द्रोणविक्रम पन्थी
सारा विश्व नै कोरोना भाइरसको सन्त्रासमा रहेको वर्तमान अवस्थामा नेपाल पनि यसबाट अछुतो छैन। कोरोना महामारीका कारण सबैको नजर स्वास्थ्य क्षेत्रमा केन्द्रित छ यतिबेला। अहिले आएर अति आवश्यक क्षेत्र स्वस्थ्य सेवाको भूमिकाको बारेमा विभिन्न कोणबाट हेरिँदै छ।
कोरोना महामारी विरुद्ध सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरी यथासक्य छिटो नियन्त्रण लिनु आजको प्रमुख उद्देश्य रहिआएको छ। कोरोनाबाट निस्सासिएको आमजीवनलाई सहज रूपमा फर्काउन राज्य तथा आमनागरिकले ठूलो भूमिका खेल्नुपर्ने देखिन्छ।
स्वास्थ्य सेवाको अति महत्वपूर्ण विधाभित्र पर्ने बायोमेडिकल क्षेत्रको पनि स्वास्थ्य सुधारमा ठूलो भूमिका रहेको छ। बायोमेडिकल क्षेत्रभित्र अस्पतालमा बिरामीको उपचारमा प्रत्यक्ष्य वा अप्रत्यक्ष रूपमा प्रयोगमा आउने उपकरण र त्यो उपकरण व्यवस्थापन गर्ने प्राविधिक (बायोमेडिकल टेक्निसियन र बायोमेडिकल इन्जिनियर) पर्दछन्। तर हाल राज्यको ध्यान उपकरणमा मात्र देखिन्छ। उपकरणसँगसँगै बायोमेडिकल प्राविधिकमा त्यति धेरै ध्यान गएको देखिँदैन।
नेपालमा बायोमेडिकल प्राविधिक सम्बन्धी अध्ययन/अध्यापन हुन लागेको लामो समय भएको छैन। सन् २००५ बाट बायोमेडिकल टेक्निसियन र बायोमेडिकल इन्जिनियरको पढाइ हुन सुरु भएको हो। यो १५ वर्षको अवधिमा थुप्रै सक्षम तथा सबल बायोमेडिकल टेक्निसियन र बायोमेडिकल इन्जिनियर उत्पादन भइसकेका छन्। तर राज्यले हालसम्म पनि यतातिर त्यति ध्यान दिएको पाइँदैन।
सरकारले बिरामीको उपचार गर्न भन्दै दिनानुदिन करोडौं खर्चिँदै नयाँनयाँ उपकरण भित्र्याइराखेको छ तर यी उपकरणको व्यवस्थापनमा खासै ध्यान दिइएको छैन। मेडीकल उपकरणमा वर्षेनी राज्यकोषबाट करोडौं करोड खर्च भैराखेको छ। राज्यसँग कस्ताकस्ता उपकरण कुन ठाउँमा कस्तो अवस्थामा छन्, त्यसको कुनै सही तथ्यांक नै छैन। भरखरै मात्र विभिन्न पत्रपत्रिकामा आएका समाचारले पनि यो कुरालाई पुष्टि गर्छ।
चीनको वुहानबाट सुरु भई विश्वका अधिकांश देशमा फैलिइसकेको कोभिड–१९ को उपचारमा चाहिने अति आवश्यक भेन्टिलेटरको संख्या कति छन् र कुन अवस्थामा कुनकुन अस्पतालमा छन् भन्ने पनि सही तथ्यांक ठीक समयमा उपलब्ध हुन् नसक्नु राज्यको लागि ठूलो चुनौतीको विषय हो। उपकरणको सही सदुपयोग नहुँदा राज्यको लगानी खेर गइरहेको छ। राज्यले लगानी गरे पनि बिरामी उपचार पाउनबाट बन्चित हुनुपर्ने स्थिति छ भने अर्कोतिर थुप्रै बायोमेडिकल प्राविधिकले आफ्नो सिप र क्षमता प्रयोग गर्न पाएका छैनन्।
बायोमेडिकल प्राविधिक नहुँदा विभिन्न सरकारी अस्पतालमा सानो समस्या आएका उपकरणहरु पनि यत्तिकै थन्किएर बसेका छन्। कुनै अस्पतालमा आवश्यकभन्दा धेरै उपकरण छन् भने कुनैमा पर्याप्त उपकरण छैनन्, भएका पनि बिग्रिएर थन्किएका छन्। कुनै अस्पतालमा आफूसँग केकति उपकरण कस्तो अवस्थामा छन् भन्ने कुराको कुनै तथ्यांक नै छैन। कुनै ठाउँमा नयाँ उपकरण नै गोदाममा हुँदाहुँदै पनि नयाँ उपकरण किन्ने जमर्को गरेको देखिन्छ।
