रमन कार्की
धेरै दिनपछि हाम्रो होस्टेलमा 'क्यामोन आसेन भाइ' भन्दै हसन भाइ (बङ्गाली केटो) आयो। अब ठिक नभए पनि 'ठिकै छ' भन्नै पर्यो'। बिचरा लकडाउन भएर ढाकाबाट घर फर्किन नसकेको कुरा सुनाउँदै थियो निरास हुँदै। तर उसलाई के थाहा मसँग पनि घर–देश फर्कन नपाएको दुःख अनि गुनासोको भारी नै छ भनेर।
त्यस्तै कुरा हुँदैगर्दा, हाम्रै होस्टेलमा बस्ने इन्डियन भाइ पनि आङ तन्काउँदै चार कोठाको घेराबन्दी तोडेर कुरामा कुरा मिसाउन आयो। मलाई कतै तीन देशको देश प्रमुखले गर्न नसकेको औपचारिक कुराकानी हाम्रैमार्फत हुँदै छ कि जस्तै भान हुँदै थियो।
स्वभाविक थियो, कोरोनाकै कुरा चल्यो। हसन भाइ पनि आफ्नो देश ग्रसित हुँदै गरेको कुरा पोख्दै थियो। आफ्ना देशका स्वास्थ्यमन्त्री अनि नेताहरुप्रति केटो आक्रोसित देखिन्थ्यो। हामी दुई पनि 'ए होर, ए त्यसो पो' भन्दै बोलीमा बोली मिसाउँदै थियौं। कोरोना रोक्न सरकार नलागेको अनि अहिले अपनाइएको सावधानी ज्यादै निराश बनाउने खालको तीतोसत्य भन्दै थियो ऊ।
आफ्नो देशकै नागरिक त त्रासमा बाँचेको छ, आक्रोसमा बाँचेको छ, अब विदेशी नागरिकलाई हामी हेर्छौं भन्ने बंगलादेश सरकारको खै के भर गर्न सकिन्छ र भन्ने लाग्यो मनमा कता–कता। म अनि मजस्ता नेपाली नडराउन् पनि कसरी? बंगलादेश सरकार कोरोना लडाइँमा त्यति सशक्त देखिन सकेकै छैन।
कुरामा कुरा थप्दै हसन भाइ भन्छ, 'बंगलादेशमा दिनदिनै नकमाए भोकै मर्ने धेरै जनता छन्। यस्तो अवस्थामा घरभित्रै बसेर किन जनताको पेट भरिन्थ्यो! रोगले भन्दा पनि पहिले भोकमरीले मारिएला भन्ने अर्को आपत् आइपरेको छ। रमदानको महिना छ, खर्च जुटाउनै पर्योप, जनता अब थुनिएर किन बस्थे। ठूलो संकट आइपर्ने पक्कै देखिन्छ।'
ऊ सुस्केरा हाल्दै थियो। हामी पनि नजिकै देशका विदेशी पर्यौं , सुनेरै बस्यौं उसका कुरा। हाम्रो होस्टेल नजिकै दुई जना कोरोना बिरामी भेटिए भन्ने कुरा पनि सुनायो उसले। अब भने मनमा चिसो पस्यो सिरिङ्ग गरेरै। एकाएक सबै अस्पतालहरूमा कोरोना युनिट बनाएको कुरा पनि निस्कियो। यो अझै चिन्ताको विषय थियो। थुप्रै नेपाली बस्ने होस्टेल यिनै अस्पताल नजिकै छन्। अब हामी नेपाली सुरक्षित छौं कसरी भन्नु।
अस्ति भर्खरै मैले इन्डियन भाइलाई तिम्रो सरकारले लाने कुरा गर्दै छ भनेर एउटा नम्बर टिपाएको थिएँ। आज तीन दिनभित्रै हाम्रो मोदी सरकारले त हामीलाई ४/५ दिनमै लाने कुरा सुनायो। म उसका लागि अनि अन्य इन्डियन नागरिकका लागि खुसी थिएँ तर म र हामी नेपालीका लागि भने दु:खी थिएँ। मनमनै सोचें, 'मेरो सरकार पनि यस्तै भइदिए।' फेरि इन्डियन भाइले 'दाइ तपाईंहरुको जाने कुरा के भयो भनी मुटुमै बिझ्नेगरी प्रश्न गर्यो । नसुन्या जस्तो गरौं की जस्तो लाग्यो तर सकिनँ। अलिकति लज्जित पनि भएछु क्यारे, फ्याट्ट बोल्नै सकिनँ।
