रञ्जन साह
डिसेम्बर–२०१९ मा चीनको हुवेई प्रान्तको वुहान सहरबाट उत्पत्ति भएको कोभिड–१९ को कहर हाल विश्वमै मच्चिरहेको तथ्य सर्वविदितै छ। कोभिड–१९ ले विश्वमा ताण्डव मात्रै देखाएको छैन, विश्व बजारको अर्थतन्त्र पनि ध्वस्त पार्नसक्ने कुरामा कसैको फरक मत नहोला।
कुनै खोप तथा औषधि विकास भइनसकेको परिप्रेक्ष्यमा सम्पूर्ण मानवजातिको अस्तित्वलाई नै पृथ्वीबाट सखाप पार्न सक्ने एकलौटी निरंकुश शासन गरिरहेको अदृश्य शक्ति कोभिड–१९ ले लाखौंलाख प्रभावित भइसकेका छन्। लाखौँ मानिसहरु बेरोजगार बन्नुका साथै दैनिक ज्याला मजदुरी गरी आफ्नो जीविकोपार्जन गर्नेहरु समेत आफ्नो दैनिक क्रियाकलापबाट वञ्चित भएका छन्। लाखौँ व्यवसायीहरु अलपत्र परेका छन्, ऋणमा चुर्लुम्म डुब्न बाध्य भएका छन्।
बलियो अर्थतन्त्र, फौलादी स्वास्थ्य सेवा प्रणाली, आधुनिक तथा भौतिक एंव आणविक हातहतियार समेत निरीह बनिरहेको अवस्थामा कोभिड–१९ ले अबको संसारमा मानिसहरुमा भएको मानवता, व्यवहार र अभ्यासलाई समेत परिवर्तन गर्न बाध्य बनाउने छ भन्ने तथ्यको कुनै विकल्प छैन।
इतिहास बोल्छ, नेपालमा जब–जब संकट आइलागेको छ, तब–तब सम्पूर्ण नेपाली एकजुट भएका छन्। एकले अर्कालाई भाइचाराको सद्भाव दर्शाएका छन्। महाप्रकोप भूकम्प–२०७२, अघोषित नाकाबन्दी, राजनीतिक आन्दोलन, अन्तर्देशीय टसन जस्ता समस्याले देशमा जसो–जसो यातायात व्यवस्था अवरुद्घ भएको छ। तसो–तसो एक नेपालीले अर्को नेपालीलाई आफ्नो निजी साधनमा लिफ्ट दिई गन्तव्य स्थलसम्म पुर्याएको इतिहास पनि हाम्रो मानसपटमा ताजा नै छ।
तर, अब उप्रान्तको समयमा बटुवा चाहे जुनै हदसम्मको समस्यामा किन नहोस्, आफ्नो मन चाहे भित्रैबाट कटक्क किन नदुखोस्, परिस्थितिले त्यस प्रकारको सहयोग गर्नुुअघि आफू, आफ्नो परिवार र छरछिमेकमा पर्न सक्ने खतराबारे एक पटक सोच्न बाध्य बनाएको छ।
कति जाति हुने थियो, यदि कोभिडले नाता, सम्बन्ध, धनी, गरिब, उच–निच, राजा–रंक चिनिदिने भए। हरेक दुःख, हरेक सुख, चाडपर्व, कार्यक्रम, सभा, सम्मेलनहरुको यात्रा सपरिवार, छरछिमेक सम्पूर्ण जनताहरुसँगै एकजुट भई गरेको अस्ति मात्रै हो। तर विडम्बना आज जनता आफ्नै देशमा आउन नमिल्ने, गाउँले आफ्नै गाउँमा पस्न नमिल्ने, परिवारका एक सदस्य आफ्नै परिवार सँगै बस्न नमिल्ने बाध्यता छ।
एक अन्जान व्यक्ति अर्को व्यक्तिसँग नजिक हुँदा त्रसित हुनुपर्ने अवस्थाको सिर्जना भएको छ। अतिथि देवो भवः भन्ने विचारधारालाई आत्मसात गर्ने नेपालीहरु अहिले कहीँ कतै पाहुना लाग्न जानु भनेको एक आतंककारी सरह भएको छ। भीडभाड, मानिसको जमात देख्दा बाटो मोड्नु परेको छ। मनमा अनौठो किसिमको स्वार्थले भरिएको डर पैदा हुने गरेको छ। आफ्नै घरपरिवारका सदस्यहरु समेत केही समयको अन्तरालपछि भेट्न मनले नमाने पनि वास्तविकतामा भेट्न यात १४ दिनको वनबास काट्नुपर्ने या परिवारकै स्वास्थ्यलाई लिएर जोखिम मोल्नु परिरहेको छ।
