उन्नयन बास्कोटा
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण संसारका अधिकांश देश लकडाउनमा छन्। लकडाउनको उद्देश्य भाइरसलाई अत्यधिक रुपमा फैलिन नदिनु हो, ताकि स्वास्थ्य सेवा केन्द्रहरुले आवश्यक सेवा सहज रुपमा पुर्यानउन सकून्।
लकडाउनले भाइरस सर्न त कम गर्ला तर यो नै अन्तिम निराकरण चाहिँ होइन। यो भाइरसबाट उन्मुक्ति पाउन उपयुक्त उपचारको आवश्यकता पर्छ र त्यसको औषधि र खोप पत्ता लगाउन निकै समय लाग्न सक्छ। त्यति लामो समयसम्मका लागि लकडाउन गरिराख्न पनि सम्भव हुँदैन। त्यसैले यस समयमा अन्य उपायहरुको खोजी गर्नुपर्छ ताकि सामान्य जीवनशैलीमा छिटोभन्दा छिटो फर्किन सकियोस्।
जब लकडाउन सकिन्छ, हामी सबैले आफ्नो जीवन गुजारा गर्न आईपर्ने काम गर्दै जानुपर्ने हुन्छ। र, यसो गर्दा चहलपहल गर्नेपर्छ। जबसम्म सबै मानिस यो भाइरसबाट मुक्त हुँदैनन्, तबसम्म संक्रमण हुने सम्भावना रहिरहन्छ। यसको खोप वा औषधि बनाइहाले पनि हाम्रो जस्तो देशमा उपलब्ध हुन धेरै समय पर्खिनुपर्ने हुन्छ। त्यसैले खोप वा औषधि पर्खिनुभन्दा लकडाउनको समयलाई सदुपयोग गरेर जनमानसको रोगसँग लड्ने क्षमता बढाउनु उपयुक्त देखिन्छ। जसले गर्दा भाइरस विरुद्ध सामूहिक रोगप्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) विकास होस्।
सामूहिक रोग प्रतिरोधात्मक क्षमता भनेको के हो?
पहिले भाइरस संक्रमित भइसकेको वा खोप लगाएको कारणले जब कम्तीमा ६०-७० प्रतिशत जनसंख्या रोग प्रतिरोधक हुन्छ, त्यस अवस्थालाई सामूहिक रोगप्रतिरोधात्मक क्षमता विकास भएको मानिन्छ। सामूहिक रोग प्रतिरोधात्मक क्षमता बढाउने दुई वटा विकल्प देखिन्छन्, एउटा कोरोना भाइरस विरुद्ध खोप लगाएर र अर्को भाइरस संक्रमण हुन दिएर। अहिलेसम्म यो भाइरसविरुद्ध खोप बनिसकेको छैन र बन्न १ वर्ष वा त्योभन्दा बढी समय पनि लाग्न सक्छ।
त्यसैले संक्रमित हुन दिएर सामूहिक रोग प्रतिरोधात्मक क्षमता प्राप्त गर्ने उपाय मात्र देखिन्छ। यसो गर्नाले डार्विनको 'सर्भाइभल अफ द फिटेस्ट' सिद्धान्तको पालना हुन जान्छ। अर्थात् त्यस सन्दर्भमा जसको रोग प्रतिरोधात्मक शक्ति बलियो छ, उसमा संक्रमण भए पनि समस्या आउँदैन र जसको कमजोर छ, उसलाई रोगले च्याप्छ र मृत्यु पनि गराउन सक्छ।
तर, संक्रमित हुन दिएर सामूहिक रोग प्रतिरोधात्मक क्षमता प्राप्त गर्ने उपाय उत्कृष्ट नहुन सक्छ, किनकि हामीकहाँ थुप्रै बुढापाका र रोगी पनि छन्। तर यिनीहरुमा पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने हो भने भाइरसबाट गम्भीर असर पर्ने व्यक्तिको संख्या घटाउन सकिन्छ। तसर्थ सरकारले नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउनतर्फ ध्यान दिनु नै अहिलेको उत्तम उपाय हुनसक्छ।