डा सीताराम आचार्य
अहिले सारा विश्व कोभिड-१९ अर्थात् कोरोना भाइरसको महामारीले आक्रान्त छ। यो रोगको औषधि र सफल उपचार विधिबारे विभिन्न देशमा तीब्र गतिमा अनुसन्धानहरु भइरहेका छन्। यद्यपि हालसम्म खासै उल्लेखनीय सफलता प्राप्त भइसकेको छैन।
विभिन्न मुलुकमा रोग प्रतिरोधात्मक खोपको परीक्षण पनि सुरु भइसकेको छ, तथापि यी खोपहरु प्रभावकारी ठहरिए भने पनि आम मानिसको निम्ति प्रयोगमा आउन अझै कैयौं महिना लाग्न सक्छ। उपचारको बारेमा मात्र नभई रोग निदान अर्थात् डायग्नोसिसको प्रभावकारी विधिहरुको बारेमा समेत अनुसन्धानहरु भइनै रहेका छन्।
पछिल्लो पटक अहिलेको कोरोना महामारी र यसको निदानको निम्ति प्रयोग भइरहेका विधिहरुको प्रभावकारिताको बारेमा नेपालका युवा वैज्ञानिक एवं अनुसन्धानकर्ता डा बसन्त गिरी लगायतले सामाजिक सञ्जालहरुमा व्यक्त गरिरहनुभएको धारणा लगायत स्वास्थ्य क्षेत्रका विज्ञहरुले विभिन्न पत्रपत्रिकाहरुमा यस सम्बन्धमा व्यक्त गर्नुभएका विचारहरु पढिसकेपछि यसको बारेमा अलि बढी जिज्ञासा पैदा भयो।
हालैका दिनहरुमा कोरोना भाइरस सम्बन्धी केही नयाँ र केही पहिलेदेखि नै सुनिँदै आएका भ्रमपूर्ण धारणा र समाचारहरु सामाजिक सञ्जाल मार्फत ह्वारह्वार्ती बाहिर आए। अझ राज्यका केही जिम्मेवार मानिसहरुबाट समेत यस्तो भ्रमपूर्ण धारणाहरु बाहिर आइसकेपछि मलाई कोरोना भाइरस सम्बन्धी बाहिर आएका त्यस्ता भ्रमपूर्ण धारणाहरुको बारेमा स्पष्ट पार्न उचित लाग्यो।
सामाजिक सञ्जालमा मात्र नभई यस्ता भ्रामक तथ्य तथा सामग्रीहरु देश-विदेशका विभिन्न वेबसाइटमा पनि यत्रतत्र भेटिने गर्छन्। जस्तो कि, केही समयअघि विश्वकै नाम चलेको विश्वविद्यालयको वेबसाइटको हवाला दिँदै विभिन्न वेबसाइटहरुले कोरोना भाइरस सम्बन्धी भ्रामक तथ्यहरु प्रकाशित गरे। त्यसपछि सम्बन्धित विश्वविद्यालयले नै ती सामग्रीहरु आफ्नो वेबसाइटमा कहिल्यै नराखिएको र ती सामग्रीहरु भ्रामक रहेको कुरा सार्वजनिक गरेको थियो।
त्यसरी सो विश्वविद्यालयले स्पष्ट पारिसकेको यतिका दिन बितिसक्दा पनि नेपालको एउटा प्रतिष्ठित एयरलाइन्सले भने आजको मितिसम्म आफ्नो वेबसाइटमा राखेका ती सामग्रीहरु हटाएको छैन। त्यस्ता अप्रमाणित, काल्पनिक र भ्रामक कुराहरुको पछि लाग्नु हुँदैन। विज्ञान प्रमाणित र तथ्यसंगत कुराहरुमा मात्र विश्वास गर्छ, अप्रमाणित र काल्पनिक कुराहरुको विपक्षमा हुन्छ विज्ञान जहिले पनि।
तसर्थ, यो अवस्थामा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुको सल्लाह-सुझाव मान्दै उच्च सतर्कता अपनाउनु, विज्ञानले प्रमाणित गरेका कुराहरुमा मात्र विश्वास गर्नु र विभिन्न वैज्ञानिक खोजहरुबाट प्राप्त हुने सकारात्मक नतिजाको प्रतीक्षा गर्नुको विकल्प हामीसित छैन। जसरी यसभन्दा अघिका महामारी र सरुवा रोगहरुको समाधान विज्ञानले गरेको थियो, अहिलेको महामारीको समाधान पनि ढिलो-चाँडो विज्ञानले नै गर्नेछ।
महामारी अप्रत्यासित हुन सक्छ र जिवाणुहरुले पनि आफ्नो स्वरुप बदल्दै जान्छन् वा आफुलाई वातावरण अनुकुलित बनाउँदै जान्छन्। त्यसैले विज्ञानसँग कहिलेकाहीँ यस्ता अप्रत्यासित समस्याहरुको ुरेडिमेडु समाधान नहुन सक्छ र समाधानको लागि विज्ञानले बृहत खोज गर्नुपर्ने हुन सक्छ। तर यसैको आधारमा विज्ञान सिद्धियो, विज्ञान त केही होइन रहेछ, वैज्ञानिकहरु त कामै नलाग्ने रहेछन् भन्ने खालको अस्पष्टताबाट पनि हामी मुक्त हुन जरुरी छ।
अब कोरोना भाइरससँग सम्बन्धित केही हल्ला एवं अस्पष्टतासँग केन्द्रित भएर यसबारेमा संक्षिप्त चर्चा गरौं।
१. कोरोना भाइरस सजीव कि निर्जीव?
