डा निर्मल अर्याल
गत बिहीबार मेरी आमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जाँचको लागि जानुभएको थियो। फर्केपछि उहाँले भन्नुभयो, ‘कोरोना भाइरस मार्न भन्दै गेटमा बसेको कर्मचारीले स्प्रे छर्किदियो। जाँचपछि फेरि स्प्रे छर्कन लगाएर निस्केें।’
मलाई खुल्दुली भयो। चितवनमै रहेका पत्रकार साथीहरुसँग कुरा गर्दा थाहा भयो– नवनिर्मित भरतपुर कोरोना अस्पताल, भरतपुर अस्पताल, केही निजी अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायत सार्वजनिक स्थानहरुमा ‘स्यानिटाइजिङ टनेल’ निर्माण गरी मान्छे भिज्ने गरी सोडियम हाइपोक्लोराइट (ब्लिच) छर्कंने गरिएको रहेछ। अहिले त यो देशैभरि फैलिइसकेको अवस्था छ।
कोरोना भाइरस (कोभिड–१९) सँग बच्न सतर्कता अपनाउनु राम्रो हो। तर राम्ररी नबुझी मान्छे भिज्ने गरी केमिकल छर्किंदा फाइदा होइन, शारीरिक रुपमा हानि र आर्थिक क्षति भइरहेको छ।
पहिलो कुरा त यस्ता केमिकल स्प्रे (इथानोल, सोडियम हाइपोक्लोराइट जस्ता भाइरुसिड) मानव शरीरमाथि प्रयोग गर्न बनेका होइनन्। प्रायः कृषि, भेटिरिनरी, अस्पताल लगायतका भाइरसको संक्रमण हुनसक्ने ठाउँका कडा सतहहरुमा र घरेलु प्रयोगको हकमा ट्वाइलेट, बाथरुम सफा गर्न यी केमिकलको प्रयोग हुनेगर्छ। ती ठाउँहरुमा प्रयोग गर्न पनि होसियारीपूर्वक दिइएको निर्देशन पालना गरेर गर्नुपर्छ।
कोरोना भाइरसको नयाँ संस्करण कोभिड–१९ बारेमा यी र यी जस्ता अफवाहलाई रोक्न विश्व स्वास्थ्य संगठनले ‘मिथ्स बस्टर्स’ वेबसाइट नै सञ्चालन गरेको छ, जसले प्रष्ट रुपमा अल्कोहल, क्लोरिनजस्ता केमिकलहरुले शरीरभित्र रहेको कोरोना भाइरस नमार्ने, बाहिरी लुगामा हुने भाइरस मार्ने प्रमाण पनि नभएको र उल्टै शरीरको अंगहरुमा हानि गर्ने हुँदा यिनीहरुको प्रयोग नगर्न चेतावनी दिएको छ। यसको प्रयोगले आँखा, मुख, घाँटी र फोक्सोमा असर गर्नुको साथै छालाका रोगहरु निम्त्याउन सक्छ।
विश्व स्वास्थ्य संगठनको चेतावनीका बाबजुद पनि सन् २०१४–२०१६ मा इबोला महामारीको क्रममा दक्षिण अफ्रिकामा पनि यस्तै क्लोरिन स्प्रे गरिएको रहेछ। त्यसको असरबारे ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्स एन्ड इन्फेक्सन कन्ट्रोल’ जर्नलमा प्रकाशित एउटा वैज्ञानिक लेखमा एक पटक क्लोरिन स्प्रे गरिएको स्वास्थ्यकर्मीहरुको तुलनामा पटकपटक क्लोरिन स्प्रे गरिएको स्वास्थ्यकर्मीहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या ३० गुणाले बढी, आँखाको समस्या २५ गुणाले बढी र छालाको समस्या २० गुणाले बढी पाइएको देखाएको छ। यस अध्ययनले भविष्यमा मान्छेमाथि क्लोरिन स्प्रेलाई प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ। ‘डेलिबेरेट एक्सपोजर अफ ह्युमन्स टु क्लोरिन– द आफटर म्याथ अफ इबोलाइन वेस्ट अफ्रिका’ शीर्षकको यो वैज्ञानिक लेख गुगल सर्च गरेर सहजै पढ्न सकिन्छ।
‘स्यानिटाइजिङ टनेल’मा स्प्रे गरेपछि कोरोनामुक्त भइने गलत विश्वासका कारण नियमित हात नधुने, सामाजिक दूरी कायम नगर्ने खतरा पनि बढ्न सक्छ। पटकपटक यस्ता केमिकलहरुको स्प्रे लिएमा जतिसुकै कम घनत्व भए पनि यसले शरीरलाई असर गर्छ। कोभिड–१९ को संक्रमण देखिएपछि सुरुमा चीनमा निजी क्षेत्रका उद्योगहरुले यस्तो प्रयोग गरेका थिए। त्यस्तै भारतका विभिन्न राज्यहरुमा पनि यसको प्रयोग गरिएकोमा अहिले रोक लगाइसकिएको अवस्था छ।