अब तपाईं नै भनुस्, कसरी भनौं म, मेरो देशमा अहिले कुर्सीको खेल चलिरहेको छ भनेर। कसरी भनौं, मेरो देशमा भूकम्प जाँदा राहतको घुस खाइन्छ भनेर। कसरी भनौं, पिपिई किन्दा होस् वा थर्मल गन किन्दा घोटाला हुन्छ भनेर। कसरी भनौं, आफ्नै देश छिर्न पनि रोइकराइ गर्नुपर्छ भनेर। कसरी भनौं, सीमापारि आएर एक महिना पाल टाँगेर बस्न बाध्य हुन्छन् नेपाली भनेर। कसरी भनौं, राहत बाँड्ने व्यक्तिलाई थुनिन्छ भनेर। यो सब कुरा फुस्किए भने मेरो नेपाल आमाले मलाई माफ गर्ने छैनन्। त्यसैले मलिनो स्वरमा हुँदैछ हाम्रो पनि फर्किने प्रक्रिया भनेर कुरा टार्न बाध्य भएँ।
'अनि तपाईंहरू त नजिकै हुनुहुन्छ, किन नलगेको' भनेर हसन भाइले अर्को अफ्ठेरोमा पार्योा मलाई। उसको प्रश्न ममाथि यसरी तेर्सियो मानौं, आज मेरो देशप्रतिको मेरो विचारधाराको चिरफार हुँदैछ। फेरि म अड्किए जसरी हाम्रो सरकार अड्किएको छ। हसन भाइलाई कसरी भन्नु, मेरो देशको सरकारले नागरिक रेमिट्यान्स पठाउनेलाई मात्र बुझ्छ भनेर। कसरी भनौं, मेरो देशमा मेडिकल पढेकाहरुको उचित सम्मान अनि सुरक्षा हुँदैन भनेर।
फेरि यो सब ज्वारभाटा उठेको मनलाई सम्हालेर प्रोटोकल बनेपछि लाने कुरा छ भनेर कुरा सामसुम पारें। नेता जस्ता त होइनौं नि हामी, हामीलाई त देशको इज्जत आफ्नै जस्तो लाग्छ। मन त मेरो नेपाली नै हो नि। एकछिनपछि सोचें, हामी तीन देशका नागरिकको जस्तै सहमति, कुराकानी हाम्रा देशका प्रमुखहरूबीच भइदिए बंगलादेशमा फसेका हामी ६५० नेपाली सायद छिट्टै नै फर्किन पो पाइन्थ्यो की!
भारी मन बोकेर मोबाइल थिच्न थालेको थिएँ। यत्तिकैमा युट्युवमा कसैको अन्तर्वार्ता सुनें। भन्दै थिए, 'चीनबाट पैसा भएर नेपालीलाई उद्दार गरिएको हो तर खाडीमा फसेका नेपालीलाई सरकारले हेरेन।'
फेरि अर्को आँधी मनमा उर्लियो। अब के हामी बंगलादेशबाट उद्दार भयौं भने पनि पैसा भएर नै उद्दार गरियो भन्ने आरोप पो लाग्ने होकी? तर एउटा कुरा प्रष्ट होस्, बंगलादेश पढ्ने प्रायः सबै विद्यार्थी सामान्य परिवारका छोराछोरी हुन्। हामी पैसा भएर फर्किन कराइरहेका होइनौं, साँच्चिकै विपत् आइपर्न लागिसक्यो भनेर फर्किन पाउँ भनेका हौं। कतिपयले भने सुख पर्दा देश नसम्झिने, दुःख पर्दा कराएर हुन्छ भन्दै मानवता टुटाउन पछि परेका छैनन्। विदेश आउनु कुनै नेपालीको रहर होइन। विदेश भए पनि देशमा केकसो भइरहेको छ, हामी सधैं सचेत छौं।
नेपालको मेडिकल कलेजले पैसा बटुल्ने प्रणाली देख्नु भएको छ? नेपालको मेडिकल कति महँगो छ हेर्नु भएको छ? सपना परिस्थितिभन्दा माथि भएर मात्र विदेश पढ्न आएका हौं। भोलि आएर आफ्नै देशमा केही गर्नु छ। अहिले नै हामीलाई निराश नबनाउनुस्। हामी धेरै गर्न बाँकी छ भनेर अगाडि बढेको जमात हौं। सके बरु साथ दिनुहोस्। यस्तो महामारीमा देश फर्कन खोज्नु हाम्रो स्वार्थ हो जस्तो लाग्छ भने नमस्कार टक्र्याउँछौं तपाईंको त्यो महान सोचलाई।
-(कार्की ढाकामा बिडिएस अध्ययनरत छन्)