भाइरसलाई जीवित वस्तु मान्ने कि नमान्ने भन्नेमा वैज्ञानिकहरुमा मतक्यैता देखिँदैन। भाइरसले आफैं केही गर्न सक्दैन, अरु जीवित वस्तुको कोषको सहारामा मात्र भाइरस बच्न सक्छ। भाइरसले पनि आफैंमा आफ्नो जीवन प्रकृयाहरु पूरा गर्न सक्दैन। यसलाई आफ्नो जीवन प्रकृया सञ्चालन गर्नका लागि मान्छे जस्तै अर्को कुनै जीव अर्थात् होस्ट चाहिन्छ। आफू बच्न र फैलिन सहायक हुने न्युक्लेइक एसिड, प्रोटिन जस्ता रासायनिक पदार्थ बनाउने लगायतका बायोकेमिकल गतिविधिको लागि भाइरसले होस्टको कोष (सेल) मा निर्भर रहनुपर्ने हुन्छ। यसबाट भाइरस एउटा परजीवी हो भन्ने कुरा स्पस्ट हुन्छ। भाइरसले कुनै होस्ट प्राप्त गर्न सकेन भने छोटो समयमै यसको अस्तित्व समाप्त हुन्छ भन्ने कुरा पनि यसबाट प्रष्ट भयो।
भाइरसलाई झण्डै/झण्डै एउटा मकैको बिउसँग तुलना गर्न सकिन्छ। मकैको बिउ निर्जीव तबसम्म रहन्छ जबसम्म उसले अंकुराउनको लागि उचित वातावरण (माटो, पानी, तापक्रम, रासायनिक तत्वहरु आदि) प्राप्त गर्दैन। अंकुराइसकेपछि उक्त बिउ निर्जीवबाट सजीव अर्थात् बिरुवा बन्यो। अर्को शब्दमा भन्नुपर्दा बिउ निर्जीव भए तापनि त्यसमा जीवनको अन्तर्निहित गुण हुन्छ।
भाइरसले देखाउने व्यवहारहरु र यसका कतिपय गुणहरु निर्जीव भन्दा पनि जीवित वस्तुसँग मिल्दोजुल्दो हुन्छन्। यस मानेमा भाइरसलाई धुलो, धुवाँ, चुरोट, रक्सी आदिजस्तै रोग उत्पन्न गराउन सक्ने निर्जीव वस्तु मात्र ठानियो भने त्यो सही हुँदैन। समग्रमा भाइरस भनेको होस्ट प्राप्त नगर्दा आफ्नो जीवन प्रक्रिया सञ्चालन गर्न नसकेर केही घण्टादेखि केही दिनसम्मको छोटो समयमै नष्ट हुने तर होस्ट भेट्टाएको खण्डमा भने सोही होस्टको सहारामा आफ्नो जीवन प्रकृया सञ्चालन गर्दै आफ्नो जीवन लम्ब्याउने एक प्रकारको सूक्ष्म-जिवाणु हो भनेर बुझ्नु उपयुक्त हुन्छ। तर 'भाइरस निर्जीव तत्व हो, त्यसको बोसोयुक्त पदार्थ वा त्यस्तै अरु केहीले मात्र यो जीवित भएको हो' भनिहाल्नु चाहिँ कता-कता अमिल्दो हुन जान्छ र यसो भन्नु भनेको 'मान्छे निर्जीव तत्व हो, उसको मुटु वा गिदीले मात्र मान्छे जीवित भएको हो' भन्नु जस्तै हो।
२. कोरोना भाइरसमा तापक्रमको असर