मिठो, मसिनो, साग र सिस्नु खाँदै घरैमा बसी पब–जी खेल्नेहरु, टिकटक बनाई बस्नेहरु आजको परिस्थितिमा आदर्शका पात्र बनेका छन् भन्दा कुनै बिमति नहोला। आफ्नै हातले आफ्नै आँखा, मुख, कान छुन खोज्दा हातमा काँडा उम्रिएझंै बिझाउला भन्ने डर बसेको छ। हातहरु निकम्मा, अछुतो, शुद्घ र पवित्र बनाइएका छन्। साबुन र स्यानिटाइजरको बारम्बार प्रयोगले आफ्नै अनुहार हेर्न मिल्ने गरी हातहरुलाई ऐना सरी टिलिक्क टल्काइएको छ। सुःख, दुःखमा सहानुभुतिको लागि निस्किने शब्दहरु आज कतै ज्वरो आएको त छैन? रुघाखोकी लागेको त छैन? भन्ने स्वार्थ मिश्रित सोधाइमा परिणत भएका छन्।
सामान्यतया छिँक्नु, खोक्नु वा मास्क लगाउनु त मानौं कुनै ठूला सभा–सम्मेलनलाई एक क्षणमैै तितरबितर पार्न सक्ने शक्तिशाली आणविक हतियार बनेको छ। फलानो भनी सम्झिँदा पनि मन्द मुस्कान सहितको चट्ट मिलेको अनुहारको आकार अगाडि आउने मानसपटमा आजभोलि मास्क सहितको तस्बिर अगाडि आउन थालेको छ।
मास्क स्वयंले आफू मानव सभ्यता र रक्षाको परिचय झल्काउने मानव शरीरको एक अभिन्न अंग हुनुको दावा गरिरहेको छ। मानिसहरु चाहेर पनि आफूखुसी बाँच्न, कसैको सहयोग गर्न, बाहिर हिँडडुल गर्न नमिल्ने अवस्थाको सिर्जना भएको छ।
कुनै पनि नकारात्मक अवस्थाबाट सजग त रहनैपर्ने कुरा हो तर लसुनको सेवन गर्नाले, तातो पानी वा अल्कोहल सेवन गर्नाले, तातो पानीमा नुहाउनाले, घाममा वा उच्च तापक्रममा बस्नाले, गर्मी मौसम आउनाले, श्वासप्रश्वास रोक्न सक्नाले यस कोभिड–१९ रोगबाट बच्न सकिने तथा यो रोगको सिकार मात्र वृद्घ र बालबालिका हुने जस्ता मनगढन्ते कुराहरुले पनि दैनिक जीवनयापनमा स्थान पाउन थालेका छन्। “ज्वरो छ, रुघा खोकी छ, भनौं कोठाबाट निकालिने डर, नभनौं आफ्नै ज्यान खतरामा” जस्ता बाध्यात्मक र प्रतिकूल परिस्थिति समेत निम्तिएको छ।
कोभिड–१९ को परिवेशमा सामान्य भन्ने शब्दलाई परिभाषित गर्न कठिन छ। अबको सामान्य अवस्था, सामान्य जनजीवन कस्तो हुनेछ भन्ने विषय आफैंमा गम्भीर छ। ‘कहिलेलाई’ र ‘कस्तोलाई’ कोभिड–१९ उप्रान्त सामान्य अवस्था भनेर बुझ्ने?
स्वास्थ्य र शिक्षा सेवाको प्रवाह अवस्था सापेक्ष परिवर्तन हुन थालेका छन्। सम्पूर्ण किसिमका सेवासुविधाहरु डिजिटलाइज्ड हुन थालेका छन्। सार्वजनिक यात्रु, यात्रा र साधनको विकल्प के हुने? बढी भीडभाड हुने कार्यलयहरुमा काम र कर्मचारीको व्यवस्थापन कसरी हुने? राष्ट्यि तथा अन्तर्राष्ट्रिय हवाई तथा स्थल मार्गबाट हुने आवगमनको व्यवस्थापन कसरी हुने? जस्ता अत्यन्तै सान्दर्भिक प्रश्नहरुले समाजलाई कोभिड–१९ को थप क्षति र त्रासबाट जोगाउनमा सार्थक भूमिका निर्वाह गर्नेछन्।
तर, परिस्थिति जतिसुकै विषम किन नहोस्, संकटको यस घडीमा सामाजिक दूरी कायम गरिनेछ, पिपिईको प्रयोग गरिनेछ, बारम्बार हात धोइनेछ, सीमित र अत्यावश्यक आवागमन मात्र गरिनेछ, सेल्फ आइसोलेसन तथा होम क्वारेन्टाइनलाई नै हालको लागि औषधि र खोप बनाई कोभिड–१९ लाई पराजित गरिनेछ।
-(साह नेपाल नेत्र ज्योति संघमा कार्यरत छन्)