डा विमला शर्मा
नेपालमा मानसिक स्वास्थ्य एक उपेक्षित मुद्दा हो। मानसिक स्वास्थ्य समस्यालाई समाजमा कलंकको रुपमा हेरिन्छ। अहिलेको कोभिड-१९ प्रकोपले मानसिक स्वास्थ्य समस्या अझ भयावह हुने निश्चित छ। यसले विश्वव्यपी रुपमा नै डर, त्रास र भय उत्पन्न गराएको छ।
कोरोना माहामारी नियन्त्रणको साथमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सर्वसाधारणको मानसिक स्वास्थ्यलाई पनि महत्व दिनु अनिवार्य हुन आउँछ। कोभिड-१९ को डर, त्रास, भय बढ्दै गएपछि यसले चिन्ता, अनिद्रा, डेप्रेसन, आत्महत्याको विचार लगायत अरु कडा खालका मानसिक समस्या पनि निम्त्याउन सक्छ। समयमा नै मानसिक स्वास्थ्य समस्याको रोकथाम, निदान, मनोवैज्ञानिक परामर्श र उपचारको व्यव्स्था गर्न सकिएन भने देशको आर्थिक र सामाजिक विकास तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नकरात्मक प्रभाव पर्न सक्छ।
चीनमा कोभिड-१९ को प्रकोप भइरहेका बेला वाङ र उनको रिसर्च टिमले तत्काल देखिने मनोवैज्ञानिक प्रतिक्रियाका बारेमा गरेको अध्ययनमा ५० प्रतिशतभन्दा बढी सर्वसाधारणमा मध्यम वा गम्भीर मनोवैज्ञानिक प्रभाव देखिएको थियो। यो प्रकोपले स्वथ्यकर्मीहरुमा अझै ठूलो मनोवैज्ञानिक तनाव उत्पन्न गरेको छ।
संक्रमणको उच्च जोखिम, संक्रमणको भय र त्रास, अपर्याप्त सुरक्षा सामग्री, अधिक काम, सामाजिक उपेक्षा र निराशा जस्ता कारणले स्वाथ्यकर्मीमा तनाव, अनिद्रा, चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिने सम्भावना अझ बढी हुन्छ।
चीनको उदाहरण हेर्ने हो भने स्वास्थ्यकर्मीहरुमा देखिएका मानसिक स्वास्थ्य समस्याको व्यवस्थापान गर्नको लागि ४ वटा टिम बनाएर काम गरेको थियो। मनोवैज्ञानिक प्रतिक्रिया टिम, मनोवैज्ञानिक टेक्निकल समर्थन टिम, मनोवैज्ञानिक मेडिकल टिम र मनोवैज्ञानिक सहायता हटलाइन टिम।
कोभिड-१९ संक्रमणको डर र त्रासले स्वास्थ्य सेवाको पहुँच र स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितता नहुँदा सर्वसाधारणमा अर्को ठूलो भय, तनाव र चिन्ता थपिएको छ। समान्य बिरामी परियो भने पनि उपचार नपाइने भयले सर्वसाधारण पिरोलिएका छन्। उदाहरणका लागि ज्वरो आउनु धेरै रोगहरुको लक्षण हो। तर यही ज्वरो आउनु भनेको अपराधी हुनु जस्तो सावित हुँदै गएको छ। अरु नै कारणले ज्वरो आउँदा पनि उपचार नपाएर भौंतारिएका समाचार, उपचार नपाएर मृत्यु भएका समाचार, एम्बुलेन्सले बिरामी बोक्न नमानेका समाचार, स्वास्थ्य संस्थाले ढोका लगाएका समाचारले व्यक्ति, परिवार र समाजमा निकै ठूलो भय र चिन्ता सृजना गरेको छ। दर्घरोग भएका र नियमित चेक अप गर्नुपर्ने मानिसलाई अझ बढी मनोवैज्ञानिक आघात परेको छ।
नेपालमा अहिले कोभिड-१९ को माहामारीभन्दा पनि गलत सूचनाको कारणले मानिसहरुमा बढी डर, त्रास र तनाव उत्पन्न भएको छ। गलत सूचनाले ल्याउन सक्ने डर, त्रास र तनावलाई कम गर्न सूचनाको भरपर्दो स्रोतमात्र प्रयोग गर्ने गर्नुपर्छ। यसको लागि, स्वास्थ्य मन्त्रालयले नै प्रत्येक दिन कोभिड-१९ को बारेमा अपडेट गर्दै आएको छ।
अर्को कुरा, कोभिड-१९ को डर र त्रास कम गर्न सामाजिक सञ्जालको कम प्रयोग गर्ने, आफूलाई शारीरिक रुपमा सकृय बनाइरहने र परिवार, साथीभाइ र नातेदारसँग कुराकानी गरिराख्ने गर्नुपर्छ। आफूलाई चिन्तित अथवा विचलित बनाउने खलको कोभिड-१९ को समाचार पढ्न, हेर्न र सुन्न कम गर्नुपर्ने कुरा विश्व स्वास्थ्य संगठनले पनि सबैलाई सूचित गरेको छ।