हामी के कुरामा स्पष्ट हुनुपर्छ भने तातोपानीले नुहाए पनि, चिसो पानीले नुहाए पनि हाम्रो शरीरको तापक्रम परिवर्तन हुने होइन, उक्त तापक्रम स्थिर नै रहन्छ। यसले शरीर भित्रको भाइरसलाई कुनै असर गर्दैन र अर्कोतर्फ, संक्रमण हुने खतरालाई पनि कम गर्दैन। यसैगरी तातो घामले पनि शरीरको तापक्रममा कुनै परिवर्तन नल्याउने हुँदा तातो घामले शरीर भित्रको भाइरस मार्दैन र संक्रमण हुने खतरालाई पनि कम गर्दैन। यदि भाइरस शरीरको बाहिरी भागमै रहेको भए पनि कति डिग्री सेल्सियसको तापक्रममा वा कति आर्द्रतामा सो भाइरस मर्छ भन्ने कुरा हालसम्म प्रमाणित नभएको, अनि धेरै तातो र धेरै चिसो ठाउँहरुमा समेत उल्लेख्य संख्यामा उक्त भाइरसको संक्रमण देखिएको हुनाले तातो पानीले हातरमुख धुँदा वा तातो घाम र चिसो हिउँमा बस्दैमा भाइरस मर्ने र भाइरसको संक्रमण नहुने होइन।
अतः ुतातो पानीले नुहाउँदा वा हात-मुख धुँदा भाइरस संक्रमण हुने खतरा कम हुन्छ वा भाइरस मर्छु भन्ने कुरा सत्य होइन। तातो पानीले शरीर बाहिरको भाइरस त मर्दैन भनेर यसरी भनिरहँदा तातो पानी पिएपछि शरीर भित्रको भाइरस मरिहाल्छ भन्ने सोचाइ यथार्थबाट टाढा छ भन्ने कुरा स्वतः प्रष्ट हुन्छ। यद्यपि प्रशस्तै पानी पिउनु तथा झोलिलो पदार्थहरु सेवन गर्नु चाहिँ हाम्रो शरीरको लागि फाइदाजनक नै हुन्छ।
यसबाट हामीले के कुरा बुझ्न जरुरी छ भने अपरिहार्य वस्तु भनेको साबुन हो, तातोपानी होइन। साबुन लगाएर मिचीमिची हात धुने हो भने चिसो पानी प्रयोग गरे पनि हुन्छ। हात धुँदा साबुन प्रयोग नगर्ने हो भने तातोपानी मात्र प्रयोग गर्नुको कुनै औचित्य छैन। साबुन पानी र भाइरसको बोसोयुक्त बाहिरी पत्रको रासायनिक अन्तक्र्रिया एवं ह्याण्ड स्यानिटाइजरको अल्कोहलले भाइरसमाथि पार्ने रासायनिक असर बारेमा मैले यसअघिको लेखमा चर्चा गरिसकेको छु।
३. अन्य अस्पष्टताहरू
माथि उल्लेखित अस्पष्टताहरूबाहेक कोरोना भाइरससँग सम्बन्धित अन्य केही अस्पष्टताहरू पनि देखिने-सुनिने गर्छन्। जस्तो कि ुह्याण्ड स्यानिटाइजरमा रहेको अल्कोहलले भाइरस मार्छ भने रक्सीको सेवनले पनि भाइरस मर्नुपर्ने होु जस्ता कुराहरु पनि नसुनिएका होइनन्, जुन पटक्कै तथ्यसंगत छैनन्। मदिरामा प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो। हातमा रहेको भाइरस मार्न ह्याण्ड स्यानिटाइजरमा कम्तीमा ६० प्रतिशत इथाइल अल्कोहल हुनुपर्छ। यसको मतलब १०० मिलिलिटरको घोलमा कम्तीमा ६० मिलिलिटर इथाइल अल्कोहल हुनुपर्छ र बाँकी (अर्थात्, बढीमा ४० मिलिलिटर) पानी र अन्य रासायनिक पदार्थहरु हुनुपर्छ भन्ने हो। तर सो मात्राको अल्कोहल पनि हातमा रहेको भाइरस मार्न मात्र सहायक हुन्छ, शरीरभित्र पसिसकेको भाइरस मार्न होइन।