उपकरण हुँदाहुँदै नयाँ किनेर थन्क्याएर राखेको कसले हेर्ने? उपकरण बनाउने भन्दा पनि नयाँ उपकरण खरिद गर्ने परिपाटी देखिन्छ। सामान्य सफ्टवेयर क्र्याक भएको मेसिनको सफ्टवेयर इन्स्टल नगरेर नयाँ मेसिन खरिद गरेको पनि देख्न पाइन्छ। उपकरण प्रयोग गर्ने जनशक्ति नहुँदानहुदैँ पनि नयाँ उपकरण खरिद गरी वर्षौंसम्म थन्क्याएर राखिन्छ। यसरी उपकरण खरिद गर्दा सीमित व्यक्तिलाई त फाइदा होला तर राज्यलाई के हुन्छ भनेर सोच्ने कसैको फुर्सद छैन।
कुनै पनि रोगको सही निदानका लागि उपकरणको गुणस्तरमा निर्भर गर्छ। यदि कुनै उपकरण गुणस्तरीय छैन भने त्यो उपकरणद्वारा गरिने उपचार गलत हुन सक्छ। त्यसैले उपकरणको गुणस्तरमा कमी आउन नदिन नियमित मर्मतसम्भार जरुरी हुन्छ। कुनै पनि उपकरणको लाइफ साइकल अवधिमा उचित व्यवस्थापन, नियमित मर्मतसम्भार गर्नु बायोमेडिकल प्राविधिकको काम कर्तव्य हो। अस्पतालमा नयाँ उपकरण भित्रिने प्रक्रियादेखि त्यो उपकरण लिलाम हुने अवधिसम्म बायोमेडिकल प्राविधिकको उपकरण व्यवस्थापनमा ठूलो भूमिका रहन्छ।
हाम्रो देशमा सबभन्दा ठूलो चुनौती भनेको नै मेनटेनेन्स म्यानेजमेन्ट हो। यदि सुरुदेखि नै उचित व्यवस्थापन भयो भने उपकरण सम्बन्धी समस्या लगभग ६० प्रतिशतले कमी आउने देखिन्छ। त्यसैले राज्यले उपकरण खरिदमा मात्र नभएर यसको व्यवस्थापनमा पनि ध्यान दिन सकियो भने स्वास्थ्य सेवामा ठूलो परिवर्तन हुने थियो।
यसै पनि स्वस्थ्य सेवामा प्रयोग हुने सबै उपकरण विदेशबाट आयात गर्नुपर्ने बाध्यकारी स्थिति र आफैं पनि जटिल प्रकृतिको र गुणस्तर कायम गर्नुपर्ने हुँदा धेरै पैसा खर्चिनुपर्ने हुन्छ। जति पैसा खर्च गरेर भए पनि महँगो मेसिन किन्न सधैं तयार भइरहने तर त्यसको व्यवस्थापनको लागि चाहिने दक्ष जनशक्तिको लागि थोरै पैसा खर्च गर्न पनि तयार नहुने नीति निर्माण तहमा बस्ने व्यक्तिले एक पटक सोच्ने पो हो कि?
हालसम्म बायोमेडिकल टेक्निसियनको न्यून स्थायी दरबन्दी सिर्जना भ२ पदपूर्ति सुरुवात हुन लागेको जस्तो मात्र देखिन्छ भने बायोमेडिकल इन्जिनियरको स्थायी दरबन्दी सिर्जना भ२ पदपूर्तिको सुरुवात भएकै छैन। यतातिर राज्यको ध्यान गएको देखिँदैन। राज्यले हरेक अस्पतालमा बायोमेडिकल प्राविधिकको दरबन्दी सिर्जना गरी उपकरण व्यवस्थापनमा जोड दिनु जरुरी छ। होइन भने उपकरण खरिदमा मात्र वर्षेनी राज्यको करोडौं ढुकुटी रित्तिने निश्चित छ।
राज्यले मेडिकल उपकरण सम्बन्धी नीति निर्माण योजना तर्जुमा गर्दा खो२ त बायोमेडिकल प्राविधिक? केही दिनअघि मात्र नेपाल सरकारबाट कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७) जारी भयो। त्यो आदेशको २ को ( छ) नं बुँदामा जनशक्तिलाई परिभाषित गरिएको छ तर विडम्बना राज्यले परिभाषित गरेको स्वास्थ्य सेवाको जनशक्ति भित्र बायोमेडिकल प्राविधिक जो रातदिन मेडिकल उपकरण मर्मतसम्भारमा व्यस्त छन्, तिनीहरु नपर्नु, बायोमेडिकल प्राविधिकलाई राज्यले अझै पनि नचिन्नु कतिसम्मको न्यायोचित हो? बायोमेडिकल प्राविधिकको भूमिका खोज्यो भने राज्यलाई पनि फाइदा पुग्थ्यो कि?
(पन्थी पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत छन् )