन्टर, फोन, फ्रिज आदिको नियमित सेनिटाइज गर्ने।
१०. फार्मेसीमा कार्यरत कर्मचारीहरु यदि हालै विदेश अथवा संक्रमित स्थान भ्रमण गरेको वा संक्रमित व्यक्ति सम्पर्कमा रहेको भए कोभिड-१९ को परीक्षण गर्ने।
(लुइँटेल काठमाडौं विश्वविद्यालय अन्तर्गतको फार्मेसी विभागका उपप्राध्यापक हुन्।)