तर्कको लागि तर्क नै गर्ने हो भने पनि एक त अल्कोहलको मात्रा त्यति धेरै भएको रक्सीहरु धेरै कम हुन्छन् भने अर्कोतर्फ त्यति बढी मात्राको अल्कोहलयुक्त रक्सीहरु पानी नहाली पिउँदा ज्यानै जाने खतरा रहन्छ। पानी हालेर पिउँदा पनि अल्कोहलको मात्रा कम हुन जाने भएकोले त्यसले झन् काम गर्ने कुरै आएन। यसर्थ कति मात्राको इथाइल अल्कोहलले शरीरभित्र कैयौंको संख्यामा रहेका सकृय भाइरसहरु मार्छन् भन्ने प्रश्न नै अर्थहीन छ र यस्तो अर्थहीन विषयमा कसैले पनि आजसम्म अनुसन्धान गरेको छैन।
यिनै कारणहरुले गर्दा रक्सी पिउँदा कोरोना भाइरस मर्छ भन्ने कुरा किमार्थ सही होइन। बरु यसको ठिक उल्टो धेरै मात्रामा वा बारम्बार मदिरा सेवन गर्ने व्यक्तिको शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र केही गरी उक्त व्यक्ति संक्रमित भयो भने उसको रोग निको हुन गाह्रो पर्न सक्छ भनेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत चेतावनी दिएको छ।
त्यसैगरी मुख कुल्ला गर्नको लागि प्रयोग गरिने विभिन्न प्रकारका अल्कोहलयुक्त ुमाउथ वासु हरु पनि कोरोना भाइरस मार्न सहायक हुन्छन् भन्ने कुरा पनि सोह्रै आना गलत होस यस्ता माउथ वासहरुमा शरीरको बाह्य भागमा स्थित कोरोना भाइरसलाई मार्न आवश्यक हुने मात्रा भन्दा पनि धेरै कम मात्राको अल्कोहल हुन्छ। यस्ता माउथ वासहरुको अल्कोहल पिउन अयोग्य बनाउन हाइड्रोजन पेरोक्साइड, मिथाइल सलिसइलेट, थाइमोल जस्ता पदार्थहरु यसमा मिसाइएको हुन्छ।
भाइरस संक्रमणलाई रोक्न चिसो कुरा खानै नहुने, घरपालुवा जनावरको मासु पनि खानै नहुने भन्ने भनाइहरु पनि यथार्थपरक छैनन्। अर्कोतर्फ, ुकोरोना भाइरस सबैभन्दा बढी मुख, त्यसपछि आँखा, अनि त्यसपछि मात्र नाकबाट शरीरभित्र छिर्छ अर्थात् नाक भन्दा बढी आँखाबाट शरीरभित्र पस्ने बढी सम्भावना हुन्छ, त्यसैले चश्मा लगाउनु पर्छु भन्ने भनाइ पनि तथ्यपरक छैन। यो भनाइ कतैबाट पनि प्रमाणित भएको कुरा होइन। बरु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुले (शरीरभित्र छिर्ने मुख्य माध्यम मुख र नाक नै हो तर आँखा बाट पनि छिर्ने सम्भावना हुन्छु भनेर भन्दै आएका छन्।
अन्त्यमा, कोही पनि व्यक्ति सबै कुराको ज्ञाता हुन्छ भन्ने छैन। त्यसैले आफूलाई थाहा नभएको कुराहरु स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरु, सो क्षेत्रसँग सम्बन्धित राज्यका आधिकारिक निकायहरु तथा उक्त क्षेत्रसँग सम्बन्धित आधिकारिक वेबसाइटमार्फत जानकारी लिने र उक्त जानकारी अरुसँग बाँड्ने गरेको खण्डमा आफू र आफ्नो परिवारको लागि मात्र नभएर समाजकै लागि समेत हितकर हुन्छ।
(लेखक रसायनशास्त्र प्राध्यापन गर्छन्)