भारतको प्रतिष्ठित पत्रिका डेकन हेराल्डको अप्रिल १९ मा प्रकाशित समाचार अनुसार त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले स्यानिटाइजिङ टनेलमा गरिने केमिकल स्प्रेले मानिसलाई शारीरिक र मानसिक रुपमा असर गर्ने हुनाले तुरुन्त यसको प्रयोग नगर्न चेतावनी दिएको छ। भारतको तामिलनाडु, पंजाव, महाराष्ट्र, उत्तराखण्ड लगायतका राज्यहरुले त्यसअघि नै यसको प्रयोगमा प्रतिबन्ध लगाएका थिए।
भारतको प्रतिष्ठित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) ले पनि सुरुमा यसको प्रयोग गरेको रहेछ तर प्रयोगकर्ताहरुमा छालाको एलर्जी र छाला चिलाउने लगायतका समस्याहरु देखिएपछि प्रयोग बन्द गरिसकेको छ।
पाकिस्तानस्थित डो युनिभर्सिटी अफ हेल्थ साइन्सकी संक्रामक रोग विशेषज्ञ डा शोभालक्ष्मीले डन पत्रिकामा स्यानिटाइजिङ टनेल ‘विषालु धराप’ भएको र यो ‘जनतामाथिको भद्दा मजाक’ भएको टिप्पणी गरेकी छिन्।
यता अफ्रिकी राष्ट्र मोरक्कोले स्यानिटाइजिङ टनेलको बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाउँदै कडा कारबाही गर्ने चेतावनी दिएको छ। विकसित देशहरु कहीं पनि मान्छेमाथि केमिकल स्प्रे गरिएको छैन। यदि यस्तो प्रयोगले कोभिड–१९ को संक्रमण कम हुने भए अमेरिका, युरोप, बेलायतजस्ता सबैभन्दा प्रभावित देशहरुमा प्रयोग हुने थियो।
अहिलेसम्मको वैज्ञानिक प्रमाणहरुको आधारमा कोभिड–१९ विरुद्धको लडाईंमा सामाजिक दूरी कायम गर्ने र साबुनपानीले नियमित हातधुने नै सबैभन्दा प्रभावकारी उपाय हो। यस्तो महामारीको बेलामा आमजनता र नीतिनिर्माता तहमा समेत गलत सन्देशहरु जन सक्छन्। कोभिड–१९ को कारण विश्वमै आर्थिक मन्दी आएको बेलामा नेपालजस्ता गरिब राष्ट्रहरुले स्रोत–साधनको सही र वैज्ञानिक ढंगले प्रयोग गर्नु अति आवश्यक छ। नेपालका सञ्चार माध्यमहरुमा उल्लेख भएअनुसार यस्ता ‘स्यानिटाइजिङ टनेल’को मूल्य १ लाख ६० हजार रुपैयाँको हाराहारी हुन आउँछ।
महामारीको बेलामा जनतामाझ गलत जानकारीहरु प्रवाह हुनसक्छ। तर स्वास्थ्य विज्ञहरुले यस्ता गलत अभ्यासको विरुद्ध तत्काल आवाज उठाउनुपर्छ। ‘स्यानिटाइजिङ टनेल’ को प्रयोगको हकमा त जनताले विश्वास गर्ने स्वास्थ्यकर्मीहरुले नै यसको प्रयोग गर्न थालेपछि र सरकारी अस्पतालहरुमा नै यसको प्रयोग हुन थालेपछि त जनताले पत्याउने नै भए।
स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल आदि निकायहरुले उपलब्ध वैज्ञानिक प्रमाणहरुको लेखाजोखा गर्नुका साथै विज्ञहरुको सल्लाह लिई र यस्ता विषयहरुमा निर्देशिका जारी गर्न ढिलो गर्नुहुँदैन। चिकित्साको क्षेत्रमा भनिने–गरिने ‘प्रमाणमा आधारित अभ्यास’ को पालनामा हामी अझै सचेत हुन आवश्यक भएको ‘स्यानिटाइजिङ टनेल’ को उदाहरणले देखाएको छ।
(लेखक बेलायतको बोर्नमाउथ युनिभर्सिटीमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न छन्)