बबिता अधिकारी
कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको समयमा निजी जीवनलाई तिलाञ्जली दिएर विनास्वार्थ अहोरात्र सेवामा खटिरहनुभएका चिकित्सक एवं स्वास्थकर्मीहरुलाई सर्वप्रथम मेरो तर्फबाट नमन।
'छोरीलाई नर्सिङ पढाएर के गर्नु' भन्ने मेरा छिमेकीहरु, यस दुखद घडीमा नर्सलाई घरबाट निकाल्नु हुने घरबेटीहरु र संवेदनशील स्वास्थ्य क्षेत्रलाई कहिल्यै बुझ्न नसक्ने सरकारलाई सलाम।
आम नेपालीका लागि मात्र नभएर सिंगो विश्वका लागि प्रकृतिले यतिबेला चुनौतीपूर्ण अवस्था सिर्जना गरेको छ। अझ भनौं, स्वास्थ्यकर्मी र चिकित्सकको लागि त यो समय अत्यन्तै चुनौतीपूर्ण छ, अदृश्य रुपमा चक्कुको धारमा हिँड्नुजस्तै।
यस्तो विषम परिस्थितिमा पनि बिरामीको सेवामा रातदिन खटिइरहनुभएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हाँसेर प्रोत्साहन गर्न र सेवा गर्ने मौका दिन किन चुकिरहेका छौं हामी? काम गर्नेलाई हतोत्साही र गालीगलोज गर्दैमा राष्ट्रको उन्नति हुने र जनता बिरामी नै नपर्ने त होइन।
मानव सेवा गर्नेहरुलाई दण्ड किन? प्रोत्साहन र मिठो बोली दिन सकिँदैन? एउटा डाक्टरले समयमा खाना खान पाउनु त कता हो कता, जसोतसो समय निकालेर निस्कँदा पुलिसको डण्डा खानुपर्ने अनि सरुवा रोग विशेषज्ञले सरुवा रोगको महामारी नआओस् भनेर जनचेतना फैलाउँदा सजाय पाउने? कठै मेरो देश।
स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई सजाय दिएर हौसला बढाउन त परै जाओस्, अपराधलाई लुकाएर, झनै अपराधीलाई थप अपराध गर्न उक्साउँदै छन्, उच्च पदमा रहेकाहरु।
एकैछिन गम्भीर भएर सोचौं त, अप्रेसन गरेर भर्खर बाहिर निस्केको डाक्टर वा बिरामी हेर्दै गरेको डाक्टर विनागल्ती आफैं पक्राउ पर्न लागेको खबर सुन्दा कसरी काम गर्न सक्ला? अनि सोच्नुस् त, कुटाइ खाएको डाक्टर र गाली खाएको नर्सले गरेको उपचारबाट बिरामी कहिले निको भएर घर जाने?
तपाईंहरु जसरी आफ्ना बिरामीलाई डाक्टरले आफ्नै ठानेर उपचार गरोस्, औषधि दिइयोस्, राम्रो व्यवहार गरियोस् भन्ने अपेक्षा गर्नुहुन्छ, त्यस्तै स्वास्थ्यकर्मीका बाबाआमाहरु पनि बिहान ड्युटीमा हिँडेका छोराछोरी सकुसल घर फर्किउन्, बिरामी पक्षले दुव्र्यवहार नगरुन् भन्ने कामना गर्नुहुन्छ। हामी स्वास्थ्यकर्मीका बाबाआमाको इच्छा पूरा नगरिदिने?
याद गर्नुहोस् त, तपाईंहरुलाई आफ्ना छोराछोरी एकछिन घरको आँगनमा निस्किँदा मात्र कति तनाव हुन्छ? विचार गर्नुस् त, हामी अस्पतालमा छौं, जहाँ बिरामी मान्छे मात्र भर्ना भएर रहन्छन्। यस्तो अवस्थामा मेरी आमाको हालत घरमा कस्तो होला?
त्यसलै स्वास्थ्यकर्मीले तपाईंबाट ठूलो अपेक्षा केही गरेका छैनन्। बस्, प्रोत्साहन र हौसला दिए पुग्छ। सेवाको उचित सम्मान गर्दै विचार र परिवर्तन आपैmंंबाट सुरु गरे कसो होला?