डा मिरा लामिछाने
संसारभर कोरोनाको महामारी फैलिरहदाँ म भने पुनर्जन्मको अनुभूति गर्दैछु। तीन हप्ताको लकडाउनले महसुस गरायो– हाम्रा आमाहरूको जीवन त सधैं लकडाउनमै रहेछ। आमाबुबाको अगाडि 'हजुर' थपियो र म पनि बुबा बनें। हजुरबुबाले जागिरबाट अवकाश पाउनुभयो तर हजुरआमाको जागिरे जीवन निरन्तर छ।
घरकी नयाँ आमा अर्थात् मेरी जीवनसाथी खुशी हरदिन आफ्नो कर्तव्यमा तल्लिन छिन्। बुबा अवकाशपश्चात् बगैँचा, पुस्तक र नातिसँग बालापनमा रमाउँदै हुनुहुन्छ भने आमा अझै पनि घरधन्दा, बुबा, म र मेरो छोरा (भविष्य) को जीवन सजिलो बनाउन तल्लिन हुनुहुन्छ।
हरेक दिन लामो र पट्यारिलो लाग्दै छ, इन्टरनेट चलाउन पनि पुगिसक्यो, के गरौं, कसो गरौं हुँदैगर्दा मेरी खुशी भने अझै व्यस्तै छिन्। बिहान झिसमिसेदेखि रात झमक्क नपरुन्जेल एउटी आमा, श्रीमती र बुहारीको भूमिकामा तल्लिन देखिन्छिन्।
अचानक मानसपटलमा एउटा प्रश्न उठ्यो, 'यो लकडाउनको समयमा म र मेरी श्रीमतीबीच यति धेरै भिन्नता किन?' मनमनै उनको दिनचर्या सम्झें अनि सामान्य दिनमा आफूसँगै विद्यालयमा पढाएर घरको सबै काम भ्याउने श्रीमती देखेर खुशी र दुःख दुवै लाग्यो। हरेक बिहान खुशीको हातको तातो चियासँगै सुरु हुने आफ्नो दिनचर्या, पत्रिका पढ्ने, छोरोसँग खेल्ने र अफिसको कामसँगै अन्त्य हुने सम्झें। मनको एउटा कुनामा चसक्क घोच्यो, आफ्नै श्रीमती देखेर दया लाग्यो अनि अठोट गरें, म आफ्नो खुशीलाई हरेक पाइलामा साथ दिनेछु र नाम मात्र हैन, यथार्थमा खुशी राख्नेछु। यसको सुरुवात म भोलिबाट नै (मातातिर्थ औंसी) गर्नेछु।
बिहान चाँडै उठेर चिया बनाए अनि आमालाई दिँदै आमाको स्वास्थ्य र दीर्घायुको कामना गरें। आमा आँखा मिच्दै हासिरहनु भयो, कतै सपना पो हो कि भनेर। हतारहतार अर्को कप चिया दिँदै खुशीलाई भनें 'ह्याप्पी मदर्स ड' मेरो छोराकी आमा, बूढी मुसुक्क हाँसी! चोकबाट फलफूल ल्याएर सुटुक्क कोठामा लुकाए अनि छोरा उठेपछि आमालाई दिएँ र भविष्यलाई पनि त्यसै गर्न सिकाएँ। दिनभर घरको सानातिना काम सघाउँदै आमासँग आफ्नो बाल्यकालको तस्बिर हेर्दै बसें।
साँझ खानापछि आमाको खुट्टामा तेल लगाइदिएँ। मैले पछ्याउँदै हिँडेका ती कोमल पाइला सुख्खा, चिरिएका र चाउरिएका पाएँ। यसो अनुहार हेरें, अनुहार कहिले चाउरिएछ यादै रहेन। छोरो ढोकामा बसेर त्यो दृश्य हेरिरहेको थियो। आमासँग एकैछिन भलाकुसारी गरी म आफ्नो कोठामा गएँ। भविष्य पनि खुशीको पैताला सुम्सुम्याउँदै रहेछ। आज पहिलो पटक मैले आफ्नी श्रीमतीमा आमाको प्रतिविम्ब देखेँ। ऊ निकै खुशी थिई यति त ऊ मैले जन्मदिनमा हीराको औँठी दिँदा पनि भएकी थिइनँ।
फेसबुक खोलें, हरेकका भित्तामा आमाको फोटो झुण्डिरहेको देखें तर वर्ष फेसबुकमा हैन, मेरो मन मस्तिष्कमा मेरी आमाको ममता सदाको लागि अपलोड गरें। प्रण गर्छु, आजैबाट मेरी आमा र मेरो छोराकी आमालाई हरेक पाइलामा साथ दिनेछु। मेरो घैंटोमा घाम लाग्न कोरोना आउन पर्योो तर मेरो छोरा लगायत नयाँ पिँढीलाई आफ्नो कर्तव्यबोध हुन नयाँ कोरोनाको प्रतीक्षा गर्न नपरोस्। लकडाउन हुन नपरोस्।