सिर्जना शर्मा
कोराना कहरमा लकडाउन छ वस्ती। सुनसान जताततै। मध्य रात। बाहिर चिसो हावा ओहोरदोहोर गरिरहेछ। जुनको उज्यालोमा आँगनको रुखका पातहरु फिरफिर गर्दै नाचिरहेको देखिन्छ। घर भित्रको एउटा कुनामा पेट समातेर रोइरहेकी छिन् नारा धामी। अर्कोपट्टिको कुनाबाट बुढीआमा भन्दै छिन्, ‘लागो लाग्या हो...त्यैलाई। फुकनु पड्ने हो।' नाराको वास्तविक समस्या के हो, कसैलाई थाहा छैन।
२०७६ चैत मसान्तको दिन नारा धामीको दिसापिसाब रोकियो। देश कोरोना कहरको लकडाउनमा छ। अस्पताल पुग्ने कसरी? पुगे पनि यस्तो अवस्थामा उपचार हुन सक्ला नसक्ला? साह्रोगाह्रो परेका बिरामीलाई एम्बुलेन्सको सेवा पाइन्छ भन्ने कुरा रेडियो–टिभीमा सुन्दै आएका थिए काँशीले। सोधखोज गरे। तर पाउन सकेनन् आफूलाई पर्दा। अन्त्यमा एउटा जिप ८ हजारमा तय गरी ल्याए। यो जोखिमपूर्ण क्षण गुम्न नदिई नारालाई डडेल्धुरा अस्पताल पुर्याए पति काँशीले।
उपचारका लागि नारा डडेलधुरा अस्पतालमा भर्ना भइन्। त्यहाँ ४ दिन उपचार गराएर २०७७ वैशाख ५ गते डिस्चार्ज भइन्। तर फेरि घर फर्कने कसरी? एम्बुलेन्सको लागि हारगुहार गरे काँशीले। तर पाउन सकेनन्। उपाय अरु थिएन। निजी गाडीले माग्यो रु १० हजार डडेल्धुराबाट बझाङ पुर्याउन। जेजति भने पनि घर पुग्नै पर्यो। चढे त्यही महङ्गो सवारमा। खर्च र सास्तीले हल्लिरहेको मनमस्तिष्क यात्राभरि थप थिलोथिलो भयो। साँझपख घर पुर्यायो जिपले।
बाटोको थकान मेटिन पाएको छैन। राति फेरि कडा गरी पेट दुख्न थाल्यो नाराको। ‘भर्खर अस्पतालबाट आया छौँ। अहिलेको अहिल्यै के भया हो यो फेरि? ...आमाले भनेझैँ दोष नै लाग्या होकी?’ काँशीको मन चिसो भयो। नाराको अवस्था आफ्नी दिदीलाई फोन गरी सुनाए। ‘अस्पताल झान पड्ने हो..,’ उनीले सुझाइन्। गाउँमा रातबिरात न सवारी साधन, न हिँडेर पुगिने गन्त्यव्य। सूर्योदय कुर्नु बाहेक अर्को उपाय छैन, उनीहरुका सामु।
पूर्वमा घाम झुल्कियो। दिदी सहयोगका लागि घरमा आइपुगिन्। तर काँशी भने घरमा छैनन्। उपचारको लागि खर्च जुटाउन झिसमिसमै आफन्त–इष्टमित्र गुहार्न हिँडेका रहेछन्। समस्या बताए भाइ–भतिजालाई। साह्रोगाह्रोमा नाता कुटुम्भलाई सकेको आर्थिक वा मानवीय सहयोग गर्ने गाउँघरको परम्परा। निभाए आफ्नो धर्म। घाम निकै माथि आइपुग्दा हातमा २५ हजार बोकेर उनी घर आइपुगे।
गर्भवती छिन् नारा। एकातिर कोराना कहरको लकडाउन, अर्कोतिर सन्तान जन्माउने जीवनको एकमात्र घिरघिरो सपना। गर्भ जाँचको कार्डमा उनको प्रसूति हुने मिति जेठ २२, २०७७ लेखिएको छ। तर पेटको दुखाइ चर्को छ। यो व्यथा हो या कथा? नारालाई व्यथाले भन्दा परिस्थितिले बढी पीडा गरायो। तर यस क्षण आँसु बाहेक अरु काँशीलाई केही दिन सक्दिनन्। रोइन खुबसँग। आँसुले मन हलुको पार्छ। तर यसबेला सकेन। आफ्नो पूरा हुन लागेको मातृत्वको सपना कतै चुँडिने त हैन? व्यथामा व्यथा चर्कियो।
