जीवन घिमिरे
सुनिँदैछ, नेपालमा कोभिड-१९ संक्रमण भएर निको भइसकेका व्यक्तिहरुमा पुन:संक्रमण देखियो। यसबाट हामीले काम त धेरै गर्यौंन तर अझै धेरै गर्न बाँकी रहेछ भन्ने कुरा बुझियो। परीक्षणको दायरा नबढाइ नहुने रहेछ भन्ने सिकाइ पक्कै भयो।
सतर्क हुनुपर्ने अर्को पाटो थपियो, निको भए भनेर घर पठाइएकाहरु पुन:संक्रमण भएमा थाहै नपाई अरु सम्पर्कमा आउनेलाई यो रोग सर्न सक्ने भयो।
अब दुई किसिमले कोभिड-१९ सर्ने सम्भावना भयो। एउटा, परीक्षण नभएको वा थाहा नै नभएको सङ्क्रमित व्यक्तिबाट। अर्को निको भएको भनिएको व्यक्तिमा पुन:सङ्क्रमण भएमा ऊबाट निरोगी व्यक्तिमा कोभिड-१९ रोगको विषाणु सर्ने सम्भावना भयो।
अब सोचौं, हामीले परीक्षणको दायरा बढाएनौं भने फैलावटको जोखिम बढेर जान्छ र स्थिति भयानक हुनसक्छ।
आइसिएमआरको अध्ययन अनुसार एउटा संक्रमित व्यक्तिबाट कम्तीमा दैनिक औसत १३ व्यक्तिलाई सर्न सक्छ। अहिलेसम्म हामीले प्रयोग गरेको द्रुत परीक्षणको प्रविधि तथा उपकरणको समीक्षा गर्दै शरीरमा एन्टिबडी परीक्षणलाई नै निरन्तरता दिने वा त्यसलाई रोकेर व्यक्तिमा रोगको भाइरस वा एन्टिजिन छ/छैन भनेर परिक्षण गर्ने प्रविधि उपकरण प्रयोग गर्ने निष्कर्षमा पुग्नैपर्छ।
प्रविधि र उपकरणको उपलब्धता उल्लेख्य मात्रामा गराई गाउँगाउँ, टोलटोलमा द्रुत परीक्षण बढाउनैपर्छ। जबकी आजसम्म विश्वसनीय परीक्षण पिसिआर १४ हजारको मात्रै गरिएको छ। आरडिटी ५० हजारको गरियो तर यसको विश्वसनीयता र वैधताका विषयमा पनि अध्ययन बाँकी नै छ।
तीन करोड जनता भएको देशमा कमसे कम तीन लाख परीक्षण त गरौं। परीक्षण गर्दा बढी जोखिम भएका क्षेत्रलाई प्राथमिकता दिऔं। जस्तो कि १८ सय किलोमिटर खुला सिमाना भारतसँग जोडिएका जिल्लाहरु, भारत वा अन्य देशबाट आएका मानिसहरु भएका जिल्ला वा गाउँहरु, संक्रमित देखिएका गाउँटोल नगरहरु। किनभने लकडाउनको बेला पनि हामी आफ्नो देश औपचारिक वा अनौपचारिक बाटोबाट आयौं, आइरहेका छौं।
भारतमा कोभिड-१९ सङ्क्रमण पनि बढिरहेको छ १५०० बढी मानिस मरिसके, ५० हजार बढी संक्रमित भइसके, दिनदिनै थपिँदै छन् । यो रोग लागेर बल्झिने देखिएकोले कसले, कतिबेला, कहाँ र कसलाई सर्यो। भन्ने कन्ट्याक्ट ट्रेसिङबाट मात्र भेट्टाउने सम्भावना गाह्रो होला।
अब कुरा गरौं, लकडाउन खोल्ने वा निरन्तर गर्ने वा आंसिक खोल्ने। हरियो, पहेंलो र रातो क्षेत्र छुट्याएर होस् वा एत्तिकै? द्रुत परीक्षण र पिसिआर दुवै प्रविधिबाट जोखिमयुक्त क्षेत्रहरुमा परीक्षण नगरी लकडाउन खोल्नु जोखिम मोल्नु नै होला।