अर्कोतिर, लकडाउनले जीवनशैलीमा परिवर्तन भएको छ। शरीरिक गतिविधि कम हुँदै गएको छ। खाना खाने र सुत्ने बानी परिवर्तन भएको छ। सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेको छ र स्क्रिन समय (टेलिभिजन, ल्यपटप, र मोबाइल आदि हेर्ने समय) पनि लम्बिएको छ। यी सब कुराहरुले मानसिक स्वास्थ्यमा समस्या निम्त्याउने देखिन्छ।
अहिले प्रकोपको बेलामात्र होइन, कोभिड-१९ को माहामारी सकिएपछि पनि आर्थिक अभाव, खाद्य असुरक्षा, गरिबी र भोकमरीले विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरुको बोझ बढ्ने सम्भावना प्रवल रहन्छ। लकडाउनमा मजदूरहरुको दयनीय अवस्था सबैले देखिरहेकै छौं, सुनिरहेका छौं। यसको कारण उनीहरुमा मानसिक स्वास्थ्य समस्याहरु देखिन सक्ने सम्भावना उत्तिकै छ।
अहिलेको अवस्थामा कतिको रोजगारी गुमेको छ। कति आफ्नो बासस्थान पुग्न पाएका छैनन्। कति बाटोबाटोमा न खाने गाँस छ, न पिउने पानी छ, भोकै तिर्खै ज्यानको बाजी लगाएर हप्तौंहप्तासम्म हिँडेका छन्। यस्तो पीडाले उनीहरुमा आउने निराशा, एक्लोपना, विचलन, उपेक्षित हुनुको भावना र थकानले मनोविज्ञानमा नकारात्मक असार पार्दछ।
मानसिक स्वास्थ्य समस्याबाट बढी प्रभावित हुनसक्ने अर्को समूह हो, संक्रमित व्यक्ति, उसको परिवार र समाज। कोरोना संक्रमित र संक्रमितको परिवारलाई हेला, उपेक्षा र घृणा नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ। कोभिड-१९ ले धेरै देशका प्रायः सबै जाति र सम्प्रदायका मानिसलाई प्रभावित गरेको छ। संक्रमित व्यक्ति कुनै अपराधी होइनन्। र, यो संक्रमणको जोकसैलाई पनि हुनसक्छ। उनीहरुलाई सबैको समर्थन, सहयोग र सद्भाव चाहिएको छ।
कोभिड-१९ महामारी नियन्त्रण अन्तर्गत माहामारीका साथै यसले निम्त्याएका परिणामहरुको पनि समयमा नै निदान र व्यवस्थापन गर्नुपर्छ। महामारी नियन्त्रणको नाममा राज्यले जस्तोसुकै मूल्य चुकाउनै पर्छ भन्ने सोचाइ गलत हो। कोरोनाको संक्रमणले हुने मृत्यु वा कोरोनाले ल्याएको भोकमरीले हुने मृत्यु वा कोरोनाको त्रासमा उपचारबाट वन्चित भएर निमोनियाले हुने मृत्युमा कुनै फरक छैन।
मृत्यु, मृत्यु नै हो, मर्ने राज्यको नागरिक नै हो। अतिआवश्यक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चित गर्नु र नागरिकलाई भोकले मर्नबाट जोगाउनु पनि अतिआवश्यक छ। र, यो पनि महामारी व्यवस्थापनभित्र नै पर्छ। सही व्यवस्थापनबाट मानसिक स्वास्थ्य समस्याको पनि रोकथाम हुन्छ।
अहिलेको अवस्थामा मानसिक स्वास्थ्य समस्याहरुको निदान र उपचारको व्यवस्थापन गर्नका लागि केही रणनीतिहरु अपनाउन सकिन्छ। पहिलो, कोभिड-१९ रोकथाम तथा नियन्त्रण टिममा मनोसामाजिक परामर्शदाता वा सम्बन्धित जनशक्ति समावेश गरेर समुदाय तहमा मनोवैज्ञानिक प्राथमिक सेवा दिन सकिन्छ।
दोस्रो, मनोवैज्ञानिक सहायता हटलाइन टिम बनाएर आवश्यक परेकालाई प्राथमिक तथा आपतकालीन मनोवैज्ञानिक सेवा दिँदै सम्बन्धित स्वास्थ्य संस्थाहरुमा रेफर गर्न सकिन्छ।
तेस्रो, अहिले विभिन्न तहमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य समस्याहरुप्रति अभिमुखीकारण गर्नु पनि आवश्यक छ।
-(डा शर्मा जनस्वास्थ्यविद् हुन्)