गर्भवती, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स पाउने कुरा उनले सुनेको मात्र हैन देखेका पनि थिए। तर आफूलाई चाहिँदा पाइदो रहेनछ। हार खायो मनले। अलमल गर्नु उचित थिएन, लागे निजी गाडी खोज्न। रु ५ हजारमा तय भएर एउटा जिप घर नजिक आइपुग्यो। त्यही जिपमा काँशीले आफ्नी दिदीका साथ नारालाई चैनपुर अस्पताल पुर्याए। अस्पतालमा जाँचपछि नारालाई प्रसव व्यथा लागेको जानकारी दिए डाक्टरले। तर बच्चा अपरेसन गरी झिक्नुपर्ने तथा नारामा पिसाब थैलीको समस्या रहेको कुरा बताउँदै ‘नाराको डबल अपरेसन गर्नुपर्ने हुन्छ, यहाँ उपचार हुन्न’ भनी नारालाई डडेल्धुरा अस्पतालमा रेफर गर्यो। यसपटक भने संयोगले नारालाई डडेल्धुरा अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा पाइयो।
‘यतिका दुःख पाइसकियो। अवस्था अप्ठ्यारो छ भन्छन्। राम्रो गरी सुत्केरी होला कि नाईं हिजो किन बिदा दिए अस्पतालकाले?’ काँशीको मनमा अनेक शंका र चिन्ता हुँडलिइरह्यो। नारालाई भने ‘यो व्यथाबाट झट्ट छुटकारा पाउन पाए हुने’ भन्ने बाहेक अरु केही सोच आएन। व्यथा र चिन्ताले बाटो साह्रै लामो लाग्यो। जसोतसो पुगे अस्पताल। नारालाई आपतकालीन अवस्थामा थिएटरमा लगियो। अपरेसन गरी वैशाख ६ गते साँझपख सकुशल बच्चा झिकियो। नाराका उपचारमा संलग्न डडेल्धुरा अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा राजन शाह भन्छन्, ‘नारा अस्पतालमा पुग्दा एक्टिभ लेवर (सक्रिय व्यथा) लागेको स्थितिमा थिइन्। उनको पिसाबको थैलीमा समस्या तथा बच्चा अपरेसन गरी झिक्नुपर्ने समस्याका कारण अपरेसन सामान्य भन्दा कठिन रह्यो र समय पनि लामो लाग्योे। तर अहिले आमा र नवजात शिशु दुवै स्वस्थ्य छन्।’ महिना पुग्नु अगावै जन्मेको भए पनि शिशुमा कुनै समस्या थिएन। उसको जन्मतौल २७०० ग्राम थियो।
२०४१ सालमा जन्मिएकी नारा धामीको विवाह १५ वर्षको उमेरमा काँशी धामीको साथ भएको हो। उनी केदारसिंह गाउँपालिका गडा नं ५ बझाङमा स्थायी बसोबास गर्छिन्। उनको परिवार ७ जनाको भए पनि कमाइ गर्ने व्यक्ति पति काँशी मात्र हुन्। उनीहरु खेती किसानीको काम गर्छन्। खेतीपातीको उब्जनीले वर्षभरिको खर्च धानिन्नँ। त्यसैले सुदूरपश्चिमका बहुसंख्यक मानिसहरु जस्तै काँशी गाउँमा खेतीपाती लगाउने काम सकेपछि ज्याला–मजदूरीको लागि भारतको पिथौरागढ जान्छन्। त्यहाँ ४–५ महिना बस्छन् र खेतीपाती भित्र्याउने बेला घर फर्कन्छन्।
प्रायः महिलामा मातृत्वको भोक साँझ–बिहानको आहार जस्तै हो। अझ शिक्षा र विकासका दृष्टिले पिछडिएका गाउँमा त सन्तान नपाउने महिलालाई ‘बाँझी’ भन्ने कलंक नै भोग्न परेको हुन्छ। विवाह गरेको निकै वर्षसम्म पनि आमा बन्न नसक्नुको पीडा नाराको छातीमा किलाझैँ गढेको थियो। सन्तानका लागि ब्रत–उपबास, पूजाआज सकेजति गरिन्। तर यसले उनको मनको बह बुुझेन।