लकडाउनका कारण गरिब श्रमिकलाई समस्या पर्योन। त्यसैले अब घरधुरी अर्थात् परिवारहरुलाई हरियो, पहेंलो र रातो वर्गमा वर्गीकरण गरौं। यो कामको लागि सुचकहरुलाई आधार मानेर के घरवाला, के डेरावाला सबैलाई एक/दुई महिनाका लागि राहत खाद्यान्न र मसलन्द नगद नै प्रदान गर्न सकिन्छ।
गर्ववती, सुत्केरी र ५ वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, उत्पादन, आर्थिक उपार्जन आदि केही सुचक हुन सक्छन्। खाद्दयान्न पोषिलो, ताजा र स्वदेशी हुनैपर्छ। रातो समूहका लागि पूरा, पहेंलोका लागि आंसिक, हरियोलाई अहिले पर्दैन। राहत वितरणको काम वडा सदस्य, स्वयंसेवक, सामाजिक संस्थाहरुले र खरिदको काम गाउँ, नगरपालिकाले गर्न सक्छन्।
त्यसै पनि हाम्रो देशमा विकासको बजेट भनेको आर्थिक वर्षको अन्त्यतिर खर्च हुने हो। करिब ७० प्रतिशत बजेट बाँकी नै होला। किनकी तेस्रो चौमासिकमा खर्च भएन। यो बाँकी बजेट राहतमा रकमान्तर गरेर रातो र पहेंलो घरधुरीमा चुल्हो बाल्न मद्दत गर्नुपर्छ। जनता बाँचे भने न विकास चाहियो!
अत्यन्तै होसियारीका साथ सुरक्षाकवच लगाएर निश्चित रोजगारी र कृषि व्यवसाय सञ्चालन गर्न सकिन्छ। जसले गर्दा लामो लकडाउन भए पनि देशभित्र खाद्द्यान्न सङ्कट नहोला। यसो गर्दा कोभिड-१९ र लकडाउनको अप्रत्यक्ष्य असरलाई सामना गर्न समेत सजिलो होला।
यतिबेला नागरिकका संविधानप्रदत्त मौलिक हकहरुमध्ये आधारभूत स्वास्थ्य सेवा पनि प्रभावित भएको छ। आम नागरिकमा स्वास्थ्य संस्था जान हिच्किचाहट हुनु स्वभाविकै हो। तर अत्यन्तै होसियारिका साथ सुरक्षाकवच अपनाएर सबै स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा स्वास्थ्य सेवा सुचारु गर्नुपर्छ।
यस्तो महमारीका बेला खटिएर कोभिड-१९ बाहेकका स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र जोखिम भत्ता उपलब्ध गराएरै भए पनि स्वास्थ्य सेवा सुचारु गराउनैपर्छ। किनकी उपचार नपाएर मृत्यु भएका खबरहरु आइरहेका छन्। जबकी खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण, सामान्य उपचार जस्ता सेवा सुचारु गर्नाले बचाउन सकिने मृत्यु र रुग्णता कम गर्न सकिन्छ।
विनासले विकासको अवसर सिर्जना गर्छ भनिन्छ। त्यसो भए हाम्रा लागि आधारभूत र आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्दै देशको समग्र स्वास्थ्य प्रणाली सुधारको अवसरको रुपमा लिएर पनि यसपालिको विकास बजेट खर्च गरौं। नागरिक स्वस्थ हुनु पनि ठूलो मानव पूँजीको विकास नै हो।
(घिमिरेले पोषण र सिकाइ क्षमता विकास विषयमा विद्यावारिधि गरेका छन्)