जिवेशजंग कोइराला र द्रोणविक्रम पन्थी
केही समययता स्वास्थ्यखबरमा स्वास्थ्यको महत्वपूर्ण विधा मानिएको बायोमेडिकल सम्बन्धमा विभिन्न विचार आइरहेका छन्। खासगरी केही हप्ता अगाडि स्वास्थ्यमा कलम चलाउँदै आएका दीपक महतले लेखेको ‘कोरोना संक्रमणलाई थेग्लान् नेपालका मेडिकल उपकरणले?’ शीर्षकको लेखले धेरैको नजर नपुगेको यस विषयवस्तुमा अधिकांशको ध्यान जोडियो। वास्तवमा अहिले नेपालमा धिमा गतिमा बढेको कोरोना संक्रमणको दर र संक्रमितहरुको सामान्य स्वास्थ्य स्थितिले गर्दा नै कोरोना संक्रमणलाई नेपालका उपकरणले थेगेका हुन् भनेर भन्न सकिन्छ।
मौलिक हकको रुपमा स्वास्थ्यको विषयवस्तु हाम्रो संविधानमा लेखियो। स्वास्थ्य बिमा लगायत केही हदसम्म विभिन्न किसिमले नेपाली जनतालाई यसबाट लाभान्वित बनाउन खोजे पनि यो निकै मधुर गतिमा छ। यसको कार्य युद्धस्तरमा हुनै सकेको छैन। अर्कोतर्फ कोभिड–१९ को महासंकटमा फसेपछि यससम्बन्धी बहस सतहमा आएका छैनन्।
धेरैले अस्पताल भन्ने वित्तिकै सम्झिँन्छ, डाक्टर र नर्स। तर सम्झनैपर्ने विषय यत्तिमै मात्र सीमित रह्यो भने अपूरो हुन्छ। स्वास्थ्यकर्मीले अँगाल्ने सम्पूर्ण उपचार उपकरणमा निर्भर रहेका हुन्छन्। यसर्थ मेडिकल उपकरणलाई कुनै पनि अंशमा नजरअन्दाज गर्न सकिँदैन। तर राज्यले अझै पनि उचित तवरले यस विषयमा ध्यान पुर्याउन सकेको छैन। कारण, उपकरण सम्बन्धी विभिन्न समस्याहरु नेपालमा बढिरहेका छन्। सही किसिमले उपचारमा संग्लन हुने स्वास्थ्कर्मीको तादत्म्यता उपकरणसँग मिलेको छैन। आखिर किन त? यसको लागि विगतमा राज्यले अँगालेको नीति र समग्र पक्षको केही हदसम्म व्याख्या गर्नु जरुरी हुन्छ।
नेपालमा उपकरणको लागि जनशक्ति छुट्टै राख्ने भन्ने धारणा केही वर्ष अघिमात्रै सुरुवात भएको हो। त्यो पनि अति नै नगन्य छ। राखे पनि बायोमेडिकल इन्जिनियर र टेक्निसियनलाई खुलेरै काम गर्न नदिइएका थुप्रै घटना छन्। उपकरण खरिद गर्न तम्सिने तर मर्मत, तालिम र व्यवस्थापनमा वास्तै नगर्ने पद्धति ‘पैसा कमाऊ’ भन्ने धारणाबाट गाइडेड भइरहेको छ।
सकभर उपकरण मर्मत गर्न नपरोस् भनेर सोच्ने र मर्मत–सम्भारमा पहलै नगर्ने बरु थन्क्याएर राख्ने प्रवृत्तिको विकासक्रम यस बीचमा भए, भइरहेका छन्। अर्कोतर्फ राज्यले उचित किसिमले दरबन्दी नै निर्धारण गर्न सकिरहेको छैन। मासबाट निर्देशित भई नीति नियम तर्जुमा हुँदा एकदमै कम संख्यामा नेपालको बायोमेडिकल क्षेत्रमा कार्यरत रहेकाहरुको आवाज फिक्का भएको छ तर उनीहरुले पु¥याएको योगदान भने उच्च छ।
नेपालमा कोराना संक्रमण फैलन थालेपछि भेन्टिलेटरको संख्या गणना गर्न थालियो। अचम्म त के भने तथ्यांक निकाल्न साह्रै सकस नै पर्यो। यो भनेको बायोमेडिकल सम्बद्ध जनशक्तिको उपयोगिता राम्रोसँग गर्न नसकेकै परिणाम थियो। जसले गर्दा अवस्था सोही किसिमले सन्तुलनमा रहेको देखिँदैन।
हाल नेपालमा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको आग्रहमा नेपाल बायोमेडिकल संघले देशका विभिन्न सरकारी अस्पतालमा निःशुल्क रुपमा उपकरणको मर्मत गरिरहेको छ। जसले गर्दा वर्षौंदेखि बिग्रेका मेडिकल उपकरणहरुले बनिरहेका छन्। नेपाल बायोमेडिकल संघले यो विपत्तिको क्षणमा आफूसँग आवद्ध भएका जनशक्तिको परिचालन गर्दै निःशुल्क रुपमा उपकरणको मर्मत, सम्भार र तालिमको प्रबन्ध गरिरहेको छ। यो आफैंमा सुखद पक्ष भए पनि राज्यले नै विशेष अग्रसरता देखाउँदै स्वास्थ्यको अभिन्न अंग रहेको बायोमेडिकलमा नीतिगतसँगै व्यावहारिक तवरमामा केही पहल गरी सकारात्मक परिणाम निकालोस्।
(लेखकद्वय नेपाल बायोमेडिकल संघमा आबद्ध छन्)