विवाह भएको ५–६ वर्षजति पछि एकदिन मनभरि लाज बोकेर काँशीका साथ गर्भबारे जाँचपडताल गर्न उनी पुगिन् चैनपुर अस्पताल। त्यसबेला ‘ठूलो अस्पतालमा जँचाउनुस् एकपल्ट’ भनी सल्लाह मात्र दिन सके स्वास्थ्यकर्मीले। त्यही सल्लाहले उनलाई पुर्यायो धनगढी अत्तरियाको एक निजी अस्पतालमा। त्यहाँ पाठेघरमा मासु पलाएको कारणले गर्भ रहन नसकेको हो भन्ने जानकारी उनीहरुले पाए। अपरेसन गरी फाइब्राइड झिक्नुपर्ने र यसको लागि ५०–५५ हजार खर्च लाग्ने कुरा अस्पतालले बतायो। यत्रो खर्च अनि अपरेसन, यो कुरा उनीहरुका लागि ठूलै हाउगुजी भयो। अनि त उपचार गर्ने सोचबाट पछि हटे।
जोरीपारीका सन्तान आँगनमा खेलेको देख्दा नाराको मन कटक्क हुन्थ्यो। आफ्ना लागि चिनजानका मानिसहरु सबैको प्रश्न एउटै हुन्थ्यो, ‘भया छैन अझै तेरो?’ मुख पछाडि त कोहीले ‘बाँझी रैछे नारा’ पनि भनेछन्। वंशको चाहना सबैमा हुन्छ, काँशीमा किन नहोस्? यता गए हुन्छ कि? उता गए हुन्छ कि? मनमा कुरा त्यही मात्र खेल्थ्यो।
जीवनमा अभाव त धेरै कुराको थियो नाराको। तर हरदिन चस्सचस्स मन घोचिरहने अभाव एउटै रह्यो, कोख भरिन नसकेको अभाव। यसैबीच काँशीका बहिनीज्वाइँले उनलाई ढाडस दिए, ‘पैसाको चिन्ता नगर्नु जेठान, जतिलाग्छ उपचार गराउनुस्। आफ्ना मान्सले मौकामा त हो सह्योग गर्ने।’ ज्वाइँको बचन अमृत वाणी झैँ भयो काँशीका लागि। शुभचिन्तक सबैले यही कुरामा समर्थन जनाएपछि काँशीले नारालाई पुनः अत्तरियाको उही निजी अस्पतालमा पुर्याए। त्यहाँ अपरेसन गरी पाठेघरको फाइब्रेड (पाठेघरमा पलाएरको मासु) झिकियो।
तर, पनि धेरै वर्ष नाराको गर्भ रहन सकेन। यसैबीच पाठेघरको मासु फाल्दा राम्ररी सफा हुन नसकेको वा त्यो अपरेसन बिग्रिएर हो कि? भन्ने शंका निवारणका लागि उनीहरु महेन्द्रनगर अस्पताल, कोहलपुर अस्पताल पनि पुगे। तर सबै ठिक रहेको जानकारी पाए। अझै गर्भ रहेन किन त? एउटै प्रश्न मनभरि।
मनमा किलो गाडेर बसेकोे सन्तानको चाहना किन उखेलिन्थ्यो र? यही चाहनाले उनीहरुलाई केही खर्च जम्मा गर्न लगायो। र, पठायो भारतको एउटा अस्पतालमा। त्यहाँ नाराको पाठेघरको फाइब्राइड झिके पनि अब यिनको सन्तान हुन सक्दैन। बरु पुनः मासु पलाएर क्यान्सरसम्म हुने खतरा भएकाले पाठेघर नै झिक्न सल्लाह दिए डाक्टरहरुले। नारा र काँशी मुखामुख गर्दै थिए। उता उपचारको क्रममा साथै गएका काँशीका भाइले यो सल्लाह कुनै हालतमा नस्वीकार्नुस् भनी सुझाए। अन्त्यमा उनीहरु त्यहाँ उपचार नगरी फर्किए।
२०७६ साल असोज महिनामा नाराको महिनावारी रोकियो। तर यो गर्भ रहेको हो भन्ने उनीहरुलाई लागेन। मंसिर महिनासम्म उनीहरुले केही वास्ता गरेनन्। चौथो महिना लाग्दा गर्भमा बच्चा चल्न सुरु गरेपछि नारा घर नजिकै पर्ने वाडखोला स्वास्थ्य चौकीमा जँचाउन गइन्। त्यहाँ जाँचपछि स्वास्थ्यकर्मीले उनको गर्भ रहेको कुरा बताए। यो खबरले उनीहरु खुसी बनायो। यो कुरा सुनिश्चित गर्न उनीहरु बझाङको देउली अस्पतालमा पुगे। त्यहाँबाट गर्भ निश्चित भएपछि उनीहरु ढुक्क भए।
नारालाई त्यसपछि स्वास्थ संस्था जान लाज वा बेफुर्सद केही भएन। उनी हरेक महिना बाडखोला स्वास्थ चौकीमा गर्भजाँचका लागि जाने गर्न थालिन्। स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधि उनी नियमित खाने गर्थिन्।
नाराको प्रसूतिमा संलग्न डडेल्धुरा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा राजन शाह भन्छन्, ‘डडेल्धुरा अस्पताल पुग्दा पिसाब थैलीमा समस्या तथा अपरेसन गरी बच्चा झिक्नुपर्ने जोखिमपूर्ण अवस्था थियो नाराको। यस्तो अपरेसन विशेषज्ञ सहितका अस्पताल बाहेक अन्यत्र हुन सक्दैन। नारा समयमै अस्पतालमा आइनपुगेको वा अपरेसन समयमै हुन नसकेको भए यूट्रिन् रप्चर (बच्चा दानी फुट्ने) सम्भावना धेरै हुन्थ्यो। यसो हुँदा बच्चा त खेर जान्छ नै, आमाको पनि उच्च रक्तश्राव भई ज्यान जाने खतरा हुन्छ।’
ओहो कति जोखिममा छ दुर्गममा बसोबास गर्ने महिलाहरुको जीवन! थप कोरोना कहरको लकडाउनका कारण आइपरेका अनेक समस्याको समाधानको चुनौती।
नारा उपचारका लागि ३ हप्ता अस्पताल बसिन्। लकडाउनको स्मरण गर्दै काँशी भन्छन्, ‘नाराको पिसाबको पाइप झिक्नका लागि धेरै दिन अस्पताल बस्नु पर्यो। पिसाब चुुहिने भयो भने त काठमाडौँ जानुपर्छ, यहाँ उपचार हुन्न भन्नु भो डाङडरले। सारो गारो जे जसो भए पनि बस्नै पर्यो।’ उनले अगाडि भने, ‘यो लकडाउनले त ज्याला–मजदूरी गरेर २–४ रुपियाँ कमाउने बाटो पनि रहेन। कोरोनाले त अब ज्याला–मजदूरीको काम पनि कतै पाइने हैन भन्ने लाग्या छन्। बिरामीको चिन्ता एकातिर छ। कमाइ गर्ने बाटो टुटेको पिर उस्तै छ। ...बहुत गाह्रो भया छ सर...।’
यसो भनिरहँदा काँशीको गला अड्किएको थियो। केहीछिन् रोकिएर उनले भने, ‘दुःख त बहुतै भयो। अस्पतालमा डाङडर साबहरुले राम्रो सेवा गर्नु भो। सन्तान रह्यो। यसमै खुसी हुनुपर्यो।’
उपचारका लागि ऋणमाथि ऋण थपिनु र आम्दानी हुने बाटामा लाग्दै गएका तगारा भोग्नुको पीडा सहनेलाई असह्य होला, सुन्नेलाई भने अनुमान मात्र।
सिङ्गो विश्व अहिले कोरोनाको त्रासले हल्लिएको छ। राजनेतादेखि सामान्य नागरिक कोरोना भाइरसको मुक्तिको सोचमा लकडाउनमा बसेका छन्। नारा धामीलाई भने यतिबेला न कोराना कहर छ, न आफूमाथि थुप्रिएको ऋणको डर। थाहा छ त केवल समाजले उनलाई लगाएको ‘बाँझी’ भन्ने कलंकको अन्त्य। छोराकी आमा हुँ भन्ने मातृत्वको बोध। उनीसँग कसैका कुराको जवाफ दिने शब्द पनि छैन। काखमा बसेको स्वस्थ शिशुले शान्त बनाएका उनका अवोध आँखा र ओठमा फक्रिन खोजेको मुस्कान आफैं बोलेका छन्, ‘म खुसी छु, मेरो मातृत्व सफल पारी दिने सबैलाई धन्यवाद।’
(लेखिका गोल्डेन कम्युनिटीसँग आवद्ध छिन्)